बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
हायुको कथा

हायु को हुन् ?

मङ्गलबार, २७ साउन २०८२, ०७ : ००
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • सिन्धुलीबाट १६ जना हायु परिवार बेपत्ता भएपछि पोखरामा फेला पारेर वडाध्यक्षले गाउँ फर्काए।
  • लेखमा हायु समुदायको इतिहास र संस्कृतिको चर्चा गर्दै हायु जातिको उत्पत्ति र बसोबासको बारेमा जानकारी दिइएको छ।
  • जनगणना अनुसार हायुको जनसंख्या बढ्दै गएको छ भने हायु जातिको थर र स्वायत्त शासनको बारेमा पनि उल्लेख छ।

सिन्धुलीको गोलन्जोर– ६ छेत्पामा बस्दै आएको उर्मिला हायुको परिवारले साउन ९ गते राति १ बजेतिर सुटुक्क घर छाड्यो । एकान्तको घर भएकाले गाउँलेले तीन दिनपछि मात्र थाहा पाए र साउन १२ गते खबर बाहिरियो— १६ जनाको हायु परिवार बेपत्ता शीर्षकमा । समाचार सुन्ने धेरैको संवेदनामा सन्नाटा छाउँथ्यो— किन हिँड्यो होला त्यसरी ? कहाँ गए होलान्, के भयो होला ? 

सोही दिन (१२ साउनमा) पोखरामा भेटिएको हायु परिवारलाई सोमबार (१९ साउनमा) वडाध्यक्ष रविनकुमार श्रेष्ठले गाउँ फर्काएका छन् । वडाध्यक्षको यस कार्यले यो सन्देश दिएको छ— कसैको कोही नहोस्, केही नहोस् तर स्थानीय सरकार छ । 

जहोस्, वर्षौंदेखि बस्दै आएको आफ्नो घरलाई चटक्कै ‘गुहु’लाई जसरी छाडेर परिवार नै किन हिँड्छ ? त्यो पनि १६–१६ जनाको परिवार ! 

घर छाड्नुको पछाडि यस हायु परिवारको दुःख, दुविधा र दुर्दशा अनेक छन्; त्यो बेग्लै चर्चाको पाटो छ । यो आलेखमा भने हायु समुदायको इतिहास र संस्कृतिको संक्षिप्त चर्चा गरिनेछ । 

  • हायु को हुन् ? 

हायुहरूको मूल थलो रामेछापको मुढाजोर (मुराजोर वा मुडाजोर) हो, जसलाई उनीहरू पाली गाउँ पनि भन्छन् । 

हायुहरूले आफ्ना पुर्खाहरू दक्षिण दिशातिर रहेको ‘लङ्का–पलङ्का’बाट रामेछापको मुढाजोर आएको बताउँछन् । लङ्का–पलङ्का भन्ने ठाउँ कहाँ छ भन्ने उनीहरूलाई थाहा छैन तर लङ्का र पलङ्का नाम गरेका दुई ठाउँहरू सँगसँगै रहेको उनीहरूको विश्वास छ ।

हायु लोककथा अनुसार, नेपाल पसेका हायुका थुप्रै दाजुभाइ थिए र त्यसमध्ये कान्छोबाट फैलिएका सन्तानहरू हायु हुन् । उपयुक्त स्थानको खोजीमा नेपालका पहाडतिर आएका दाजुभाइमध्ये कान्छाले सबैभन्दा ठुलो ढोल बोकेका थिए । त्यसैले उनी अरु दाजुभाइ बराबर हिँड्न सकेनन् । उनी सुनकोशी तरेर मुराजोर (मुढाजोर) आइपुग्दा ढोलबाट टिङ–टिङ आवाज निस्कन थाल्यो । उनले त्यो आवाजलाई त्यस ठाउँमा रोकिने र त्यहीँ बस्ती बसाउने सङ्केत मानेर बसे । त्यस ढोलका लागि एउटा सानो घर बनाइयो । उनका दाजुभाइहरू अघि गइसकेका थिए । उनीहरू सुनुवार, राई र लिम्बुका पुर्खा थिए, (मेचीदेखि महाकाली, भाग २, २०३१ । प्रकाशक : सूचना विभाग) । 

हायु जातिबारेको यो विवरण अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय अन्तर्गतको भाषा विज्ञान विभागका श्री बोइड मिकाइलोभ्स्कीले सन् १९७२ र १९७३ मा गरेको सर्वेक्षणमा आधारित भनी उपरोक्त पुस्तकमा उल्लेख छ । 

हायु शब्दको उत्पत्ति कसरी भयो भन्ने सन्बन्धमा विभिन्न विद्वान्ले विभिन्न तर्क गरेका छन् । प्रा. बालकृष्ण पोखरेलले आफ्नो पुस्तक ‘खस जातिको इतिहास’मा हायु जातिको सम्बन्ध आर्मेनिया देश र ‘हय’सँग सम्बन्धित रहेको उल्लेख गरेका छन् । 

अझै पनि आर्मेनियालीहरू आफूलाई ‘हय’ र आफ्नो देशलाई ‘हयस्तान’ भन्छन् । प्रा. पोखरेल लेख्छन्, ‘मधेसका थारु र पहाडका हायु तोगर्माका सन्तान हुन् । हय अथवा हयस संज्ञा पनि नेपालको हायु जातिले सुरक्षित राखेको छ ।’

उनका अनुसार हयको अर्थ हुन्छ घोडा र हयीशको अर्थ हुन्छ घोडाको स्वामी । अझै पनि आर्मेनियालीहरू आफूलाई ‘हय’ र आफ्नो देशलाई ‘हयस्तान’ भन्छन् । प्रा. पोखरेल लेख्छन्, ‘मधेसका थारु र पहाडका हायु तोगर्माका सन्तान हुन् । हय अथवा हयस संज्ञा पनि नेपालको हायु जातिले सुरक्षित राखेको छ । क्राइस्टेली धर्मका अनुयायी भइसकेका आर्मेनियालीहरूको के विश्वास छ भने तिनका पूर्वजको नाम बाइबलमा तोगर्मा अथवा अश्केनाज लेखिएको छ । तोगर्मा (अथवा अश्केनाज) हय (हयस)का पूर्वज हुनु निकै सम्भव छ । तोगर्मा संज्ञाको संस्कृत रूप तङ्गण (तमुगुण) हो र अश्केनाजको संस्कृत रूप आश्विन हो ।’ 

हायु नाम हिन्दुले राखिदिएका हुन्, हाम्रो वास्तविक नाम ‘वायु’ भनी पच्छे नाम गरेका हायुले १७० वर्षअघि अंग्रेज लेखक हड्सनलाई भनेका थिए । आजसम्म प्राप्त सबभन्दा पुरानो अर्थात् २४० वर्षअघिको अभिलेखमा हायु उच्चारण गरिएको छ, (डीआर पोखरेलको पुस्तक ‘हायु जातिको लोकजीवन’ २०७५) । 

जनकलाल शर्माले पनि हायु नभनेर वायु जाति र वायु भाषा भनेका छन् । उनले आफ्नो पुस्तक ‘हाम्रो समाज : एक अध्ययन’मा लेखेका छन्, ‘मध्यपहाडी भागको पूर्वी भागमा वायु नामको एउटा समूह छ र त्यो त्यसै नामको बोली बोल्छ ।’ 

हायु समाजका वर्तमान अध्यक्ष लक्ष्मण हायु पनि आफूहरूले वायु भन्ने बताउँछन् ।  

अर्को लोककथा अनुसार, प्राचीन मुक्ति क्षेत्रमा कुनै राजा राज्य गर्थे । उनका पाँच रानी भए पनि एक मात्र छोरी ‘भुमा’को जन्म भएको थियो । भुमा तरुनी भएपछि नुहाएर फर्कंदा गर्भवती हुन पुगिन् । उनीबाट एउटा छोरो जन्मियो । उनलाई सूर्यवंशी धनुषधारी किराती ठानी ज्योतिषले ‘सुन्दर वीर’ भनी नाम राखे । यिनीबाट पाँच छोरा जन्मिए । यिनले मुक्ति क्षेत्रमा काजी, कर्नेल, हजुरिया भएर तीन पुस्तासम्म राज्य गरे । त्यसपछि उर्दी सहरमा यिनका १५ पुस्ताले राज्य गरे । 

यिनका १५औँ पुस्ताकाे हस्तिनापुर राज्यसित युद्ध भयो र पराजित भई यिनीहरू भागेर सिम्रौनगढ आए र चण्डेश्वरीदेवीको आराधना गरे । प्रसन्न भएर देवीले यिनलाई ‘सुवर्ण चरी’ दिइन् । देवीको वर पाएर सम्पन्न भएपछि भाइभाइको झगडा बढ्यो । त्यसपछि यिनीहरू भादगाउँतर्फ आए । त्यस बखत भादगाउँमा पृथ्वीपति शाही राजा थिए । राजाले यिनीहरूलाई धनुषधारी किराती ठानी सुब्बा मान दिए र बस्ती बसाउन किपट भूमि प्रदान गरे ।  

हायुहरूले आफ्ना पुर्खाहरू दक्षिण दिशातिर रहेको ‘लङ्का–पलङ्का’बाट रामेछापको मुढाजोर भन्ने ठाउँमा आएको बताउँछन् । लङ्का–पलङ्का भन्ने ठाउँ कहाँ छ भन्ने उनीहरूलाई थाहा छैन तर लङ्का र पलङ्का नाम गरेका दुई ठाउँहरू सँगसँगै रहेको उनीहरूको विश्वास छ ।

पाँच भाइका सन्तानले आपसमा जुठो–पिण्ड नलाग्ने गरी किपट भूमितिर लागे । जेठा लालसिंहका सन्तान उत्तरतिर लागी ल्हासातिर गए । माहिला सुरसिंहका सन्तान जिरीतर्फ लागे र सुरेल र जिरेल भए । साइँला रामसिंहका सन्तान लिखु खिम्तीतिर लागे र सुनुवार भए । काइँला मानसिंहका सन्तान अरुणवारि दूधकोशीतिर लागे राई भए । कान्छा धनसिंहका सन्तानमध्ये अरुणपारि तमोरतर्फ लाग्नेहरू लिम्बु र सुनकोशीतर्फ लाग्नेहरू हायु भए, (डीआर पोखरेलको उपर्युक्त पुस्तक) ।

गोविन्दप्रसाद ‘कुसुम’को पुस्तक ‘हायु’ (२०४५) अनुसार, कतिपय अन्वेषकले पाँच भाइ हायुहरू यता आउँदा सबभन्दा पछि कान्छा भाइ हिँडेका र उनलाई बोलाउने क्रममा ‘ह ई’ भन्दा त्यही नाम हायु भएको हो । 

हायुहरूले देवी ओप्छेमी रानीलाई मान्छन् । बोइड मिकाइलोभ्स्कीका अनुसार, हायुको सबभन्दा ठुलो चाड देवीको सेवा (जात्रा) हो । सो देवी पूजा जोर वर्षमा फागुन महिनामा र विजोर वर्षमा माघमा गरिन्छ । यो पूजा बिहीबार सुरु हुन्छ र नौ दिनसम्म रहन्छ । 

यस अवसरमा पूजा गरिने देवी पनि आफूहरूका पुर्खासँगै लङ्का–पलङ्काबाट आएको हायुहरू विश्वास गर्छन् । देवीलाई गाउँ (मुढाजोर)को मध्यभागमा एक काब्रोको रुखमा धेरै घण्टी र त्रिशुलको साथमा स्थापना गरिएको छ ।

लक्ष्मण हायुका अनुसार, अहिले हायुहरू रामेछापसँगै सिन्धुली, भोजपुर, झापा, उदयपुर लगायत क्षेत्रमा छरिएका रहेका छन् यद्यपि अहिले पनि हायुहरू ओप्छेमी रानीको पूजाका लागि मुढाजोर नै पुग्ने गर्छन् । 

देवी ओप्छेमी रानीसँग सम्बन्धित कुरा र आफूहरूको पुर्खाको सबै कुरा हायुहरूले अरु समुदायलाई भन्न चाहँदैनन् । भनेमा देवी रिसाउने र आपतविपत भोग्नुपर्ने उनीहरूको विश्वास छ । विदेशी लेखक बोइडलाई आफ्ना कुरा बताउनेहरूले दुःख भोगेको र बोइड बसेको घरमै ताल्चा लागेको बताउने गरिन्छ । यसो हुँदा हायु जातिका बारेमा आजसम्म लेखिएका कुरा कति सत्य हुन् वा होइनन् भन्ने प्रश्न छ । किनभने देवी रिसाउँछिन् भनेर उनीहरूले सबै कुरा भनेनन् कि ! 

लक्ष्मण भन्छन्, ‘हायु जातिबारे विस्तृत अध्ययन गरी पुस्तक आउन बाँकी नै छ, त्यो काम अहिले हामीले गरिरहेका छौँ ।’ 

  • हायु जनसंख्या

गोविन्द प्रसाद ‘कुसुम’ले २०४४ सालमा व्यक्तिगत रूपमा लिएको जनगणना अनुसार हायुको संख्या ५३० थियो । उनका अनुसार त्यतिबेला रामेछाप जिल्लाको रामेछाप, सुकाजोर र ओख्रेनी पञ्चायतमा मात्रै हायुहरू रहेका थिए ।

गोविन्द प्रसाद ‘कुसुम’का अनुसार हायु जातिका श्रेणीबद्ध थरहरू छन् । दोंफोम थरधारी हायुलाई उत्तम श्रेणीको मानिन्छ ।

उनले आफ्नो पुस्तकमा लेखेका छन्, ‘यस पंक्तिका लेखक आफैँले लिएको जन गणनानुसार यी पञ्चायतहरूमा बसोबास गरेका हायुहरूको कुल जनसंख्या ५३० रहेको छ । जसमध्ये रामेछापमा १७७ (पुरुष : ८६, महिला : ९१), सुकाजोरमा ३१६ (पुरुष : १८०, महिला : १९३) र ओख्रेनीमा ३७ (पुरुष : १९, महिला : १८) छन् ।’ 

पछिल्लो जनगणना अनुसार हायुको जनसंख्या निरन्तर बढ्दो देखिन्छ— २०५८ को जनगणनामा हायुको संख्या १,८२१ थियो । यस्तै यो संख्या २०६८ मा २,९२५ र २०७८ मा ३,०६९ पुग्यो । 

हायुको आफ्नै भाषा छ तर लिपि छैन । यस भाषाको वक्ता संख्या भने क्रमशः घट्दो क्रममा छ । 

  • हायुका थरहरू

गोविन्द प्रसाद ‘कुसुम’का अनुसार हायु जातिका श्रेणीबद्ध थरहरू छन् । दोंफोम थरधारी हायुलाई उत्तम श्रेणीको मानिन्छ । दोंफोम थर भएका हायुहरूको भनाइ अनुसार हायुको आदि पुरुष जो सर्वप्रथम रामेछापमा आएर बसोबास गर्‍यो, ऊ दोंफोम हो । 

यस्तै याह्कुमहरूलाई दोस्रो श्रेणीका हायुहरूमा राखिन्छ । यिनीहरू दुई किसिमका छन्— ईश्वरे याह्कुम र रोछिङे याह्कुम । 

यस्तै बालुङ्जा थरलाई तेस्रो श्रेणीमा राखिन्छ । हायु भाषामा बालुङ्जाको अर्थ हुन्छ— फुकफाक गर्ने मानिस । यसभित्र पनि तीन उपथर छन् । १) माथे बालुङ्जा— पहाडको धेरै माथि पुगेर औषधी ल्याउने बालुङ्जालाई माथे बालुङ्जा भनियो । २) रिमे बालुङ्जा— हायु भाषामा रिमेको अर्थ हुन्छ, ढिलो वा आलेटाले गर्ने । बिरामी हेर्न बोलाउँदा ढिलो गर्नेलाई रिमे भनियो । ३) सुहो बालुङ्जा— हायु भाषामा सुहोको अर्थ हो, सडेगलेको । खानपिनमा वास्ता नगर्ने र बासी खाना खाने, सडेगलेको खाना खान समेत पछाडि नपर्ने कुनै बालुङ्जाको बानी देखेर होला, उसलाई सुहो बालुङ्जा भनियो । 

हायुहरूको मूल थलो मुढाजोर (पालिगाउँ)मा हायुको स्वायत्त शासन रहेको बताइन्छ । १९९० को भूकम्प अघिसम्म पाली गाउँमा हायुहरूको पालिकेम (अदालत घर) रहेको थियो ।

यस्तै कमलेश्वो थरले हायु समाजमा चौथो ठाउँ ओगटेको छ । खेतीपाती राम्रो गर्नेलाई कमलेश्वो भनियो । अर्को थर छ, बागलेश्व । यसको भाषिक अर्थ हुन्छ, फट्याइँ कुरा गर्ने । यसका दुई उपथर छन् । 

१) तारेठोको बगलेश्वो— दाजुभाइसँग झगडा गर्ने, अरुको थिचोमिचो गर्ने भएकाले तारेठोको बगलेश्वो कहलाइयो । 

२) भिजाबारे बगलेश्वो— खान मात्र खोज्ने भन्टाको बोटमुनि बसिरहने हुँदा भिजाबारे बगलेश्वो भनियो । 

यस्तै अर्को थर छ, बेचेरेस्तो— आडम्बरी बन्ने, स्वाङ गर्नेलाई बेचेरेस्तो भनियो । यस्तै, हायु भाषामा दिंक्चितोका अर्थ हुन्छ, कलेजो । विशेषतः मासुमा कलेजो मनपर्नेलाई दिंक्तिचो भनियो । रामेछापभरि यो थर भएको एउटा परिवार मात्र छ, (यी सबै थरहरू गोविन्द प्रसाद ‘कुसुम’को पुस्तकबाट लिइएको हो) । 

  • आफ्नै अदालत र कानुनमा दास

हायुहरूको मूल थलो मुढाजोर (पालिगाउँ)मा हायुको स्वायत्त शासन रहेको बताइन्छ । १९९० को भूकम्प अघिसम्म पाली गाउँमा हायुहरूको पालिकेम (अदालत घर) रहेको थियो । हायु जातिका मुखियाले कर उठाउन पाउने व्यवस्था थियो । मुखियालाई हायुले मात्र होइन अन्य जातिका मानिसले पनि आदर र सत्कार गर्थे । मुखियाको सहयोगका लागि गौरुङ र टहलेको नियुक्ति गरिन्थ्यो । अपराध गर्नेलाई पक्रनुपर्ने भएकाले गौरुङ हट्टाकट्टा र बलियो हुन्थ्यो । टहलेले भने उर्दी लाउने, बोलाउने र खबर पुर्‍याउने गर्थ्यो । 

अहिले राज्यले हायु लगायत केही जातिलाई लोपोन्मुख सूचीमा राखेर संरक्षणका लागि भत्ता दिने गरेको छ । योसँगै राज्यले हायुहरूका लागि एकीकृत बस्ती, रोजगारी र भूमिको व्यवस्था गर्नुपर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप