हावामा अल्झिएको स्वर : स्वच्छन्दतावादको पुनर्जागरण
औद्योगिक क्रान्तिले ल्याएको कृत्रिमता र समाजको तनावबाट टाढा भागेर अठारौँ शताब्दीको अन्त्यतिर प्रकृतिमा शान्ति र आध्यात्मिकता खोज्ने कविको एउटा जमात ‘रोमान्टिक कवि’ भनेर संसारमा चिनियो । ती कविले प्रकृतिमा सौन्दर्य, शान्ति, स्वतन्त्रता र मानव आत्माको गहिरो सम्बन्ध देखे । सहरको कोलाहलमा आफ्नो अस्तित्व र आत्मा समेत विलीन हुँदै गएको आभास हुन थालेपछि ती कविहरू प्रकृतिको छायामा आत्माको पुनर्जागरण खोज्दै हिँडे । हाम्रो देशभन्दा हजारौँ माइल टाढाका ती रोमान्टिक कविले आजभन्दा करिब डेढ सय वर्षअघि नै यस्तो खोज सुरु गरेका थिए । आज सहरको कोलाहलबाट टाढा गाउँको काखमा, प्रकृतिको पछ्यौरीमा, नेपालको एउटा कुनामा बसेर त्यसरी नै कवितामा प्रकृति उमारिरहेछन् कवि सिजन श्रेष्ठ ।
सिजन श्रेष्ठको कविता सङ्ग्रह ‘हावामा अल्झिएको स्वर’मा कुल ५३ कविता समेटिएका छन् । यस सङ्ग्रहमा प्रकृतिको सूक्ष्म र विविध प्रयोग अत्यन्त सशक्त रूपमा देखिन्छ । श्रेष्ठले प्रकृतिलाई केवल पृष्ठभूमि होइन भावनाको अभिव्यक्ति र आध्यात्मिक अनुभवको स्रोतका रूपमा प्रयोग गरेका छन् ।
प्रेमिकाप्रतिको अपार प्रेम देखाउन होस् वा प्रेमिकासँगको बिछोडको पीडादायी कथालाई बुन्न होस्— कविले प्रकृतिलाई संवेदनाको वाहक बनाएका छन् । उनको कवितामा प्रेमी कहिले वनको एकान्त कुनाभित्र पसेर भावना पोखिरहेको भेटिन्छ त कहिले सूर्यास्तको सुनौलो क्षितिजभित्र प्रेमको सुगन्ध मिसाउँदै गरेको भेटिन्छ । ‘पानीमा प्रेम’ शीर्षक कवितामा ऊ पानीलाई साक्षी राखेर आफ्नी बिछोडिएकी प्रेमिकालाई सम्झन्छ ः
कुनै दिन छुट्दाखेरि
तिमीले छोएकी थियौ
यो नदीको पानी
म पनि त्यही बेला
छुँदै थिएँ यही पानी
वर्षौं बितिसक्यो
अहिले पनि छुन्छु
यही नदीको पानी
तर थाहा छैन
मैले छोएको पानी
पुग्छ वा पुग्दैन तिमीसम्म ?
प्रकृतिलाई साक्षी राखेर सोधिएको यो प्रश्नमा न कुनै रोष छ न त आक्रोश— केवल प्रकृतिजस्तै स्वच्छ, कोमल, निष्कलङ्क भावना छन् । कवितामा फूल, नदी, पहाड, चन्द्रमा अत्यधिक मात्रामा प्रयोग गरेर उनले प्रकृतिप्रतिको प्रेम झल्काएका छन् । यी विम्बमार्फत उनले मानव जीवनमा निहित प्रेम, वेदना, रहस्य र सुन्दरतालाई उजागर गरेका छन् ।
‘तिम्रो नाम’ शीर्षकको कवितामा उनी प्रेमिकाको सम्झनालाई प्रकृतिसँग जोडेर जङ्गलको बिच भागमा बगिरहेको झरनालाई युवतीको केशराशिसँग तुलना गर्दै लेख्छन्—
दोस्रोपटक
जङ्गलको बिच भागमा
तिम्रो केशझैँ केस्रा–केस्रा भएर बग्ने
झरनाको केशराशिलाई
बाट्दाबाट्दै लेखेको थिएँ— तिम्रो नाम ।
यी दुवै कवितामा प्रेम केवल मान्छेमा होइन प्रकृति, समय र स्मृतिको बहावमा मिसिएको छ ।
उनका कविता पढ्दै गर्दा लाग्छ, मानौँ कवि स्वयं प्रकृतिको एउटा अङ्ग बनेर आफ्ना अनुभूति बहाइरहेका छन् । शब्दहरूको चयन, रूपकहरूको प्रयोग र भावनात्मक गहिराइ— यी सबैले कवितालाई पढ्न लायक र महसुस गर्न लायक बनाएका छन् । प्राञ्जल भाषामा लेखिएका सङ्ग्रहका कवितामा प्रयोग गरिएका भाषा जति सरल छन्, विषयवस्तु त्यति नै गहन । उनको कवितामा जीवनप्रतिको उच्चतम आशा प्रतिविम्बित भएको देख्न सकिन्छ-
आज
आकाशको मौनता चिर्न
आफ्नो पखेटामा च्यापेर
ल्याएकी छे जुनकीरीले
एउटा नयाँ घाम ।
प्रेमिकाप्रतिको अपार प्रेम देखाउन होस् वा प्रेमिकासँगको बिछोडको पीडादायी कथालाई बुन्न होस्— कविले प्रकृतिलाई संवेदनाको वाहक बनाएका छन् । उनको कवितामा प्रेमी कहिले वनको एकान्त कुनाभित्र पसेर भावना पोखिरहेको भेटिन्छ त कहिले सूर्यास्तको सुनौलो क्षितिजभित्र प्रेमको सुगन्ध मिसाउँदै गरेको भेटिन्छ ।
श्रेष्ठको कविताले पाठकलाई बालवयको स्मृतिलोकमा डोर्याउँदै लैजान्छ र आनन्दको चरमोत्कर्षमा पुर्याउँछ । कविता पढ्दा पाठकले महसुस गर्छ कि ऊ कविताको पात्रसँगै फेरि एकपटक बालापन बाँचिरहेछ । ऊ त्यही अबोधपनमा फर्किएको छ, जहाँ उसकी आमाले साग बेचेर उसका निम्ति बेलुन किनेर ल्याउँछिन् । बालकका निम्ति त्यो बेलुन खुसीको प्रमुख स्रोत हो, ऊर्जा हो र कल्पनाशीलता हो । सरल ढंगबाट कविले जीवनको जटिल सन्देश प्रवाह गरेका छन्— बालकलाई खुसी रहन एउटा बेलुन नै पर्याप्त छ ।
कविले बाल्यावस्थाको मनोविज्ञानलाई आफ्नो कविताको विषयवस्तु बनाएर पाठकलाई नयाँ स्वाद मात्र पस्केका छैनन्, उठान गर्नैपर्ने तर साहित्यमा अलि बेवास्ता गरिएको विषयलाई सानदार ढंगले प्रस्तुत गरेका छन् । उनका कवितामा बालक स्वयं पात्र भएर अलौकिक दुनियाँको परिकल्पना गर्छ । उसले मौसमप्रति देखाएको असन्तुष्टि समेत बडो मायालु लाग्छ ः
धर्तीमा किन खस्नुपर्यो हँ यो झरी ?
निथ्रुक्कै भिजाएर किन चुम्नुपर्यो ?
मेरो कलिलो गाला ?
हावामाथि तैरिँदै तैरिँदै
सागरसम्म पुग्ने बाटो
हिँडे के बिग्रन्थ्यो यो झरीको ?
आकाशमा चराझैँ उडिदिए
हुनथ्यो नि यो डुम्रे खोलो पनि ?
आखिर किन छेक्छ हँ यसले सधैँ
मेरो मामाघर जाने बाटो ।
के यिनीहरूको चाहिँ मामाघर हुँदैन ?
रोमान्टिक कविताका अग्रदूत ब्रिटिस कवि विलियम ब्लेकको ‘सङ अफ इनोसेन्स’ भित्रका कविता पढेको झल्को पाठकले प्राप्त गर्छन्, श्रेष्ठका यी कवितामा ।
श्रेष्ठका कविताले उनी २१औँ शताब्दीको ‘रोमान्टिक कवि’ हुन् भन्ने बलियो आधार तयार पार्छ । उनको कवितामा प्रयोग गरिएको सरस भाषा र चरम कल्पनाशीलताले यस सङ्ग्रहले स्वछन्दतावादी धार बलियो गरी पक्रिएको आभास हुन्छ । समाजको तल्लो तहमा रहेका संघर्षशील समुदायको जीवन भोगाइलाई मुख्य विषयवस्तु बनाएर कविले आफूलाई एक सशक्त स्वछन्दतावादी कविका रूपमा दर्ज गराएका छन् भन्नु अतिशयोक्ति हुँदैन ।
कविताका पात्रमा साग बेचेर सन्तानको खुसी किन्ने आमाहरू छन् । ती बस्ने गाउँमा कहिल्यै पर्दैन बजेट, संसद्का भाषणहरूमा-
हो, यहीँबाट सुरु हुन्छ
मेरो गाउँको कथा
संसद्का बजेट भाषणहरूमा कहिल्यै नपर्ने
राष्ट्र र राष्ट्रियताका धूनभन्दा धेरै टाढा
धर्तीभन्दा केही माथि
र आकाशभन्दा केही तल
ठ्याक्कै बादलको बिच भागमा घुमिरहने
एउटा निस्तब्ध गाउँ छ
त्यो मेरो गाउँ हो ।
कविले आफ्ना रचनामा विचार र कल्पनाको अलौकिक मिश्रण गराएका छन् । उनका कवितामा सर्वसत्तावादीको विरुद्धमा सशक्त स्वर मुखरित भएको छ; विभिन्न स्थानको मनमोहक वर्णन छ; हाम्रो समाजमा विद्यमान मिथकको प्रयोग छ र छ इतिहासको उपस्थिति । विविध विषय समेटिएका श्रेष्ठका कवितामा ‘अशोक चल्ल’ सजीव पात्र भएर पाठक सामुदेखा पर्छन् । कविले दन्त्यकथाको पानाबाट एकाएक हराएकी ‘पुनखुँ मैँचा’ खोज्ने हुटहुटी पाठकमा जगाएका छन् । । अद्भुत कल्पनाशीलता प्रयोग गरेर कवि आफैँ जरामा फूल फुलाउँछन्, पातालमा जून पुर्याउँछन् अनि फेरि चिन्ता व्यक्त गर्छन्; अब जरामा फूलको र पातालमा जूनको सुरक्षा कसले गर्छ हँ ?
समाजमा घटित घटना र समाजमा देखापरेका परिवर्तनप्रति कवि आफ्नो दृष्टि पारिरहेका भेटिन्छन् । प्लास्टिक संस्कृति हुर्काउनेप्रति उनी आक्रोशित देखिन्छन्, कविताको पङ्क्तिहरूमा ।
बाल्यकाल हराएकामा विस्मित बनेको मनोभावलाई बडो सुन्दर ढङ्गले अभिव्यक्ति गरिएको छ-
पोथ्रामा हराएसरि समय
नफर्किएपछि बाल्यकाल
भिड आफैँ एक्लै दौडिरहेछ भिडमा
एक्लो भिडमा कसरी नदौडिदो हुँ एक्लै म पनि ?
बाँकी नै छ बुझ्न तर
भिडमा पनि किन एक्लै र एक्लै दौडिरहेछु म ?
मानिस भिडमा पनि एक्लो भएको आजको समाजको यथार्थ पस्किएर कविले पाठकको मनमा अपनत्वको भाव जगाएका छन् । यस्तो अभिव्यक्तिले कवितामा सार्वभौमिकताको आभास दिलाएको छ ।
कविले सम्पूर्ण प्रकृतिलाई नै विम्बका रूपमा पस्किएका छन् । प्रकृतिप्रति कविले देखाएको प्रेम सराहनीय छ । लयात्मकता श्रेष्ठको कविताको सबल पक्ष हो । यी कविताको लयले पाठकलाई मन्त्रमुग्ध बनाउने निश्चित छ ।
कवि श्रेष्ठका कविताले नेपाली कविताको क्षेत्रमा नयाँ स्वाद लिएर आएको छ । यिनको कविता बुझ्न पाठक पनि उत्तिकै सचेत हुन आवश्यक छ तर एउटै प्रकारका विम्ब दोहोरिँदा केही पाठकलाई असहज लाग्ने सम्भावना पनि रहन्छ । कतिपयले यिनमा कल्पनाशीलताको प्रयोग अत्यधिक भयो भन्न सक्नेछन् ।
यसो हुँदाहुँदै पनि श्रेष्ठका कवितामा समाजका प्रायः व्यक्तिले आफ्नो कुनै न कुनै प्रतिविम्ब देख्न सक्नेछन्; यही यस सङ्ग्रहको एक सबल पक्ष हो । कल्पनाशीलताको प्रयोग र स्वच्छन्दतावादको प्रभाव कवितामा केही ज्यादा भए पनि यिनका कवितामा समाजका विविध विषय समेटिएका छन् । नेपाली कवितामा लगभग सेलाइसकेको स्वच्छन्दतावादलाई पुनः प्रयोग गरेर यति मिठो कविता पस्किन सफल कवि श्रेष्ठलाई हार्दिक बधाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण