बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल

मङ्गलबार, ०३ भदौ २०८२, १० : ४२
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • मुख्यमन्त्री कँडेलले स्वस्थ जीवनका लागि वातावरण सफा राख्नुपर्ने बताए।
  • उनले सरसफाइले सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताए, र सबैलाई कर्तव्य पूरा गर्न आग्रह गरे।
  • मुख्यमन्त्रीले फोहरलाई मोहरमा बदल्ने सिर्जनशील कार्य गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरे।

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताए ।

यही भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत् सरसफाइ कार्यक्रम’मा उनले वातावरणीय सरसफाइले सभ्य र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए । यसमा सबै सरोकारवालाले आफ्नो अधिकारका मात्र कुरा नगरी कर्तव्य एवं दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
  
“आफ्नो घर अगाडिको आँगन सफा राख्नुस्, बाहिरबाट आउने पाहुनालाई समेत यसले खुसी बनाउँछ”, उनले भने, “सरसफाइले स्वस्थ जीवन त हुन्छ नै, त्यसले सभ्य र सचेत नागरिकको पहिचान पनि दिन्छ र बाह्य पाहुनालाई पनि आकर्षण गर्छ ।” सकेसम्म फोहरलाई मोहरमा बदल्ने गरी सिर्जनशील कार्य गर्न उद्योगी एवं व्यापार व्यवसायीलाई अनुरोध गर्दै मुख्यमन्त्री कँडेलले प्रकृतिमैत्री क्रियाकलापबाट मानव स्वास्थ्य स्वस्थ र स्वच्छ राख्ने बताए । 

उनले भदौ ४ गतेको दिनलाई आजदेखि सरसफाइ, सचेतना तथा व्यवस्था ल्याउन योगदान पुर्याउने सपूतहरूको सम्मान र उनीहरूले देखेको सपना पूरा गर्ने कार्यक्रम तीन दिनसम्म उत्सवका रूपमा मनाउन प्रदेशवासीलाई अपिल गरे । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्षमा हर्षविक्रम खड्कालगायत सरोकारवालाको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप