कैलाली कारागार अझै आएन प्रशासनको नियन्त्रणमा
सारांश
- कैलाली कारागारमा शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।
- कैदीबन्दीले नियन्त्रणमा लिएको कारागार अझै प्रशासनको नियन्त्रणमा आउन सकेको छैन, जसले गर्दा थप समस्या भएको छ।
- मानव अधिकार आयोगको निर्देशनलाई बेवास्ता गर्दा शुक्रबार हिंसात्मक घटना भएको र छानबिन समिति गठन गरिएको छ।
धनगढी । शुक्रबार साँझदेखि कैदी बन्दीले नियन्त्रणमा लिएको कैलाली कारागार अझै प्रशासनको नियन्त्रणमा आउन सकेको छैन । कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु र ४९ जना घाइते भएपछि प्रशासनले अहिलेसम्म नियन्त्रणमा लिन नसकेको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अझै कारागार प्रशासन झडप भएपछि कारागारभित्र नगएको जानकारी दिए । ‘कारागारभित्र जाने सहमति हिजो भए पनि अहिलेसम्म हामी त्यहाँ पुगेका छैनौँ । मानवअधिकार आयोगको टोली आएपछि आज तीन बजेपछि जाने तयारी छ,’ प्रमुख जिल्ला अधिकारी हमालले रातोपाटीसँग भने, ‘पहिलाजस्तो छैन भन्ने कुरा छ । नर्मल भइरहेको छ ।’
बिहीबारको घटनापछि कैदीबन्दीहरूले थुनुवा कक्षमा भित्रबाट ताला लगाएका थिए । त्यो ताला अझै नखोलिएको स्रोतले बतायो । घटनापछि सुरक्षाकर्मी र कारागार प्रशासनका कोही पनि त्यहाँ छिरेको छैन । भित्रको सबै विषय कारागारभित्र छिरेपछि मात्रै थाहा हुने प्रमुख जिल्ला अधिकारी हमालले बताए ।
मानव अधिकार आयोगलाई गत साउन १४ गते ५९० जना कैदी बन्दीले ध्यानाकर्षण पत्र पठाएर आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेपछि आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो । त्यो निर्देशनलाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको हो ।
शुक्रबार ब्लक ए मा रहेका कैदी बन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदी बन्दीमाथि आक्रमण गरेपछि धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो । घटनाबारे छानबिन गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको समिति बनेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले कारागारभित्रका कैदीबन्दीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए । उनले कारागारको अवस्था अहिले शनिबारको भन्दा सामान्य रहेको बताए ।
कारागारका जेलर शाखा अधिकृत वसन्त खत्री एक महिनादेखि बिदामा थिए । कामु जेलर नायब सुब्बा ज्ञानेन्द्र ओझा पनि बिदामा बसेको बेलामा कारागारमा घटना घटेको हो । प्रमुख जिल्ला अधिकारी हमालले घटना घट्दाको दिन जेलर र कामु जेलर बिदामा रहेको स्वीकारे । अहिले बाँकेका जेलर जालान्दर भुसालको त्यहाँ काज सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण