शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कथा

माछाकोमा मौन छैनन्

शनिबार, ०७ भदौ २०८२, १३ : १०
शनिबार, ०७ भदौ २०८२

‘भाग् ! तँलाई त म... ।’
घरभित्रबाट एक बडेमानको भ्यात्त परेको भ्यागुतो अघिअघि र हातमा अम्लिसोको कुच्चो बोकेकी सपनिम्मा पछिपछि निस्किए । चिम्सा आँखा, गोरो अनुहार, टाउकोमा तौली बाँधेकी, गुन्यूमाथि मैलो भेस्ट लाएकी, मध्यम कदकी, उमेर त धेरै होइन तर दुईजनाकी आमा भइसकेकी सपनिम्मा मनग्गे पाकी देखिन्थी । 

‘बर्खा लाग्यो कि कहाँकहाँबाट भ्यागुता घरभित्र छिर्छ छिर्छ ।’

ऊ फत्फताई । भ्यागुतो सिकुवाबाट हाम फाल्दै आँगनमा ओर्लियो र कुन दिशा भागौँ हुँदै अलमलियो । 

‘छोरा ! तिमी अब भात खाऊ है, म पस्किदिन्छु । तिमी भात खाँदै गर, म एक्कैछिन माछाकोमाको घर लिपिहाल्छु ।’

सन्तुले हुन्छ–हुन्न केही नभनी उल्टै प्रश्न गर्‍यो, ‘आमा ! माछाकोमा भनेको के हो ?’ बालक छोराको प्रश्नले सपनिम्मा अचानक झस्किई । 

इस्कुसको एउटा लहरा घरमुनिको झ्याङबाट भागेर सुँगुरखोरको छानोमाथि लहराउन थालेको थियो । त्यसैलाई हेर्दै टोलाउँदै सपनिम्माले आफ्नो बाल्यकाल सम्झिई । उसले पनि एक दिन आमालाई ठिक यही प्रश्न सोधेकी थिई, ‘आमा ! यो माछाकोमा भनेको के हो ?’

आपा खेतबारीको कामबाट थाकेर घर आएपछि आमालाई भन्नुहुन्थ्यो, ‘लु माछाकोमा ! एक बटुको जाँड छान त ।’

आमा हाँस्दै भन्नुहुन्थ्यो, ‘मलाई छिट्टै माछाकोमा भएको हेर्ने इच्छा छ कि क्या हो ?’

उसलाई पनि कताकता होे जस्तो लागेर आयो र मनमनै दोहोर्‍याई— एउटा टुहुराले अर्को टुहुरालाई खुबै माया गर्नेछ । 

स्मृतिको झ्यालबाट क्षणभरमै फुत्त निस्किएर सपनिम्माले छोरालाई सम्झाई, ‘माछाकोमा भनेको कुलको देवी हो छोरा ! हामी छोरीमान्छेहरू मरेपछि माछाकोमा हुन्छौँ । तिम्रो कोकु (हजुरआमा), कोकुको पनि कोकु सबै माछाकोमा हुनुभयो । म मरेपछि म पनि माछाकोमा हुन्छु । ऊ त्यहाँ तीन चुलाको छेउमा माटोको सानो घर छ नि, घ्याम्पा र वाबु (चिन्डो) राखेको ? हो, त्यही हो माछाकोमाको घर । तिमीले ठुलो भएपछि बुझ्छौ । लु, अहिलेचाहिँ भात खान हात धोइहाल त ।’

थालमा चामल र मकैको च्याँख्ला मिसाएर पकाइएको ‘मिसाभात’ र इस्कुसको तरकारी थियो । अलग्गै डबकामा मोही पनि थियो । सन्तुलाई भोक लागेकै थिएन, खाना खाने मनै थिएन । उसले बटुकोको मोहीमाथि इस्कुसको तरकारीको पहेँलो झोल हातले निचोर्दै पुतलीको चित्र बनायो । 

‘आमा ! आमौ ! मैले बनाएको पुतली हेर्नु त ।’

‘खुरुक्क खानु छोडेर यो केटा के गर्छ हँ ?’ सपनिम्माले परबाटै हकारी । ऊ माछाकोमाको घर लिपपोत गर्न रातो माटो र कालो माटोको घोल तयार गर्दै थिई । 

सन्तुको विद्यालय बन्द थियो । बर्खे बिदा चलिरहेको थियो । घरमा आमालाई साथी भएको थियो ऊ । 

खन्द्राङ्ग... ! 

अचानक सन्तुको भातको थाल उडेर भित्तामा बजारियो । त्यसलाई लात हानेको थियो वीरधनले । ऊ बहुलाझैँ चिच्यायो, ‘भात नखाएर नाटक गर्दै बस्छस् जाँठा !’ आपाको राक्षस रूप देख्नासाथ सन्तुले बुझिहाल्यो कि आपा फेरि आज दिउँसै मातेर आए भनेर । ऊ डरले थर्थर काँप्दै त्यहाँबाट भाग्यो । 

‘फेरि मातेर आएछ । भिमलाएर मुन्टेछ ।’

लोग्नेलाई देखेर सपनिम्मा बर्बराई । त्यतिकैमा लर्खराउँदै नजिक आएर वीरधनले ‘के भनिस् ?’ भन्दै केशमा समातेर स्वास्नीलाई घिसार्न थाल्यो । भाँडाकुँडा जथाभावी लात्तीले हान्न थाल्यो । लिप्न ठिक्क पारेको कालो माटोको घोल भुइँभरि पोखियो । 

ठिक त्यहीबेला गाउँको मास्टर र मन्धरे त्यहाँ टुप्लुक्क आइपुगे र उनीहरूलाई छुट्ट्याउन थाले । आफ्नो विद्यालयको मास्टरलाई देखेर सन्तु लुकिरहेको ठाउँबाट बाहिर निस्कियो र ‘नमस्ते सर !’ भन्दै दुई हात जोड्यो अनि फेरि खुरुरु भित्रै पसिगयो । त्यो तनावग्रस्त माहोलबिच सन्तुको त्यो क्रियाकलाप निकै हाँसउठ्दो देखियो । 

सपनिम्माले आवेशमा अनियन्त्रित हुँदै भान्छाबाट खुकुरी निकाली र वीरधनलाई दिँदै भनी, ‘लु मलाई मार् । एक दिन होइन, दुई दिन होइन । तेरो यातना कति सहनु ? मलाई पनि च्वाट्टै काट् । छोरालाई पनि गिँडिदे ! दुःखै लुक्छ ।’

मास्टरले सपनिम्मालाई समात्यो र खुकुरी खोसेर एकातिर फ्याँकिदियो । मन्धरेले वीरधनलाई समात्यो । 

मन्धरेको हातबाट फुत्किएर वीरधन कराउँदै फेरि गाउँ डुल्न निस्कियो, ‘अहिलेलाई बचिस् । भरे राति आएर तँलाई नमारी छाड्दिनँ । भरै देख्लास् !’ वीरधने दागा धस्दै उकालो लाग्यो । मास्टर र मन्धरे मिलेर एकछिन सपनिम्मालाई सम्झाइबुझाइ गरे अनि त्यहाँबाट निस्किए । 

सबै निस्किएपछि सन्तु आमा भएको ठाउँमा आयो । 

‘आमा, म कति दिनपछि ठुलो हुन्छु ?’ सन्तुले सिँगानको लेघ्रो तान्दै सोध्यो । 

‘किन चाहियो हँ तँलाई ?’ सपनिम्माले झिँजो मानी । 

‘बाउलाई कुट्नुलाई के !’ सन्तुले हिक्क–हिक्क गर्दै भन्यो । 

सपनिम्माले छोरोलाई तानेर ट्याप्पै छातीमा टाँसी र भर्खरै थामिएको आँसु फेरि खसाली । छोराको कपाल सुमसुम्याउँदै मायालु स्वरमा भनी, ‘त्यसो भन्नुहुन्न छोरा । जे भए पनि तेरो बाउ हो । बाउ कुट्ने छोरा राम्रो छोरा होइन ।’

सपनिम्माले सन्तुलाई आफ्नो अगाडि उभ्याएर थप यति भनी, ‘छोरा, तँ जे जस्तो बने पनि बन्नु तर तेरो बाउ जस्तो बुढी कुटुवाचाहिँ कहिल्यै नबन्नु ।’

सन्तुले हुन्छको भाँतीमा टाउको हल्लायो । 

०००

सपनिम्माको घरबाट निकै पर आइसकेपछि अचानक मन्धरे मुसुमुसु हाँस्न थाल्यो र मास्टरतिर हेर्दै भन्यो, ‘तिम्लाई मास्टर... !’

‘हँ, के भो हौ मन्धरे तँलाई ? किन हाँस्छस् त्यसरी ?’

‘म हिजो राति झन्डै मरिनँ । रक्सीले बेहोस भएर स्कुलको चौरमा सुतेको थिएँ, मध्यरातमा अचानक माथिबाट पहिरो खस्दै–खस्दै आयो । म भाग्न खोजेँ तर उठ्न–चल्न सकिनँ । अब मर्ने भएँ भनेर आँखा चिम्म गरेर मर्न तयार भएको थिएँ । अचानक एक पललाई पहिरो थामियो । हावा रोकिएझैँ भयो । जताततै सन्नाटा छायो । फेरि अचानक चारैतिर उज्यालै–उज्यालो छायो ।’

‘अघि नै झगडा छुट्ट्याउँदा सपनिम्माको छातीको पोका च्याप्प–च्याप्प समातेको देखिनँ र मैले ? यो मास्टर पनि !’ इत्रिँदै मन्धरेले भन्यो । 

‘तँ पनि एक नम्बरको स्यालै छस् हगि मन्धरे ?’ मास्टर पनि छिल्लियो । अनि दुवै एकअर्कालाई हेर्दै कुटिल हाँसो हाँसे । 

त्यतिन्जेल उनीहरू ढुङ्गेधारामा आइपुगिसकेका थिए । मास्टरले हातको अञ्जुली थापेर घटघट चिसो पानी पियो र भन्यो, ‘बुझिस् ! दुई–दुई जना नानीको आमा भएर पनि त्यो सपनिम्माका छाती साह्रै पोटिला छन् हौ, यो उमेरमा पनि ।’

हगि मास्टर ? अनि तिमीलाई त मज्जै आयो होला हगि !

‘निबुवाको दाना समाउँदा मजा आउँदैन त मुला ?’ मास्टर खित्खितायो । 

आज त पाँचौँपटक हो मेरो, बुझिस् ?’

‘हो र मास्टर ? धत्तेरिका ! तिमी पनि ! पल्केको पटके पो रहेछौ त !’ मन्धरेले जिब्रो टोक्दै भन्यो । 

‘अनि मेरो गल्ती छ त ? त्यो सपनिम्मा लाटी पनि कस्तो लाटी त हौ ! पटक–पटक किन यही मास्टर आइपुग्छ झगडा छुट्ट्याउन भनेर यसो सोच्नुपर्छ नि ! त्यो अर्को वीरे ल्वाँदे बजिया झन् ! झगडा पर्दा मलाई नसमातेर यो मास्टर खाली किन मेरो स्वास्नीलाई समाउन जान्छ भनेर पनि यसो सोच्नुपर्छ नि ! मत्थु कहीँका ! हो कि होइन, लु तैँ भन् त,’ मास्टरले भन्यो । मन्धरेले टाउको हल्लाएर सहमति जनायो । 

दोबाटो आएपछि मन्धरे र मास्टर आ–आफ्नो बाटो लागे । मास्टरको घर गाउँको स्कुल नजिकै थियो । ऊ पूर्व लाग्यो । मन्धरेको घर अलिक माथितिर थियो, ऊ उत्तर लाग्यो । 

मन्धरेसँग छुट्टिएर एक्लै भएपछि मास्टरले एकान्तमा आफ्ना दुई हातलाई पालैपालो गरेर हेर्‍यो । भर्खरै सपनिम्माको वक्षस्थलको स्पर्शले पैदा भएको जिउभित्रको तरङ्गले ऊ निकै आनन्दित थियो र त्यो रोमाञ्चकता अझै न्यानो थियो । मास्टरलाई पहिलोपटक सपनिम्माको छाती छोएको दिनको पनि याद आयो । त्यो दिन उसले मातेर ढुलमुल–ढुलमुल गर्दै हिँडेको वीरधनलाई बाटैमा भेटेको थियो । वीरधनलाई घरसम्म पुर्‍याउने हेतुले उसलाई डोर्‍याउँदै उसको घरसम्म गएको थियो । घर पुग्नासाथ वीरधन स्वास्नीसँग झगडा पो गर्न थाल्यो । झम्टाझम्टीमा पहिलोपटक मास्टरले सपनिम्माको जिउ छोएको थियो । सुरुमा सपनिम्मालाई कम्मरमा पक्रिएको उसले बिस्तारै पेट र छातीसम्मै हात पुर्‍याएको थियो । त्यस दिनदेखि मास्टरको दिमागमा कुविचार आयो कि ऊ सधैँ वीरधनलाई खोज्दै हिँड्थ्यो । वीरधन मातेको रहेछ भने सुटुक्क उसको पछिपछि लाग्थ्यो र जोइपोईको झगडाबिच टुप्लुक्क आइपुग्थ्यो । छुट्ट्याउने बहानामा ऊ मौका कुरेर बस्थ्यो र यो शृंखला जारी थियो । 

०००

दिन छिप्पिँदै गयो । सपनिम्माको मनभित्रको त्रास पनि घनीभूत हुँदै गयो । सम्पूर्ण राई गाउँमा शान्ति छाएको थियो । सिर्फ यही एउटा घरमा त्राहिमामको वातावरण थियो । लोग्ने आएर फेरि के के गर्न सक्ला भन्ने कल्पनाले मात्रै पनि सपनिम्माको सुखचैन सबै खोसिएको थियो । 

‘लोग्ने मातेर घर आउँदा सास फेर्न पनि जगजगी । यो पनि कुनै जिन्दगी हो ?’ उसले आफैँसित भनी । 

‘आऽ अब त कति सहनु हौ ? बरु जेल जान्छु । फेरि आएर निहुँ खोज्यो भने यसैले दिन्छु मर्ने गरी ।’

सपनिम्माले काठको मुङ्ग्रो उठाई । त्यस मुङ्ग्रोलाई दैलोको पछाडि लुकाएर तयारी अवस्थामा राखी । त्यसो गरिरहँदा उसलाई छोराको भविष्यको समेत ख्याल रहेन । ऊ एकोहोरो भइसकेकी थिई । 

एकोहोरिएकी सपनिम्माले आफ्नो जीवनयात्रा एक फेर फर्केर हेरी । आपा–आमाको एउटै छोरी, ऊ मायाले पुलपुलिएर हुर्केकी थिई । ऊ सानै हुँदा आपा–आमालाई एकैचोटि खोलाले बगायो । ऊ टुहुरी भई । त्यसपछि उसलाई काका–काकीले पाले । 

भर्खरै पन्ध्र वर्ष टेकेकी थिई । एक दिन देवी फुपूले उसलाई हेर्न भनेर केटो लिएर आइन् । केटो पनि टुहुरो थियो । बाउ सानैमा मरेको, आमाले एक्लै हुर्काएको, आमाचाहिँ तीन वर्षअघि बितेको रे । उसले त्यति थाहा पाई । बुढापाकाले केटा पक्षको रक्सी स्वीकार गरिदिए । रक्सी खाइयो । अब ऊ वीरधनकी श्रीमती हुन गइरहेकी थिई । उसलाई भनिएको थियो, ‘हेर् नानी, घरमा सासूससुरा कोही छैन । एउटा टुहुराले अर्को टुहुरालाई खुबै माया गर्नेछ । तँ त भाग्यमानी रहिछस् ।’

आफ्नो आपा–आमा यसरी पहिलोपटक जिस्किएर हाँसेको देखेर सन्तुको आँखामा खुसीको आँसु भरिएर आयो । दिनरात घरझगडा हुने वातावरणमा हुर्किएको एउटा बालकका लागि संसारको सबैभन्दा ठुलो खुसीको क्षण उसको बाउआमाले गरेको हँसीमजाकको क्षण हो । 

उसलाई पनि कताकता होे जस्तो लागेर आयो र मनमनै दोहोर्‍याई— एउटा टुहुराले अर्को टुहुरालाई खुबै माया गर्नेछ । 

अर्को लोभ उसलाई देखाइएको थियो कि केटो सदरमुकाम दिक्तेल छेवैको गाउँको हो । दिक्तेल बजार जाबो त हप्तैपिच्छे घुम्न जान पाइन्छ । मिठो–मिठो किनेर खान पाइन्छ । उसलाई पनि हो जस्तै लाग्यो । 

विवाह भएको केही महिनाभित्रै सपनिम्माको सम्पूर्ण भ्रम तोडिइसकेको थियो । पेटमा पहिलो छोरी सपनी आई । रक्स्याहा लोग्नेले दिनरात मातेर हातपात गर्थ्यो । उनीहरूको घरझगडाको कचहरी बस्दाबस्दा गाउँलेहरू पनि वाक्कदिक्क नै भइसकेका थिए । नमातेका बेला भने वीरधन जाती नै मान्छे थियो तर मात्यो कि हिंस्रक र स्वास्नी–पीडक भएर निस्कन्थ्यो । सपनिम्माले केही भन्यो कि ‘तँ मेरो आमा बन्न नखोज् ! तँ मेरो आमा होस् जाँठी ?’ भनेर तिखो वचन लाउँथ्यो । गाउँलेहरूको भनाइ अनुसार वीरधन आफ्नी आमालाई असाध्यै माया गर्थ्यो र आमाले भनेपछि सबै मान्थ्यो । 

सात वर्षकी छोरी सपनीलाई मुटु दुख्ने व्यथाले लग्यो । उनीहरूले धामीझाँक्री र डाक्टर सबैलाई देखाए तर छोरी बचाउन सकेनन् । छोरी खसेपछि त वीरधन झनै दोब्बर–तेब्बर रक्सी पिउन थालेको थियो । सपनी नबाँचे पनि आमाको नाम बनेर ऊ जीवित रही, सपनिम्मा अर्थात् ‘सपनीकी आमा’ । त्यसपछि दोस्रो सन्तानको रूपमा सन्तु पेटमा आएको थियो । 

विगतको सम्झनाले सपनिम्माको मन एक तमासले अमिलिएर आयो । 

दिन ढल्यो । साँझ पर्‍यो तर रातिसम्म वीरधन आएन । आमाछोराको रात पनि अब जगजगीमै बित्न थाल्यो । दैलो पछाडि एक कुनामा काठको मुङ्ग्रो त्यसै लडिरहेको थियो । 

०००

त्यो रात वीरधन घर फर्किएन । भोलि बिहान सन्तु निद्रामै थियो । सपनिम्माले उठेर सुँगुरलाई चारो दिई । वस्तुभाउलाई घाँस दिई । अगेनामा आगो फुकिराखेर खरेटोले आँगन बढार्न थाली । त्यत्तिकैमा हातमा चुँडिएको चप्पल, हिलैहिलो दलिएको लुगा र कोतरिएको अनुहार लिएर दयालाग्दो पारामा वीरधन आँगनमा टुप्लुक्क देखापर्‍यो । ऊ सरासर सिकुवाको खटियामा गएर बस्यो र निकै रुन्चे स्वर निकालेर भन्यो, ‘अबदेखि म जाँड–रक्सी कै खान्नँ । मलाई माफ गरिदे ।’

सपनिम्मा हातमा खरेटो लिएर छक्क पर्दै उभिएको उभियै भई । ऊ केही बोलिनँ । बरु वीरधन नै बोल्यो, ‘मैले तँलाई धेरै दुःख दिएँ विमला, अब दिन्नँ, माफ गरिदे । अब मैले जिन्दगीभरि जाँड–रक्सी खान्नँ ।’ 

श्रीमानले विमला भनेर नबोलाएको त वर्षौं बितिसकेको थियो । आफ्नो नाम लोग्नेको मुखबाट सुनेर सपनिम्माको हृदय पग्लिएर आयो, आँखाहरू दबदबाए । त्यत्तिकैमा वीरधन अचानक हिक्कहिक्क गर्दै रुन पो थाल्यो । जीवनमा पहिलोपटक लोग्ने रोएको देखेकी सपनिम्माले हातको खरेटो एकातिर फ्याँकिदिई र कुदेर लोग्नेको छेउ गएर सोधी, ‘के भयो ? सन्चो भएन ? कसैले केही भन्यो ?’

आँसु पुछ्दै वीरधन बोल्न थाल्यो, ‘म हिजो राति झन्डै मरिनँ । रक्सीले बेहोस भएर स्कुलको चौरमा सुतेको थिएँ, मध्यरातमा अचानक माथिबाट पहिरो खस्दै–खस्दै आयो । म भाग्न खोजेँ तर उठ्न–चल्न सकिनँ । अब मर्ने भएँ भनेर आँखा चिम्म गरेर मर्न तयार भएको थिएँ । अचानक एक पललाई पहिरो थामियो । हावा रोकिएझैँ भयो । जताततै सन्नाटा छायो । फेरि अचानक चारैतिर उज्यालै–उज्यालो छायो ।’

वीरधन झन्–झन् उत्तेजित हुँदै गयो । उसका आँखाबाट बलिन्द्रधारा आँसु छुट्न थाले । अबोध बालकजस्तै थर्थर ओठ कँपाउँदै र वक्र पार्दै ऊ फतफताइरह्यो, ‘अनि त्यो उज्यालोमा आमा आउनुभो । बुझ्यौ ? मेरो आमा आउनुभो । म टुहुराको आमा आउनुभो । मलाई बेस्सरी हकार्दै भन्नुभो, तँलाई पशु ! बुहारीलाई कति दुःख दिन्छस् हँ ? जाँड–रक्सी खान छाडेर बुहारीलाई सुख दिने वचन दिन्छस् भने म तँलाई आज यो पहिरोबाट बचाइदिन्छु । तेरो जीवन जोगाइदिन्छु ।’

वीरधन अब बच्चा जस्तै ग्वाँ–ग्वाँ रुन लाग्यो । सपनिम्माले लोग्नेलाई छातीमा टाँसी र बडो प्रेमले टाउको मुसारिदिई । वीरधन रुँदै–रुँदै फलाक्दै गयो, ‘अनि मैले हुन्छ आमा, म कसम खान्छु, अबदेखि जाँड–रक्सी खान्नँ, घर–कलह गर्दिनँ भनेँ । त्यसपछि आमाले मलाई हात दिनुभो र आँखाको झिमिक्कैमा पहिरोबाट थुतेर वारि मकैबारीमा फ्याँकिदिनुभो । जब मेरो होस आयो, म जिउँदो थिएँ । आमा त्यहाँ हुनुहुन्नथ्यो । स्कुलको चौर पहिरोले बगाएर तल खोलामा पुर्‍याइसकेको थियो । मलाई आमाले बचाइदिनुभो, बिमला । म बाँचेर आएँ । अबदेखि म तँलाई कहिल्यै दुःख दिन्नँ ।’

लोग्नेको कुरा सुनेर सपनिम्मालाई यो सपना हो कि विपनाजस्तो भयो तर ऊ मनमनै खुसी भई । 

०००

घाम झलमल लाग्यो । वीरधनले स्वास्नीलाई एक डबका मोही माग्यो । सपनिम्माले लोग्नेलाई मोही दिँदै ठट्टा गरी, ‘अब तपाईंले त जाँडरक्सी छोड्नुभैगो । मचाहिँ के गर्नु नि ?’ 

वीरधनले हाँस्दै भन्यो, ‘तँ त खानु नि ! तैँले जाँड खाएर केही बिगार्ने होइनस् क्यारे ! मलाई कुट्ने होइनस् क्यारे !’ त्यसपछि जोइपोइ सँगै गलल हाँसे । एउटा मुढामा लोग्ने डबकाभरि सेतो मोही लिएर बस्यो । छेउको अर्को मुढामा सपनिम्मा डबकाभरि कोदोको सेतो जाँड लिएर बसी । 

आफ्नो आपा–आमा यसरी पहिलोपटक जिस्किएर हाँसेको देखेर सन्तुको आँखामा खुसीको आँसु भरिएर आयो । दिनरात घरझगडा हुने वातावरणमा हुर्किएको एउटा बालकका लागि संसारको सबैभन्दा ठुलो खुसीको क्षण उसको बाउआमाले गरेको हँसीमजाकको क्षण हो । 

मध्य दिउँसो भएको थियो । सपनिम्मा घरभित्र माछाकोमाको घर लिप्न व्यस्त थिई । वीरधन रातभरिको काण्डले जिउ दुखेर यसै गुन्द्री ओछ्याएर बाहिर आँगनमा पल्टिरहेको थियो । उसले केही मानिस कल्याङमल्याङ गर्दै सदरमुकाम दिक्तेलतिरबाट आइरहेको देख्यो । त्यो हुल अलिक नजिक आएपछि वीरधनले चिच्याएर सोध्यो, ‘के भो हौ गाउँलेहरू हो ? के को हल्लाखल्ला हो ?’

हुलबाट कसैले कराएरै जवाफ फर्कायो, ‘हिजो राति पहिरोले स्कुलको पुरै चउर र आधा स्कुल बगायो । पहिरोको रूखले लागेर मास्टरका दुवै हात ठनक्कै भाँच्चिएछ । हामीले अस्पताल पुर्‍याएर आ’को । अब हात काम लाग्दैन रे । बिचरा मास्टर डुँडे हुने भो जिन्दाकीभरि ।’

खबर सुनेर वीरधनलाई दुःख लाग्यो । साँच्चै भन्नुपर्दा भित्रैदेखि उसलाई जति दुःख लाग्नुपर्ने थियो, खै किन–किन हो, उतिसाह्रो दुःख लागेन । कतै झगडा छुट्ट्याउने निहुँमा आफ्नी श्रीमतीको जिउमा हात हाल्ने गरेको उसलाई सुइँको पो थियो कि ? 

माछाकोमाको घर लिपेर सपनिम्मा हातमा रातो माटो लागेको टालो लिएर बाहिर निस्की । बल्ल आज माछाकोमाको घर लिपपोत गर्न पाएकामा उसको मुहार सन्तुष्टिले धपक्क बलेको देखियो । उसले भुइँ पोतेको उक्त लुगाको टालोलाई बेस्सरी निचोरेर पानी जम्मै झारिदिई । त्यसपछि टालोलाई दुईपटक टकटकाएर घाममा सुकाइदिई । बाँसको किलोमा टाँगिएको त्यो टालो हावामा फर्फर–फर्फर फर्फराइरह्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश राई
सुरेश राई
लेखकबाट थप