बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छोराको दीर्घायुका लागि पश्चिम नेपालमा तीन छठ्ठी पर्व मनाउँदै

बिहीबार, २९ साउन २०८२, १३ : १७
बिहीबार, २९ साउन २०८२

सारांश

  • तराई-मधेसका हिन्दू समुदायले छोराको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै तीन छठ्ठी पर्व मनाए।
  • महिलाहरूले व्रत बसेर पूजापाठ, भजनकीर्तन गरे, छोरा नभएकाहरूले सन्तान प्राप्तिको कामना गरे।
  • कपिलवस्तु लगायतका जिल्लामा मनाइने यस पर्वमा विशेष प्रसाद बनाइन्छ र धार्मिक विधिहरू पालना गरिन्छ।

काठमाडौँ । तराई–मधेसको पश्चिमी भेगमा आज हिन्दु धर्मावलम्बी मधेसी समुदायले तीन छठ्ठी पर्व धूमधामका साथ मनाइरहेका छन् । 

विशेष गरी छोराको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै महिलाहरू व्रत बस्दै पूजापाठमा जुटेका छन् । 

कपिलवस्तुका नरेन्द्र चौधरीका अनुसार भदौ शुक्ल षष्ठीका दिन मनाइने यस पर्वमा महिलाहरू बिहानै स्नान गरी पूजापाठ, भजनकीर्तन र व्रत गर्छन् । उनीहरू घर नजिकैको कुश रहेको स्थानमा पूजा गर्ने चलन रहेको बताइन्छ ।

जनमत पार्टीका उपाध्यक्ष समेत रहेका चौधरीले छोरा भएका महिलाहरूले सन्तानको दीर्घायुका लागि र छोरा नभएकाहरूले सन्तान प्राप्तिको कामनासहित यो व्रत राख्ने परम्परा रहेको बताए । यस दिन विशेषगरी महुवाको दतिवनले दाँत माझ्ने र कुशको पूजा गरी ६ वटा गाठो बाँध्ने धार्मिक विधि पालना गरिन्छ ।

पर्वको अवसरमा चिनी नहालेको दही, हल्दी, चामल, महुवा र चनालाई मुछेर विशेष प्रसाद बनाइन्छ । बेलुका भने तिन्नीको चामल, बिना हलो चलाएको खेतको साग र दूध सेवन गर्ने परम्परा छ ।

पौराणिक कथा अनुसार वैदिक कालमा अनिकाल परेको बेला एक जनप्रिय राजाले पोखरी खनाएका थिए । पोखरीमा पानी नआएपछि उनले आफ्नो नातिको बलि दिएका थिए । त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी माताको व्रत राखेपछि नाति पुनः जीवित भएको प्रसङ्गसँग यो पर्वको ऐतिहासिकता जोडिएको पाइन्छ ।

यसबाहेक, यो पर्व शक्ति, शौर्य र कृषि संस्कृतिको प्रतीक मानिने तथा भगवान् श्री बलराम जयन्ती र हलछठको रूपमा समेत मनाइन्छ ।

अन्तिम समयसम्म तीन छठ्ठी पर्व मनाउने महिलाको सङ्ख्या व्यापक रूपमा बढिरहेको स्थानीयहरू बताउँछन् । पर्व विशेषगरी कपिलवस्तु लगायतका जिल्लाहरूमा मनाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप