मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालका जडीबुटीबाट पतञ्जलि र डाबर नेपाल मालामाल

सोमबार, ०२ भदौ २०८२, १० : ४०
सोमबार, ०२ भदौ २०८२

सारांश

  • २०३८ सालमा स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले सुगन्धित तेल उत्पादन गरी ग्रामीण जनतालाई आयआर्जनमा सहयोग पुर्याएको छ।
  • कम्पनीले सन्चो तेल उत्पादन गरी विदेशी आयात प्रतिस्थापन गरेको छ, र अहिले वार्षिक १५ करोडको कारोबार भइरहेको छ।
  • जडीबुटी खेतीमा विविधीकरण र प्रविधिमा जोड दिँदै, सरकारको सहयोग र समन्वयको अभावका कारण चुनौतीहरू छन्।

२०१४ सालमा वनस्पति विभाग स्थापना भयो । कम्पनी ऐन आएपछि सबैलाई छुट्ट्याउने भनेर २०३८ साल पुस १७ गते जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना भएको हो । यसको मुख्य उद्देश्य भनेको सुगन्धित जडीबुटीको तेल निकालेर ग्रामीण भेगका गरिब जनतालाई आयआर्जनसँग जोड्ने र कच्चा पदार्थ आफ्नै देशमा उत्पादन गर्ने भन्ने नै थियो ।

सुरुवाती वर्षमा वार्षिक १० हजार रकम बराबरको सुगन्धित जडीबुटी तेलको कारोबार भएको थियो । पछि कम्पनी स्थापना भएको १० वर्षमा वार्षिक १ करोडभन्दा माथिको कारोबार भएको तथ्याङ्क छ । यो कम्पनीले विदेशी सुगन्धित तेलको आयातलाई प्रतिस्थापन गरेको छ । विभिन्न ठाउँमा सङ्कलन गरेको तथा खेती गरेर उत्पादन गरेको जडीबुटीबाट हामीले २०४५ सालमा ‘सन्चो’ तेल बजारमा ल्याएका हौँ । सन्चोको उत्पादन सुरु भएपछि चिनियाँ कम्पनीले ल्याएको सुइचो प्रतिस्थापन भयो । अहिले वार्षिक १५ करोड मूल्य बराबरको सन्चो देशभित्रै खपत भइरहेको छ ।

जडीबुटी खेतीमा हामी विविधीकरण गर्ने भनेर यस वर्षदेखि हर्रो, बर्रो, अजुर्ना, अश्वगन्धा लगायत नयाँ–नयाँ जातका जडीबुटी खेतीतर्फ गइरहेका छौँ । तामागढी शाखा जडीबुटी कम्पनीको सबैभन्दा ठुलो शाखा हो । २०३८ सालदेखि नै यहाँ सुगन्धित प्रकारका जडीबुटीको खेती गर्ने/गराउने र निजी क्षेत्रका किसानहरूलाई पनि यसमा जोडेर जडीबुटी उत्पादनमा लगाउने काम भएको छ ।

केही वर्ष अघिसम्म राज्यको पहलमा जडीबुटीमा विभिन्न गैरसरकारी संस्थाहरूको पनि लगानी थियो । अहिले त्यो घटेको छ । जडीबुटी खेतीमा धेरै जोखिम भएकाले किसानहरू पनि खाद्यान्न बालीतर्फ फर्कँदै गएका छन् । सरकारले पनि किसानहरूलाई फाइदा हुने किसिमका उन्नत जात र प्रविधिहरूमा सहयोग गर्न सकेको छैन । कम्पनी स्थापना भएको ४४ वर्षसम्म पनि हामीले डिजल इन्जिनसहितको मोटरबाट सिँचाइ गरिरहेका छौँ ।

हाम्रो उत्पादनले विदेशी आयात प्रतिस्थापन गरिरहेको छ । सुगन्धित जडीबुटी तेल नेपालका साबुन, सर्फ लगायत तारे होटलहरूमा मसाज तथा सुगन्धका लागि प्रयोग हुने गर्दछ । जडीबुटी कम्पनीले खेती गर्ने सबै जडीबुटी विदेशी प्रजातिका हुन् । रैथाने बाली यहाँ उत्पादन गरेका छैनौँ । हामीले उत्पादन गर्ने सेट्रोनेला, लेमनग्रास र पामारोजा घाँसे परिवारका हुन् । यिनीहरूको पात सुकाएर तेल निकालिन्छ । साबुन, सर्फ, किराहरू भगाउन, मोबिल, ग्रिज बनाउने उद्योगहरूमा लेमन, सिट्रो बढी प्रयोग हुन्छ । पामारोजले गुलाबको जस्तो बासना दिन्छ । यो गुलाबजल बनाउन प्रयोग हुन्छ । क्यामोमाइल भनेको हामीले खेती गर्नेमध्येको सबैभन्दा महँगो जडीबुटी हो । यसबाट नगदे बालीजस्तो छोटो समयमा बढी मुनाफा लिन सकिन्छ । यसको फूलबाट तेल निकालिन्छ । यो तेल पहिला अमेरिका, फ्रान्स, जर्मन, स्वीडेनसम्म जान्थ्यो । अहिले भारतीय बजारमा जान्छ । यो बहुमूल्य सौन्दर्य सामानहरूमा प्रयोग हुन्छ । क्यामोमाइललाई चिनियाँहरूले क्यान्सरको उपचारमा प्रयोग गर्दछन् ।

हामीसँग मेन्था पनि छ । यो सन्चोमा धेरै प्रयोग हुन्छ । यसको उत्पादन १ वर्षमा लिन सकिन्छ । क्यामोमाइल र मेन्था बाहिरका किसानहरूले निजी करारमा बढी खेती गर्नुहुन्छ । मेन्थालाई मेन्थोल पनि भनिन्छ । यसको प्रयोग साबुन, मसाजमा हुन्छ । हामीले खेती गरिरहेको सफेदा मसलाको तेल निकालेर मसाज तेलहरूमा प्रयोग गर्दछौँ । बाबरी, अश्वगन्धा र जङ्गलमा पाइने पिप्ला (मरिच जस्तै) पनि हामीले व्यावसायिक रूपमा खेती सुरु गरेका छौँ । यो वर्ष हामीले अर्जुना, हर्रो, बर्रो ५/५ हजार बिरुवा रोपेका छौँ ।

विश्वको तथ्याङ्क हेर्ने हो केही वर्षदेखि प्राकृतिक जडीबुटी बिस्तारै हराउँदै गएका छन् । सरकारले जडीबुटी कम्पनीलाई जमिन दिएको छ । तामागढी जडीबुटी कारखानाको भोगाधिकारमा ५ सय बिघा जग्गा छ । त्यसमध्ये हामीले २६५ बिघामा जडीबुटी खेती गरेका छौँ ।

jj1

कम्पनीलाई स्वचालित रूपमा परिश्रम गर्नोस्, रोजगारी सिर्जना गरेर उत्पादन बढाउनुस्, आफैँ गरी खानुस् भनेर सरकारले जमिन दिएको छ । यद्यपि गुरु योजना बनाएर यहाँको जग्गाहरू जुन रूपमा सदुपयोग गरेर लगानी गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन । सरकारले प्रविधि र नयाँ जातका जडीबुटी खेतीमा किसानलाई प्रोत्साहित गर्न सक्यो भने कोल्हवीलाई देशकै जडीबुटी खेतीको केन्द्र बनाउन सक्छौँ । गुणस्तरीय सुगन्धित जडीबुटी उत्पादन गरेर विश्व बजारमा पुर्‍याउन सक्छौँ ।

लुम्बिनी बाहेक सबै प्रदेशमा जडीबुटी कम्पनीको शाखा छ । तामागढीस्थित जडीबुटी कारखानामा २२ वर्षदेखि नयाँ पदपूर्ति भएको थिएन । प्राविधिक र प्रशासनिक कर्मचारीको कमीले गर्दा बिचमा केही वर्ष छायामा परेको थियो । कम्पनीको कुल दरबन्दी १२४ जना हो । यसमा हामी ५० प्रतिशत पनि छैनौँ । प्राविधिकसहित ४० जनामात्रै कर्मचारी छौँ । यसको प्रत्यक्ष असर जडीबुटी खेतीमा परेको छ ।

हाम्रो वार्षिक २० टन सुगन्धित तेल उत्पादन गर्ने लक्ष्य हुन्छ । गत वर्ष लगभग २० टन नै उत्पादन भएको थियो । प्रतिकूल मौसम र चैत १५ गते भएको राजावादीहरूको आन्दोलनका कारणले सुगन्धित तेल बिक्रीमा समस्या भयो । यो वर्ष १७ टन तेल उत्पादनको लक्ष्य राखेका छौँ ।

सन्चो उत्पादनमा सबैभन्दा धेरै चाहिने मेन्था नामक जडीबुटी खेती यो वर्ष निजी क्षेत्रमा र फार्म करारमा बिस्तार गर्ने योजना छ । यसअघि डिजलबाट सिँचाइ गरिरहेका थियौँ । यसलाई विस्थापन गरेर विद्युत्को माध्यमबाट सिँचाइ गर्ने व्यवस्था मिलाउँदै छौँ ।

जडीबुटी कारखानाबाट करिब ५ सय जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् भने ५ हजार जनाले अप्रत्यक्ष रूपमा लाभ लिइरहेका छन् । गत वर्ष मात्रै हामीले बाहिरी किसानहरूलाई १ करोड ५० लाख रकम सुगन्धित जडीबुटी तेलको भुक्तानी गर्‍यौँ । स्थानीय महिलाहरूले श्रमिकको रूपमा काम गरेबापत ३ करोड रुपैयाँ आम्दानी गर्नुभएको छ ।

जडीबुटी खेतीको लागि कम्पनीसँग पर्याप्त मात्रामा जग्गा छ । यसमा हामीले नयाँ प्रविधि भित्र्याएर लागतलाई कटौती गर्दै लैजानुपर्छ । किसानहरूले उत्पादन गरेको सुगन्धित तेललाई प्रमाणीकरण गरेर विश्व बजारमा पुर्‍याउन सरकारले पहल गर्नुपर्छ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो दिएर गर्न सक्ने र युवा जनशक्तिलाई यसमा टिकाइराख्ने हो भने जडीबुटी खेतीको भविष्य राम्रो छ । यहाँको मुख्य समस्या सिँचाइ भएकाले उत्पादन लागतमा २० देखि २५ प्रतिशत सिँचाइका लागि खर्च हुन्छ । त्यसलाई मात्रै विद्युतीकरणमा लैजान सक्ने हो भने खर्च सिधै ५ प्रतिशतमा झार्न सक्छौँ ।

अर्को हो प्रविधि, अहिले पनि हामीले मानिसबाटै जडीबुटी खेती लगाउने, काट्ने गरेका छौँ । यसलाई प्रविधिमैत्री बनाउन सके लागत घट्थ्यो । २०४५/५० सालमा जडान भएका संयन्त्रबाट हामीले काम गरिरहेका छौँ । उत्पादन, भण्डारण, प्रशोधन, असल खेती अभ्यासमा विशेष ध्यान दिनुपर्छ । जडीबुटी कम्पनी वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहने भएकाले उहाँहरूले सहयोग गर्दै आउनु भएको छ । प्रदेश तथा स्थानीय तहबाट समन्वयको अभाव छ । उहाँहरूसँग हामीले समन्वय गर्न नसकेको र प्रदेश र स्थानीय तहले पनि यसको महत्त्व नबुझेर अलिकति पछि परेको जस्तो लाग्छ ।

जडीबुटी कम्पनीका जग्गा पनि अतिक्रमण हुँदै गएको छ । २०७१ सालमा निकालेको तथ्याङ्क अनुसार जडीबुटी कम्पनीको १० बिघा जग्गा अतिक्रमणमा परेको भेटिएको छ । अतिक्रमण हटाउन स्थानीय प्रशासन र डिभिजन वन कार्यालयलाई पत्राचार पनि गरिसकेका छौँ ।

सरकारले निजी लगानीका पतञ्जलि र डाबर नेपाललाई संरक्षण गरेको छ । यी दुवै उद्योगले देशभरबाट महत्त्वपूर्ण हिमाली भेगका जडीबुटी सङ्कलन गरेर मालामाल भइरहेका छन् तर नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जडीबुटी कम्पनी र यहाँका किसानहरूलाई प्रोत्साहन गर्न सरकारको खासै ध्यान पुग्न सकेको छैन । ठुलो मात्रामा रोजगारी सिर्जना गर्न, वैदेशिक आम्दानी र व्यापार घाटा कम गर्न सक्ने क्षेत्रमा सरकारको ध्यान जान जरुरी छ ।

(जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र तामागढीका प्रमुख आचार्यसँग गरिएको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रवीन आचार्य
प्रवीन आचार्य
लेखकबाट थप