मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

आगामी वर्षदेखि जडीबुटी खेतीमा पालिकाले अनुदान दिन्छ

सोमबार, ०२ भदौ २०८२, १० : ४५
सोमबार, ०२ भदौ २०८२

सारांश

  • कोल्हवीमा जडीबुटी कारखाना स्थापना भएपछि किसानहरूले जडीबुटी खेती सुरु गरेका छन् र यसले स्थानीय महिलालाई रोजगारी दिएको छ।
  • किसानहरूले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्, तर बजारीकरण र समयमै भुक्तानी नपाउँदा समस्या छ।
  • नगरपालिकाले जडीबुटी खेतीलाई प्रोत्साहन गर्न अनुदान दिने योजना बनाएको छ र प्रदेश सरकारसँग छलफलको तयारी छ।
00:00 / NaN:NaN
Audio By AI

कोल्हवीमा जडीबुटी कारखाना स्थापना भएपछि किसानहरूले जडीबुटी खेती सुरु गरेका हुन् । यहाँ व्यापक रूपमा सुगन्धित जडीबुटी खेती सुरु भयो । कम्पनीले किसानलाई मल, बिउ, जोताइ उपलब्ध गराएर खेती गर्न लगाउने र पछि हिसाब मिलान गर्दथ्यो ।

त्यो बेलादेखि आजसम्म पनि कोल्हवी नगरपालिकाका किसानले निरन्तर जडीबुटी खेती गर्दै आइरहेका छन् । सपही, जुगुवा, बन्जुला, मुसहर गाउँमा किसानहरूले जडीबुटी खेती धेरै गर्दछन् । जडीबुटी कम्पनीको फिल्ड कर्मचारीले प्रत्येक गाउँमा गएर किसानहरूलाई भेला गरेर जडीबुटी सम्बन्धी प्रचार/प्रसार गर्ने, खेतीको बारेमा सम्झाउने/सिकाउने काम गर्दै आएका छन् ।

यो कम्पनी यहाँ आएपछि सबैभन्दा महत्त्वपूर्ण कुरा ठुलो संख्यामा स्थानीय महिलाले रोजगारी पाएका छन् । घरमा बाउआमा दुवै कमाउने भएपछि बच्चाहरूले भनेजस्तो लाउन/खान पाएका छन् । बालबालिकाहरू शिक्षामा केन्द्रित हुन पाएका छन् । जडीबुटी खेती गर्ने किसानले बचत पनि गरेका छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूले पनि कम्पनीसँग जग्गा भाडामा लिएर जडीबुटी खेती गरेर राम्रो आम्दानी गरेका छन् । जडीबुटी खेतीका कारण हाम्रो पालिकामा किसान, मजदुरहरू सबैलाई धेरै राहत भएको छ । यो एकदमै राम्रो कुरा हो । कोल्हवीका अधिकांश किसानले एक बिघाभन्दा बढी नै जग्गामा जडीबुटी खेती गरेका छन् ।

यहाँका किसानले धान भित्र्याएपछि पामारोजा, मेन्था, क्यामोमाइल लगाउँछन् । एक दर्जन जति किसानले आफैँ मेसिन राखेर तेल पनि उत्पादन गर्दै आएका छन् । कोल्हवीलाई जडीबुटी खेतीको केन्द्र बनाउन किसान र कम्पनीसँग समन्वय र सहकार्य गरियो सबैका लागि लाभदायी हुन्छ । किसानहरूलाई प्रोत्साहन गर्न सके यो क्षेत्र जडीबुटीको ‘हब’ बन्न सक्छ । सुगन्धित जडीबुटी तेलको बजारीकरणका लागि बाहिर जान पर्दैन । विभिन्न कम्पनी किसानको घरमै खरिद गर्नका लागि आउँछन् ।

यहाँका किसानले बिघाको २५ हजारसम्म जग्गा भाडा तिरेर जडीबुटी खेती गरेका छन् । मेहनत गर्ने किसानहरूले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरेका छन् । जडीबुटी कम्पनीका कारण पनि किसानलाई खेतीबारे धेरै अनुभव भएको छ । निजी कम्पनीहरूले पनि बजारीकरणको काम गरिरहेका छन् ।

नगरपालिकाबाट हामीले दुधमा प्रतिलिटर ५० पैसा अनुदान दिएका छौँ । जडीबुटी उत्पादन गर्ने किसानहरूका लागि पनि केही अनुदान दिन सकिन्छ कि भनेर हामी छलफल गरिरहेका छौँ ।

सरकारले जडीबुटी कम्पनीको केन्द्रीय कार्यालय बाराको तामागढीमा राख्ने निर्णय गरे पनि कार्यान्वयन भएन । केन्द्रीय कार्यालय नै बारामा आएको भए यहाँको आर्थिक विकासमा धेरै राम्रो हुन्थ्यो । किसानहरू धेरै लाभान्वित हुन्थे । अहिले देशभरिको जडीबुटी कम्पनी तामागढी शाखाकै आम्दानीले धानेको छ ।

हाम्रो पालिकामा कति किसान जडीबुटी खेतीमा जोडिएका छन् भन्ने तथ्याङ्क हामीले कम्पनीसँग मागेका छौँ । कोभिडपछि जडीबुटी खेती गर्ने किसानको संख्या घटेको छ । निजी कम्पनीहरू आएपछि यहाँको जडीबुटी धेरै ठाउँमा जान्छ । कोभिड–१९ मा सुगन्धित जडीबुटी तेलको बिक्री ठप्पै भएपछि किसानहरू धेरै मारमा परे । सुगन्धित जडीबुटी तेलको मूल्य पनि ह्वात्तै घट्यो ।

नगरपालिकाबाट हामीले दुधमा प्रतिलिटर ५० पैसा अनुदान दिएका छौँ । जडीबुटी उत्पादन गर्ने किसानहरूका लागि पनि केही अनुदान दिन सकिन्छ कि भनेर हामी छलफल गरिरहेका छौँ । किसानहरूलाई प्रोत्साहन गर्ने नगरपालिकाको सोच छ । यसलाई व्यवस्थित गर्न हामी सरसल्लाह गरिरहेका छौँ ।

स्थानीय सरकारले जडीबुटीमा अहिलेसम्म कुनै लगानी गरेको छैन । किसानलाई दुधमा अनुदान, कृषि मिटर, दीर्घ रोगीहरूलाई उपचारमा सहयोग गरेका छौँ तर जडीबुटी खेतीमा अहिलेसम्म कुनै अनुदान दिएका छैनौँ । अब प्रतिलिटर सुगन्धित जडीबुटी तेलमा ५० रुपैयाँदेखि १ सय रुपैयाँ अनुदान दिन सकिन्छ । अनुदान दिने हाम्रो योजना छ । जडीबुटीमा अनुदान दिन सकियो भने किसानहरूलाई प्रोत्साहन हुन्छ ।

जडीबुटी कम्पनीको सबै जग्गामा खेती गर्न सकिएको छैन । खाली भएको जग्गा किसानहरूलाई भाडामा दिएर खेती गर्न लगाउनुपर्छ ।

जडीबुटी खेतीको विषयमा मधेस प्रदेशका मुख्यमन्त्री, कृषिमन्त्री सहित सरोकारवाला निकायलाई राखेर बृहत् रूपमा एउटा छलफल राख्नु जरुरी छ । प्रदेश सरकारले जडीबुटी शीर्षकमा विनियोजन गरेको बजेटलाई किसानमा लगानी गरेर प्रोत्साहन गर्नुपर्छ ।

जडीबुटी कम्पनीको सबै जग्गामा खेती गर्न सकिएको छैन । खाली भएको जग्गा किसानहरूलाई भाडामा दिएर खेती गर्न लगाउनुपर्छ । यो वर्ष नीति तथा कार्यक्रम र बजेटमा हामीले जडीबुटी खेतीलाई समेट्न नसके पनि कम्पनीले समन्वय गर्न चाहेमा हामी कृषि क्षेत्रमा छुट्ट्याएको बजेटबाट पनि काम गर्न सक्छौँ ।

जडीबुटीको उत्पादन तथा बजारीकरणका लागि आगामी वर्षदेखि कम्पनीसँग मिलेर काम गर्न हामी तयार छौँ । जडीबुटी खेती गर्ने किसानहरूको मुख्य समस्या बजारीकरण र समयमै भुक्तानी नपाउने हो । किसानहरूले उत्पादन गरेको सुगन्धित तेलको मार्केटिङ र भण्डारण गर्न सक्दैनन् । खर्च टार्न तत्कालै बेच्नुपर्ने हुन्छ । त्यसैले पनि बिचौलियाहरूलाई उनीहरूले आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यता हुन्छ ।

किसानसँग तेल किन्ने व्यापारीहरू सबै बाहिरका हुन्छन् । किसानको मेहनतबाट बिचौलियाहरूले ठुलो फाइदा लिइरहेको छ । सुगन्धित जडीबुटी तेलको व्यापारमा नदेखिने खालको ठुलो व्यापार छ । २० औँ वर्षदेखि खेती गर्ने किसानको तुलनामा बिचौलियाहरूले धेरै कमाएका छन् । किसानले उत्पादन गरेको सबै तेल सरकारले किनेर विदेश निर्यात गर्न सके किसानहरू मात्रै होइन, मुलुककै आर्थिक समृद्धिमा टेवा पुग्न सक्छ ।

(चौधरी बाराको कोल्हवी नगरपालिकाका प्रमुख हुन् । उनीसँग गरिएको कुराकानीका आधारमा यो सामग्री तयार पारिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामप्रसाद चौधरी
रामप्रसाद चौधरी
लेखकबाट थप