बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

जेन-जी पुस्ता : प्रविधिसँग हातेमालो, परम्परागत प्रणालीसँग लड्दै

आइतबार, २५ साउन २०८२, १३ : ०८
आइतबार, २५ साउन २०८२

नेपाल अहिले एउटा गहिरो सामाजिक, राजनीतिक र आर्थिक संक्रमणको फेजमा छ । यो संक्रमण केवल सरकार परिवर्तनको मात्र होइन, पुस्तान्तरणको संक्रमण हो । एउटा पुस्ता, जुन प्रविधि, ग्लोबल सोच र आधुनिक जीवनशैलीमा हुर्किएको छ । त्यो हो जेनेरेसन जेड अर्थात् अर्थात् जेन-जी पुस्ता ।

जेन-जी पुस्ता भनेको सन् १९९७ देखि २०१२ (वि.सं. २०५३ देखि २०६९) को बीचमा जन्मिएको पुस्ता हो । अहिले यो पुस्ता १२ देखि २८ वर्ष उमेर समूहमा पर्छ । अधिकांश कलेज पढ्दैछन्, केही स्नातक सकेर करिअर खोजिरहेका छन् । धेरै जना स्टार्टअप वा डिजिटल करिअरमा लागिसकेका छन् । 

यो पुस्ताका कति विदेशिएका छन् त, कति स्वदेशमै सम्भावनाको खोजी गरिरहेका छन् । यो पुस्ता भनेको प्रविधिसँगै हुर्किएको, इन्टरनेटसँगै शिक्षा पाएको र डिजिटल दुनियाँसँगै सपना बुनेको पुस्ता हो ।

जेन-जी पुस्ता च्याटजीपीटी, जेमिनी, कपीलट, मिडजर्नी, डल ई जस्ता शक्तिशाली एआई उपकरणसँग दैनिक जीवनमा घुलमिल भइसकेको छ । पढाइ, काम, सिर्जना, अनुसन्धान, डिजाइन, मिडिया, कोडिङ जेमा पनि उनीहरू प्रविधिसँग मिलेर अघि बढिरहेका छन् । 

जेन-जी अब सरकारी जागिर मात्रै भन्ने सपना भन्दा धेरै अघि पुगिसकेको छ । जेन-जी अब कुर्सी र पहुँच भन्दा सीप र क्षमतामा आधारित अवसर खोजिरहेका छन् । जेन-जीलाई अब फाइलको ढकढक होइन, मोबाइलको टच र एआईको सहायतामा सेवा चाहिएको छ । 

अब शिक्षक मात्र मानिस होइन, एआई पनि शिक्षक हो ।

अब मान्छे मात्र डिजाइनर होइन, एआई पनि सहडिजाइनर हो ।

अब काम आफैँले मात्र होइन, मेसिनसँग सहकार्य गर्ने सोच स्थापित भइसकेको छ ।

जेन-जी पुस्ताका लागि एआई नयाँ अवसरको ढोका मात्र होइन, भविष्यको इन्जिन भइसकेको छ । 

कस्तो सोच राख्छ जेन-जी पुस्ता ? 

जेन-जी अब सरकारी जागिर मात्रै भन्ने सपना भन्दा धेरै अघि पुगिसकेको छ । जेन-जी अब कुर्सी र पहुँच भन्दा सीप र क्षमतामा आधारित अवसर खोजिरहेका छन् । जेन-जीलाई अब फाइलको ढकढक होइन, मोबाइलको टच र एआईको सहायतामा सेवा चाहिएको छ । 

जेन-जीको रोजगारीको परिभाषा हो स्टार्टअप खोल्ने, डिजिटल प्लेटफर्ममा काम गर्ने र देश-विदेशमा बसेर ग्लोबल अर्थतन्त्रसँग जोडिने ।

पुरानो पुस्ता पुरानै ढर्रामा

नेपालको शाासनसत्ता, प्रशासन र नीति निर्माण अझै पनि पुरानो पुस्ताकै सोच र नियन्त्रणमा छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १७ वर्ष पुगिसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक  संविधान बनेको पनि १० वर्ष पूरा हुनै लाग्यो । तर नीति, नियम, ऐन, कानुनहरु पुरानै छन् । सरकारी सेवा अझै डिजिटल बन्न सकेको छैन । जुम्लाको एउटा किराना पसलमा चिनी किन्न जाँदा यो पुस्ताले क्यूआर  खोज्छ । यही पुस्ताको मागलाई थेग्न नसकेर सामान्य किराना पसलदेखि चोकचोकका चिया पसलसम्ममा अनलाइन पेमेन्टको सुविधा सुरु भइसकेको छ । 

तर देशको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा एउटा सामान्य काम गर्न जाँदा दिन बिताउनुपर्ने बाध्यता छ । विश्वविद्यालयको प्रक्रिया, पैसा तिर्नु पर्दा अझै पनि लाइन बस्नुपर्छ । यो देशका धेरै युवाहरु भेट हुनेमध्येको एक ठाउँ हो । 

अन्य सरकारी संस्थाहरुको अवस्था पनि उस्तै छ । एउटा सामान्य कामका लागि पैसा तिर्न पनि घण्टौं लाइन बस्नुपर्ने बाध्यता जताततै उस्तै छ । अनि यो कोठादेखि त्यो कोठा, त्यो कोठादेखि यो कोठा धाउनुपर्ने अवस्था छ । यस्तो प्रणालीले जेन-जीलाई निराश बनाइरहेको छ ।

स्टार्टअपलाई ऋण दिन धितो खोजिन्छ । गिग इकोनोमी र रिमोट वर्कलाई कानुनी मान्यता छैन । गिग इकोनोमी भन्नाले छोटो अवधिका काम, फ्रिलान्सिङ काम वा करारमा आधारित रोजगार जस्ता कामलाई जनाइन्छ । यस्तोमा स्थायी जागिर नभई आवश्यकता अनुसार काम दिने र लिने गरिन्छ । डिजिटल प्लेर्टफर्महरुको माध्यमबाट ग्राहक र कामदार जोडिन्छन् ।

रिमोट वर्क भन्नाले अफिस जानु नपरी घरमै बसेर वा जहाँबाट पनि अनलाइन माध्यमबाट काम गर्ने प्रणालीलाई जनाइन्छ । अर्थात् यस्तो कामलाई अनलाइन काम पनि भनिन्छ । 

सरकारले प्रत्यक वर्ष विनियोजन गर्ने बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याएको हुन्छ । तर एआई, रोबोटिक्स, डेटा साइन्स जस्ता भविष्यका विषयमा नीति, योजना र लगानी छैन । सरकारले अहिले पनि पुरानै सैद्धान्तिक शिक्षामा धेरै रकम खर्च गरेको छ । जसले गर्दा सरकारको धेरै लगानी बालुवामा पानी हाले जस्तै बनेको छ । 

पुरानो पुस्ता अझै पनि ठानिरहेको छ, युवाहरू विदेश जान्छन्, हामीले देश चलाउँछौं । तर उनीहरूले बुझिरहेका छैनन् अब समय फेरिएको छ । जेन-जी पुस्ता मेसिनसँग मिलेर भविष्य बनाउने यात्रामा लागिसकेको छ । 

यदि जेन-जी पुस्ताको सोचअनुसार नीति बनेन भने के हुन्छ ?

ब्रेन ड्रेन चरममा पुग्छ । देशको उत्पादनशील शक्ति विदेश पलायन हुन्छ । देश वृद्ध जनसंख्या र रेमिट्यान्समा आश्रित अर्थतन्त्रमा सीमित हुन्छ । सामाजिक असन्तोष बढ्छ । राजनीतिक अस्थिरता र आर्थिक पतन अझै गहिरिन्छ ।

छिमेकी देश भारत र चीन चमत्कारी रुपमा विकासको दौडमा छन् । तर नेपाल दुई शक्तशाली अर्थतन्त्र भएका देशको बिचमा हुँदा पनि त्यसको सामान्य फाइदा समेत लिन सकेको छैन । यस्तै अवस्था रहयो भने भारत र चीनले विकासको दौड जित्दै गर्दा नेपाल पछाडि मात्र होइन, हराउने अवस्थामा पुग्छ ।

नेपालका जेन-जी पुस्ताले हेर्ने संसार

चीन प्रविधिमा आत्मनिर्भर मुलुक हो । स्मार्ट सिटी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स, इलेक्ट्रिकल भेहिकलमा चीन विश्वमा अगाडि छ ।

भारतलाई स्टार्अप नेसनको रुपमा हेरिन्छ । युनिकर्न कम्पनीको संख्या विश्वमै उच्च छ । डिजिटल इण्डिया, स्किल इण्डिया, मेक इन इण्डियाको अवधारणामा काम भइरहेको छ । 

भियतनाम र बंगलादेश उत्पादन र निर्यातको नयाँ पावर हाउस बनिरहेका छन् । यी देशमा टेक्सटाइल मात्र होइन, इलेक्ट्रोनिक्स र आईटी सेवा पनि अगाडि बढिरहेका छन् । 

यस्तै अमेरिका, कोरिया, जापान, युरोपेली मुलुकका विकासलाई पनि जेन-जीले डिजिटल प्लेटफर्म मार्फत नियालेको छ । 

तर नेपाललाई अझै पनि पुरानै शैलीको कृषि, रेमिट्यान्स र पुरानो पुस्ताको कब्जामा अडिएको मुलुकको रुपमा मात्रै जेन-जीले पाउँछन् । 

यदि समयमै परिवर्तन गरियो भने नेपाल दक्षिण एसियाको डिजिटल र एआई हब बन्न सक्छ । रोजगारी सिर्जना देशभित्रै हुन्छ । स्टार्टअप, इनोभेसन र डिजिटल इकोनोमीबाट देश आत्मनिर्भर बन्छ ।

एआई, रोबोटिक्स र डेटा ड्राइभन इकोनोमीबाट लाखौं युवा नेपालमै बसेर ग्लोबल अर्थतन्त्रसँग जोडिन्छन् । गिग इकोनोमी र रिमोट वर्कलाई मान्यता दिएर वैदेशिक पलायन रोक्न सकिन्छ ।

राजनीति सफा हुन्छ, नयाँ नेतृत्व जन्मिन्छ । नेपाल भविष्यतर्फ दौडिन्छ, इतिहासको बोझबाट मुक्त हुन्छ ।

त्यसैले अब समय भयो पुरानो पुस्ता र पुरानो सोचलाई सम्मानका साथ बिदा गर्ने । 

अहिलेको शासनसत्ता र यसका नेतृत्वले केही गरेनन् भन्ने होइन । जति गरे उनीहरुले सक्ने गरे । अहिलेको जेन-जी पुस्ताले एउटा कोठामा बसेर सहजै संसार हेर्न पाएको छ । यो अवसर पुरानो पुस्ताले नै दिएको हो । यसमा पुरानो पुस्तालाई सम्मान गर्नैपर्छ । उनीहरुको योगदानलाई कदर गर्नैपर्छ । तर अब नसक्ने भारी बोकाउनु हुँदैन । उनीहरुलाई उनीहरुको योगदानको मूल्यांकन गर्दै सम्मानका साथ बिदा गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत ढकाल
अमृत ढकाल
लेखकबाट थप