शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमालेभित्रको विवाद

विद्या भण्डारीलाई पार्टी कार्यालय प्रवेशमै रोक्ने प्रयास !

एमालेका कोशी प्रदेश अध्यक्षले फोन नै गरेर भने, ‘यो कार्यक्रम रोक्नुस्’
मङ्गलबार, ०३ भदौ २०८२, १८ : २०
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगरस्थित एमाले पार्टी कार्यालयको भ्रमणमा गइन्, जहाँ उनलाई कार्यकर्ताले स्वागत गरे।
  • भ्रमणमा सहभागी नहुन पार्टीका केही नेताले निर्देशन दिएको र कार्यक्रममा अवरोध गर्ने प्रयास गरिएको आरोप छ।
  • भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको र १२ वर्षपछि पार्टी कार्यालयको अवलोकन गरेको बताइन्।

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको कार्यालयमा पुगिन् । कार्यालय परिसरमा जम्मा भएका कार्यकर्तामाझ मोरङका एमाले उपाध्यक्ष सागर थापाले उनलाई रातो गुलाबको फूल हातमा दिए । 

लगत्तै कोही कार्यकर्ताले भने, ‘विधान अधिवेशनबाट केन्द्रीय समितिको निर्णय सच्चियोस् र एमालेको नेतृत्वमा देख्न पाइयोस् ।’ त्यसो भनेपछि भण्डारीले  ‘तपाईंहरूको माया र आशीर्वाद आफ्नो शीरमा राख्छु’ भन्दै उक्त गुलाबको फूल आफ्नो कपालमा सिउरिन् ।

एक हिसाबले विद्यादेवी भण्डारीलाई कार्यकर्ताले राम्रो स्वागत गरे । त्यहाँ झण्डै डेढ सय एमाले नेता कार्यकर्ताको उपस्थिति थियो । उनले पार्टी कार्यालयमा रहेको पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको शालिकमा माल्यापर्यण पनि गरिन् । 

Bidya Bhandarai (3)

पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट एमाले नेता तथा कार्यकर्ता भने पार्टी कार्यालयमा थिएनन् । भण्डारी आउँदा पार्टी कार्यालयमा नदेखिएको नेताहरूको सो समूह भने उनलाई पार्टी कार्यालय आउनै नदिने गतिविधिमा लागेको भण्डारी पक्षको आरोप छ । बिहान ११ बजे एमाले विराटनगरका इन्चार्जसमेत रहेका नेता पर्शुराम बस्नेतले सामाजिक सञ्जालमा सूचना जारी गर्दै कार्यकर्तालाई पार्टी कार्यालयमा कुनै कार्यक्रम नरहेकोले नजान निर्देशन दिएका थिए ।

Bidya Bhandarai (5)

‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे नेकपा (एमाले) जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ,’ उनले लेखेको सूचनामा भनिएको छ, ‘यस सन्दर्भमा स्पष्ट जानकारी गराउन चाहन्छु कि नेकपा (एमाले)को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन । साथै, जिल्ला कार्यालय वा विराटनगर महानगरपालिका भित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । तसर्थ, सो झुटो प्रचारप्रसारप्रति नझुक्किनुहुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’

parsuram

उता एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले त फोनमार्फत नै भण्डारीको कार्यक्रम नराख्न निर्देशन दिएको एमाले मोरङका पदाधिकारी नै बताउँछन् । ‘हामीलाई कार्यक्रम नगर्ने निर्देशनको खाँचो थिएन । विशेष जोड प्रदेश अध्यक्षज्यूको थियो,’ ती नेताले भने, ‘पूर्व राष्ट्रपतिज्यूलाई पार्टी कार्यालय आउने विषयमा गरिएको अवरोध खेदजनक छ । पूर्वराष्ट्रपति रामवरण यादव आउनुभयो भने पनि हामीले स्वागत गर्न सक्नुपर्छ ।’

तर, भण्डारी सहभागी कार्यक्रममा एमाले नेता विनोद ढकाल, केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा राई, उपसचिव उषा झा लगायत उपस्थित थिए । यस्तै विराटनगर महानगरपालिका कमिटीका पदाधिकारीदेखि वडाका पदाधिकारीसमेत कार्यक्रममा सहभागी भए । 

विराटनगर विमानस्थलमा सोमबार स्वागत गर्न पुगेका केही एमाले नेताहरू पनि मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा देखिएनन् । विमानस्थलमा भण्डारीलाई प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई, प्रदेश सचिव राजकुमार भण्डारीले समेत स्वागत गरेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने भण्डारीसँगै सोमबार दिउँसोको एक कार्यक्रममा देखिए पनि पार्टी कार्यालयको कार्यक्रममा भने देखिएनन् ।

यद्यपि मुख्यमन्त्री कार्कीले सोमबार साँझ भण्डारीसँग होटल बिगमा सुटुक्क भेट गरेको बताइएको छ । होटलमा राति ८ बजेपछि पुगेका कार्कीले करिब १ घण्टा एक्लै भेटघाट गरेका थिए भने अन्य मन्त्रीहरूसहित केही समय सामूहिक भेटसमेत गरेका थिए । 

Bidya Bhandarai (7)

एमाले केन्द्रीय समितिले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपनि त्यसलाई चुनौती दिँदै आएकी भण्डारीसँग कार्कीको भेटमा के कुरा भयो भन्ने खुलेको छैन । यद्यपि मुख्यमन्त्रीको कार्यालयले त्यसबारे कुनै जानकारी दिएको छैन । भण्डारीलाई मुख्यमन्त्री कार्कीसहित आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सामूहिक भेट गरेपछि कार्की र भण्डारीको एक्लाएक्लै भेट भएको हो । 

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमालेले सदस्यता नदिने निर्णय गरिसकेको छ । भण्डारीले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै आफू करिब १२ वर्षपछि विराटनगरस्थित एमाले पार्टी कार्यालयको अवलोकन भ्रमणमा आएको बताइन् ।

‘धेरै दिन भएपछि मलाई यहाँ आउन मन लाग्यो । मैले जिल्ला कमिटीका नेताहरूलाई भने, अनुरोध गरेँ, अनि उहाँले हुन्छ हामी अफिस देखाउँछौँ भनेर यो १०–१२ वर्षमा के परिवर्तन भयो, भौतिक संरचनाहरू हेर्न मन थियो,’ उनले भनिन् । 

bidya-biratnagar

उनले आफूले पार्टी सदस्यता पनि विराटनगरबाटै लिएको स्मरण गरिन् । उनले आफू विशेष कामको जिम्मेवारीबाट फर्केर पुनः पार्टीमा फर्किएको बताउँदै सदस्यता नवीकरण गरिसकेको बताएकी थिएन् । उनले सदस्यता नवीकरण गरेको भन्दा कार्यकर्ताले ताली बनाएर स्वागत गरेका थिए । 

Bidya Bhandarai (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप