शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गोलार्द्ध

यस कारण ट्रम्पको आर्थिक नीति आक्रामक भयो

मङ्गलबार, २७ साउन २०८२, १५ : ००
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • विश्लेषण अनुसार, सन् २०२५ मा व्यापार तनावको नयाँ लहर आउन सक्ने देखिएको छ, जसको ऐतिहासिक अध्ययन गरिएको छ।
  • अमेरिकाले आफ्नो वैश्विक शक्तिमा नियन्त्रण गुमाउँदै गएको र वित्तीय अस्थिरताको सामना गरिरहेको छ, जसले ट्रम्प प्रशासनको आक्रामकतालाई बढाएको छ।
  • युरोपले अमेरिकाको पछि लाग्नुको सट्टा ग्लोबल साउथका लोकतान्त्रिक मुलुकहरूसँग मिलेर व्यापार र वित्तीय प्रणालीको पुनर्निर्माण गर्नुपर्छ।

सन् २०२५ मा संसारलाई गाँजिरहेको व्यापार तनावको नयाँ लहरलाई हामीले कसरी विश्लेषण गर्ने भन्ने प्रश्न उठेको छ । यो सन्दर्भलाई राम्रोसँग ठम्याउने प्रयास स्वरूप ‘वर्ल्ड इनिक्वालिटी ल्याब’ले भर्खरै वैश्विक व्यापार तथा सन् १८८० यताको वित्तीय असन्तुलनको ऐतिहासिक अध्ययनलाई प्रकाशन गरेको छ । उक्त अध्ययन ‘अनइक्वेल एक्सचेन्ज एन्ड नर्थ–साउथ रिलेसन्सः एभिडेन्स फ्रम ग्लोबल ट्रेड फ्लोज एन्ड द वर्ल्ड ब्यालेन्स अफ पेमेन्ट्स १८००–२०२५’ शीर्षकमा प्रकाशित छ ।

धेरै निष्कर्ष प्रस्ट छन् । खुला व्यापार भनिएको आर्थिक सम्बन्ध खासमा सन्तुलित कहिल्यै थिएन । सन् १८०० देखि नै त्यहाँ निरन्तर असन्तुलन थिए । प्रभुत्वशाली शक्तिहरूले आफ्नो हैसियतको बारम्बार दुरुपयोग गरेर व्यापारका सर्तहरू गरिब मुलुकहरूमाथि लादेका थिए ।

अहिले जारी सङ्कटमा नयाँ कुराचाहिँ अमेरिकाले त्यस्तै असमान सम्बन्धमा निरन्तर आफ्नो नियन्त्रण गुमाउँदै गएको अवस्था हो । अमेरिका अहिले वैश्विक शक्तिमा आफ्नो कब्जा घट्दै गएको तथा अभूतपूर्व रूपमा वित्तीय भद्रगोलको अवस्था सामना गर्दैछ । यही अवस्थाको आधारमा ट्रम्प प्रशासनको आक्रामकतालाई व्याख्या गर्न सकिन्छ । यस्तो अवस्थामा युरोपेलीहरू अमेरिकी माग स्वीकार गर्दैछन् । सैन्य खर्च बढाएर अमेरिकी रक्षा उद्योगलाई आफ्नो सम्पत्ति बुझाउने वा अमेरिकालाई फाइदा हुने खालको बहुराष्ट्रिय कर प्रणालीमा जाने रणनीति ठिक छैन । अब युरोपले अमेरिकाको पछि लाग्ने होइन । वैश्विक दक्षिण (ग्लोबल साउथ)का लोकतान्त्रिक मुलुकहरूसँग हात मिलाउने हो । उनीहरूसँग जोडिएर विकासका शैलीलाई सघाउँदै व्यापारिक तथा वित्तीय प्रणालीको पुनर्निर्माण गर्नेतर्फ लाग्नुपर्छ ।

  • स्थायी व्यापार घाटा

आज विश्वव्यापी व्यापार अहिलेसम्मकै उच्चतम स्तरमा छ । निर्यात र आयातले विश्वको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत हिस्सा ओगटेको छ, जसमा ७ प्रतिशत कृषि, खानी र जीवाश्म इन्धनजस्ता कच्चा पदार्थ पर्दछन् । १६ प्रतिशत उत्पादित वस्तुहरू तथा ७ प्रतिशत पर्यटन, यातायात र परामर्श लगायत सेवाहरू पर्छन् । सन् १८०० को अवस्थामा यही तथ्याङ्क तुलना गरेर हेर्दा व्यापारको हिस्सा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको केवल ७ प्रतिशत थियो । सन् १९१४ सम्म आइपुग्दा १५ प्रतिशत तथा त्यसैगरी सन् १९७० मा १२ प्रतिशत थियो । सन् १९७० देखि व्यापारको हिस्सा सबै क्षेत्रमा ठुलो मात्रामा बढेको छ । यसले ठुलो वातावरणीय प्रभाव पनि ल्याएको छ । यस्तो प्रभाव अहिले सबैले बुझ्ने स्तरमा देखिन थालेको छ ।

खासमा भन्ने हो भने यो ऐतिहासिक रूपमा सामान्य कुरा हो । सन् १८०० देखि १९१४ सम्म बेलायतको नेतृत्वमा युरोपेली शक्तिहरूले स्थायी व्यापार घाटाकै अवस्था चलाएका थिए ।

केही अध्येताहरूले सन् २००८ को वित्तीय सङ्कटपछि व्यापार बढ्न बन्द भएको बताउने गरेका छन् । जसरी हेर्दा पनि विश्व व्यापार अहिले इतिहासकै उच्चतम स्तरमा रहेको देखिन्छ ।

हामी अब अहिलेको असन्तुलनलाई हेरौँ । यसबारेका आधारभूत तथ्यहरू सर्वविदितै छन् । सन् १९९० देखि २०२५ सम्म अमेरिकाले आफ्नो कुल गार्हस्थ्य उत्पादनको करिब तीनदेखि चार प्रतिशतको औसत वार्षिक व्यापार घाटा व्यहोरेको देखिन्छ । उत्पादित वस्तुहरूमा देखिएको ठुलो घाटा पूर्ति गर्न सेवा क्षेत्रमा भएको नाफाले धान्ने अवस्था छैन । झट्ट हेर्दा यस्तो तथ्य अविश्वसनीय पनि लाग्न सक्छ । स्वाभाविक प्रश्न उठ्न सक्छ– प्रमुख शक्ति राष्ट्रले कसरी यस्तो स्थायी रूपमा व्यापार घाटा राखिराख्छ त ?

खासमा भन्ने हो भने यो ऐतिहासिक रूपमा सामान्य कुरा हो । सन् १८०० देखि १९१४ सम्म बेलायतको नेतृत्वमा युरोपेली शक्तिहरूले स्थायी व्यापार घाटाकै अवस्था चलाएका थिए । उत्पादित वस्तुहरू र ढुवानीबाट प्राप्त नाफा संसारको बाँकी भागबाट आउने कपास, काठ, चिनी लगायत कच्चा पदार्थको व्यापक प्रवाहबाट कमजोर रूपमा मात्रै पूर्ति गरिएको थियो । सन् १८८० देखि १९१४ सम्म बेलायत, फ्रान्स, जर्मनी लगायत युरोपका प्रमुख शक्तिहरूले सन् १९९० देखि २०२५ सम्म अमेरिकाले सामना गरेजस्तै हाराहारीको औसत वार्षिक घाटा व्यहोरेका थिए ।

यसरी अमेरिका अबको दिनमा जबरजस्तीको बाटो रोज्न थालेको छ । यस्तो जबरजस्तीलाई जायज ठहर्‍याउनका लागि अमेरिकाले विश्वव्यापी रूपमा सार्वजनिक वस्तुहरू निःशुल्क उपलब्ध गराउने गरेको तर्क अघि सार्ने गरिएको छ ।

अहिले र त्यसवेलाको सन्दर्भमा केही फरक पनि छ । युरोपेली शक्तिहरूले त्यस बखत विभिन्न मुलुकमा आफ्ना सम्पत्ति राखेका थिए, जसले वार्षिक रूपमा ठुलो मात्रामा राजस्व प्राप्त गर्न सघाउँथे । यस्तो राजस्व बेलायतको लागि कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत तथा फ्रान्सको लागि ५ प्रतिशतभन्दा बढी थियो । यसले गर्दा उनीहरूलाई विश्वभर ऋण जम्मा हुँदै गर्दा पनि आफ्नो व्यापार घाटा सजिलैसँग धान्न सजिलो बनाइदियो ।

अमेरिकाको हकमा यसको विपरीत मुलुक बाहिर रहेको सम्पत्तिले कहिल्यै पनि उसको घाटा पूर्ति गर्न आवश्यक पर्याप्त आम्दानी सिर्जना गरेको छैन । फलस्वरूप अमेरिकाको बाह्य ऋण अभूतपूर्व स्तरमा पुगेको छ । विश्वको प्रमुख सैन्य शक्तिको रूपमा रहेको अमेरिकाले आउने दिनहरूमा चाँडै नै बाँकी विश्वलाई ठुलो मात्रामा दीर्घकालीन ब्याज भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्था इतिहासमा पहिले कहिल्यै देखा परेको थिएन । यही कारण ट्रम्प तथा उनका समर्थकहरू आवश्यक परेमा बल प्रयोग गरेर भए पनि विश्वको अन्य भागबाट सम्पत्ति जम्मा गर्ने हतारमा छन् ।

यसरी अमेरिका अबको दिनमा जबरजस्तीको बाटो रोज्न थालेको छ । यस्तो जबरजस्तीलाई जायज ठहर्‍याउनका लागि अमेरिकाले विश्वव्यापी रूपमा सार्वजनिक वस्तुहरू निःशुल्क उपलब्ध गराउने गरेको तर्क अघि सार्ने गरिएको छ । ती सार्वजनिक वस्तु हुन्, स्थिर मुद्राको रूपमा अमेरिकी डलर तथा बलियो वित्तीय प्रणाली । बाँकी विश्वले सार्वजनिक ऋण र इक्विटी तथा आफ्नो सम्पत्ति डलरमा जम्मा गर्ने गर्छ । जसले ग्रीनब्याक अर्थात् अमेरिकी डलरको मूल्य बढाइदिन्छ । यसले नै अमेरिकी व्यापार घाटालाई धान्ने गरेको छ । खासमा भन्ने हो भने डलरले आजभन्दा अघि नै अमेरिकालाई अधिक फाइदा दिलाइसकेको छ । यद्यपि यो तर्क विशेष गरी विचारणीय छ किनकि यसले ट्रम्पवादीहरूले वकालत गरेका समाधानहरू भन्दा धेरै फरक समाधान निम्त्याउन सक्छ । ट्रम्प र उनका समर्थकहरूले सुझाएको विकल्पभन्दा फरक डलरले अझै पनि केही उपयोगी समाधान दिन सक्ने अवस्था बाँकी नै छ, तर उनीहरू यसमा विचार गर्नुको साटो संसारलाई फरक व्यवहार गर्नेतर्फ उद्यत छन् ।

(लेमोन्डेबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

थोमस पिकेटी
थोमस पिकेटी
लेखकबाट थप