स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?
सारांश
- सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यसहित स्पेनले शुक्रबार लस एन्जलसमा बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ।
- स्पेनले समूह 'एच' मा सात अङ्कसहित शीर्ष स्थान हासिल गर्यो र नकआउट चरणमा अस्ट्रिया र पोर्चुगललाई पराजित गर्यो।
- बेल्जियमले समूह 'जी' मा पाँच अङ्कसहित शीर्ष स्थान कब्जा गर्यो र नकआउट चरणमा सेनेगल र अमेरिकालाई हरायो।
लस एन्जलस । सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यसहित स्पेनले शुक्रबार लस एन्जलसमा बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ। आयोजक राष्ट्र अमेरिकालाई राजनीतिक विवादले छाया पारेको खेलमा पराजित गर्दै बेल्जियमले ‘अमेरिकी सपना’ समाप्त गरिदिएको थियो।
अब उसले अझै कठिन चुनौतीको सामना गर्दैछ। ‘द रेड डेभिल्स’ को सामना यस्तो स्पेनसँग हुँदैछ, जसको बलियो रक्षापङ्क्ति र बल नियन्त्रणमा आधारित संयमित खेल शैलीले उसलाई प्रतियोगिताको प्रमुख उपाधि दाबेदारमध्ये एक बनाएको छ।
पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्पेन त्यसयता प्रत्येक खेलसँगै अझ परिपक्व बन्दै गएको छ र प्रभावशाली शैलीमा क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। ‘ला रोजा’ (अर्थात् द रेड वन) ले सोमबार पोर्चुगललाई पराजित गर्दै विश्वकपको लगातार छैटौँ खेलसम्म कुनै गोल नखाने इतिहास रचेको छ। विश्वकप इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने यो पहिलो टोली हो। यही खेलसँगै क्रिस्टियानो रोनाल्डोको अन्तिम विश्वकप उपाधि जित्ने सपना पनि समाप्त भएको थियो।
उता बेल्जियमको उत्तर अमेरिकी विश्वकप यात्रा भने निकै उतारचढावपूर्ण रह्यो। शुक्रबार उसले वर्तमान युरोपियन च्याम्पियन स्पेनलाई स्तब्ध पार्न सके सेमिफाइनलमा पुग्नेछ।

- स्पेन र बेल्जियम कसरी क्वार्टरफाइनल पुगे ?
स्पेनले समूह ‘एच’ मा सात अङ्कसहित शीर्ष स्थान हासिल गर्यो। उसले साउदी अरेबिया र उरुग्वेलाई पराजित गर्यो भने केप भर्डेसँग बराबरी खेल्यो। नकआउट चरणअन्तर्गत राउन्ड अफ ३२ मा स्पेनले अस्ट्रियालाई ३–० ले हरायो। त्यसपछि राउन्ड अफ १६ को आइबेरियन डर्बीमा अन्तिम समयमा गोल गर्दै पोर्चुगललाई १–० ले पराजित गर्यो।
बेल्जियमले भने समूह ‘जी’ मा पाँच अङ्कसहित शीर्ष स्थान कब्जा गर्यो। उसले न्युजिल्यान्डलाई हरायो भने इरान र इजिप्टसँग बराबरी खेल्यो। राउन्ड अफ ३२ मा अतिरिक्त समयमा सेनेगललाई ३–२ ले हराएको बेल्जियमले त्यसपछि राउन्ड अफ १६ मा अमेरिकालाई ४–१ ले पराजित गर्यो। उक्त खेल भने फोलारिन बालोगुनको रातो कार्ड प्रतिबन्धसम्बन्धी विवादका कारण पनि चर्चामा रह्यो।
- ‘हामी स्पेनलाई हराउन सक्छौँ’ : कोर्टवा
फिफा विश्व वरीयतामा स्पेन तेस्रो र बेल्जियम आठौँ स्थानमा छन्। वरीयतामा पाँच स्थानको मात्र अन्तर भए पनि दुवै टोलीबीचको गुणस्तरमा उल्लेखनीय फरक देखिन्छ।
सन् २०१० को विश्व च्याम्पियन स्पेन लगातार ३५ खेलदेखि अपराजित छ। प्रशिक्षक लुइस दे ला फुएन्तेको नेतृत्वमा टोलीले युरोपियन च्याम्पियन हुँदै विश्वकपको प्रमुख दाबेदारसम्मको यात्रा तय गरेको छ।
अर्कोतर्फ बेल्जियमको हालको इतिहास त्यति प्रभावशाली छैन। सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको यो टोली युरो २०२४ मा अन्तिम १६ बाटै घर फर्किएको थियो।

तर बेल्जियमका कप्तान तथा गोलरक्षक थिबाउ कोर्टवा भने आफ्नो टोलीले स्पेनलाई हराउन सक्ने विश्वास व्यक्त गर्छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हाम्रो टोलीका सबै खेलाडीलाई यो सम्भव छ भन्ने विश्वास छ। हामीसँग यस्ता गुणस्तरीय खेलाडी छन्, जसलाई स्पेनले पनि गम्भीर रूपमा लिनुपर्नेछ।’
उनले थपे, ‘फुटबलमा सधैँ अप्रत्याशित नतिजा आउँछन् र यसपटक त्यो टोली हामी पनि हुन सक्छौँ। युरोपियन च्याम्पियनलाई हराउनु ठुलो उपलब्धि हुनेछ। हाम्रो आत्मविश्वास उच्च छ।’
कोर्टवाले अगाडि भने, ‘सुरुमा धेरै मानिस हामीसँग निराश थिए, तर हामीले त्यो धारणा परिवर्तन गरेका छौँ। हाम्रो खेल दिनप्रतिदिन सुधार हुँदै गएको छ।’
सन् २०१८ मा तेस्रो स्थान हासिल गरेको बेल्जियमका लागि यो विश्वकप तथाकथित ‘सुनौलो पुस्ता’ का बाँकी खेलाडीहरूको सम्भवतः अन्तिम ठुलो प्रतियोगिता पनि हो।
केभिन डे ब्रुयन, रोमेलु लुकाकुजस्ता अनुभवी खेलाडीहरू अहिले पनि टोलीका मुख्य आधार हुन्। लुकाकुले यस विश्वकपमा बेल्जियमका लागि तीन गोल गरेका छन्। लिएन्ड्रो ट्रोसार्डले दुई गोल र दुई असिस्ट गरेका छन् भने चार्ल्स डे केटेलेरे र युरी टिलेमान्सले पनि समान दुई–दुई गोल गरेका छन्।
- ‘यामालले टोलीलाई धेरै कुरा दिन्छन्’ : डानी ओल्मो
पहिलो विश्वकप खेलिरहेका लामिन यामालले अहिलेसम्म आफूबाट अपेक्षा गरिएजस्तो चम्किलो प्रदर्शन गर्न सकेका छैनन्। ह्यामस्ट्रिङ चोटबाट फर्किएर प्रतियोगिता खेलिरहेका १८ वर्षीय यामालले पाँच खेलमा एक गोल मात्र गरेका छन्।
स्पेनका सर्वाधिक गोलकर्ता मिकेल ओयारजाबालले भने चार गोल गरिसकेका छन्। मिडफिल्डर डानी ओल्मोका अनुसार यामाल बिस्तारै प्रतियोगितामा लय समातिरहेका छन्।

उनले भने, ‘उनको ड्रिब्लिङ र उपस्थितिले टोलीलाई धेरै फाइदा पुग्छ। उनले बल पाएपछि दुई वा तीन विपक्षी खेलाडी उनीतिर आकर्षित हुन्छन्, जसले अन्य खेलाडीका लागि खाली स्थान सिर्जना गर्छ।’
ओल्मोले थपे, ‘लामिनले गोल पनि गर्छन् र असिस्ट पनि दिन्छन्। छोटो करियरमै उनले सधैँ यही काम गरेका छन्। गोल वा असिस्ट नभए पनि उनले टोलीका लागि गरिरहेको मेहनत उत्तिकै महत्त्वपूर्ण हुन्छ।’
- खेलको सम्भावित नतिजा
अप्टा सुपरकम्प्युटरका अनुसार, स्पेनले निर्धारित समयमा जित्ने सम्भावना ५९.३ प्रतिशत छ भने बेल्जियमले जित्ने सम्भावना १८.३ प्रतिशत छ। त्यस्तै खेल अतिरिक्त समयमा जाने सम्भावना २२.४ प्रतिशत छ।
- विजेताले सेमिफाइनलमा कसको सामना गर्नेछ ?
स्पेन र बेल्जियमबीचको विजेताले मङ्गलबार टेक्सासको डलासमा हुने सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले बिहीबार मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।

- आपसी भिडन्त
विश्वकपमा स्पेन र बेल्जियमबीच हालसम्म दुई पटक भेट भएको छ, जसमा दुवैले एक–एक खेल जितेका छन्। सन् १९८६ को क्वार्टरफाइनलमा बेल्जियमले पेनाल्टी सुटआउटमा ५–४ ले जित हात पारेको थियो। सन् १९९० को समूह चरणमा भने स्पेनले २–१ ले बेल्जियमलाई पराजित गरेको थियो।
बेल्जियमका लागि यो पछिल्ला चार विश्वकपमध्ये तेस्रो क्वार्टरफाइनल हो। स्पेनका लागि भने क्वार्टरफाइनल धेरै सुखद चरण रहँदै आएको छैन। उसले इतिहासमा केवल दुई पटक मात्र यो चरण पार गरेको छ। सन् १९५० मा अन्तिम चरणमा पुगेको थियो भने सन् २०१० मा पाराग्वेलाई हराउँदै अन्ततः विश्व च्याम्पियन बनेको थियो।
- टोलीको पछिल्लो अवस्था
बेल्जियमका मिडफिल्डर अमाडु ओनाना दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएपछि बाँकी विश्वकपबाट बाहिरिएका छन्। स्पेनको टोलीमा भने हालसम्म कुनै नयाँ चोटको समस्या देखिएको छैन।
स्पेनको सम्भावित सुरुवाती टोली (४–२–३–१) :
- गोलरक्षक: उनाई सिमोन
- रक्षक: पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्ट, मार्क कुकुरेला
- मिडफिल्डर: रोड्री, पेड्री
- आक्रामक मिडफिल्डर: लामिन यामाल, डानी ओल्मो, अलेक्स बाएना
- स्ट्राइकर: मिकेल ओयारजाबाल
बेल्जियमको सम्भावित सुरुवाती टोली (४–३–३) :
- गोलरक्षक: थिबाउ कोर्टवा
- रक्षक: टिमोथी कास्टान्ये, ब्रान्डन मेखेले, जियेले नगोय, म्याक्सिम डे काइपर
- मिडफिल्डर: युरी टिलेमान्स, निकोलास रास्किन, हान्स भानाकेन
- आक्रमण: डोडी लुकेबाकियो, चार्ल्स डे केटेलेरे, लिएन्ड्रो ट्रोसार्ड
समग्रमा
- स्पेन विरुद्ध बेल्जियम
- प्रतियोगिता: फिफा विश्वकप २०२६ – क्वार्टरफाइनल
- स्थान: लस एन्जलस स्टेडियम, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
- समय: आज राति १२:४५ बजे (नेपाली समयअनुसार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण