आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान हुनेदेखि रवि लामिछानेको स्वास्थ्यमा समस्यासम्म

सोमबार, ०२ भदौ २०८२, २२ : ००
सोमबार, ०२ भदौ २०८२

आज २०८२ भदौ २ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान हुने, रवि लामिछानेको स्वास्थ्यमा समस्या, ओलीको भारत भ्रमणको सम्भावित एजेन्डाबारे छलफल गरेर फर्किए भारतीय विदेश सचिव, दुर्गा प्रसाईंले गरे दल खोल्ने घोषणा, शिक्षा विधेयकमा अझै जुट्न सकेन सहमति, ‘कुलिङ अफ पिरियड’मा एक्लियो एमाले, दुई सुरक्षा निकायका प्रमुखले भदौमा अवकाश पाउने लगायत छन् ।

१. गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान हुने
सर्वोच्च अदालतले १९ वर्ष अघि भएको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै दायर रिटमा परमादेश जारी गरेको छ । २७ माओवादी कार्यकर्ताको हत्या भएको सो घटनामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका नेता–कार्यकर्ता संलग्न रहेको दाबी गरिँदै आएको छ । सर्वोच्च अदालतको परमादेशसँगै सो घटनाको अनुसन्धानका लागि बाटो खुलेको छ ।

२. रवि लामिछानेको स्वास्थ्यमा समस्या
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । हालै भैरहवाबाट स्थानान्तरण गर्दै नख्खु कारागारमा ल्याइएका लामिछानेको स्वास्थ्यमा सोमबार समस्या देखिएको हो । कारागारमै चिकित्सकको टोली पुगेर उनको स्वास्थ्य चेकजाँच गरेको छ । 

३. ओलीको भारत भ्रमणको सम्भावित एजेन्डाबारे छलफल गरेर फर्किए भारतीय विदेश सचिव
नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको सम्भावित एजेन्डाबारे छलफल गरेर उनी स्वदेश फर्किएका हुन् ।

४. दुर्गा प्रसाईंले गरे दल खोल्ने घोषणा
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफू व्यवसायी भए पनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकाले राजनीतिक दल खोल्ने निश्चय गरेको बताए ।

५. शिक्षा विधेयकमा अझै जुट्न सकेन सहमति
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा शिक्षा मन्त्रालयका तर्फबाट पेस भएको प्रस्तावमा सांसदहरूले असहमति जनाएका हुन् ।

६. ‘कुलिङ अफ पिरियड’मा एक्लियो एमाले
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को दफा ८२ को उपदफा ४ मा रहेको निजामती कर्मचारीको ‘कुलिङ अफ पिरियड’को प्रावधानमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले राष्ट्रिय सभामा एक्लिएको छ ।

७. दुई सुरक्षा निकायका प्रमुखले भदौमा अवकाश पाउने
प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गरी दुई सुरक्षा निकायका प्रमुखले भदौमा अवकाश पाउँदैछन् ।

८. राजु गोर्खाली : २०४९ देखि पक्राउ पर्दै छुट्दै
गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र’ अहिले भद्रकालीस्थित काठमाडौँ प्रहरीको हिरासतमा छन् । आइतबार चन्द्रागिरीस्थित चोभारबाट पक्राउ परेका गोर्खालीलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनी २०४९ देखि नै विभिन्न आरोपमा पक्राउ पर्दै छुट्दै आएका थिए ।

९. विद्या भण्डारीले भनिन्– म एमालेकै कार्यकर्ता हुँ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता रहेको दाबी गरेकी छन् । उनले एमालेकै नीति तथा कार्यक्रम अनुसार आफू अघि बढ्ने बताएकी छन् ।

१०. जडीबुटी खेतीमा किसानको रुचि तर सरकारी लगानी न्यून
बाराका किसानहरू जडीबुटी खेतीतर्फ आकर्षित छन् । कतिपयले धान बाली भित्र्याएर जडीबुटी खेती गरिरहेका छन् । यद्यपि सरकारी लगानी न्यून भएको र आवश्यक नीतिगत व्यवस्थामा समेत सरकारले चासो नदिएका कारण जडीबुटी खेती ओझेलमा परेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप