बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बिरालो प्रेमीका लागि क्याट क्याफे : तनाव घट्छ, मन रमाउँछ
जीवनशैली

बिरालो प्रेमीका लागि क्याट क्याफे : तनाव घट्छ, मन रमाउँछ

आइतबार, २५ साउन २०८२
  • शब्द/तस्बिर : ममुन केसी

काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित मितेरी मार्गमा रहेको क्याट क्याफे नेपाल (Cat Café Nepal) ले अहिले धेरैको ध्यान तानिरहेको छ। यो क्याफेमा मानिसहरू बिरालासँग समय बिताउँछन्, रमाउँछन् र तनाव घटाउँछन्।

Cat cafe_NPL1

क्याट क्याफेको सुरुआत आकृति श्रेष्ठले गरेकी हुन्। उनी सानैदेखि बिरालो प्रेमी थिइन्  उनले विदेश गएका बेला त्यहाँको क्याट क्याफे संस्कृति देखेर प्रभावित भइन्। नेपालमा पनि यस्ता ठाउँ हुनुपर्छ भन्ने सोचका साथ उनले २०७९ सालमा झम्सिखेलमा नेपालकै पहिलो क्याट क्याफे सुरु गरिन्। त्यही  अहिले मध्य बानेश्वरमा सारिएको हो । अहिले यसको सञ्चालन आकृतिका भाइ आर्यन श्रेष्ठले गरिरहेका छन्। आकृति भने अहिले अस्ट्रेलियामा छिन्।

Cat cafe_NPL2

आर्यन भन्छन्, ''नेपालमा अझै पनि धेरैले बिरालालाई अशुभ मान्छन्। बिरालाले रोग सार्छ, अपशकुन ल्याउँछ भन्ने सोच छ। हामी त्यही सोच बदल्न चाहन्छौँ। क्याट क्याफे खोल्नुको मुख्य उद्देश्य भनेकै यस्तो सकारात्मक संस्कृति ल्याउनु हो जहाँ मानिस र जनावरबिच आत्मीय सम्बन्ध हुन्छ। मानसिक शान्तिको लागि पनि यस्तो ठाउँ आवश्यक छ।''

Cat cafe_NPL4

क्याट क्याफेमा अहिले १७ वटा पर्सियन जातका बिरालाहरू छन्, जुन भारत र थाइल्याण्डबाट ल्याइएका हुन्। यहाँको मुख्य आकर्षण हो क्याट रुम । यसमा प्रवेश गर्न ५०० रुपैयाँ शुल्क लाग्छ, जसमा तपाईंले एक खानेकुरा र एक ड्रिंक रोज्न पाउनुहुन्छ। अनि स्वस्थ, सफा बिरालासँग घन्टौँ समय बिताउन पाउनुहुन्छ। "बिरालाहरू तपाईँको खाना हेरेर लोभिँदैनन्, उनीहरू तपाईँको संगतमा रमाउँछन्," आर्यन भन्छन्।

Cat cafe_NPL5

क्याट क्याफेमा प्राय: कलेज पढ्ने युवा, टिनएजर्स, अनि आमाबुबा र साना बालबालिका आउने गर्छन्। “मानिसहरू आउँछन्, बिरालासँग समय बिताउँछन्, अनि रमाएर फर्कन्छन् । धेरैले तनाव कम भयो भन्ने प्रतिक्रिया दिनुहुन्,” आर्यन सुनाउँछन्।

Cat cafe_NPL7

क्याट रुम तल्लो तलामा छ भने माथिल्लो तलामा सामान्य रेस्टुरेन्ट रहेको छ। जहाँ विभिन्न परिकार र पेय पदार्थ उपलब्ध छन्।

Cat cafe_NPL13

क्याट क्याफे नेपालभरमै यस्तो पहिलो भएको दाबी आर्यनको छ । उनको योजना भनेको आगामी दिनमा यसको नयाँ शाखा खोल्ने हो। उनी भन्छन्, “क्याट क्याफे केवल व्यापार होइन, यो सेल्फ–केयर पनि हो। तपाईं यहाँ आउनुहोस्, बस्नुहोस्, खेल्नुहोस् अनि आफैँ अनुभूति गर्नुहोस् कि जनावरहरूसँग बिताएको समयले तपाईँको मनलाई कसरी हल्का बनाउँछ।”

Cat cafe_NPL16

क्याट क्याफे बिहान ११ देखि साँझ ८ बजेसम्म खुल्छ । यसैगरी रेस्टुरेन्ट बिहान ११ देखि राति १० बजेसम्म खुला रहन्छ ।

Cat cafe_NPL3Cat cafe_NPL6Cat cafe_NPL8Cat cafe_NPL9Cat cafe_NPL10Cat cafe_NPL11Cat cafe_NPL12Cat cafe_NPL14Cat cafe_NPL15

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया