काठमाडौँमै पानी असुरक्षित ? महानगरले एक हप्तामै २७१ जार नष्ट गर्यो
सारांश
- काठमाडौँ महानगरपालिकाले पिउने प्रशोधित पानीको जारमाथि अनुगमनलाई तीव्रता दिएको छ।
- महानगरले मापदण्डविपरीतका जार बरामद गरी नष्ट गर्नुका साथै पानी कम्पनीहरूलाई कडा निर्देशन दिएको छ।
- अनुगमनका क्रममा, महानगरले बल्खु, चाबहिल, माछापोखरी र कोटेश्वर क्षेत्रमा चेकपोस्ट राखेको थियो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पिउने प्रशोधित पानीको जारमाथिको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीबाट सर्ने रोगहरूको जोखिम बढ्दै गएपछि महानगरले प्रशोधित पानीको अनुगमन र कारबाहीलाई एकसाथ अघि बढाएको हो ।
पछिल्लो एक हप्तामा मात्रै महानगरले विभिन्न स्थानबाट मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट गरिएको जनाएको छ । महानगरको अनुगमनको जिम्मा लिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेकाअनुसार असार र साउन महिनामा मात्रै १३९ वटा गाडीको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र मापदण्ड नपुगेका जारहरू बरामद गरी नष्ट गरिसकिएको छ ।
‘बर्खा याममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै हामीले प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ’ न्यौपानेले भने- ‘मापदण्ड विपरीतका जारहरूले तिम्रो स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ ।’
कहाँ–कहाँ भयो अनुगमन ?
चालु आर्थिक वर्ष सुरु भएयता महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वरजस्ता मुख्य क्षेत्रहरूमा चेकपोस्ट राखेर अनुगमन गरेको हो । पछिल्लो एकहप्ता यता साउन १८ गते कोटेश्वरमा १५ वटा सवारी साधनको अनुगमन गर्दा ७७ वटा मापदण्ड विपरीतका जार बरामद गरेको थियो ।
साउन २० गते बल्खुमा ८ वटा कम्पनीका सवारी साधन जाँच गर्दा ५९ वटा कुच्चिएका, फुटेका र फोहोर जारहरू भेटिएको थियो । साउन २१ गते चाबहिल–चुच्चेपाटीमा १९ वटा सवारी साधनको अनुगमनमा ६७ वटा जार बरामद गरियो। साथै पानीको गुणस्तर जाँच्न ३ वटा जारको नमुना प्रयोगशालामा पठाइएको छ।
यस्तै साउन २३ गते माछापोखरी–बालाजुमा २० वटा सवारी साधनको अनुगमन गर्दा ६८ वटा मापदण्ड विपरीतका जारहरू फेला परे, जसलाई नष्ट गर्न पठाइएको महानगरले जनाएको छ ।
पानी कम्पनीहरूलाई कडा निर्देशन
अनुगमनका क्रममा महानगरले पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतका जारमा पानी बिक्री नगर्न, जारमा उत्पादन मिति र कम्पनीको स्पष्ट लेबल राख्न, बिल–बिजक साथमा लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन कडा निर्देशन दिएको छ ।
फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले पानीको भौतिक र जैविक गुणस्तर जाँच्नु अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले भने- ‘प्रयोगशालामा पठाइएका नमुनाहरूको परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्नेछौँ। तिमीजस्ता नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।’
विगतमा बल्खु, कालीमाटी र टङ्केश्वरजस्ता क्षेत्रमा हैजाका बिरामी भेटिएकोले यस्ता जोखिम कम गर्न महानगर संवेदनशील बनेको र आगामी दिनमा समुदायस्तरमा पानी परीक्षण र सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिने पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
-
बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू
-
स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?
-
कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण