बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

ठुला दलप्रति राजेन्द्र महतोको असन्तुष्टि

कांग्रेस–एमाले नेतृत्वको सरकार असफल भएको दाबी
आइतबार, ०१ भदौ २०८२, २२ : ३२
आइतबार, ०१ भदौ २०८२

सारांश

  • राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले ठूला दलहरूले जनताको हितमा काम नगरेको आरोप लगाए।
  • महतोले कांग्रेस, एमाले, माओवादी र मधेसी दलको भूमिका कमजोर भएको र वैकल्पिक आन्दोलन आवश्यक रहेको बताए।
  • पार्टीले भूमिहीन किसान, मजदुर र सीमान्तकृत समुदायका समस्या समाधान गर्न प्रतिबद्धता जनाएको छ।

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) तथा मधेसी केन्द्रित दलहरूले जनताको हितका लागि काम नगरेको आरोप लगाएका छन् ।

शान्तिगरस्थित पार्टी कार्यालयमा शनिबारदेखि जारी कार्यकारिणी समितिको बैठकमा समसामयिक राजनीति प्रस्ताव पेस गर्दै महतोले यस्तो आरोप लगाएका हुन् ।  

महतोले आफ्नो प्रतिवेदनमा हालको राजनीतिक परिदृश्यको समीक्षासहित प्रमुख दलहरूको भूमिका कमजोर भएको उल्लेख गरेका छन् । जसमा राष्ट्रिय स्वाधीनता र जनताको मुक्ति सुनिश्चित गर्न वैकल्पिक आन्दोलन अपरिहार्य भएको निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए । 

नेपाली कांग्रेसले विगतमा लोकतान्त्रिक आन्दोलनमा भूमिका खेले पनि हाल दक्षिणपन्थी चरित्र लिँदै दमनकारी शक्तिको रूपमा देखिएको आरोप लगाइएको छ । 

यस्तै जातीय, लैङ्गिक र क्षेत्रीय समानताको सवालमा यसको दृष्टिकोण अनुदार रहेको उल्लेख गर्दै अध्यक्ष महतोले कांग्रेसले राष्ट्रिय मुक्तिको प्राथमिकता विरोधी शक्ति बनेको आरोप लगाए । 

यस्तै एमालेलाई सत्तामा रहँदा निरङ्कुश प्रवृत्तिको अभ्यास गरेको र अहिले जनताबाट टाढिएको दलका रूपमा चित्रण उनले गरेका छन् । एमाले नाममा कम्युनिष्ट भएपनि व्यवहारमा पूँजीवादी र अवसरवादी रहेको उनले दाबी गरेका छन् । 

माओवादीलाई सशस्त्र युद्ध र जनआन्दोलनमार्फत सत्ता हासिल गरे पनि वर्गीय र राष्ट्रिय सवालमा सम्झौता गर्दै प्रतिक्रियावादी शक्तिमा परिणत भएको उल्लेख गरिएको छ ।

त्यस्तै, मधेसी दलहरूबारे पनि प्रस्तावमा टिप्पणी गरिएको छ । ती दलहरूले २०६३/०६४ को मधेस आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेले पनि अहिले सत्तामा सहभागिता मात्रै सीमित भएको र मधेसी जनताको वास्तविक मुद्दा उठाउन असफल भएको आरोप लगाइएको छ ।

अध्यक्ष महतोले पेस गरेको प्रस्तावमा राष्ट्रिय मुक्ति आन्दोलनलाई सबल बनाउन नयाँ ढङ्गको वैचारिक र राजनीतिक अभियान आवश्यक रहेको उल्लेख छ । उनले भने, ‘आजको अवस्थामा ठुला दलहरूले मुक्ति आन्दोलनलाई कमजोर बनाएका छन्, त्यसैले विकल्प निर्माण गर्नु नै हाम्रो कार्यभार हो ।’

प्रस्तावमा कांग्रेस–एमाले नेतृत्वको सरकारलाई असफल, निरकंश र जनविरोधी भनिएको छ । हालको सरकार जनताको अपेक्षा विपरीत काम गरिरहेको उल्लेख गर्दै उनले सरकार कानुनको शासनको पालना नगरी, नयाँ कानुन निर्माणमा ढिलासुस्ती गर्दै, भ्रष्टाचार नियन्त्रणमा असफल हुँदै आएको आरोप लगाएका छन् । 

राष्ट्रिय मुक्ति पार्टीले भूमिहीन किसान, मजदुर, सीमान्तकृत समुदायका समस्या समाधान गर्ने प्रतिबद्धता मुख्य दलहरूले निर्वाह नगरेको र जनताको विश्वास गुमाएको दाबी गरेको छ । 

प्रस्तावमा भूमिहीनलाई जमिन वितरण, बाढी–पीडितलाई राहत, सस्तो र गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, स्वास्थ्य सुविधा, मधेसमा बढ्दो अपराध नियन्त्रण लगायतका मुद्दामा सरकारले कुनै ठोस पहल नगरेको दाबी गरिएको छ । 

प्रस्तावले राज्यका सहकारी संस्था, स्थानीय तहका निकाय, न्यायालयलगायत संवैधानिक निकायहरूमा राजनीतिक दलका स्वार्थी भागबण्डा कायम गरिएको आरोपसमेत लगाएको छ । ‘सत्ता कब्जा गर्ने खेलमा मात्र रमाउने दलहरूले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाएको गुनासो अध्यक्ष महतोको रहेकोको रहेको छ । 

लोकतन्त्रलाई बचाउन र जनतामुखी शासन कायम गर्न ‘राष्ट्रिय मुक्ति आन्दोलन’ अपरिहार्य भएकोमा जोड दिँदै अध्यक्ष महतोले भनेका छन्, ‘फेरि एक पटक जनआन्दोलनमार्फत वैकल्पिक शक्ति निर्माण नगरी यो देशमा जनताको मुक्तिको बाटो खुलेको छैन ।’

कार्यकारिणी समितिको बैठकमा प्रस्तुत प्रस्तावमा लोकतान्त्रिक मूल्य–मान्यता, पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई पुनर्स्थापित गर्न नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने आवश्यकता औँल्याइएको छ ।

बैठक जारी रहेको र छलफलपछि आगामी आन्दोलन तथा कार्यक्रमको कार्य योजना सार्वजनिक गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ ।

पार्टीको कार्यकारिणी बैठक शान्तिगरस्थित कार्यालयमै जारी रहेको र यसबाट आगामी कार्यक्रमको रूपरेखा तय हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप