हराएका हायु समुदाय : कोही किन लोप हुन्छन् ?
सारांश
- सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट हायु समुदायको १६ जनाको परिवार बेपत्ता भएपछि यो समुदाय चर्चामा आएको छ।
- हायु समुदाय नेपालको लोपोन्मुख जाति हो, जसको भाषा र संस्कृति संकटमा छ, र उनीहरू आफ्नो पहिचान गुमाउँदै छन्।
- वनसम्बन्धी नयाँ कानुन र शिक्षाको अभावका कारण हायु समुदाय गाउँबाट पलायन हुन बाध्य छन्, जसले गर्दा उनीहरूको जीवनयापन र पहिचानमा असर परेको छ।
पुङेबा माखी ! - अर्थात् हायु भाषामा नमस्कार ।
नमस्कार किनभने गत साउनको दोस्रो हप्तादेखि नेपाली समाजमा यो अल्पसंख्यक समुदाय एकाएक चर्चामा आएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका– ६ निवासी उर्मिला हायुको १६ जनाको पूरा परिवार गाउँबाट बेपत्ता भएपछि उर्मिला मात्र होइन समग्र हायु समुदाय नै नेपाली समाजमा चर्चाको विषय बन्यो ।
अनौठो छ । समाजमा जगाजग विद्यमान भएर पनि कसैले नदेखेका हायु समुदाय जब अदृश्य भयो, तब दृश्यमा आयो । समाजको आँखामा यति देखापर्न पनि देखानपर्ने गरी हराइदिनुपर्ने रहेछ !
हिजो मात्रै सम्पन्न ३१औँ विश्व आदिवासी दिवसको आँखाका यो प्रकरण कति पर्यो वा परेन, त्यो थाहा हुन पाएको छैन ।
थाहा भएको यति मात्रै हो कि उर्मिला हायुको पूरा परिवार हराएको यो प्रकरणपछि हायु र हायुजस्तै अल्पसंख्यामा रहेका अन्य समुदाय र उनीहरूको लोपोन्मुख भाषा, कला, संस्कृति, रहनसहन, बस्ती र जीवनशैली पनि चर्चा र चासोको केन्द्रमा आएको छ । समाजको आधुनिकीकरण सँगसँगै हायुजस्ता आफ्नै मौलिक भाषा, संस्कृति र रहनसहन भएको अल्पसंख्यक समुदाय कसरी आफ्नो पहिचान गुमाउँदै लोपोन्मुख किनारातिर आइपुगे भन्ने विषयको अध्ययन गर्न पनि गत साताको घटनाले ध्यानाकृष्ट गराएको हुन सक्छ ।
यस बिचमा धेरैले लेखिसकेको कुरा हो, हायु नेपाली समाजको अत्यन्त लोपोन्मुख जाति हो । २०७८ सालको जनगणना अनुहार हायु जातिको संख्या ३,०६९ रहेको छ । २०५८ को जनगणनामा हायुको संख्या १८२१ मात्र थियो । यो क्रमशः बढ्दो क्रममा छ । हायु भाषा बोल्ने जनसंख्या भने क्रमशः घट्दो क्रममा छ । २०५८ मा हायु बोल्ने जनसंख्या १७४३ थियो भने २०७८ मा आइपुग्दा यो घटेर ११३३ पुगेको छ । भाषा बोल्ने वक्ता कम हुँदै जानुको अर्थ हायु समुदाय आफ्नो मौलिक पहिचानबाट टाढा हुँदै गएको भनेर बुझ्न सकिन्छ ।
हायु जातिलाई अरुले ‘हायु’ भने पनि उनीहरू आफैँलाई चाहिँ ‘वायु’ भन्छन् । ‘वायु’को अर्थ के हो थाहा छैन ।
हायु जाति मूल रूपमा नेपालको रामेछाप र सिन्धुली जिल्लाको बिचमा पर्ने सुनकोशी नदी वरिपरिका पहाडी गाउँ मुडाजोर, सुकाजोर, ओख्रेनी, डाँडी गुराँसे, रतनचुरा आदि गाउँमा बसोबास गर्छन् । अहिले भने योभन्दा बाहिर दोलखा, सर्लाही, उदयपुरमा हायु जाति बसेको पाइन्छ ।
तथापि हायु जातिले आफ्नो मूल थलो भनेर रामेछापको मुडाजोरलाई मान्छन् । यही मुडाजोरको जंगलमा उक्छिङमी रानी स्थापना गरिएको छ जसलाई हायुहरू आफ्नो कुलदेवता मान्छन्, (हायु भाषाको इतिहास, भाषा आयोग, २०७५) ।
हायु जातिलाई अरुले ‘हायु’ भने पनि उनीहरू आफैँलाई चाहिँ ‘वायु’ भन्छन् । ‘वायु’को अर्थ के हो थाहा छैन । जनकलाल शर्माले ‘वायु’ शुद्ध शब्द हो, ‘हायु’ विकृत रूप हुन् भनेका छन् (हाम्रो समाज एक अध्ययन, २०३९) । ध्वनि वैज्ञानिक रूपले चाहिँ ‘वायु’ शब्द नै ‘ह्वायु’ हुँदै ‘हायु’ बन्न पुगेको मान्न सकिन्छ ।
शर्मा लेख्छन्— हायु भाषामा पानीलाई ‘ती’ भनिन्छ । बंगालको जलपाइगुडीमा प्रयोग हुने टोटो बोलीमा पनि पानीलाई ‘ती’ भनिन्छ । नेवारी (नेपालभाषा)मा पनि झोललाई ‘ती’ भनिन्छ । डोल्पो जिल्लाको काइे बोलीमा पनि पानीलाई ‘ती’ जस्तै ‘त्यु’ भनिन्छ । त्यसैले हायु भाषाको सम्बन्ध कोसँग छ भन्न कठिन भए पनि यिनीहरूको रहनसहन राईसँग मिल्ने भएकाले राईसँगै राखिएको छ ।
यति सीमान्तकृत र सानो समुदाय भए पनि हायु जातिको विशुद्ध आफ्नै मौलिक पहिचान रहेको पाइन्छ । उनीहरूको सबैभन्दा बलियो पहिचान त आफ्नै मौलिक भाषा हो जसलाई हायु भाषा भनिन्छ ।
सुनुवार वंशावलीका अनुसार परापूर्व कालमा एउटा राजाका सात छोरी थिए । सातमध्येकी एक छोरीले बिहे नभईकनै छोरा जन्माइन् । बुझ्दा थाहा भयो, ती छोरीले सूर्यदेवको गर्भ बोकेकी रहिछन् । त्यसपछि यसै गरी उनले पाँच छोरालाई जन्म दिइन् । एकदिन ती पाँच छोरा दाजुभाइ घुम्न कहीँ गएछन् । जाँदा–जाँदा उनीहरू तिब्बत पुगेछन् । पाँचमध्ये एक भाइले आफू त्यहीँ बस्ने इच्छा गरे । उनलाई त्यहीँ छाडेर बाँकी चारजना नेपालको भोटतिर झरे । कालान्तरमा ती चार भाइमध्ये एकका सन्तान लिम्बु भए । अर्का भाइका सन्तान राई भए । अर्का सुनुवार भए र कान्छो भाइ हायु भए (हायु भाषाको इतिहास, भाषा आयोग) ।
हायुहरू आफूलाई राईसँग नजिक ठान्छन् । एकताका सेनामा जागिर खानका लागि हायुहरूले आफूलाई ‘हायु’ नभनी ‘राई’ लेखाउन थालेका थिए । नेपालको पुरानो मुलुकी ऐनमा हायु जातिलाई ‘मासिन्या जाति’ भनेर सेनामा जागिर खानबाट वञ्चित गरिएको थियो । हायुलाई दास बनाउन र किनबेच गर्न योग्य जाति मानिएको थियो । त्यसैले उनीहरू सेनामा जागिर खान आफूलाई राई भनेर परिचय गराउँथे ।
यति सीमान्तकृत र सानो समुदाय भए पनि हायु जातिको विशुद्ध आफ्नै मौलिक पहिचान रहेको पाइन्छ । उनीहरूको सबैभन्दा बलियो पहिचान त आफ्नै मौलिक भाषा हो जसलाई हायु भाषा भनिन्छ ।
चीन–तिब्बती, तिब्बत–वर्मेली, हिमाली, पूर्वी–हिमालीभित्र पनि राई–किराती समूहको परिवारभित्र पर्ने भाषा हो हायु । भाषाविद् अमृत योञ्जनले यो भाषालाई ‘मरणोन्मुख’ अवस्थामा पुगेको भाषा भनेका छन्, (नेपालका भाषाहरू, २०८१) ।
साहित्य, सञ्चार आदि कुनै पनि क्षेत्रमा यो भाषा प्रयोग हुँदैन । यसको आफ्नै लिपि पनि छैन । आफ्नै समुदायमा प्रचलित गीत, संगीत, पूजापाठ, नाच, लोकवार्तामा भने हायु भाषाको प्रयोग हुन्छ । संख्यामा सानो भए पनि रामेछाप र सिन्धुलीको हायु भाषा हुबहु मिल्दैन । दुई क्षेत्रका भाषाबिच २० प्रतिशत जतिको फरक पाइन्छ ।
हायु भाषाबारे पहिलोपटक सार्वजनिक जानकारी दिने विद्वान् एक विदेशी भाषाविद् थिए । ब्राइन एच हड्सन नामक उक्त विदेशी विद्वान्ले सन् १८८० तिर पहिलोपटक हायुबारे लेख प्रकाशन गरी यसलाई ‘अत्यन्त सीमान्तकृत’ भाषाका रूपमा उल्लेख गरेका थिए ।
त्यसपछि अर्का विदेशी विद्वान् बोइड मिखाइलोभ्स्कीले त सन् १९७३ मा हायु भाषाका विषयमा विद्यावारिधि नै गरे । उनले हायु भाषाका विषयमा ‘हायु ला ल्याङ’ नामक पुस्तक नै प्रकाशित गरेका छन् । यो हायु भाषाका विषयमा लेखिएको पहिलो र एक्लो पुस्तक हो । फ्रेन्च भाषामा लेखिएका कारण नेपाली विद्वानहरूले यसको अध्ययन गर्न पाएका छैनन् ।
गत वर्ष मात्रै भाषा आयोगले हायु भाषाको शब्दकोश निर्माणको कार्य अघि बढाएको थियो । यसको जिम्मा भाषाविद् डा. तारामणि राईलाई दिइएको छ ।
हायु समुदायमा आफ्नो धर्म, संस्कृति, संस्कारबारे अरुलाई बताउनु हुँदैन भन्ने मान्यता पाइन्छ । बोइड मिखाइलोभ्स्कीले रामेछापको पालीगाउँस्थित जोरबङ्गला नामक घरमा बसेर हायु भाषाबारे अध्ययन गरेका थिए । उनलाई हायु भाषाबारे जानकारी दिएका कारण जोरबङ्गलाको बेहाल भयो, घर उजाडियो, हायुलाई धेरै नोक्सान भयो भनेर चित्त दुखाउनेहरू पनि आएका थिए (हायु भाषाको इतिहास, भाषा आयोग) ।
पछिल्लो समय भने जनकलाल शर्मा, पशुपति शर्मा, सुलोचना भुसाल, तारामणि राई, सुरेन्द्र लिम्बु, डीआर पोखरेल, अञ्जनी राई आदिले हायु समुदाय र हायु भाषाका विषयका अध्ययन अनुसन्धान गरेका छन् ।
गत वर्ष मात्रै भाषा आयोगले हायु भाषाको शब्दकोश निर्माणको कार्य अघि बढाएको थियो । यसको जिम्मा भाषाविद् डा. तारामणि राईलाई दिइएको छ । सोही सिलसिलामा भाषा आयोगको टोली सिन्धुलीको कमलामाई नगरपालिका– १ स्थित कोप्चे पुगेको थियो ।
कोप्चेको घना जंगलभित्र हायुहरूको बस्ती छ । जंगलकै बिचमा एउटा स्कुल खोलिएको छ, श्री जनज्योति प्राथमिक विद्यालय । ५ कक्षासम्म पढ्न पाइने उक्त विद्यालयमा कुल ५८ विद्यार्थी छन्, जसमा दुई तामाङ हुन् भने बाँकी सबै हायु । प्रधानाध्यापक भेषकुमारी देवकोटाका अनुसार त्यहाँ पढ्ने जम्मै हायु बालबालिका हायु भाषा मात्रै बझ्छन्, तर पढाइ हुन्छ नेपालीमा । यसले गर्दा हायु नबुझ्ने शिक्षक र खस नेपाली नबुझ्ने विद्यार्थी दुवैलाई सिक्न र सिकाउन कठिनाइ भइरहेको छ ।
अहिले आएका वनसम्बन्धी नयाँ–नयाँ कानुन र सामुदायिक वन उपभोक्ता समूहका कारण हायुहरूले जंगलका कुनै पनि सामग्री प्रयोग गर्न पाउँदैनन् ।
त्यहाँ हायु भाषामै पठनपाठन हुनुपर्ने थियो, तर हायुमा पढाउन सक्ने जनशक्तिको अभाव छ । हायु समुदायमा शिक्षितको ठुलो कमी छ । हायु समाजका वर्तमान अध्यक्ष लक्ष्मण हायु नै सबैभन्दा बढी पढेका हायु हुन् । उनी अहिले एमफिल गर्दै छन् । अधिकांश हायुहरू कक्षा ५ पछि पढाइ छोड्छन् । कोही–कोही जेनतेन एसईई गर्दै छन् ।
हायुहरू पढ्नै नसक्ने जाति भएकाले पढाइ छाडेका होइनन् । हायु बस्तीमा ५ वा १० कक्षाभन्दा बढी पढ्ने शैक्षिक संस्था नै छैन । उनीहरू स्कुल पुग्न पनि दुई घन्टा जति हिँडेर जानुपर्छ । १० पछिको पढाइ अगाडि बढाउन सहर जानुपर्छ । सहरमा स्वाभाविक रूपले नै उनीहरूका आफन्त वा चिनजानका कोही हुँदैनन् । पढ्ने, खाने, बस्ने सम्पूर्ण खर्च बेहोरेर छोराछोरीलाई सहरमा पढाउने आँट हायु आमाबाबुले गर्न सक्दैन ।
त्यो किन पनि सक्दैन भने हायुहरू बस्छन् जंगलको बिच बस्तीमा, जहाँ न राम्ररी खेती हुन्छ न कुनै अर्को उद्योग । हायुहरूले जानेको सीप भनेको चोयाबाट मान्द्रो, थुन्से, घिरी, डोको, वेसंगो, पिचा आदि बनाउने हो । त्यस्तै, जंगलमा पाइने काठका विभिन्न सामग्री बनाउन पनि उनीहरू सिपालु छन् ।
अहिले आएका वनसम्बन्धी नयाँ–नयाँ कानुन र सामुदायिक वन उपभोक्ता समूहका कारण हायुहरूले जंगलका कुनै पनि सामग्री प्रयोग गर्न पाउँदैनन् । जसले गर्दा आफूले जानेका सीप प्रयोग गर्नबाट उनीहरू वञ्चित छन् ।
हायु समाजका अध्यक्ष लक्ष्मण हायुका अनुसार गत साता गोलन्जोर गाउँपालिकाका पूरा हायु परिवार गाउँबाट जो पलायन भए, त्यसको एउटा प्रमुख कारण यो पनि हो । गाउँमा बसेर के गर्नु ? न खेती गर्न सकिन्छ, न जानेको सीप लाउन सकिन्छ, न पढाउन स्कुल छ, न उपचार गर्न अस्पताल छ । यस्तो अवस्थामा गाउँ छाडेर बसाइँ सर्नुबाहेक अर्को विकल्पै छैन ।
हायुहरू आफ्नो पहिचानबाट विमुख नहोउन् भनेर सरकारले उनीहरूका लागि प्रतिमहिना निश्चित भत्ताको व्यवस्था गरेको छ तर भत्ताले पहिचान नबच्ने रहेछ । गाउँ छाडेर अन्त गएपछि त्यहाँ पहिचान मात्र होइन मान्छे नै हराउन पुग्छन् ।
त्यसैले राज्यले जीविकाका लागि भत्ता दिएजस्तै पहिचानका लागि वातावरण पनि दिनु आवश्यक छ । बालबालिकालाई मातृभाषामा शिक्षा, परम्परागत पेसालाई व्यावसायिक बनाउन सकिने अवसर अनि संस्कार र संस्कृतिलाई अँगाल्न सकिने वातावरण । यति गर्न सके हायु मात्र होइन अरु पनि लोपोन्मुख समुदाय लोप हुनबाट जोगिने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण