बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्प-पुटिन भेटपछि रुसले आक्रमण बढाउन सक्ने जेलेन्स्कीको चिन्ता

शनिबार, ३१ साउन २०८२, २१ : २८
शनिबार, ३१ साउन २०८२

कीएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले निकट भविष्यमै रुसले युक्रेनमाथि आक्रमण थप तीव्र पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । 

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनको राजनीतिक र कूटनीतिक अवस्थालाई आधार मानेर रुसी सेनाले युक्रेनी लक्ष्यहरूमा थप दबाब र आक्रमण बढाउन सक्ने अनुमान गरिएको बताएका हुन् । जेलेन्स्कीका अनुसार युक्रेनले रुसी सेनाको गतिविधि र तयारीलाई नजिकैबाट निगरानी गरिरहेको छ र आवश्यक परे प्रतिकारका लागि तयार रहेको छ । 

यससँगै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको हालसालैको कुराकानीबारे पनि जानकारी दिएका छन् । जेलेन्स्कीले युद्धविराम, युक्रेनी युद्धबन्दीहरूको रिहाइ तथा युद्ध जारी रहेसम्म रुसमाथि निरन्तर दबाब कायम राख्नुपर्ने आवश्यकता औँल्याए । 

उनले भने, ‘यदि त्रिपक्षीय बैठक भएन वा रुसले युद्धलाई इमानदार रूपमा अन्त्य गर्ने प्रयासबाट पन्छिन खोज्यो भने रुसमाथि प्रतिबन्धहरू अझ कडा गर्नुपर्छ ।’ 

‘युक्रेनसँग सम्बन्धित सबै महत्त्वपूर्ण मुद्दाहरूमा युक्रेनकै उपस्थितिमा छलफल हुनुपर्छ । विशेषगरी क्षेत्रीय सार्वभौमिकता र अधिकारसँग सम्बन्धित कुनै पनि निर्णय युक्रेनलाई बाहिर राखेर लिन सकिँदैन,’ उनले थपे ।
शुक्रबार अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको थियो । सोही भेटवार्तापछि फर्कने क्रममा ट्रम्पले जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका थिए । 

यसैबिच जेलेन्स्की सोमबारदेखि अमेरिकाको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप