शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीको भारत भ्रमणका सम्भावित एजेन्डाबारे छलफल गरेर फर्किए मिस्री

सोमबार, ०२ भदौ २०८२, १७ : ३२
सोमबार, ०२ भदौ २०८२

सारांश

  • भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए।
  • भ्रमणमा उनले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री लगायतका नेताहरूसँग भेटघाट गरे।
  • मिस्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए, र दुई देशबीचको सम्बन्धबारे छलफल भयो।

काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् । परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा मिस्री भदौ १ र २ गतेको नेपाल भ्रमण सम्पन्न गरेका हुन् । 

भ्रमणका क्रममा विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका थिए। मिस्रीले नेपालका अन्य वरिष्ठ राजनीतिक नेताहरूसँग पनि भेटघाट गरेका थिए। भेटमा उनले भारतको नेतृत्वको शुभकामना व्यक्त गर्नुका साथै दुई देशबिचका पारस्परिक लाभका द्विपक्षीय सहकार्यमा भएको प्रगतिबारे जानकारी गराएका थिए।

विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा समेत हस्तान्तरण गरेका छन्। दुवै देशका परराष्ट्र सचिवबिच द्विपक्षीय सहकार्यका विभिन्न पहलमा भएको प्रगतिबारे समीक्षा तथा प्रधानमन्त्री ओलीको आगामी भारत भ्रमणका सम्भावित एजेन्डामाथि पनि छलफल भएको जनाइएको छ।

यसैबिच, विदेश सचिव मिस्रीले प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई भेटी नेपाली सेनालाई लाइट स्ट्राइक भेहिकल (एलएसभी), क्रिटिकल केयर मेडिकल उपकरण र सैन्य जनावर हस्तान्तरण गरेका छन्।

भ्रमणका क्रममा दुवै पक्षले भौतिक तथा डिजिटल कनेक्टिभिटी, रक्षा–सुरक्षा र ऊर्जा सहकार्य लगायतका क्षेत्रमा हालैका वर्षमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन्।

भारतले नेपाललाई ‘छिमेकी पहिलो नीति’ अन्तर्गत प्राथमिक साझेदारका रूपमा राखिएको उल्लेख गर्दै, यस पटकको भ्रमणले दुई देशबिचको उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिएको र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाएको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप