जडीबुटी खेतीमा किसानको रुचि तर सरकारी लगानी न्यून
सारांश
- बाराका किसानहरूले जडीबुटी खेती सुरु गरेका छन्, तर मूल्य घटेकोले समस्या परेको छ।
- जडीबुटी तेलको निर्यातमा सरकारी उदासीनता र आर्थिक मन्दीका कारण किसानहरू मारमा परेका छन्।
- सरकारले जडीबुटी खेती प्रवर्द्धनमा ध्यान दिनुपर्ने र निर्यातको वातावरण बनाउनुपर्ने किसानहरूको माग छ।
बारा । कोल्हवी नगरपालिका–३ का मुरलीधर प्रसाद चौधरीले २०६८ सालदेखि जडीबुटी खेती सुरु गरेका हुन् । ५ बिघा जग्गाबाट जडीबुटी खेती सुरु गरेका चौधरीले गत वर्ष २० बिघासम्ममा खेती गरे ।
धान बाली भित्र्याएपछि गहुँ र मकै बालीको साटो जडीबुटी खेती लगाइन्छ । ३ महिनामा उत्पादन लिन सकिने यो खेतीबाट मनग्य आम्दानी हुने चौधरीको भनाइ छ ।
‘हामीले उत्पादन गरेको सुगन्धित जडीबुटी तेल यूरोपेली मुलुकमा जाने रहेछ । कोभिड अघिसम्म प्रतिकिलो ५० हजार रुपैयाँसम्म मूल्य पाएका थियौँ, तर अहिले घटेको छ,’ चौधरीले भने, ‘२० बिघामा खेती गर्दा सबै खर्च कटाएर पनि ३ महिनामा १० देखि १२ लाखसम्म आम्दानी हुन्छ ।’
_rMXgPoWmTn.jpg)
जडीबुटी खेती मंसिर पहिलो साता लगाएर फागुन अन्तिमसम्ममा उत्पादन लिन सकिन्छ । जडीबुटी रोप्ने, गोडमेल गर्ने, मलखाद, सिँचाइ र खेती भित्र्याउन गरी ३ महिनासम्म किसानलाई भ्याइ–नभ्याइ हुने गर्दछ ।
चौधरीले क्यामोमाइल नामक जडीबुटी खेती गर्दछन् । यो जडीबुटीबाट सुगन्धित तेल निकालिन्छ । तेल उत्पादनका लागि चौधरीले आफ्नै लगानीमा मेसिन (बोइलर र भेषल) समेत सञ्चालन गरेका छन् ।
‘प्रतिकिलो ४५/५० हजारमा बिक्री भइरहेको तेल कोभिड महामारीपछि अन्तर्राष्ट्रिय बजारमा माग नहुुँदा एकैपटक २२ हजारमा बेच्नुपर्यो,’ चौधरीले भने, ‘जडीबुटी खेतीमा सबैभन्दा ठुलो समस्या भनेकै माग भएन भने भाउ आउँदैन, भाउ राम्रो आएन भने खेती गरेर के गर्ने ?’
_VLmZ8v35BJ.jpg)
केही वर्ष अघिसम्म नेपालमा उत्पादन भएको सुगन्धित जडीबुटी तेल फ्रान्सदेखि जर्मनीसम्म निर्यात हुन्थ्यो । मुलुकभित्र पनि तारे होटलहरूमा यसको ठुलो माग छ, तर केही वर्षदेखि आर्थिक मन्दीका कारण सुगन्धित तेल सस्तो मूल्यमा बेच्नुपरेको किसानहरूको गुनासो छ ।
मुरलीधर प्रसाद चौधरीकी पत्नी लक्ष्मीकुमारी चौधरीले कोभिड अघि उत्पादन गरेको ११० केजी तेल कोभिडपछि २ वर्ष कुरेर प्रतिकिलो २२ हजारमा बिक्री गर्नुपरेको बताइन् । जडीबुटी खेतीमा किसानहरूले सरकारका तर्फबाट केही अनुदान पाए थप उत्साह मिल्ने लक्ष्मीको भनाइ छ ।
_3IrhMjOGQE.jpg)
‘के कारणले मूल्य घट्यो भन्ने हामीलाई केही थाहा छैन, सरकारले सुगन्धित जडीबुटीको तेल निर्यातका लागि वातावरण बनाइदिए राम्रो हुन्थ्यो,’ चौधरीले भनिन्, ‘केही वर्षदेखि बिउ जोगाउन र मेसिन सञ्चालन सहज होस् भन्नका लागि मात्रै खेती गर्दै आएका छौँ ।’
गत वर्ष भने किसानले सुगन्धित तेलको मूल्य केही बढेर प्रतिकिलो २८ हजार रुपैयाँमा बिक्री गरे । चौधरी परिवारजस्तै कोल्हवी–४, सपहीका लोकबन्धु चौधरीले पनि २०६६ सालदेखि जडीबुटी खेती सुरु गरेका हुन् ।
_IXqobvCXFz.jpg)
लोकबन्धुका पिता कोल्हवीस्थित जडीबुटी कारखानामा काम गर्दथे । पछि सेवाबाट अवकाश पाएपछि उनले केही वर्ष अरुको खेतमा काम गरे ।
जडीबुटी खेतीको अनुभव भएपछि आफैँले खेती सुरु गरेका हुन् । ६ बिघाबाट जडीबुटी खेती सुरु गरेका लोकबन्धुले गत वर्ष १३ बिघामा लगाएका थिए ।
_08qCUvWTRb.jpg)
क्यामोमाइल नामक जडीबुटी राम्रो भयो भने प्रतिबिघा ३ देखि ५ किलोसम्म सुगन्धित तेल निकाल्न सकिने लोकबन्धु बताउँछन् । ‘राम्रोसँग घाँस सुक्यो, समयमै पेल्यो (वाष्पीकरणको माध्यमबाट) भने ४ देखि ५ किलोसम्म तेल आउँछ । अलिकति पानी पर्यो भने सिधै आधा घटेर जान्छ,’ उनले भने, ‘मैले पनि सुरु गर्दा ४० देखि ४५ हजार प्रतिकिलोमा बिक्री गरेको हो, तर कोरोनाको लकडाउनपछि एकैपटक २२ हजारमा बिक्री गर्नुपर्यो । अहिलेसम्म पनि मूल्य घटेको घट्यै छ ।’
केही वर्ष अघिसम्म कोल्हवीमा किसानहरूले उत्पादन गरेको सुगन्धित तेल लिन व्यापारीहरू घर–घरमा आउँथे । पछिल्लो समय किसानहरू आफैँ तेल बोकेर व्यापारीकहाँ पुग्ने गर्दछन् ।
‘जडीबुटी खेती गर्दा खर्च धेरै हुन्छ । मलखाद, बिउ, जोताइ, २ पटक काट्नुपर्छ, घाँस सुकाउन ४/५ दिन लाग्छ,’ लोकबन्धुले भने, ‘अन्तर्राष्ट्रिय बजार मूल्य पायो भने धेरै फाइदा छ, नत्र बिचमा दलालहरूले सबै खाइदिन्छन् । किसानलाई फाइदा हुँदैन ।’
_7FVrlbqr3Q.jpg)
एक हजार किलो क्यामोमाइल झार बराबर १ केजी तेल निस्कन्छ । यो सुगन्धित तेल सौन्दर्य सामानमा प्रयोग हुने गर्दछ । यो तेल व्यापारीहरूले सस्तो मूल्यमा खरिद गरेर महँगोमा बिक्री गर्ने गरेको किसानहरूको गुनासो छ ।
सरकारले सुगन्धित तेल विदेश निर्यातमा पहल गरिदिए किसानहरूलाई प्रोत्साहन मिल्ने र यसले मुलुकको आर्थिक समृद्धिमा समेत ठुलो टेवा पुग्ने किसानहरूको भनाइ छ ।
मुरलीधर र लोकबन्धुको परिवारजस्तै बाराको कोल्हवीमा १ सयभन्दा धेरै किसान परिवारले व्यावसायिक रुपमा जडीबुटी खेती गरेका छन् । उनीहरूमध्ये केहीले आफ्नै जग्गामा र केहीले प्रतिबिघा २५ हजार (३ महिनाको लागि) सम्म जग्गा भाडामा तिरेर जडीबुटी खेती गर्दै आएका छन् ।
_k6jHpHSzG0.jpg)
केही किसानले भने आफ्नै लगानीमा तेल उत्पादन गर्ने मेसिनसमेत राखेका छन् । अहिलेसम्म स्थानीय तह, प्रदेश र संघीय सरकारबाट कुनै प्रोत्साहन नभएको उनीहरूको गुनासो छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको मुलुककै सबैभन्दा ठुलो जडीबुटी उत्पादन कारखाना बाराको कोल्हवीमा छ । यो कारखानाले यहाँका किसानहरूलाई जग्गा मल, बिउ दिएर खेती गर्न लगाएको छ ।
जडीबुटी कम्पनीले लेमनग्रास, सिट्रोनेला, पामारोजा, मेन्था, क्यामोमाईल, अश्वगन्धा, तेजपात लगायतका जडीबुटी उत्पादन गर्दछ ।
_rk4tUf0QFB.jpg)
- युरोपेली मुलुकमा निर्यात
जडीबुटी र औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले २०३८ साल पुस १७ गते कोल्हवी–४, तामागढीमा जडीबुटी उत्पादन तथा प्रशोधन कारखाना स्थापना भएको हो । ४४ वर्षअघि बाराको घना वन क्षेत्रको पाँच सय बिघामध्ये करिब २५० बिघाबाट कारखानाले जडीबुटी खेती सुरु गरेको हो ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कारखानाले उत्पादन गरेको सुगन्धित जडीबुटी तेल कोभिड अघिसम्म फ्रान्स र जर्मनीसम्म निर्यात हुने गर्दथ्यो ।
_pLr23V6ESF.jpg)
‘गहुँ खेतीको सिजनमा यहाँ ३ सय बिघाभन्दा धेरै जग्गामा किसानले जडीबुटी खेती लगाउँछन्,’ कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीले भनिन्, ‘यहाँका किसान यति मेहनत गर्छन् कि क्यामोमाइल काटेर फेरि मेन्था खेती गर्छन् ।’
जडीबुटी कारखानासँग जग्गा लिएर खेती गर्ने किसानहरूलाई क्यामोमाइल तेलको प्रतिकिलो १९ हजार सम्म मूल्य कम्पनीले दिने गर्दछ ।
कारखानामा ७ प्रकारका सुगन्धित जडीबुटी उत्पादन हुन्छ । सञ्चो, वाम, हिमालयन मसाज तेल, सिलाजित, सेनेटाइजर उत्पादनका लागि मेन्था, क्यामोमाइल, सिट्रोनेला, पामारोजा, मसला, अशोकगन्धा लेमनग्रास लगायतका जडीबुटीको खेती हुने गर्दछ ।
यहाँ उत्पादन भएको जडीबुटी प्रशोधन गरेर काठमाडौँ पठाइन्छ र केन्द्रीय कार्यालयबाट प्याकिङ भएर बजारसम्म पुग्ने गर्दछ । २०५४ सालदेखि जडीबुटी कारखानामा फिल्ड कर्मचारीको रूपमा काम गर्दै आएका ज्ञानदत्त प्रसाद चौधरीले केही वर्ष अघिसम्म कोल्हवीका अधिकांश किसानले धान भित्र्याएपछि जडीबुटी खेती गर्ने गरेको तर अहिले धेरै घटेको बताए ।
_m2X9am5Eye.jpg)
‘तेलको मूल्य घटेपछि धेरै किसानले जडीबुटी खेती गर्न छाडे,’ उपप्रमुख चौधरीले भनिन्, ‘यहाँ उत्पादन भएको सबै जडीबुटी प्रशोधन गरेर काठमाडौँ, कोटेश्वर पठाइन्छ, त्यसपछि कहाँ–कहाँ निर्यात हुन्छ भन्ने हामीलाई थाहा हुँदैन ।’
सुरुमा वनस्पति विभागको मातहतमा रहेको जडीबुटीको कारखाना हाल वन तथा वातावरण मन्त्रालय अन्तर्गत छ । कारखानाले आफ्नो क्षेत्रबाहिर बारा, रौतहटका किसानमार्फत पनि जडीबुटी खेती गरेको छ ।
कारखानामा अप्रत्यक्ष रूपमा पाँच हजार किसान जडीबुटी खेतीसँग जोडिएका छन् भने दैनिक २ देखि ३ सयले पूर्ण रूपमा रोजगारी पाएका छन् ।
_3POZcWJSD6.jpg)
- जडीबुटी खेती प्रवर्द्धनमा सरकारी उदासीनता
आर्थिक समृद्धि र समाजवादउन्मुख अर्थतन्त्रका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लगाएको सरकारले जडीबुटी खेती प्रवर्द्धनमा भने चासो देखाएको छैन ।
किसानको जीवनस्तरसँगै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउन सक्ने सम्भावना बोकेको सुगन्धित जडीबुटी तेललाई विदेश निर्यात गर्नसके वैदेशिक मुद्दा आयआर्जन गर्न सकिन्छ ।
गत आर्थिक वर्ष (२०८१/०८२) मा मधेस प्रदेश सरकारले जडीबुटी खेतीमा ६ करोड बजेट विनियोजन गरेको थियो, तर प्रदेश सरकार र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीबिच समन्वय नहुँदा सो बजेट अन्यत्र खर्च भयो । मधेस प्रदेश वन तथा वातावरण सचिव उद्धव घिमिरेले गत वर्ष जडीबुटी कम्पनी र प्रदेश सरकारबिच समन्वय छुटेकोले अगामी वर्षदेखि सहकार्य गरेर जाने बताएका छन् ।
_OSNdvJGbrn.jpg)
‘मन्त्रालयको समीक्षा बैठकमा पनि कुरा उठेको छ, मन्त्रालयको नोटिसमा आइसकेकाले अगामी वर्षदेखि सहकार्य/समन्वय गरेर काम गर्न हामी तयार छौँ,’ प्रदेश वन सचिव घिमिरेले भने, ‘उहाँहरू पनि आफ्नो प्रचारप्रसारका लागि आउनुपर्यो ।’
वन तथा वातावरण मन्त्रालयका पूर्वसचिव डा. दिपक कुमार खरालले पर्यटन र जडीबुटी खेती देशको आर्थिक विकासको मेरुदण्ड भएको बताए । ‘उत्पादन र बजारीकरण गर्न कम्पनीले अपनाइरहेको रणनीतिहरू सह्राहनीय छन्, तर यसलाई थप समय सान्दर्भिक बनाउन अनलाइन टेक्नोलोजी प्रयोग गरेर अन्तर्राष्ट्रिय बजारमा लैजान आवश्यक छ,’ पूर्वसचिव खरालले जडीबुटी बुलेटिनमा भनेका छन् ।
_pxzBxznYJ2.jpg)
नेपालको ७ वटै प्रदेशमध्ये ६ वटा प्रदेशमा जडीबुटी खेती हुने गर्दछ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. सिन्धुप्रसाद ढुंगानाले सीमित पुँजी र प्रविधिबाट नेपालमै पाइने जडीबुटीहरूको कच्चा पदार्थबाट सञ्चो, प्रशोधित शिलाजित, सञ्चो वाम, स्यानिटाइजर, सञ्चो जटा केस तेल उत्पादन गरिरहेको बताए ।
ढुंगानाले जडीबुटीजन्य सुगन्धित तेलहरूको उत्पादन बढाउन किसानलाई यो खेतीमा प्रोत्साहन गर्दै, रोजगारी वृद्धि गर्नसके देशको कुल गार्हथ्य उत्पादनमा उल्लेख्य टेवा पुग्ने प्रस्ट पारे । जडीबुटीको संरक्षण, व्यवस्थापन, प्रशोधन, बजारीकरण र विदेश निर्यातमा मुख्य ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण