अञ्जना विशंखेलाई डेढ वर्षदेखि खुमलटारको ढोका बन्द !
सारांश
- स्थायी समिति बैठकमा पार्टीभित्रका अन्तर्विरोध हल नभएको र नयाँ तरिकाले छलफल नभएको कुरा उठाइयो।
- पार्टी भित्रको गुटबन्दी र नेतृत्वको आलोचना गर्दै महाधिवेशनका निर्णयहरू कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरियो।
- पार्टीको नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठाउँदै, सामूहिक नेतृत्वको अभाव र नयाँ नेतृत्वको आवश्यकता औंल्याइयो।
हाम्रो पार्टीको भर्खर सम्पन्न स्थायी समिति बैठकको निर्णयले अन्तर्विरोध ठ्याक्कै हल भयो भन्ने ठाउँमा पुगेको मैले देख्या छैन । अन्तर्विरोध हल हुन केही नयाँ कुरा हुनुपर्यो । अन्तर्विरोध सांगाठनिक रूपमा, तत्कालीन कार्यदिशामा, व्यवस्थापनमा यहाँनिर अन्तर्विरोध थियो, यसरी हल भयो भन्ने विषय व्यवस्थित ढङ्गले आएजस्तो मलाई लाग्दैन । अब नयाँ ढङ्गले जाऊँ भन्ने कुरामा एक ढङ्गले जीवन्त छलफल भयो भन्ने ठाउँमा मचाहिँ पुग्या छैन ।
- व्यक्ति–केन्द्रित बहसको विडम्बना
अघि मैले भनिसकेँ, एजेन्डाअनुसार गम्भीरतापूर्वक छलफल गर्नेभन्दा पनि जनार्दनजीले कहाँ बाहिर बोलेको कुरा हो, त्यो भएन । कहाँनिर समस्या परेको हो, भित्रै हल गर्न पर्यो । यस्ता–यस्ता कुराहरूमा बढी केन्द्रित भएको मैले बैठकमा देखेँ । त्यसैले एजेन्डावाइज जस्तो कतिपय व्यवस्थापन पाटोमा, हामीले महाधिवेशनको निर्णय कहाँ पालना गर्यौँ ? कहाँ चुक्यौँ ? अभियानमा पनि उभार त आयो । तर उभार कस्तो देखिन्छ भने अध्यक्ष गएको ठाउँमा सबैजना हुरर्र जाने ।
तर कहिलेकाहीँ हाम्रै काठमाडौँमा वडाको बैठक बस्ने वेलामा सहभागिताभन्दा मञ्चमा धेरै मान्छे देख्छौँ । पार्टीको यथार्थ चित्र फेरि त्यो पनि छ नि अझै पनि । त्यसलाई हामीले कसरी विस्तारको अभियान लैजाने ? अझ व्यवस्थित ढङ्गले तलसम्म संगठनलाई कसरी पुर्याउन सकिन्छ ? कुण्ठामा बसेका असन्तुष्ट साथीहरूलाई पार्टीले खै हेरेन क्यारे भन्ने स्थिति छ, मूल्याङ्कन भएन इतिहासको भन्ने छ ।ती सबै कुराहरूलाई यहाँनिर हामीले गर्यौँ, यहाँनिर गरेनौँ । यस्ता छलफल हुनै पाएन । यो सबैभन्दा ठुलो विडम्बनाको कुरा हो ।
विगतमा पार्टीको निर्णयलाई अवज्ञा गर्नुभयो अनि त्यसको माइन्युटमा हस्ताक्षर गर्नुभएन, त्यस कारण उहाँलाई आत्मालोचना गर्नुपर्छ अथवा माइन्युटमा सिग्नेचर गर्नपर्छ भन्ने कुरा आयो ।
मानिलिउँ अन्तर्विरोध मैले बाहिर राखेँ । त्यो सबैभन्दा टाउको दुखाइ बन्ने, अनि अरू विषय टाउको दुखाइ नबन्ने । अरू विषय छताछुल्ल गर्नुपर्ने हो त ? एउटा प्रक्रियामा छलफल गरौँ, एक ढङ्गले बसौँ भन्ने विषयलाई मूल नेतृत्वका व्यक्तिगत विषय पनि होइनजस्तो लाग्छ मलाई । पार्टी निर्माणको कुरामा, पार्टीलाई अगाडि बढाउने कुरामा मूल नेतृत्व जिम्मेवार हुन्छ, तर हामी सबै जिम्मेवार हो । हाम्रो सामूहिक नेतृत्वको केन्द्रीकरण न हो, जनवादी पद्धतिमा ।
- निर्णय गर्ने तर नमान्ने संस्कृति
आत्मालोचनाको विषयलाई हामीले कसरी लिएर जाऊँ भन्नेभन्दा पनि कहाँनिर केन्द्रित भयो भने, जस्तो: पुष्पलालको पार्टी स्थापना दिवसको दिनमा बोलेको विषयमा केन्द्रित भयो । कतिपय अवस्थामा अध्यक्षले पनि धेरै कुराहरू बोल्नुभएको छ, त्यो विषयलाई केन्द्रित बनाउने कि नबनाउने भन्ने प्रश्न हुन्छ होला । तर त्यो बुँदा कहाँनिर फरक हो र कहाँनिर हल गर्नपर्छ भन्नेतिर जानै नखोजेपछि त्यसले बैठकमा एक प्रकारले जथाभाबी बोल्नुभयो, बाहिर अन्तर्विरोध छताछुल्ल पार्नुभयो । त्यस कारण ल आत्मालोचना गर्नुपर्छ । विगतमा पार्टीको निर्णयलाई अवज्ञा गर्नुभयो अनि त्यसको माइन्युटमा हस्ताक्षर गर्नुभएन, त्यस कारण उहाँलाई आत्मालोचना गर्नुपर्छ अथवा माइन्युटमा सिग्नेचर गर्नपर्छ भन्ने कुरा आयो । माइन्युटमा सिग्नेचर के–के कारणले नगरेको भन्ने कुरा सोध्नु नपर्ने, अरूलाई नि सोध्नु नपर्ने अनि उहाँको जवाफ सुन्नु पनि नपर्ने देखियो ।
मलाई मूल जिम्मेवारी नदिएको एक–दुई वर्षै भइसक्यो । सहइन्चार्ज भनेर घोषणा गर्यो, एक महिनापछि फेरि सहइन्चार्ज हटाइयो ।
मूलतः महाधिवेशनले २९९ केन्द्रीय समिति बनाउने त्यसपछि ११ जना पदाधिकारी बनाउने यावत् निर्णय गर्या हो । त्यो महाधिवेशनको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने विषय फेरि कसैको मुखबाट उठ्दैन । महाधिवेशनको निर्णय कार्यान्वयन गरौँ न, हाम्रो कहाँनिर समस्या भयो ? नेता–कार्यकर्ता विधान मिच्दै गए भनेर आज बनायो, भोलि मिच्ने, पर्सि बनायो, निकोर्सि मिच्ने भयो भने त पार्टी नै चल्दैन, पार्टी नै बन्दैन । यो विषयमा छलफल गर्न पाएको भए राम्रै हुन्थ्यो । यसरी विषयमा छलफल भएन यसपालि ।
- गुटबन्दीको रटान : रोगको पहिचान कि लक्षणको उपचार ?
मलाई मूल जिम्मेवारी नदिएको एक–दुई वर्षै भइसक्यो । सहइन्चार्ज भनेर घोषणा गर्यो, एक महिनापछि फेरि सहइन्चार्ज हटाइयो । त्यसपछि व्यक्तिहरूको मान्छेलाई विभाग र विभागको इन्चार्जसिप अनि त्यसपछि फ्याक्सनको इन्चार्जसिप पुगेपछि केन्द्रीय समितिलाई दिने भनेर निर्णय गर्यो । त्यो निर्णय पसिना सुक्न नपाउँदै हामी स्थायी समितिका मान्छेलाई कुनै मूल जिम्मेवारी नै छैन । जिम्मेवारी नै छैन । अनि केन्द्रीय समितिकालाई मूल–मूल जिम्मेवारी दुई–तीन ठाउँमा दिएकाहरू पनि देखेँ मैले ।
कुनै केन्द्रीय समिति सदस्यलाई छैनजस्तो गरेर एउटै जिम्मेवारी पनि नदिएको देखेँ मैले । भनेपछि फेरि हामीले कहाँ गुटबन्दी गर्न जाने ? संगठनैमा काम गर्ने स्थिति बन्दैन । स्थायी समिति भनेको राष्ट्रिय सभाजस्तै भूगोलमा जिम्मेवारी हुँदैन । अनि सदस्य हो भन्या छ, बोलाए पनि हुने, नबोलाए पनि हुने । एकपदीयजस्तो भएको छ ।
गुटबन्दी भन्ने कुरा कसरी गर्ने हो ? गुटबन्दी भन्ने कुरा जबसम्म पार्टी, पार्टीको रूपमा चल्दैन ।
सामूहिक नेतृत्व प्रणाली नै विकास हुँदैन । यो अवस्थामा कसले कहाँ गुटबन्दी गर्न जाने ? गुटबन्दी गर्ने भनेको के हो ? जस्तो कि; यो भएन भनेर छलफल गर्दा गुटबन्दी हुने हो कि ? कुनै नेतृत्वलाई भावनात्मक ढङ्गले लौ न भएन, म के पार्टीमै काम नगरौँ त भन्दाखेरि गुटबन्दी हुने हो ? त्यो भन्नलाई अध्यक्षले टाइम दिनुहुन्न ।
अध्यक्षले हामीलाई टाइम नदिएकै एक–डेढ वर्ष भइसक्यो । गुनासो जुन नेताले सुन्छ, त्यही नेताकहाँ नि भन्न जाने होला । त्यसलाई नै गुटबन्दी भन्ने हो भने अब के गर्ने हो, मलाई थाहा छैन ।
गुटबन्दी भन्ने कुरा कसरी गर्ने हो ? गुटबन्दी भन्ने कुरा जबसम्म पार्टी, पार्टीको रूपमा चल्दैन । लेनिनले भन्नुभएको थियो–मूल स्प्रिट, पेसेवर कार्यकर्ताहरूको दस्तासहितको टिम निर्माण गर्नुपर्छ क्रान्ति प्रक्रियालाई अगाडि बढाउँदाखेरि कतिपय अन्तरसंघर्षहरू हुन्छन्, त्यो व्यक्तिविरुद्ध लड्न सर्वहारा वर्गका जुझारु र स्प्रिट भएका नेतृत्वको दस्ता बन्नुपर्छ । हामीले त्यही बुझेको हो । गुट भनेको नेतृत्वले समान ढङ्गले प्रतिनिधित्व गराउने, समान ढङ्गले व्यवस्थापन गराउने, समान ढङ्गले विधि–पद्धतिलाई पद्धतिअन्तर्गत लिएर जाने, पार्टीका कामलाई स्मुथ्ली (मसिनो रूपमा) जान दिने, मूल नेतृत्वले मेरो को हो ? अर्काको को हो ? भनेर छान्न नथाल्ने हो भने यो टिमको जरुरतै पर्दैन । किन दुःख गर्न चाहन्छ र मान्छेले ? किन दुःख बेहोरेर हिँड्न चाहन्छ र अनावश्यक रूपमा ?
- जस र अपजसको प्रश्न
हामी शान्ति प्रक्रियामा आएदेखि गणना गर्दा साढे १८ वर्ष भइसक्यो । अध्यक्षको मुखबाटै पार्टी बनाउन सक्या छैन, माओवादी आन्दोलन कमजोर भएको छ भनिराख्नुभएको मैले सुनेको छु । आन्दोलन भइराख्या छ भन्नुहुन्छ, त्यो नभएको कारणहरू के हो भनेर एउटा मूल्याङ्कन टिम, एउटा विशेषज्ञको टिम, पार्टीभित्रका अब्बल मान्छे, उहाँलाई नै अब्बल मान्छे लागेको छ भने उहाँले नै छाने भयो । अब्बल मान्छेको टिमलाई छानेर यो किन हाम्रो पार्टी बनेन ? आन्दोलन मात्रै बनिराख्या छ भनेर छलफल गर्नुपर्थ्यो कि पर्ने थिएन ?
त्यो गर्न कसले छेक्या छ ? नयाँ ढङ्गले कोही मान्छेले प्रस्ताव ल्याउँछु भन्यो भने फेरि चारैतिरबाट आक्रमण हुन्छ । लौ अध्यक्ष प्रचण्डलाई घेराबन्दी गरे, प्रचण्डलाई उठ्नै दिएनन् भन्ने हुन्छ । उहाँले गर्नपर्यो, किनभने अध्यक्षले नै नगरीकन अरूले गरेर नहुने रहेछ ।
केन्द्रीय समिति बैठकमा पनि स्थायी समितिभन्दा फरक केही हुँदैन । केन्द्रीय समितिमा नयाँ कुरा नयाँ ढङ्गले बहस हुन्छ जस्तो मलाई लाग्दैन ।
अध्यक्षले नै गर्नुपर्छ भने उहाँले नै सुन्नुपर्यो, छलफल अगाडि बढ्नुपर्यो, के गर्ने भनेर सोध्नुपर्यो । त्यो कुरा मुख्य उहाँकै जिम्मेवारी होला नि सबभन्दा धेरै । त्यसैले सप्रेमा अध्यक्षको जिम्मेवारी भए, बिग्रिनेमा अपजस उहाँको हुँदैन र ? त्यसरी बुझ्नुपर्छ भन्ने कुरा हो मेरो ।
उहाँले क्रान्ति सफल गरेर आउनुभयो, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल हुनुभयो, जनयुद्धको नेतृत्व गर्नुभयो, जब यता आइसकेपछि पनि पार्टी फेरि प्रचण्डकै नेतृत्वमा छ । कसैले फेरि जनयुद्ध सकिनासाथै कसैले विद्रोह गर्या पनि छैन । नेतृत्व हस्तान्तरण गरेर बिग्रियो भन्ने ठाउँ पनि छैन । निरन्तर उहाँ नै नेतृत्वमा हुनुहुन्छ । नेतृत्वमा प्रचण्ड नै हुनुहुन्छ भनेपछि कमान्डर र जनयुद्धको मुख्य नेता भन्ने जस उहाँले पाउनुहुन्छ भने अहिले यो २० वर्षको बिग्रियो भन्नेको अपजस पनि उहाँले पाउनुपर्यो । कसले लिन्छ ?
केन्द्रीय समिति बैठकमा पनि स्थायी समितिभन्दा फरक केही हुँदैन । केन्द्रीय समितिमा नयाँ कुरा नयाँ ढङ्गले बहस हुन्छ जस्तो मलाई लाग्दैन । स्थायी समितिमा जुन ढङ्गले अगाडि बढ्यो, त्यही ढङ्गले केन्द्रीय समितिमा पनि भयो भने कसरी समस्या समाधान हुन्छ ? जिम्मेवार कमरेडहरूको बैठक बस्दा त यसरी जाऊँ भन्ने स्थिति रहेन । केन्द्रीय समितिमा प्रश्न गर्ने साथीहरू हुन सक्लान्, त्यो आफ्नो ठाउँमा छ । तर नेतृत्वको विशेष प्राधिकार हुन्छ, त्यो प्राधिकारलाई ठिक ठाउँमा प्रयोग गरिदिए हुन्छ भन्ने मलाई लाग्छ ।
नेतृत्व भनेको दुवै कुरा हो । दिएर स्विकार्ने पनि हो, नदिए लिने पनि हो । यी एकापसमा अन्तर्निहित विषय हुन् । व्यक्ति मात्रै सर्वेसर्वा छैन । सामूहिक रूपमा व्यवस्थित ढङ्गले लैजानुपर्छ भनेर स्कुलिङ चलाइयो भने त्यही अनुसार अगाडि बढ्छ । स्कुलिङ नै कस्तो चलाइयो भने नयाँ ढङ्गले सोच्न थाल्यो कि विरोधी भइन्छ ।
यस्तो अवस्थामा कि पार्टी छोड्नुपर्ने हुन्छ कि त त्वम् शरणम् गर्नुपर्ने हुन्छ । भित्रै बसेर अन्तसङ्घर्ष गर्दा पनि नहुने त होइन, तर त्यसका लागि मूल नेतृत्वभन्दा विद्रोही टिम बढी इमानदार हुनुपर्छ । क्षमताका हिसाबले बढी मिहिनेत गर्नुपर्छ । मूल नेतृत्वभन्दा रूपान्तरण पनि हुनुपर्यो । म दिन्छु भनेर लिएको मान्छेले नयाँ कुरा गर्दैन ।
नयाँ ढङ्गले हामी जान सकेनौँ भने देशले निकास अन्तैबाट खोज्दो रहेछ । पार्टीभित्र पनि नयाँ नेतृत्व नजन्मिँदा परिणामतः पार्टी त रहिरहन्छ, नयाँ नेतृत्व भने पार्टीभन्दा बाहिरबाट निस्किँदा रहेछन् । पार्टीभित्र अन्तरसङ्घर्ष पनि नचल्ने, विचारको सङ्घर्ष पनि नचल्ने, पार्टीलाई यथास्थितिमा मात्रै हिँडिरहँदा त्यो पीपलको रूखले ढुङ्गालाई फोडेर निकाल्छ भनेको जस्तै बाहिरबाट नेतृत्व निक्लिनुपर्ने हुन्छ ।
अहिले सबै पार्टीहरूको हालत त्यही भएकाले कुनै जगै नभएका एक खालका राजनीतिक नेताहरू जो त्यो आउटलुक भन्छौँ– कुन दृष्टिकोण हो ? समाजवादी हो कि प्रजातन्त्रवादी हो ? पुँजीवादी हो कि, कुन जग हो ? भन्ने थाहा नपाउनेहरूले पोलिटिक्स गरेर एक ढङ्गले झन्डै–झन्डै माओवादीसरह हुन आइपुग्ने स्थिति छ ।
(नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य अञ्जना विशुंखेसँगको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण