‘किताब मेरा लागि आत्मीय साथी हो’
सारांश
- सुस्मिता नेपालका कृतिहरू र किताबप्रतिको उनको दृष्टिकोणबारे छलफल गरिएको छ।
- लेखिकाले पठन संस्कृतिको महत्व र हालका पाठकहरूलाई सुझाव दिएकी छिन्।
- उनले आगामी उपन्यास लेख्ने योजना बनाएको जानकारी गराइन्।
सुस्मिता नेपालका १० कृति प्रकाशित छन्— एकान्त पनि रुन्छ (उपन्यास २०५३), मेरा छातीका कोलाजहरू (उपन्यास, २०५५), उडेका उमेरहरु (उपन्यास, २०६९), कालाकाला रातहरुमा टेक्दै (उपन्यास, २०६१), एउटा आवाजको जन्म (उपन्यास २०६१), आकाशका हजारौँ हातहरु (उपन्यास, २०६५), ताल— हृदयभित्रको (कवितासङ्ग्रह, २०६४) , हवाईजहाजसँगै उडेको मन (कथासङ्ग्रह, २०६६), पत्रैपत्र उपन्यास, (उपन्यास, सहलेखन, २०६८), नदी र मुस्कान (कविता संग्रह सहलेखन २०७७) ।
हाल उनले उत्तरवर्ती निबन्धहरूमा सीमान्तीयताको अनुसन्धान गरिरहेकी छन् । उनै नेपाललाई हामीले यसपटक रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ ।
- तपाईंका लागि किताब के हो ? किताबप्रति आकर्षण कहिलेदेखि सुरु भयो ?
किताब मेरा लागि ज्ञान, विचार, अनुभव र कल्पनालाई अभिव्यक्तिमार्फत व्यवस्थित रूपमा प्रस्तुत गरिने सुन्दर कला हो । किताब सिकाइको स्रोत त हो नै, संस्कृतिको संरक्षण र विचार आदान–प्रदानको महत्त्वपूर्ण अनि सशक्त साधन पनि हो । स्कुल पढ्दादेखि नै किताबप्रति आकर्षित भएँ । किताब मेरा लागि आत्मीय साथी हो ।
- यहाँले दिनमा कति समय पढ्नुहुन्छ ? पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
किताब पढ्नका लागि दैनिक समय छुट्ट्याएकी छैन । जतिबेला समय पाउँछु, किताब पढ्छु । किताबभित्रका सुखदुःखका परिवेशभित्र हराउन पाउँदा सुन्दर अनुभूतिले आनन्दित हुन्छु । हुन त मेरो पेसा नै अध्यापन । यस क्रममा पनि किताबहरूसँगै धेरै समय बिताइरहेकी हुन्छु ।
पछिल्लो समय के–कस्ता किताब धेरै पढिरहनुभएको छ ? हालैका दिनमा पढेको किताब कुन थियो ? कस्तो छ यो किताब ?
हाल उत्तरवर्ती निबन्धहरूमा सीमान्तीयताको अनुसन्धान गरिरहेकीले बढी निबन्धका किताबको अध्ययन गरिरहेकी छु । त्यस्तै कविता, कथा र उपन्यासका किताबका पनि अध्ययन गरिरहेकी छु ।
हाल पढेका किताबमध्ये एक हो, कुमारी लामाको ‘उज्यालो अन्धकार’ निबन्ध सङ्ग्रह । उनका निबन्धहरूमा विविध विषय समेटिएका छन् । मुख्य रूपमा सीमान्तीय वर्गका आवाज उठाउनुका साथै नारी चेतना पनि स्वाभाविक प्रस्तुत भएका छन् ।
समस्याले घेरिएका बेलामा मलाई योगीको आत्मकथा किताब पढ्ने समय जुर्यो, जीवनमा मनभित्रको शान्तिजस्तो ठुलो कुरा अरु केही नहुने रहेछ भन्ने बोध भयो ।
- यहाँले पहिलोपटक पढेको मोटो आकारको किताब कुन थियो ? त्यसबाट के पाउनुभयो ?
मैले पहिलोपटक पढेको मोटो आकारको किताब मेक्सिम गोर्कीको उपन्यास ‘आमा’ हो । रुसी मजदुर वर्गको क्रान्तिकारी चेतना र सामाजिक अन्यायविरुद्धको सङ्घर्षको जीवन्त कथाको रूपमा चित्रित उपन्यास हो यो । यसकी मुख्य पात्र पाभेलकी आमा पेलागेया निलोभ्ना भ्लासोभा एक साधारण विधवा मजदुर हुन् । आफ्नो छोरा पाभेलमार्फत उनी पनि क्रान्तिकारी आन्दोलनमा सहभागी हुन्छिन् । छोरालाई बचाउनका लागि उनले आन्दोलनको बाटो समाउँछिन् । अन्त्यमा उनी पक्राउ पर्छिन् तर उनको चेतना र सङ्घर्षको भावना कहिल्यै हराउँदैन । आमाको हृदय सधैँ सन्तानका लागि समर्पित हुनेरहेछ भन्ने ज्ञानको बोध गराउने यो उपन्यास मलाई आज पनि उत्तिकै राम्रो लाग्छ ।
- तपाईंले बारम्बार पढ्नुभएको कुनै किताब छन् कि ?
मैले बारम्बार पढेका किताब हुन्— पारिजातको ‘शिरीषको फूल’, विजय मल्लको ‘अनुराधा’ र मञ्जुलको ‘सम्झनाका पाइला’ ।
शिरीषको फूल उपन्यासमा चित्रित सामाजिक परिवेश र काव्यात्मक शैलीले तान्ने हुनाले बेला बेलामा पढिरहन्छु । अनुराधा उपन्यासमा अनुराधाको मानसिक चित्रण बेजोड लाग्छ, त्यसैले पढ्ने गर्छु । ‘सम्झनाका पाइला’ यात्रा संस्मरणमा त्यति बेलाको समाजको जीवन्त प्रस्तुति छ, त्यसैले आकर्षित गर्छ ।
- तपाईंलाई मन परेका पाँचवटा विदेशी किताबको नाम लिनुपर्दा कुन कुन किताब सम्झनुहुन्छ ? किन ?
१) ग्रास सुप
चिनियाँ लेखक ज्याङ सियाङलियाङले माओकालीन समयका २२ वर्ष जेल जीवनमा भोग्नुपरेको थियो । ‘ग्रास सुप’मा उनले त्यतिबेलाको यातनाको घटना समेटेका छन् । दिनदिनैको अभाव, कठिन परिस्थति, निराशा, हिंसा अनि बन्दीहरूको पीडादायक अवस्थामा बुद्धका सन्देशहरूले आशाका किरण भेटिएको अवस्थाको चित्रण जीवन्त रूपमाउनले प्रस्तुत भएका छन् ।
२) ‘राङ्गेय राघव :एक अंतरङ्ग परिचय’
यो किताबमा सुलोचना राङ्गेय राघवले आफ्नो पति राङ्गेय राघवको जीवन र लेखनबारे संस्मरणात्मक रूपले प्रस्तुत गरेकी हुन् । यस कृतिमा उनले पतिको व्यक्तिगत जीवनशैली र लेखन क्षेत्रको सूक्ष्म र संवेदनशील चित्रण प्रस्तुत गरेकी छन् । उनले प्रेम, संवेदनशीलता र जीवनका विविध व्यावहारिक पक्षलाई साहित्यमा उनेकी छन् ।
३) एरियल
सिल्भिया प्लाथको कविता सङ्ग्रह ‘एरियल’ (१९६५) मरणोपरान्त प्रकाशित कृति हो । जसमा सिल्भियाले आफ्ना गहिरा अनुभूतिहरू, मुख्य गरेर जीवन–मृत्युका विषयहरू अभिव्यक्त गरेकी छन् । यस कृतिका कविताहरूमार्फत उनले जीवनमा देखे–भोगेका मृत्यु, पुनर्जन्म, स्वतन्त्रता र पितृत्वसम्बन्धी जटिल कुरा समेटेकी छिन् । त्यस्तै आत्मसङ्घर्ष र मानसिक पीडा, मृत्युलाई आत्मसात गर्ने भावना, नारीवादी चेतना र स्वतन्त्रताको खोज, जीवन र पुनर्जन्मको प्रतीकात्मकता यस कविता सङ्ग्रहमा प्रस्तुत भएका छन् ।
४) मिडनाइट्स् चिल्ड्रेन
सलमान रुस्दीको ‘मिडनाइट्स् चिल्ड्रेन’ (१९८१) मा भारतको स्वतन्त्रताको मध्य रातमा जन्मिएका सलिमको जीवन कथालाई समेटिएको छ । जन्मसँगै सलिमलाई टेलिप्याथिक शक्ति प्राप्त हुन्छ, जसले गर्दा उनलाई स्वतन्त्रताको पहिलो अवस्थामा जन्मिएका विशेष क्षमतायुक्त बालबालिकाको रूपमा हेरिन्छ । सलिमको व्यक्तिगत जीवन र भारत–पाकिस्तानको राजनीतिक तथा सामाजिक इतिहास आपसमा गाँसिँदै कथा अघि बढेको छ । यो उपन्यास जादुमय यथार्थवादको उत्कृष्ट उदाहरण हो, जसमा व्यक्तिगत कथा र राष्ट्रिय इतिहास एकसाथ अगाडि बढाइएको छ ।
५) अटोबायोग्राफी अफ् योगी
‘अटोबायोग्राफी अफ् योगी’मा परमहंस योगानन्दको जीवनकथा समेटिएको छ । किताबमा परमहंसले आफ्नो बाल्यकालदेखि गुरु, साधना र ध्यानमार्फत गरेको आध्यात्मिक यात्राको अनुभव प्रस्तुत गरेका छन् । उनले भारतमा गरिएको योग, ध्यानको अभ्यास र अमेरिकामा यसको प्रचार भएका सन्दर्भ लेखेका छन् । यस किताबमा गुरु–शिष्यको सम्बन्ध, चामत्कारिक घटनाहरू र आध्यात्मिक शिक्षाहरू समावेश गरिएका छन् । यस कृतिले आत्मिक चेतना र जीवन दर्शनको गहिरो अर्थ बुझ्न प्रेरित गरेको छ ।
पुरस्कार पाउँछु भन्ने आशाले मैले कहिले पनि लेखेकी छैन । जुन कुराले मेरो मन–मस्तिष्कलाई हल्लाउँछ, ती कुरालाई मात्र म मेरा लेखनमा समेट्छु ।
- तपाईंलाई मन परेका केही स्वदेशी लेखकका किताबको नाम लिनुपर्दा कुन कुन किताब सम्झनुहुन्छ ? किन ?
१) अविरल बग्दछ इन्द्रावती
रमेश विकलको उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ इन्द्रावती नदीको किनारमा बसोबास गर्ने माझीको कारुणिक जीवन कथासँग सम्बन्धित छ, जसमा जीवनयापनका लागि धेरै सङ्घर्ष गरेका कथा प्रस्तुत भएका छन् । उनीहरू समाजमा कुन किसिमले शोषित र पीडित भएका छन् र कसले यो अवस्थामा पुर्याएका छन् भन्ने वास्तविक चित्र देखाउन उपन्यासकार सफल भएका छन् ।
२) तोरीबारी बाटा र सपनाहरू
पारिजातको ‘तोरीबारी बाटा र सपनाहरू’ उपन्यास सामाजिक विडम्बनामा आधारित छ । नारी अस्मिताको संरक्षणका यथार्थ घटना पनि समेटिएका छन् । विशेषतः यस उपन्याको भाषाशैलीले म प्रभावित बनेँ ।
_mDhDIqgAm6.jpg)
३) छेकुडोल्मा
मञ्जुलको यो उपन्यास पारिजातकै जीवनमा आधारित छ । यसमा प्रयुक्त नयाँपन, काव्यात्मक भाषाशैलीले म प्रभावित भएँ ।
४) अग्नि स्पर्श
शारदा शर्माको यस निबन्ध सङ्ग्रहमा विविध विषय समेटिएका छन् । परम्परागत सामाजिक संरचनाले मानवीय जीवनमा पारेका प्रभावहरू आएका छन् । धर्म, नारी, पुरुष, काव्य, अध्यात्मजस्ता सन्दर्भलाई आफ्नो विचार समावेश गरी सामान्य घटनासँग जोडेर तर्कपूर्ण तरिकाले उनले निबन्धहरू प्रस्तुत गरेकी छन् ।
५) गोपालप्रसाद रिमाल आमाको सपना
गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सङ्ग्रहमा क्रान्तिको आवाज बोकेका कविता छन् । राणाकालीन अवस्थामा लेखिएका यी हरफहरू मेरो हृदयमा सधैँ सलबलाइरहन्छन्—
आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’
- यहाँको सोचलाई नै बदलेका कुनै किताब छन् कि ?
सोच नै बदेलका किताबमा परमहंस योगानन्दको ‘योगीको आत्मकथा’ र मञ्जुलको ‘सम्झनाका पाइलाहरू’ सम्झन्छु ।
समस्याले घेरिएका बेलामा मलाई योगीको आत्मकथा किताब पढ्ने समय जुर्यो, जीवनमा मनभित्रको शान्तिजस्तो ठुलो कुरा अरु केही नहुने रहेछ भन्ने बोध भयो । ‘सम्झनाका पाइलाहरू’ किताब पढेपछि समाजबाट हामीले सिक्ने कुरा र समाजका लागि हामीले के गर्नुपर्ने रहेछ भन्ने मानवीय व्यवहारको ज्ञान भयो ।
- यहाँलाई के कुराले लेखनमा बढी प्रेरित गर्छ ?
सामाजिक यथार्थ, अनुभूतिजन्य घटनाहरूले मलाई लेख्न प्रेरित गर्छन् । यसमा मानवीय जीवनका विविध रङ मिसिएर आएका हुन्छन् । ती रङहरूले सुखदुःखका बारेमा बोलिरहेका हुन्छन् ।
- यहाँले पुरस्कार सम्झेर वा कुनै पुरस्कार पाउँछु भन्ने आशाले लेख्नुभएको छ ?
पुरस्कार पाउँछु भन्ने आशाले मैले कहिले पनि लेखेकी छैन । जुन कुराले मेरो मन–मस्तिष्कलाई हल्लाउँछ, ती कुरालाई मात्र म मेरा लेखनमा समेट्छु ।
- आख्यान र गैरआख्यानमध्ये कुन विधाका किताब बढी पढ्न रुचाउनुहुन्छ ? किन ?
दुवै विधाका किताब पढ्न रुचाउँछु । आख्यान र गैरआख्यान दुवै मेरा लागि उत्तिकै रुचिकर छन् ।
- यहाँको लाइब्रेरीमा कति किताब छन् ? किताब किन्न कति खर्च गर्नुहुन्छ ?
घरको लाइब्रेरीमा धेरै किताब छन्, पढ्नलाई मनग्य पुग्ने । ती सबैजसो किताब मेरा श्रीमान् मञ्जुलज्यूले किन्नुभएको हो । मलाई पढाउन चाहिने किताब त किनिहाल्छु । निम्तो मान्न गएको विमोचन कार्यक्रममा पनि किताबहरू किन्ने गरेकी छु । नत्र त्यति साह्रो किताब किन्दिनँ ।
- जीवनमा तपाईंले कहिल्यै कुनै किताब चोर्नुभएको छ कि ?
छैन । घरमै स्वदेशका र विदेशका किसिम–किसिमका किताब छन् । चर्चित किताबहरू मञ्जुलजीले नै उपलब्ध गराइदिनुहुन्छ । छोराछोरीले पढ्न रुचाएका किताब महँगा छन् भने पनि उहाँले हाँसीखुसी किनिदिनुहुन्थ्यो । पढ्नकै लागि भनेर मैले कहिले पनि किताब चोरेकी छैन ।
- तपाईंको जिन्दगीमा किताब हराएका वा चोरी भएका घटना छन् कि ?
छन् नि । हाम्रो घरको सानो किताबालयबाट किताबहरू कैयौँपटक हराएका छन् । कसैले नभनी किताब लैजाँदा पढ्नकै लागि लगेको हो भन्ने लाग्थ्यो । अरू सामान हराएका बेलाजस्तो किताब हराएको बेलामा मन भने दुख्दैनथ्यो ।
- आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको कुनै किताब छन् कि ?
यस किसिमको अनुभव मसँग खासै छैन ।
- पछिल्लो समय नेपालको पठन संस्कृति कस्तो पाउनुभएको छ ? सामाजिक सञ्जाल र डिजिटल युगले किताबको यात्रा कहाँ पुर्यायो भन्ने लाग्छ ?
मलाई लाग्छ, पछिल्लो समयका साहित्यकार र पाठकहरू अझै पनि किताब नै पढ्न रुचाउँछन् । सामाजिक सञ्जाल र डिजिटल युगमा प्रविधिले नयाँ पुस्ताहरूलाई भने किताबबाट टाढा लगिरहेको हो कि जस्तो महसुस मैले गरिरहेकी छु । यमिध्ये कतिपयमा त किताब पढ्ने प्रेरणा पनि कम देख्छु । उनीहरूलाई किताब पढ्ने प्रेरणा दिने किसिमका योजना बनाउनुपर्ने देखिन्छ ।
- आजका पाठकका लागि तपाईंका केही सुझाव छन् कि ?
राम्रा साहित्यको प्रशंसा गर्नुहोस् । किताब पढ्ने बानी बसाल्नुहोस् । एउटा हातमा अध्ययन र अर्को हातमा अभ्यास गर्ने बानी बसाल्न सकियो भने जीवन सुन्दर बन्दै जान्छ ।
- यहाँको अबको योजना के छ ?
छिटै एउटा उपन्यास लेख्ने योजनामा छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण