लन्डनमा १६औँ नेपाली मेला : नेपाली संस्कृति, परम्परा र एकताको महोत्सव
सारांश
- तमुधिं यूकेले बेलायतमा १६औं नेपाली मेलाको आयोजना गर्दैछ, जसमा ५१ हजार पाउन्ड खर्च हुने अनुमान छ।
- मेलामा बेलायतका लागि नेपाली राजदूत र कुलमान घिसिङ लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।
- मेलामा नेपाली संस्कृति, पर्यटन प्रवर्द्धन, र समुदायको एकताका लागि विभिन्न कार्यक्रमहरू समावेश छन्, जसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई विशेष सुविधा दिइनेछ।
लन्डन । तमुधिं यूकेले नेपाली दूतावासको सहकार्यमा आउँदो आइतबार आयोजना गर्न लागेको १६औँ संस्करणको नेपाली मेलाको तयारी पूरा भएको जनाएको छ। आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै संस्थाले मेलामा करिब ५१ हजार पाउन्ड अनुमानित खर्च हुने जनाएको छ। सबै जातिको धर्म, संस्कृति, , भेषभूषा र परम्परालाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै सन् २००९ देखि आयोजना गरिएको नेपाली मेलामा बेलायतका विभिन्न स्थानबाट हजारौँको सङ्ख्यामा नेपालीहरू जम्मा हुने गर्दछन्।
बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथि तथा उज्यालो नेपाल अभियन्ता कुलमान घिसिङ विशेष अतिथि रहनेछन्। मेला संयोजक कमल कोने गुरुङले नेपाली संस्कृति संरक्षण, पर्यटन प्रवर्धन र नेपाली समुदायको एकताको लागि यो मेला आयोजना गरिएको बताए।
मेलामा बेलायतस्थित विभिन्न देशका कूटनीतिक नियोग, नेपाल र युरोपबाट समेत सहभागिता अपेक्षा गरिएको आयोजक संस्था तमुधिं यूकेले जनाएको छ । यस वर्षदेखि मेलामा सहभागी हुने अपाङ्गता भएका र ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकहरूका लागि प्रवेश तथा पार्किंग शुल्कको नलाग्ने व्यवस्था गरेको तमुधिं यूकेले जनाएको छ ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङले मेला तमुधिं यूकेको मात्र नभई समस्त नेपाली समुदायको भएको भन्दै सफल बनाउन सबैमा सहभागिताको आग्रह गरे। मेलाबाट आम्दानि भएमा सामाजिक कार्यमा खर्चिने बताउँदै गत वर्षको मेला र गोर्खा कपबाट सङ्कलित रकमबाट लमजुङमा च्यारिटी कार्य गरिएको पनि उनले अवगत गराए । बिहान १० बजेदेखि साँझ ८ बजेसम्म हुने उक्त नेपाली मेला नेपाल र नेपालीको गौरवको विषय भएको हुँदा बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई उपस्थित हुन समेत अध्यक्ष गुरुङको आग्रह छ ।
महासचिव डा. विशाल गुरुङले नेपाली मेलाको मौलिकता कायम राख्न ठुला परिवर्तन नगरिएको बताए। आफू पनि युवा वर्ग अन्तर्गत रहेको र भावी दिनमा थप युवालाई प्रोत्साहन दिन लागिपर्ने बताए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिँदै दोस्रो पुस्ताले पनि नेपाली मेलालाई निरन्तरता दिने बताउँदै यसको लागी आफूहरूले अथक प्रयास गरिरहेको बताए ।
नेपाली संस्कृति, परम्परा र एकताको महोत्सव नेपाली मेला मिनी नेपालको रूपमा परिचित छ । ३५ भन्दा बढी नेपाली जातजाति, सङ्घसंस्था तथा सांस्कृतिक समूहहरूको झाँकी प्रदर्शन, १५ भन्दा बढी नेपाली लोकनृत्य, संगीत, हस्तकला तथा परम्परागत भेषभूषाको प्रदर्शन, व्यावसायिक, च्यारिटी, नेपाली खानाका ७० भन्दा बढी स्टलहरू राखिनेछ।
नेपाली मेलामा यस पटक एनआरएन कप नहुने आयोजकले बताए । एम्बासडर कप अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ११०० पाउन्ड,७०० पाउन्ड र ५०० पाउन्ड नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट झाँकी प्रदर्शनीको लागि पनि प्रथम,द्वितीय र त्रिरीय हुनेलाई क्रमशः ५०० पाउन्ड, ३०० पाउन्ड र २०० पाउन्ड नगद पुरस्कार दिइनेछ । साथमा विभिन्न आकर्षक सुनका गहनासहितको लक्की ड्रको पनि व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण