घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै चितवनको बाटुलीपोखरी
सारांश
- भरतपुर महानगरपालिकामा रहेको बाटुलीपोखरी घुँगीफोर चराहरूको प्रजनन केन्द्रको रूपमा विकसित भएको छ।
- पोखरी वरपरका रूखहरूमा घुँगीफोरले गुँड बनाएका छन् र यहाँ चल्ला कोरल्ने गर्छन्।
- स्थानीय समुदाय र संरक्षण प्रयासले बाटुलीपोखरी जैविक विविधताका लागि महत्त्वपूर्ण बनेको छ।
चितवन । भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् ।
बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो पोखरी वरपरका १०४ वटा रुखमा घुँगीफोरले ४७८ वटा गुँड बनाएका समूहका अध्यक्ष कृष्णहरि प्रसाईँले बताए । एउटै रुखमा १० वटासम्म गुँड छन् ।
“घुँगीफोरले सुक्खा रुखहरूमा गुँड बनाउने गर्छन्भने घुँगी तथा साना जलचर खाने गर्छन् । अध्यक्ष प्रसाईँले भने “हामीले अवलोकन गर्दा १०४ वटा रुखमध्ये केबल तीन वटामा मात्र हरियो रुखमा गुँड देखिएको छ, बाँकी सबै सुक्खा रुखमा छन् ।” प्रजनन याममा घुँगीफोरहरूको गतिविधि हेर्न पन्छी अवलोकनकर्ता र संरक्षणकर्मीहरू उत्साहका साथ आउने गरेका छन् । उनले थपे, “प्रजनन अवधिमा पोखरी क्षेत्रमा डुङ्गाजस्ता पर्यटकीय गतिविधिहरू बन्द गरिएको छ, गुँडहरूमा असर नहोस् भनेर ।”
यस क्षेत्र पहिले ‘ठूलो घोल’को नामले चिनिन्थ्यो, जहाँको पानी राप्ती नदीमा मिसिन्थ्यो । तर विसं २०६५ मा गङ्गानगर सिँचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ड्याम निर्माण गरी पोखरीमा रूपान्तरण गरिएको हो । अहिले यो क्षेत्र केवल सिँचाइका लागि मात्र नभई जैविक विविधताका लागि पनि महत्त्वपूर्ण बनेको छ ।
अध्यक्ष प्रसाईँका अनुसार, पहिले यहाँ जाडोयाममा साइबेरियन चरा देखिन्थे, तर अहिलेका वर्षहरूमा स्थायी रूपमा बसोबास गर्ने रैथाने पन्छीहरू देखा पर्न थालेका छन् । उनले भने, “ सात वर्षयता घुँगीफोर यहाँ आउन थालेका हुन् ।”
घुँगीफोरले चैत–वैशाख महिनादेखि गुँड बनाउन सुरु गर्छन्, जेठमा फुल पार्छन् र भदौमा चल्ला कोरल्छन् । ठूला झुन्डमा रहने यिनले सामूहिक रूपमा गुँड बनाउने बानीले गर्दा अन्य चराहरूलाई आफ्नो उपस्थिति सहजै थाहा नहुने अध्यक्ष प्रसाईँले बताए ।
पहिले घुँगीफोरले बीसहजारी तालमा गुँड बनाउने गरेका तर त्यहाँका रुख कुहिएपछि नयाँ वासस्थानका रूपमा बाटुलीपोखरीमा बस्न थालेका जानकारी दिँदै उनले भने, “घुँगीफोरले केवल सुक्खा रुखमा मात्र गुँड बनाउने भएकाले त्यस्ता रुख संरक्षण गर्नुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण