‘महाभारतमा नभेटिने र नपाइने के होला !’
सारांश
- कवि रमेश क्षितिजका पाँच कृतिहरू प्रकाशित छन् र उनी 'किताबका कुरा' शृङ्खलामा सहभागी भएका छन्।
- कवि रमेशले पुस्तकलाई पुरानो मित्रको रूपमा लिन्छन् र होस्टेल जीवनमा एक्लोपन मेटाउन पुस्तक सहयोगी भएको बताउँछन्।
- उनले दिनमा समय तालिका नमिले पनि साँझको समयमा लेख्ने र पढ्ने गर्छन्, र उनलाई पुस्तक पढ्नु आनन्दको यात्रा लाग्छ।
कवि रमेश क्षितिजका पाँच कृति प्रकाशित छन्— ‘अर्को साँझ पर्खेर साँझमा’ (कवितासंग्रह २०५७), ‘आफैँ आफ्नो साथी भएँ’ (गीतगजलहरू २०६३), ‘घर फर्किरहेको मानिस’ (कविताहरू २०६९), ‘क्षितिज’ (गीति अल्बम २०६८) र ‘पर्वत पर्वतमा बटुवा घाम’ (कविता संग्रह २०७९) ।
उनै कविलाई हामीले यसपटक रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलामा निम्त्याएका छौँ ।
- तपाईंका लागि पुस्तक के हो ? किताबसँग यहाँको साइनो कसरी जोडियो ?
मेरा लागि पुरानो आत्मीय मित्रजस्तो हो पुस्तक । स्कुल पढ्दा म परिवारबाट टाढा होस्टेलमा बस्थेँ । अन्तर्मुखी स्वभाव थियो । सायद आफूभित्रको एक्लोपन मेटाउने भरपर्दो माध्यम पुस्तक नै थियो । म भेटेसम्म किताबको खोजीमा हुन्थेँ । स्कुलमा काठको दराजमा केही किताब थिए । हामी त्यसलाई पुस्तकालय भन्थ्यौँ । त्यहाँका प्रायः किताब पढेँ मैले तर ती थोरै थिए । गाउँबाट हिँड्दै तुलसीपुर आउँदा मसँग भएको जेब खर्चले किताब नै किन्थेँ म । साझा प्रकाशनबाट निस्केका किताब सस्तो मूल्यमा पाइन्थे । म लेखक वा कृतिको नाम हेरेर होइन, मूल्य सूची हेरेर किताब किन्थेँ । धेरै किताब किन्न पाइयोस् भनेर ।
पढ्ने भोक थियो तर टाढा गाउँमा पुस्तक वा पुस्तकालय अनि त्यही प्रकारको सत्सङ्ग नहुनाले मेरो पढाइको सीमितता थियो । प्रायः किताब दोहोर्याएर पढ्थेँ म, किनभने नयाँ पाउन सम्भव थिएन । जेजति उपलब्ध भयो, पढ्नु आनन्दको विषय थियो । पढ्दै जाँदा किताबको मायी दुनियाँ रोमाञ्चक लाग्दै गयो । किताबी पात्रहरूसँग सामीप्यता बढ्दै गयो । यसरी किताबप्रति आकर्षण भयो । अहिले पनि किताबसँगै हुनु भनेको आनन्दको एक मानस यात्रामा हिँडिरहनु हो मेरा लागि ।
- यहाँले दिनमा कति समय पढ्नुहुुन्छ ? पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
अध्ययनका लागि दिनमा यति र यही समय भन्नेछैन । यसै पनि म समय तालिका अनुसार चल्ने व्यवस्थित प्रकृतिको मानिस होइन । रात–बिहान कुनै पनि बेला लेख्ने–पढ्ने गरिन्थ्यो तर केही गरे पनि यसै बसे पनि मलाई मन पर्ने समय साँझको हो । यस बेला समय शान्त हुने भएकाले एकाग्रता हुन्छ । कल्पनाशीलता बढ्छ । अरूबेला त अरू नै काममा समय बितिजान्छ । साँझको समय मेरो निजी हो जस्तो लाग्छ । आफ्नो समय होजस्तो लाग्छ । प्रायः लेख्ने पढ्ने काम साँझतिर नै गरिन्छ ।
यति धेरै पात्र, यति धेरै कथा र तिनीहरूले बोकेको जीवनदर्शन अनि मौलिक स्वभाव कसरी निर्माण भयो होला महाभारतमा ! यो कसरी लेखियो होला भनेर चकित हुन्छु म ।
यसबाहेक बिदाका दिनहरू पनि पढ्न समय मिल्ने दिनहरू हुन् । म थोरै साथी भएको र कार्यक्रमहरूतिर प्रायः नहिँड्ने मानिस भएकाले रोजेका किताब पढ्ने समय हुन्छ । फेरि समय भन्ने कुरा व्यवस्थापनको कुरा रहेछ । तपाईं केलाई प्राथमिकतामा राख्नुहुन्छ, त्यसका लागि अवश्य समय मिल्छ ।
- पछिल्लो समय के–कस्ता पुस्तक धेरै पढिरहनुभएको छ ? हालैका दिनमा पढेको पुस्तक कुन थियो ? कस्तो छ यो पुस्तक ?
एक समय हारुकी मुराकामीको ‘नर्वेजियन वुड’ मन परेपछि उनलाई पढ्न थालियो । करिब एक वर्षपहिले होला, उनका ‘मेन विदआउट वुमन’ र ‘फर्स्ट पर्सन सिङ्गुलर’ भन्ने दुइटा किताब जमल गएका बेला भेटेर ल्याएँ । पहिलो किताब पढेँ पनि, दोस्रो किताब यसै छाडेको थिएँ । अहिले त्यो पढिरहेको छु । भर्खरै पढेको पुस्तक हो, भारतीय लेखक रूपसिंह चन्देलको ‘दोस्तोएवस्की प्रेम’ । यसमा उनको स्त्री–परस्त्रीसँगको सम्बन्ध र प्रेमजीवन, साइबेरिया निर्वासन, तत्कालीन रुसी समाज, सम्बन्धका जटिलता र उनको लेखन यात्राका अनेक उतारचढावको चाखलाग्दो वर्णन छ । उनका विश्वप्रसिद्ध कृति कुन पृष्ठभूमिमा लेखिए भन्ने बुझ्न पनि यसले सघाउँछ ।
- यहाँले पहिलोपटक पढेको मोटो आकारको पुस्तक कुन थियो ? त्यसबाट के पाउनुभयो ?
महाभारत नै आकारको हिसाबले ठुलो हुनुपर्छ । महाभारतमा नभेटिने, नपाइने के कुरा होला र जस्तो लाग्छ मलाई त । यसमा पाइने अनगिन्ती पात्रको संयोजन, फरक चरित्र, मनोविज्ञान, दर्शन, जीवनकला, अध्यात्म सबैको गहन लेखन अरू कुनै किताबमा भेटिएलाजस्तो लाग्दैन । यति धेरै पात्र, यति धेरै कथा र तिनीहरूले बोकेको जीवनदर्शन अनि मौलिक स्वभाव कसरी निर्माण भयो होला ! कसरी लेखियो होला भनेर चकित हुन्छु म ।
कृष्ण, अर्जुन, भीष्म, कर्ण, द्रौपदी, अश्वत्थामा, माधवी, ययाति वा कुनै पनि पात्रका बारेमा सिङ्गो किताब लेख्न सकिन्छ । कर्ण वा द्रौपदीलाई नै पात्र बनाएर धेरै किताब लेखिएका छन् । सत्यवतीलाई पात्र बनाएर लेखिएको योजनगन्धा उत्कृष्ट नेपाली कृति हो । महाभारतजस्तो गहन कृतिलाई अध्येताले भने आफ्नो गच्छेअनुसार बुझ्ने कुरा हुन्छ । गीता मात्रै पढे पनि त्यसले जीवन जिउने कला, ऊर्जा र दर्शन दिन्छजस्तो लाग्छ मलाई त ।
- तपाईंले बारम्बार पढ्नुभएको कुनै पुस्तक छ कि ?
मलाई मन परेको पुस्तक प्रायः दोहोर्याएर पढ्ने गर्छु म । परमहंस योगानन्दको ‘योगीको आत्मकथा’ यस्तै किताब हो । अध्यात्मलाई सरल र जीवनकथाको माध्यमबाट भनिएको यो पुस्तक मेरो प्रिय पुस्तक हो । त्यो एक चार्जरजस्तो हो, आफूलाई उदास र उद्विग्न अनुभूति हुँदा पढ्छु र ताजा अनुभूति गर्छु । मलाई जीवन र प्रकृतिका रहस्यको खोजको यात्रा गराउने पुस्तक बढी मन पर्छ । यसबाहेक विचार विज्ञान, लिभिङ विथ द हिमालयन मास्टर्स र ‘अन्ना करेनिना’ मैले दोहोर्याएर पढ्ने किताब हुन् । भाषा, विचार वा किताबको विषयवस्तुले तान्यो भने म दोहोर्याएर पढ्छु ।
- नेपाली साहित्यका पुस्तक सम्बन्धमा ‘अन्डररेटेड’ र ‘ओभररेटेड’ कुरा आउँछन्, यसमा यहाँको धारणा के छ ?
जब सामान्य पुस्तकको अति प्रशंसा हुन थाल्छ, बजार र विज्ञापनको भाषा चर्को बन्छ, राम्रा पुस्तक यसै ओझेल पर्छन् । एक दशकका पुस्तकको अध्ययन गर्नुस् र हेर्नुस्, कति नयाँ प्रयोग विचार, शैली, आविष्कार भएका छन्; कति नयाँ–नयाँ विषयमा साहित्य लेखिएको छ; कति खोज र अनुसन्धान भएका छन् ! त्यसलाई विश्लेषण गर्ने हो, यसको जवाफ स्वतः भेटिन्छ ।
आख्यानकार मित्र कुमार नगरकोटीले कतै भनेको ‘सामाजिक यथार्थवादले नेपाली साहित्य ध्वंश गर्यो’ भन्ने घतलाग्दो कुरा सम्झिएँ । ठिक छ, त्यस्तो पनि लेखियोस् कोही बात छैन तर फरक धारका कुराहरू पनि आउनुपर्यो ।
राम्रा किताब पनि आइरहेका छन् तर कम छन् । दशवटा चर्चित पुस्तक उठाउनुभयो भने धेरै पुस्तकको कथ्य, शैली, विषयवस्तु उस्तै–उस्तै लाग्छ । उही समाजको उस्तै सुखदुःख, उही द्वन्द्वको कथा, उही गरिबी संघर्ष उस्तै मनोविज्ञान ! साहित्यको काम वृत्तचित्रको जस्तो भइरहेको कुरा व्यक्त गर्नु मात्र होइन । मानिसलाई सपना देखाउनु, कल्पनाको अर्कै लोकमा यात्रा गराउनु, मोहक सृष्टि खडा गर्नु र नयाँ नयाँ प्रयोग गर्नु पनि हो ।
आख्यानकार मित्र कुमार नगरकोटीले कतै भनेको ‘सामाजिक यथार्थवादले नेपाली साहित्य ध्वंश गर्यो’ भन्ने घतलाग्दो कुरा सम्झिएँ । ठिक छ, त्यस्तो पनि लेखियोस् कोही बात छैन तर फरक धारका कुराहरू पनि आउनुपर्यो । दशकौँसम्म उही विषय उही शैलीको संक्रमण स्वस्थकर कुरा होइन ।
_WUtwqURC0X.jpg)
हामीकहाँ साहित्यमाथि तिखो र स्वस्थ बहस–विमर्श गर्ने, निष्पक्ष मूल्याङ्कन गर्ने र नयाँ आविष्कारलाई प्रोत्साहन गर्ने परिपाटी कम भएजस्तो लाग्छ । हाम्रो समाज इनोभेटिभ कुरालाई भन्दा परम्परालाई मान्ने समाज भएकाले हो कि पुराना र चलिआएको कुरामै हामी बढी रमाउँछौँ र यो साहित्यमा मात्र होइन राजनीति, पेसा वा व्यवसाय र सामाजिक कार्यशैलीमा पनि देखिन्छ ।
- यहाँलाई के कुराले लेखनमा बढी प्रेरित गर्छ ? लेख्दा तपाईं पाठकलाई ध्यानमा राख्नुहुन्छ कि आफूलाई ?
लेखनले ठुलो क्रान्तिको आँधीबेरी नै ल्याइहाल्छ, समाज नै परिवर्तन गर्छ अथवा दुःखका बारेमा परेका मानिसलाई उद्धार गर्छ कि गर्दैन, मलाई थाह छैन । सामाजिक दायित्व बोध गरेर, परिवर्तन र विद्रोहको उद्देश्य बोकेर अनि जनताको समृद्धिका खातिर लेखिरहेका स्वनामधन्य लेखक धन्य हुनुहुन्छ । ठुलो उद्देश्य बोकेर हिँड्नु राम्रो कुरा हो ।
मेरो कुरा के हो भने, मसँग केही कुरा छन्, त्यो भन्न पाउँदा वा अरूलाई सुनाउँदा मलाई आनन्द आउँछ । लेख्न प्रेरित गर्ने कुरा यति हो । त्यो अर्कै कुरा हो कि मैले भनेको कुरा कसैलाई मन पर्न सक्छ । त्यसले कसैलाई उत्प्रेरणा दिन वा प्रभावित गर्न सक्छ । अथवा कसैका लागि महत्त्वपूर्ण र कसैका लागि अर्थहीन पनि हुन सक्छ । म मेरा लागि पहिले हुँ अनि मात्र अरू कुरा जोडिन्छन् । अरूले मन पराउनु अघि मेरो लेखन मलाई नै मन पर्नुपर्छ, यो मेरा लागि हो । यसैले सायद म पाठक वा आफूलाई होइन, लेखनलाई नै ध्यानमा राखेर लेख्छु कि !
- आख्यान र गैरआख्यानमध्ये कुन विधाका पुस्तक बढी पढ्न रुचाउनुहुन्छ ? किन ?
मलाई कुन विधा राम्रो वा मनपर्ने भन्ने छैन । विधाले पुस्तक राम्रो नराम्रो हुने पनि होइन । कति गैरआख्यान भाषा र विषयवस्तुको कारणले आख्यानजस्तै मिठासले भरिएको हुन्छ । कति आख्यान काव्यात्मक भाषाको हुन्छ । जुनसुकै विधा मनपर्छ मलाई । यसैले लेख्ने मानिस वा पाठकले आफ्नो विधागत दायरा फराकिलो बनाउनुपर्छ भन्छु म त । कविले उपन्यास लेखोस्, संस्मरण लेखोस् । गैरआख्यान लेख्नेले आख्यान र कविताको भाषा प्रयोग गरोस् । त्यो कृति उम्दा भइजान्छ । म सबै किसिमका पुस्तक पढ्छु, अचेल आध्यात्मिक, जीवनी र संस्मरणका कृतिले मन तानिरहेको छ । कविता र उपन्यास त सदावहार भइहाल्यो ।
- भर्खरै आफ्नो पहिलो कथासंग्रह ‘एउटा मायी नगरमा’का लागि ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ पाउनुभयो । पहिले त तपाईंलाई यस पुरस्कारका लागि धेरै धेरै बधाई । यो कथासंग्रह तयार पारिरहँदा यसले कुनै पुरस्कार पाउला भनेर सोच्नुभएको थियो ?
यो पुस्तक वा अरू कुनै पुस्तक लेख्दा पनि मेरो ध्याउन्न पुरस्कार वा लोकप्रियतातिर हुँदैन । कसरी मौलिक, नयाँ र स्तरीय लेख्ने भन्ने चेतनाले काम गरेको हुन्छ । पुरस्कार भनेको प्रतिस्पर्धा हो । पुरस्कार पाउनु राम्रै कुरा हो किनभने यसपछि धेरै मानिसले तपाईंलाई पढ्न थाल्छन् तर त्यसकै लागि आफ्नो ऊर्जा खर्च गर्दै जाँदा र अपेक्षा बढाउँदा मानिस ‘पुरस्कारको डम्पिङ साइट’ नै भइजाने खतरा हुन्छ, अपेक्षाले दुःखी बनाउँछ ।
जब सामान्य पुस्तकको अति प्रशंसा हुन थाल्छ, बजार र विज्ञापनको भाषा चर्को बन्छ, राम्रा पुस्तक यसै ओझेल पर्छन् । एक दशकका पुस्तकको अध्ययन गर्नुस् र हेर्नुस्, कति नयाँ प्रयोग विचार, शैली, आविष्कार भएका छन्; कति नयाँ–नयाँ विषयमा साहित्य लेखिएको छ; कति खोज र अनुसन्धान भएका छन् !
लेखकले कृति बुझाएर भिडाउनुनपर्ने, कुनै प्रकारको निवेदन गर्नुनपर्ने र वर्षभरिका कृतिमध्ये उत्कृष्ट एकलाई दिने सम्मानित यो संस्थाले ‘एउटा मायी नगरमा’लाई छनोट गर्यो । यो निश्चय नै मेरा लागि खुसीको कुरा हो ।
- यहाँको लाइब्रेरीमा कति किताब छन् ? किताब किन्न कति खर्च गर्नुहुन्छ ?
दशकौँसम्म डेरा सरिहनुपर्ने मैले ‘डेरा’ शीर्षकको कविता नै लेखेको छु । यसले गर्दा किताबको ठुलो सङ्कलन मसँग छैन । पुस्तकालय, साथीभाइ र इच्छुक मानिसलाई बाँडेर कोठा हल्का पनि बनाइयो कुनै बेला । तैपनि पछिल्लो दशकमा पढेका र मनपर्ने केही पुराना पुस्तक भएको सानो पुस्तकालय छ मसँग । नयाँ पुस्ताले अङ्ग्रेजी पढ्ने भएकाले मैले नपढेका धेरै पुस्तक पनि छन् घरमा । नियमित खर्च छुट्ट्याउने बानी छैन, मन परेका पुस्तक किनिन्छ ।
- जीवनमा तपाईंले कहिल्यै कुनै पुस्तक चोर्नुभएको छ कि ?
चोरी भन्ने कि के भन्ने किताब ल्याएर पढियो । मन परेपछि फिर्ता गरिएन आफैँसँग राखियो । यस्तोचाहिँ अनेकपल्ट भएको छ तर चोरी नै गरेको याद छैन ।
- तपाईंको जिन्दगीमा पुस्तक हराएका वा चोरी भएका घटना छन् कि ? कुनै रोचक एउटा घटना बताइदिनु न ।
एउटा होइन, मेरो पुस्तक चोरी भएका र फिर्ता नगरिएका घटना त कति छन् कति ।
एकपल्ट म घट्टेकुलोमा बस्थेँ । नजिकै एकजना चिनेको भाइको डेरा थियो । त्यसबेला ऊ अलिअलि कविता लेख्दै थियो । एक दिन मेरो कोठामा आएर पढ्नलाई केही किताब माग्यो । मलाई राम्रा किताब अरूले पनि पढुन् भन्ने लाग्छ । उत्कृष्ट लागेका एक झोला किताब उसलाई दिई पठाएँ ।
जाँदाजाँदै उसले भन्यो— दाइ पढेर जस्ताको तस्तै फर्काइहाल्छु । पैसा जोगाइदिएकामा धन्यवाद ।
महिनौँसम्म उसले फिर्ता गरेन न त मैले नै मागेँ । एक दिन कोठा नै सरिगएछ । आफूले पढिसकेर किताब अरू केटाहरूलाई बाँडेछ । भन्दोरहेछ— पढ केटा हो, तिमीहरूको साथी छँदाछँदै के किताबमा पैसा हाल्छौ । त्यसले बरु चिया खाउँला ।
- एक दिन, किताबमा मेरो हस्ताक्षर देखेपछि अर्को भाइले सोधेछ— यो त दाइको किताब रहेछ, तिम्रो त होइन रहेछ त ! किन अर्काको किताब बाँडिदिएको ?
उसले भनेछ, रमेशदाइको मजाको बानी के छ भने मागेपछि उहाँले छानेर दामी किताबहरू दिनुहुन्छ र दिएपछि बिर्सिहाल्नुहुन्छ ।
त्यसको बहिखाता मसँग छ भन्ने उनलाई के थाह । जबकि वर्षौंपछि पनि त्यो घटना मात्र होइन कुन कुन किताब दिएको थिएँ भन्ने पनि मैले सम्झिरहेको छु !
- आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको कुनै पुस्तक छन् कि ? त्यो पुस्तक कुन थियो अनि कसरी भेट्नुभयो ?
यो सन् २००४ तिरको कुरा हो । त्यसबेला किताबसम्बन्धी वार्ता पत्रिकामा छापिन्थे । सायद नेपाल पत्रिकाको यस्तै वार्तामा होला, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पढ्नैपर्ने पुस्तकमा ली क्वान युको ‘फ्रम थर्ड वर्ल्ड टु फर्स्ट’ को उल्लेख गर्नुभएको थियो । मेरो परिचय नभए पनि उहाँ अध्ययनशील मानिस हो भन्ने कुरा थाह थियो । आत्मवृत्तान्तकै प्रसङ्गले पनि यो देखाउँछ ।
अब मलाई यो पुस्तक पढ्न खसखस लाग्यो । काठमाडौँका धेरै पसल चहार्दा पनि त्यो भेटिएन । केही समयपछि कानुन मन्त्रालयमा काम गर्ने मेरो साथी सुशील कोइराला काम विशेषले सिङ्गापुर जाँदा मैले यो पुस्तक मगाएँ । आफूले मात्र पढिनँ, शिक्षा मन्त्रालयका तत्कालीन दुईजना सचिवसँग व्यापक चर्चा गरेपछि उहाँहरूले समेत मागेर पढ्नुभयो यो पुस्तक । यस्ता केही घटना स्मृतिमा छन् ।
- तपाईंको सोच नै बदलेका कुनै पुस्तक छन् ? कुन थियो त्यो पुस्तक ?
पञ्चायतकालमा सूचना विभागले खप्तड स्वामीका किताब छापेर वितरण गर्थ्यो । म स्कुल पढ्दा सानो उमेरमै ‘विचार विज्ञान’ पुस्तक कसोकसो एक दिन घरमा फेला पर्यो । विचारको बारेमा लेखिएको यस्तो पुस्तक मैले पहिलोपल्ट पढेको थिएँ । त्यो उमेरमा किताबमा लेखिएका कुरा कति बुझेँ थाह छैन तर राम्रो सोच्नुपर्छ, सकारात्मक सोचले जीवनको बाटो उज्यालो बनाउँछ भन्ने ज्ञान यसले दियो ।
कलिलो उमेरमा पढेको नयाँ किसिमको पुस्तक भएकाले त्यसको छाप जीवनभर रहिरह्यो । धेरैपल्ट किनेको यो पुस्तक अहिले पनि मसँग हुन्छ नै । त्यसले केही न केही मेरो सोचमा परिवर्तन गराएको अवश्य हो । पछि रान्डा बर्नका ‘द सेक्रेट’ लगायत पुस्तक शृंखला पढियो कुनै बेला । निराशाबाट मुक्तिका लागि पनि राम्रा पुस्तक सहयोगी हुन्छन् ।
- पछिल्लो समय नेपालको पठन संस्कृति कस्तो पाउनुभएको छ ? सामाजिक सञ्जाल र डिजिटल युगले पुस्तकको यात्रा कहाँ पुर्यायो जस्तो लाग्छ ?
हामीभन्दा बाहिरका मानिस व्यस्त र प्रविधिसम्पन्न छन् तर पुस्तक अध्ययन उनीहरूको जीवनको अभिन्न पाटो भएको देखिन्छ । सामान्य नागरिकको पनि पढ्ने बानी हुन्छ । जहाजमा, ट्रान्जिट वा ट्रेनमा पुस्तक पढिरहेका मानिस प्रशस्तै देखिन्छन् । राम्रो किताब निस्कियो भने हजारौँ लाखौँ प्रति बिक्री भएको देखिन्छ । हाम्रोमा पठन संस्कृति त्यस्तो उन्नत अवस्थामा छ जस्तो लाग्दैन ।
खासमा वडा–वडामा साना सार्वजनिक पुस्तकालय हुनुपर्थ्र्यो । नयाँ पुस्ताले बाहिरको किताब पढिरहेका छन् । सरकारी तवरबाटै अनुवाद र पठन संस्कृतिका लागि सबैभन्दा बढी जोड दिनुपर्थ्यो । प्रविधिलाई पनि ज्ञान विस्तारसँग जोड्ने काम गर्नुपर्थ्यो । ज्ञानमा आधारित समाजमा पुस्तकको महत्त्व हुन्छ तर धनमा आधारित समाजमा पैसाको ।
- आजका पाठकका लागि केही सुझाव छ कि ?
संसार बहुत सुन्दर छ, त्यसको एउटा कारण पुस्तक हो । प्रिय पाठक ! पढ्नुस्, मजाले पढ्नुस् । कसैले १०–१२ वर्ष लगाएर लेखेको कुरा तपाईंले तीन–चार घन्टा वा तीन–चार दिनमा पढ्नु भनेको जीवनलाई लामो बनाउनु हो, आनन्दको भोग गर्नु हो तर सुझाव दिने झ्याउलो म नबोकुँ होला । यो मेरो अनुभवको आदानप्रदान र आग्रह मात्र हो ।
- यहाँको अबको योजना के छ ?
ठ्याक्कै कुनै योजना बनाइहालेको त छैन । एउटा उपन्यास लेख्न मन छ । हेरौँ के के लेख्न सकिन्छ । जेहोस्, केही न केही लेखिरहने र अलिक नयाँ र फरक लेखिरहन पाए हुन्थ्यो भन्ने कामना भइरहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण