मन्जु काँचुलीको नजरमा पिता भीमनिधि तिवारी
सारांश
- मन्जु तिवारीले बुवालाई सम्झिँदै बाल्यकालका रोचक घटनाहरू स्मरण गरिन्।
- लेखिका मन्जु तिवारीका बुबा साहित्यकार भीमनिधि तिवारी र उनको साहित्यिक जीवनबारे चर्चा गरिएको छ।
- लेखिकाको बाल्यकाल, पारिवारिक सम्बन्ध, र साहित्यिक यात्राको बारेमा जानकारी प्रस्तुत गरिएको छ।
बाल्यकालमा एक दिन मन्जु तिवारीले बगैँचामा सर्पको काँचुली भेटाइन् । उनले अनौठो मान्दै पिता (भीमनिधि तिवारी)लाई त्यो काँचुली देखाइन् । त्यस दिनदेखि खै किन हो भीमनिधिले छोरी मन्जुलाई मायाले बोलाउँदा ‘काँचुली’ भन्न थाले । सायद पिताले मायाले दिएको नामलाई इज्जत दिनकै लागि मन्जु साहित्यमा लागेकी हुन् । मन्जु काँचुली (जन्म ः २००४ माघ १६) का कविता, कथा, उपन्यास, नाटक, निबन्ध गरी दर्जनौँ पुस्तक प्रकाशित छन् ।
भीमनिधि तिवारी (वि.सं. १९६८–२०३०) नेपाली साहित्य आकाशका चम्किला तारा हुन् । आज कुसेऔँसी अर्थात् बुवाको मुख हेर्ने दिनको सन्दर्भमा मन्जुले आफ्ना पितालाई सम्झेकी छन् ।
टिनिनीऽऽ, टिनिनीऽऽ, टिनिनीऽऽ ।
साइकलको घण्टीको आवाजले मन्जु, बेञ्जु (मन्जुकी दिदी) र अरु दुई भाइका अनुहारलाई उज्यालो पार्थ्यो । उनका पिता भीमनिधि तिवारीको घर आगमनको सङ्केत हुन्थ्यो त्यो ।
काठमाडौँ, डिल्लीबजारको चारखाल अड्डा नजिकै परम्परागत शैलीमा बनेको पुरानो भीमकाय घरमा हरेक साँझ मन्जु त्यही आवाजको प्रतीक्षामा हुन्थिन् । मन्जुको स्मृतिमा आज पनि त्यो आवाजले विशेष स्थान लिएको छ, त्यो आवाज सम्झँदा वा त्यस्तै आवाज कतै सुन्दा उनी बुवाको त्यो साहित्यिक युगतिर फर्कन्छिन् ।
‘मैले जन्मेर देखेको पहिलो साहित्यकारको अनुहार नै मेरो पिताको हो । मन्जु बुवाको विरासत र बौद्धिकता सम्झन्छिन्, ‘त्यो जमानामा छोरा र छोरीमा ठुलो विभेद थियो, तर हाम्रो घरमा त्यो कहिल्यै भएन । उहाँले हामीलाई शिक्षा र सम्मानमा कुनै कमी हुन दिनुभएन ।’
उनीहरूको घर नेपाली साहित्यको एक जीवन्त तीर्थस्थल समान थियो । जहाँ बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु धरणीधर कोइराला लगायत भारतीय साहित्यकारसम्म पुग्थे; साहित्यको चर्चा गर्थे ।
घरको हरेक कुना किताब र पत्रपत्रिका भरिएको हुन्थ्यो । बिहानैदेखि अतिथिको आगमन सुरु हुन्थ्यो । मर्निङ वाकबाट फर्केका साहित्यप्रेमीहरू त्यस घरमा छिर्थे । मन्जु भन्छिन्, ‘एउटा खुला विश्वविद्यालयजस्तै थियो हाम्रो घर ।’
_tW6Et5yetu.jpg)
मन्जुहरूले पितालाई दाइदाइ भनेर सम्बोधन गर्थे, घरमा अन्य सदस्यले दाइ भनेको सुनेर होला सायद । भीमनिधि आफ्ना छोराछोरीका लागि एक अनुशासित अभिभावक थिए तर उनको अनुशासनमा कठोरताभन्दा बढी वात्सल्य थियो । ‘बुबा कडामा पनि अत्यन्तै कडा, नरममा पनि अत्यन्तै नरम हुनुहुन्थ्यो । अनुशासनको कुरा आदिमा एकदमै कडा हुनुहुन्थ्यो तर उहाँको हृदय फेरि कति नरम थियो भनेदेखि कति–कति कुरामा उहाँ यसरी नै पग्लिनुहुन्थ्यो के भन्नु,’ पिताको स्मृतिमा हराउँदै उनले सुनाइन् ।
बेलुका कार्यालयबाट फर्केपछि भीमनिधिले सबै छोराछोरीलाई आफ्ना अघिल्तिर बसालेर पाठ सोध्थे, पढाउँथे । ‘हामीले पाठ कण्ठस्थ सुनाउन सकेनौँ भने उहाँको आँखाको कर्के हेराइ नै काफी हुन्थ्यो,’ मन्जु मुस्कुराउँदै बाल्यकाल सम्झिन्छिन्, ‘तर उहाँले हामीलाई कहिल्यै कुटपिट गर्नुभएन ।’
एकपटक सानो छँदा तिवारीले मन्जुको कानमा छोएका मात्रै के थिए, मन्जु बेस्सरी रुन पुगिन् । उनको रुवाइले घरको माहोल नै बिगार्यो, रुँदारुँदै उनी निदाइन् । ‘त्यो दिनदेखि बुवाले हामी कसैलाई हात उठाउनुभएन,’ उनी भन्छिन्, ‘कुनै पाठ गर्दा हामीले राम्ररी सुनाउन सकेनौँ भने बुवाले हामीलाई आफैँ आफ्नो कान निमोठ भन्नुहुन्थ्यो ।’
मन्जुले पितालाई गुरु मान्छिन् । पिताले आफ्ना हात समाएर नेपाली र अंगेजी अंक र अक्षर लेख्न सिकाएको मन्जुलाई आजैजस्तो लाग्छ ।
_8OXviVwFMm.jpg)
परिवारभित्रको साहित्यिक माहोलले मन्जुलाई पनि सानैदेखि प्रेरित गर्यो । मन्जुले सात वर्षकै उमेरमा घरदेखि बाहिरको साहित्यिक माहोलमा आफ्नो प्रतिभा प्रकट गरेकी थिइन् । सरस्वती पूजाको दिन गाउँटोलमा एउटा साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ दिदीबहिनी (बेन्जु र मन्जु) ले आ–आफैँले लेखेका कविता वाचन गरेका थिए । उनको पहिलो रचना (कविता) भने १३ वर्षको उमेर (२०१७ सालमा) भानु पत्रिकामा प्रकाशित भएको थियो ।
२०२४ सालको ‘गाउँ फर्क राष्ट्रिय अभियान’ चलिरहँदा पद्मकन्या, शंकरदेव, त्रि–चन्द्र लगायत कलेजका विद्यार्थीलाई सामाजिक सेवाका लागि नेपालका विभिन्न गाउँहरूमा पठाइयो । कलेजको यो निर्णयले मन्जुको कथाकार व्यक्तित्वको उदयमा ठुलो भूमिका खेल्यो ।
बेलुका कार्यालयबाट फर्केपछि भीमनिधिले सबै छोराछोरीलाई आफ्ना अघिल्तिर बसालेर पाठ सोध्थे, पढाउँथे । ‘हामीले पाठ कण्ठस्थ सुनाउन सकेनौँ भने उहाँको आँखाको कर्के हेराइ नै काफी हुन्थ्यो,’ मन्जु मुस्कुराउँदै बाल्यकाल सम्झिन्छिन्, ‘तर उहाँले हामीलाई कहिल्यै कुटपिट गर्नुभएन ।’
गाउँ जाने क्रममा उनी लुम्बिनीको खुनगाई गाउँ पुगेकी थिइन् । त्यहाँको एक जमिनदार चौधरी परिवारमा महिलाहरूको अवस्था देखेर उनी झस्किन् । सो परिवारका महिलाले घरभित्रै कैदीजस्तो जीवन बिताइरहेका थिए । बाहिरी संसारबाट पूर्णरूपमा वञ्चित, घरको चौघेरामा सीमित उनीहरूको अवस्थाले मन्जुलाई गहिरो प्रभाव पार्यो । ती महिलाले उनलाई भनेका थिए, ‘हाम्रो यो अवस्थाबारे राजालाई गएर भन्दिए है ।’
काठमाडौँ फर्केपछि उनले त्यही अनुभव र पीडालाई शब्दमा उतार्दै आफ्नो पहिलो कथा ‘भुतभुती आगो’ लेखिन्, जुन पद्मकन्याको साहित्यिक पत्रिका ‘कस्तुरी’मा छापियो । मन्जुको साहित्यिक यात्रा देखेर पिता निकै हर्षित हुन्थे ।
छोरीको साहित्य प्रेम र लेखन देख्दा वा पढ्दा भीमनिधिले भनिरहन्थे— राम्रो छ, लेख्दै जानु, लेख्न नछाड्नु । आफ्ना नाटक मञ्चन हुँदा भीमनिधिले प्रायः मन्जुलाई साथमा लिएर जान्थे । कविता गोष्ठी र वाचनमा पनि उनी धेरैजसो बुवाकै साथमा हुन्थिन् । मन्जु भन्छिन्, ‘मलाईजति माया त उहाँले कसैलाई गर्नुहुन्नजस्तो लाग्थ्यो ।’
भीमनिधि तिवारीको विस्फोट कविता संग्रहले २०१७ सालको मदन पुरस्कार पाएको थियो । साहित्यमा सिर्जनामा हराउने भीमनिधि प्रकृतिप्रेमी थिए । उनको घरको बगैँचामा नेपालमा पाउनै मुस्किल पर्ने फलफूल र फूलहरू फल्थे–फुल्थे । ‘बुबालाई बगैँचा र फूलको निकै सोख थियो । आँपजत्रा ठुला आरु, तुम्बे अम्बा, विभिन्न जातका नास्पाती र बेदाना अनार हाम्रो बगैँचामा फल्थे,’ मन्जु सम्झन्छिन्, ‘तीमध्ये कतिपय फलफूल त मैले अहिले कतै पनि देखेकी छैन ।’
_ztr098Ec11.jpg)
फूलका सोखिन भीमनिधिका लागि ‘जेरेनियम’ फूल विशेष प्रिय थियो, जहाँ देखे पनि उनले त्यसको हाँगा मागेर ल्याइहाल्थे, घरमा सार्नका लागि । मन्जुलाई फूलमा पानी हाल्ने जिम्मा दिइएको थियो । मन्जु भन्छिन्, ‘बुवाको यो स्वभाव र फूलमा पानी हाल्ने त्यो जिम्मेवारीले मलाई प्रकृतिसँग नजिक बनायो कि !’
पिताले आफूहरूलाई पिकनिक, सर्कस र विभिन्न प्रदर्शनीमा लैजाने गरेको मन्जु बताउँछिन् । डिल्लीबजारको त्यो साहित्यिक माहोल र पिताको साइकलको घण्टी अब मन्जुको स्मृतिमा मात्र सीमित छ ।
बुवालाई सम्झँदा मन्जुले आमालाई बिर्सन सक्दिनन् l मन्जुकी आमा भुवनेश्वरी तिवारी फाइन आट्र्समा स्नातक थिइन् । भुवनेश्वरीले कला र साहित्यमा गहिरो रुचि राख्थिन् । ‘म र आमा घरबाट एकसाथ कलेजका लागि निस्कन्थ्यौँ । सिफ्ट एउटै भए पनि हामीले पढ्ने संस्था भने फरक थियो,’ मन्जुले भनिन् ।
हरेकपटक तिवारी विदेश जाँदा छोराछोरीलाई प्रशस्तै उपहार र कोसेली ल्याइदिन्थे । साथै श्रीमतीलाई पनि उपहारमा कलाका पुस्तक, इतिहासका किताब, विभिन्न खालका रङहरू ल्याइदिन्थे । घरका कोठामा भुवनेश्वरीले बनाएको प्राकृतिक चित्रकला खात बनाएर राखिएका हुन्थे । आमाका कृतिको जतन नगरेकामा उनलाई दुःख छ, ‘आमाको त्यो विरासत हामीले जोगाएर राख्न सकेनौँ । धमिराले सबै कृति ध्वस्त पारिदिए ।’
मन्जु आफ्नो जिन्दगीसँग भने सन्तुष्ट छिन् l भन्छिन्, 'पिताको पौरख र विरासतले बनाएको साहित्यिक बारीमा फुल्न र फक्रन पाएकोमा म यस जुनीदेखि सन्तुष्ट छु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण