शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ओली भारत भ्रमण

मोदी चीनबाट फर्केपछि मात्र ओली भारत जाने, भ्रमण लम्ब्याउने तयारी

जानकारहरू भन्छन् – मोदीकाे चीन भ्रमणले नेपाललाई पनि फाइदा
शनिबार, २४ साउन २०८२, १५ : ५३
शनिबार, २४ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा छन्, भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदैछन्।
  • ओलीको भारत भ्रमण भदौ ३१ र असोज १ गते हुने तय भएको छ, तर भ्रमण लम्ब्याउने विषयमा छलफल भइरहेको छ।
  • पूर्वराजदूत टंक कार्कीका अनुसार भारत र चीनको मित्रताले नेपाललाई फाइदा पुग्छ, तर नेपाल यसमा चुकेको छ।

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी गरिरहँदा उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणको तयारीमा लागेका छन् । 

लामो प्रतीक्षापछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन् । ओलीको भारत भ्रमण भदौ ३१ र असोज १ गते गरी दुई दिन हुने बुझिएको छ । यद्यपि भ्रमण लम्ब्याउने विषयमा दिल्ली–काठमाडौँबिच कुराकानी पनि चलिरहेको छ । 

भ्रमणकै सिलसिलामा भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते नेपाल आउनेछन् । र उनैले भ्रमणको आधिकारिक निम्तो दिनुका साथै अन्य विषय पनि टुङ्ग्याउने बताइन्छ । 

जसरी प्रधानमन्त्री ओली लामो समयपछि भारतको भ्रमणमा जाँदै छन्, उता भारतीय समकक्षी मोदी पनि सात वर्षपछि चीन भ्रमणमा जान लागेका हुन् । यो भ्रमण प्रधानमन्त्री अ‍ोलीले गर्ने भारत भ्रमणभन्दा पहिले हुँदै छ । अर्थात् मोदी अगस्ट ३१ र सेप्टेम्बर १ मा चीन भ्रमणमा जान लागेका हुन् । यो भनेको भदौ १५ गते हो । र मोदी चीनबाट फर्केपछि मात्र प्रधानमन्त्री ओली भारतमा जानेछन् ।

यता मोदीकाे चीन भ्रमणले नेपाललाई पनि फाइदा पुग्ने पूर्वराजदूत टंक कार्की बताउँछन् । 'भारत र चीन नेपालका छिमेकी देश भएकाले यी दुई देशको मित्रताले नेपाललाई पनि फाइदा पुग्छ,' चीनका लागि नेपालका पूर्वराजदूत कार्की भन्छन् । साथै उनले चीन र भारतको सम्बन्ध राम्रो हुँदा त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने बताए । 'आर्थिक रूपमा सम्पन्न दुई देशको बिचमा नेपाल छ, जताबाट पनि फाइदा लिन सक्छ,' कार्कीले भने, 'तर नेपाल त्यसमा चुकेको छ ।'

यस्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जानु र मोदी पनि चीन भ्रमणमा जानुलाई अर्थपूर्ण रूपमा लिनुपर्ने कूटनीतिक मामिलाका एक जानकार बताउँछन् । 'पछिल्लो समय नेपाल र भारतको सम्बन्ध स्वस्थकर छैन, लामो प्रतीक्षापछि ओलीको भ्रमण हुन लागको छ, त्यसअघि मोदीले चीनको भ्रमण गर्नु ठुलो संकेत हो,’ उनले बताए । र मोदीले आफू चीन भ्रमणमा जानुअघि आफ्ना दूतका रूपमा विदेश सचिव मिश्रीलाई नेपाल पठाएर उच्चस्तरीय भेटघाट गर्न लगाउनू महत्त्वपूर्ण गरेको पनि उनी तर्क गर्छन् । 

अमेरिका र चीन भ्रमण गरिसकेका प्रधानमन्त्री ओली २०८१ मंसिर १७ गते चीन भ्रमणमा गएका थिए । भारतले भ्रमणका लागि निम्तो नदिएपछि ओली चीनतर्फ लागेका थिए । 

नेपालका कुनै पनि प्रधानमन्त्रीको पहिलो भ्रमण चीन हुनु नौलो विषय थियो, जुन ओलीकै पालमा सम्भव भयो । यसले पनि नेपाल–भारबिचको सम्बन्धमा चिसोपन थपिएको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।

तर अब हुन लागेको ओलीको भारत भ्रमण नेपालबाट पछिल्लो समय भएको कूटनीतिक प्रयासका रूपमा धेरैले हेरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप