बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
डिजिटल गाईजात्रा

‘भेडातन्त्र’देखि ‘मिसन नौटंकी’सम्म : नेता र भ्रष्टाचारमाथि कलाकारहरूको झटारो

शनिबार, २४ साउन २०८२, १५ : १७
शनिबार, २४ साउन २०८२

सारांश

  • यस वर्षको गाईजात्रामा कलाकारहरूले डिजिटल माध्यमबाट राजनीतिक घटनाक्रम, भ्रष्टाचार र सामाजिक विसङ्गतिमाथि व्यंग्य प्रहार गरे।
  • शैलेन्द्र सिंखडा, जोगिन्दर, जितु नेपाललगायतका कलाकारहरूले डिजिटल प्लेटफर्ममार्फत प्रस्तुति दिए, जसमा राजनीतिक विषयवस्तुलाई प्राथमिकता दिइएको थियो।
  • डिजिटल गाईजात्राले व्यापक पहुँच पाएको र दर्शकहरूले घरमै बसेर पनि कार्यक्रम हेर्न सक्ने भएका छन्।

काठमाडौंँ । सडकदेखि सदनसम्मका विकृतिप्रति खुलेर व्यङ्गय गर्ने पर्व हो–गाईजात्रा । एकसमय गाईजात्राको रौनक काठमाडौँ उपत्यकाको डबलीहरूमा सीमित थियो ।

त्यो समय विकृतिमाथिको व्यंग्यात्मक प्रहार गर्ने मानिस घन्टौँ हिँडेर निश्चित ठाउँमा पुग्थेँ । बिस्तारै यो व्यंग्य सहरका पे्रक्षालयमा पुग्यो । एक दिनको कार्यक्रम पे्रक्षालयको प्रवेशसँगै सातदेखि १५ दिनसम्मका भए ।
तर, प्रविधिको विकास र डिजिटल माध्यमको उदयसँगै गाईजात्राले आफ्नो परम्परागत मञ्च फराकिलो बनाएको छ । सडकबाट सुरु भएको यस्तो व्यंग्य अहिले डिजिटलमय भएको छ । 

विशेषगरी कोरोना महामारीपछि गाईजात्रा डिजिटलमा मौलाएको हो । सो समय भौतिक दूरी अनिवार्य भएको कारण कलाकारले नयाँ बाटो रोजेका हुन् । जसको उपयुक्त प्लेतफर्म बन्यो युट्युब । 

कलाकार मनोज गुरेलदेखि शिवशंकर ‘जोगिन्दर’सम्म सबैका लागि डिजिटल प्लेटफर्म गाईजात्राका नयाँ डबली बने । व्यंग्यले भरिएका भिडियो, प्यारोडी गीत, राजनीतिक घोचपेचदेखि ‘सेलिब्रेटी’का नक्कलसम्म यसमै ल्याउन थालिए । जसलाई अचेल डिजिटल गाईजात्रा भन्न थालिएको छ । 

डिजिटल गाईजात्राको सबैभन्दा राम्रो पक्ष भनेको व्यापक पहुँच हो । यो एकै समय र सहज रूपमा विश्वभर छरिएर रहेकासँग पुर्‍याउन सकिन्छ । दर्शकले घर, अफिस, स्वदेश, विदेश जहाँबाट र जस्तो अवस्थामा पनि हेर्न सक्ने भए ।

डिजिटल प्लेटफर्मको प्रभावकारिताको कारण यो वर्ष पनि केही कलाकारले आफ्नो ‘गाइजात्रे कमेडी (व्यंग्य)’ डिजिटलमा ल्याएका छन् । त्यसरी डिजिटलमा जाईजात्रे कोसेली ल्याउने कलाकार हुन् शैलेन्द्र सिंखडा, जोन्दिर, जीतु नेपाल, कमल गाउँले, रवि डंगोल, रुपेश रेग्मी र गोपाल तिमल्सिना ।

राजनीतिक र सामाजिक व्यंग्य

यस वर्षको गाईजात्रामा पनि कलाकारहरूले डिजिटल माध्यममार्फत राजनीतिक घटनाक्रम, भ्रष्टाचार र सामाजिक विसङ्गतिमाथि घतलाग्दो व्यंग्य प्रहार गरेका छन् । प्रस्तुतिको विषय र शैलीमा भने कलाकारपिच्छे भिन्नता पाइन्छ । केहीले प्यारोडी गीतमार्फत साङ्गीतिक मनोरञ्जन पनि पस्केका छन् । 

वरिष्ठ हास्यकलाकार सिंखडाले ‘गाईजात्रा २०८२’ मार्फत बौद्धिक व्यंग्य प्रस्तुत गरेका छन् । उनले आफ्नो प्रस्तुतिलाई ‘प्रस्ट र भ्रष्टको कुरुक्षेत्र’को संज्ञा दिँदै छिमेकी मुलुक भारतको नेपालमाथिको चलखेललाई मुख्य विषय बनाएका छन् । 

सिंखडाको व्यंग्य सत्तामा बसेर मानव अधिकार हनन गर्ने, सहकारी ठगी, राजतन्त्र फर्काउने प्रयास र पूर्वराष्ट्रपतिको राजनीतिमा पुनरागमनजस्ता विषयमा केन्द्रित छ । उनले प्रधानमन्त्री, कांग्रेस सभापति र माओवादी अध्यक्षबाट देश बन्न नसक्ने धारणा राख्दै विद्यार्थीदेखि डाक्टरसम्मलाई आफ्नो व्यंग्यको तारो बनाएका छन् । सिंखडाले स्ट्यान्ड–अप कमेडीको शैलीमा आफ्नो कमेडी ल्याएका हुन् ।

 

अर्का हास्यकलाकार ‘जोगिन्दर पानवाला’ले ‘मिसन नौटंकी’ नामक प्रस्तुति ल्याएका छन् । २०६१ सालदेखि नियमित गाईजात्रे कोसेली पस्कँदै आएका रिजालको यो २२ औँ प्रस्तुति हो । उनले नेताहरूको ‘मिसन ८४’ लाई ‘नौटंकी’ को संज्ञा दिँदै भ्रष्टाचार र नेताका गलत क्रियाकलापमाथि व्यंग्य गरेका छन् । चर्चित चलचित्र ‘जात्रै जात्रा’को ‘लाइदेऊ माया पिरिम’ गीतको प्यारोडीमार्फत उनले रवि लामिछानेको जेल यात्रा, नेताका क्रियाकलाप, भ्रष्टाचार र लुटपाटजस्ता विषयमा प्रहार गरेका छन् । उनको प्रस्तुतिमा राधिका हमाल, प्रेम शर्मा पौडेल, सावित्रा लामिछाने लगायतका कलाकारहरूको अभिनय छ । 

 

अर्का हास्यकलाकार जितु नेपालले ‘मुन्द्रेको हास्य व्यंग्य सामग्री २०८२’लाई चार भागमा सार्वजनिक गर्ने योजनाअनुरुप पहिलो भाग ‘व्यर्थ मन्त्रीको बजेट भाषण’ ल्याएका छन् । यसमा उनले संसद् भवनभित्र सभामुख र मन्त्रीबिचको संवादमार्फत त्यहाँका विकृति र विसङ्गतिमाथि व्यंग्य गरेका छन् । आगामी भागहरूमा राजनीति छोडेर सन्न्यास लिने नेता, नयाँ ‘महाराज’, मन्त्रीको हरिबिजोग र ‘गरुण पुराण’जस्ता विषयमा विभिन्न व्यंग्य समेटिने नेपालले बताए । 

 

कलाकार गोपाल तिमल्सिनाले ‘के हो के हो’ नामक प्रस्तुतिमार्फत देशमा अन्योलमा रहेका निर्मला हत्याकाण्ड, भुटानी शरणार्थी प्रकरण, मानव तस्करी, भिजिट भिसा, गिरीबन्धु टी–स्टेट, सेरा दरबार, पतञ्जली, ललिता निवासजस्ता प्रकरणहरूमाथि प्रश्न उठाएका छन् । उनले टीकापुर जग्गा प्रकरणदेखि वाइडबडी प्रकरणसम्मका विषयलाई आफ्नो व्यंग्यमा समेटेका छन् । सहकारी ठगी लगायत भ्रष्टाचारका अधिकांश विषय उठाउँदै उनले भ्रष्टाचारले देशलाई निलिरहेको र यो प्रवृत्ति निरन्तर चलिरहेको बताएका छन् । 

 

हुन त कलाकार रुपेश रेग्मीको ‘झोले जात्रा’मा पनि राजनीतिक र समसामयिक विषयका व्यंग्य छन् । उनले प्रधानमन्त्रीका अभिव्यक्ति, देशको भ्रष्टाचार, शिक्षा र स्वास्थ्य क्षेत्रको दुर्दशा तथा नेताहरूले नातावाद र भागबन्डामा देश चलाएको आरोप लगाएका छन् ।  

हास्य कलाकार रवि डंगोल र पुरन थापाले भने ‘माग्ने मन्त्री’ शीर्षकमा गाईजात्रे कोसेली ल्याएका छन्, जसमा कलाकार पल्पसा डंगोलको पनि सहभागिता छ । उनीहरूले पूर्वप्रधानमन्त्री ओलीका पुराना भाषण, सरकारले नागरिकलाई दिन नसकेको स्वास्थ्य, कृषि र रोजगारीका अवसर तथा विदेशी अनुदानजस्ता विषयमा व्यंग्य गरेका छन् । कर्मचारी र प्रहरीको सरुवा–बढुवामा हुने चलखेल र घुसखोरीमाथि पनि उनीहरूको चोटिलो प्रहार छ ।

 

कलाकार कमल गाउँलेले ‘भेडातन्त्र’ नामक प्रस्तुतिमार्फत विगत २५ वर्षदेखिको आफ्नो गाईजात्रा यात्रालाई निरन्तरता दिएका छन् । उनको व्यंग्यमा विदेशमा रहेका नेपालीको पीडा, कर्मचारीको मोजमस्ती, सांसदको भत्ता तथा सामाजिक र राजनीतिक विकृति समेटिएका छन् । उनले लोकतन्त्रको नाममा लुटतन्त्र मौलाएको भन्दै विभिन्न विषयमाथि शक्तिशाली व्यंग्य गरेका छन् । 

किन बनाउने कोसेली ?

हास्यकलाकार जितु नेपाल गाईजात्रालाई हास्यव्यंग्यको महत्त्वपूर्ण पर्व मान्दै यसको संरक्षणका लागि आफूले कमेडी प्रस्तुति बनाएको बताउँछन् । लामो समयसम्म स्टेजमा गाईजात्रा कार्यक्रम गरेका नेपालले अहिले स्टेज कार्यक्रम गर्न छाडे पनि व्यंग्य संस्कृतिलाई जीवन्त राख्न डिजिटल माध्यममा गाईजात्रे कोसेली आफूले ल्याउनको उनको भनाइ छ । 

‘एउटा केही सिर्जना पनि हुने र गाईजात्रामा मैले यस्तो बनाएको थिएँ भन्ने रेकर्ड पनि रहने साथै दर्शकलाई केही रमाइलो पनि मिल्ने हेतुले गाईजात्रे कोसेली बनाएको हुँ,’ नेपालले थपे । 

नेताहरूको क्रियाकलाप र समाजका विकृति विसंगतिमाथि व्यंग्य गर्दै दर्शक तथा स्रोतालाई हास्य व्यंग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले आफूले कमेडी कोसेली ल्याएको कलाकार जोगिन्दरले बताए ।

‘२०६१ देखि नियमित ‘जाइजात्रे’ कोसेली ल्याउँदै आएको छु । त्यसकै निरन्तरताका लागि ‘मिसन नौटङ्की’ ल्याएको हो,’ रिजालले भने, ‘अहिले यो कोसेली ल्याउदा फाइदा छैन । तर पनि गरेको काम गर्न मन लाग्छ ।’
दर्शकलाई मनोरञ्जन पनि हुने र व्यंग्यले विकृति र विसंगति सुधार्न केही मद्दत पुग्ने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप