शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिँचाई सम्झौता अनुसार भारतबाट पानी नमाग्नु ओली सरकारको राष्ट्रघाती कार्य हो : प्रभु साह

शुक्रबार, २३ साउन २०८२, १४ : ११
शुक्रबार, २३ साउन २०८२

सारांश

  • आजपा अध्यक्ष प्रभु साहले प्रधानमन्त्री ओलीले भारतसँग पानी नमागेको भन्दै राष्ट्रघाती कार्य गरेको आरोप लगाए।
  • उनले नेपाल-भारत सम्झौताअनुसार पानी नपाउँदा पनि ओली मौन बसेको र किसानले धान खेती गर्न नपाएको बताए।
  • साहले दुई तिहाइको सरकारले जनताको पक्षमा काम नगरेको र राहत प्याकेज नल्याएको भन्दै आलोचना गरे।

बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सिँचाई सम्झौता अनुसार भारतसँग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती कार्य भएको टिप्पणी गरेका छन् । 

बाराको कलैयामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाल–भारत बिचको सम्झौता अनुसार नेपालले पानी नपाउँदा समेत प्रधानमन्त्री ओली मौन बस्नु राष्ट्रघाती काम भएको बताएका हुन् । 

मधेसमा पानीको हाहाकार हुँदा किसानले समयमै धान खेती गर्न नपाएको बताउँदै नारायणी सिँचाई  आयोजना, कोशी सिँचाई आयोजनामा आउनुपर्ने पानी नआउँदा समेत प्रधानमन्त्री ओलीले चुपी साध्नु राष्ट्रवादी नभई राष्ट्रघाती काम भएको उनको भनाई छ । 

‘यही नारायणी नहर बारा जिल्लाकोबिच भएर जान्छ, तर पानी छैन । नेपाल र भारतको सम्झौता अनुसार जति दिनुपर्ने हो त्यसको १० प्रतिशत पनि पानी नेपालले पाएको छैन । आफ्नो हक अनुसार भारतसँग पानी माग्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको हो कि होइन ? यो सरकार किन बनेको हो ? खाली सम्झौता गर्न, बेच्नका लागि बनेको हो ? कि आफ्नो हक खोज्नका लागि पनि बनेको हो ?,’ आजपा अध्यक्ष साहले भने, ‘केपी ओलीजी तपाई राष्ट्रवादी हो भने किन आफ्नो हक खोज्नुभएन ? किसानले किन नारायणी सिँचाईबाट आफ्नो भागको पानी पाएन ? किन गण्डक नहरमा पानी आएन ? यसको जवाफ हामीलाई चाहिएको छ । केपी ओलीजी तपाई राष्ट्रघात गर्ने । हाम्रो सिँचाई बेचेर अनि मालपानी जोड्ने ?’ 

नेपाल–भारतको सम्झौता अनुसार गण्डक नहरमा पानी नआउँदा समेत प्रधानमन्त्री ओली भारतसँग पानी नमागेर राष्ट्रघाती काम गरेको बताउँदै उनले आक्रोश पोखका छन् ।

‘सम्झौता अनुसार पानी पाउनु किसानको हक अधिकार हो । तर तपाईँले किन पानी नपाउँदा कुरा गर्नुभएन ? आफ्नो हक अधिकार पनि छोड्ने सरकारलाई राष्ट्रवादी भन्ने कि राष्ट्रघाती भन्ने ? हामी त्यसलाई देशभक्त भन्ने कि दलाल भन्ने ? केपी ओलीजी यो राष्ट्रघाती काम चल्दैन । तपाई (ओली)को राष्ट्रघाती कार्य हामीलाई स्वीकार्य छैन । तपाईँको शरीरमा थोरै पनि नेपालको दानापानी छ भने नेपालको हकको बारेमा बोल्नुस् । नेपालीको भाग खोज्नुस्,’ आजपा अध्यक्ष साहले भने । 

दुई तिहाइ शक्तिशाली सरकारको काम ‘एक पैसा’को पनि नभएको समेत साहले टिप्पणी गरे । सर्वसाधारण जनता, किसान, मजदुरको पक्षमा वर्तमान सरकार काम नगरेर ‘मृत्यु शैया’मा पुगे जस्तै अनुभूति भइरहेको उनले बताए । 

सरकारले मधेसलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको समेत उनले बताए । आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुक्खाक्षेत्र घोषणाले पीडितलाई थप पीडित बनाएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप