बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कथा : अँध्यारो रुख

शनिबार, ०७ भदौ २०८२, १५ : ०२
शनिबार, ०७ भदौ २०८२

गरमले मेरो शरीरमा चिटचिट पसिना आइरहेको थियो । पसिनाले म निथ्रुक्क भिजेकी थिएँ र त शीतल छहारीको हावा मेरो तृष्णाको लहर भएर सामुन्ने आउँथ्यो; उजाड मेरो मुहार र हातखुट्टालाई सिस्नोले डामेजस्तै एक झोँक्काले पोल्ने गर्थ्यो । म उभिइरहेकी थिएँ, मेरा शीतल छहारीमा बस्ने इच्छाका लहर तँछाडमछाड गरेर हलचलमय बनिरहेथे । तर त्यतिबेला मैले शीतल छहारी कहीँ पनि भेटेकी थिइनँ । यसरी आफ्नो अविरल यात्रा नै रोक्नुपर्ने स्थितिमा पुगुन्जेल त एउटा न एउटा छहारी भेट्नुपर्ने हो । 

सुक्खा आँखाहरू लिएर उभिएको मेरो शरीर पनि अब त धर्मराउन लागिरहेथ्यो, हातखुट्टा लुला भएर आउन लागेथे, हृदयको गति जोडले चलिरहेथ्यो । म त्यहीँ, त्यतिबेलै ढल्ने हो कि झैँ भएर मुस्किलले आफूलाई स्थिर बनाएर अडिइरहेकी थिएँ । बालुवाको बबन्डरले सब बाटो नै मधुरो भएको थियो । यस सुनसान ठाउँमा परबाट आउने मानिसको सानो–सानो हुललाई म पहिचान्न असमर्थ थिएँ किनकि तिनीहरूलाई आकृति धुलोको धुवाँले लपक्क ढाकेको थियो । मैले बाटोमा हिँड्दै बिताएका विभिन्न ऋतुहरू एक से एक सम्झदै गएँ र सोचाइको निश्चयमा पुगेँ— वसन्त त्यति टाढा छैन र पनि त्यस हरियाली आफ्नो प्रकाश यहाँसम्म किन फिँजाउन नसकेको ! 

मलाई लाग्यो, मेरो निरन्तर हिँडाइको प्रयत्नले छहारी त सायद कुनै बेला भेट्न सकिएला तर वसन्तको आगमन मेरो लाखौँ कोसको गमनले पनि हुने होइन किनकि यो मेरो प्रयत्नबाहिर थियो र निश्चित थियो । छहारी भनेको पवित्र कुनै देवस्थलमा पुग्नु समान थियो भने वसन्त स्वयं ईश्वरको आगमन थियो ।

साँझ त्यति बितिसकेको थिएन, पर क्षितिजमा इन्द्रेणीको सात रङ्गे धर्सो सुहाइरहेको थियो । आँखाभरि तृष्णाको लालसा बोकेर मैले त्यो परको क्षितिजमा हेरेँ, इन्द्रेणीका सबै रङ्गलाई आफ्ना आँखाबाट दृष्टि ओझेलमा पारेर सिर्फ एउटा हरियो रङचाहि आँखामा टिपेँ र त्यो एउटा हरियो धर्सो मेरा लालसाको पानीमा मौलाएर एउटा ठुलो रुख बन्यो, पातहरू सिजिँए, तुरुन्त मगमगाउँदो ठण्डा हावाको झोँक्काको झापडले झसङ्ग भएर झस्किएँ ।

अझ अरू तृष्णाले भरिएको आँखाले मैले टाढाको क्षितिजलाई मनग्गे हेरेँ— हे भगवान् ! त्यस हरियालीको सुगन्धित बगैँचाबाट रोज देवताहरूले आकाशबाट आएर राता, नीला, पहेँला, हरिया रङ्गीचङ्गी फूलहरू डालोभरि टिपेर सजिँदा हुन् । आज कुनै देवताको डालोबाट एक–दुईवटा हरिया हाँगा, दुई–चार थुङ्गा फूल, पाँच–सात ताजा पातहरू यस धरती र यो बाटोमा खसिदिए ! तर कुनै देवताको डालोबाट एउटा पातसम्म खसेन र पनि क्षितिजको बगैँचाको रङ्गीचङ्गी प्रकाशले वातावरण ढकमक्क भयो । त्यस प्रकाशको उज्यालोमा मैले पर एउटा हरियो रुख देखेँ, अरू नियालेर हेरेँ—धुलो र बालुवाले वातावरण ढाकेको बेला, त्यो देखिएको रुख केही हुन सक्छ, तर त्यो एउटा अजिङ्गर नभएर मेरो धमिल्याइएको आँखाको भूत नभएर वनस्पतिकै सन्तान एउटा रुख थियो— म निश्चितताको सँघारमा पुगेँ । 

चारैतिर एकपटक फेरि हेरेँ । चेतनाले म रुखका पातहरू जस्तै स्फुरित भएँ, दिमागको चक्कर पनि पर हुँदै गएको बालुवाको बबन्डरसँगै हराउँदै गयो । भारी भएको शरीर पनि अलिकति ठण्डा र अलिकति हलुङ्गो अनुभव गर्न लागेँ । मनमनमा यही गुनिरहेकी थिएँ— हे भगवान् ! त्यो छहारीमा बस्न हुने रुख नै होस्, दृष्टिको नजिकमा पुगेपछि पनि अरू केही हुन नपुगोस् । 

चेतनाले स्फुरित पाइलाहरू निरन्तर र अनायास द्रूततामा चल्न लागे । केही नजिक पुगेपछि चाँडै नै मैले थाहा पाएँ— त्यो एउटा रुख थियो, यद्यपि यसको प्रकृति र बनावट केही असामान्य देखिन्थ्यो । आँखाभरि उच्छ्वास भरेर मैले त्यस रुखलाई अरू हेरिरहेँ । यस रुखको छहारी तापेर म शीतल हुन सक्छु भन्ने विश्वास मलाई अलि लागेन र यस रुखको मुन्तिर छहारी मागेर म बस्नेछु भन्ने निश्चितता पनि ममा कुन्नि किन हो, अलि आउन सकेन । मेरो यस्तो विचारले मलाई छहारीको शीतल तापेर आनन्दित हुनुको सट्टा त्यस रुखका हाँगाका मोटामोटा डण्डाहरूले मेरो मानसपटमा उर्लेको लालसाको पालुवालाई निरन्तर हिर्काएर विदीर्ण पार्न लागे । म मूच्र्छित अनुहार लिएर त्यस रुखका काला पातहरूलाई एकटकले केही गर्न, केही सोच्न र केही बोल्न नसकी हेर्दै जति गएँ, उति मेरो अनुहार पनि निराशको पहेँलो तेल रङमा भयले पोतिएर नीलो हुँदै गयो । मेरो कठाङ्ग्रिएको नीलो शरीर देखेर सायद सजाति ठान्दै त्यस रुखले स्वागत गर्न जस्तै आफ्नो अँध्यारो छायाँ छरपस्ट छ¥यो, म केही टाढै थिएँ र नजिकिने साहस गर्न पनि सकिनँ । अनायास मैले एउटा मोटो, धोत्रो र निकै ठुलो आवाज सुनेँ— ‘सायद तिमी शीतलताको छहारीमा आफ्नो यात्राको महत्त्वपूर्ण अंश बिताउन आएकी छौ तर म तिमीलाई छहारी दिन असमर्थ छु ।’ 

हो, ती मनुष्य नै थिए मेरो छहारीमा बस्न पाउनेहरू, किनकि मैले मनुष्यबाहेक अरू कसैलाई पनि छहारीको बास नदिने अठोट गरेको थिएँ । एक दिन एक हुल मानिसहरू मेरो छहारी ताप्ने निहुँमा आएर बन्दुकबाट गोलीका वर्षा गर्न लागे ।

म अन्योलमा परेर प्रश्न गर्न पुगेँ, ‘असमर्थ ?!’

‘हो, म तिमीलाई छाया दिन असमर्थ छु । एक त मेरो शरीर कालो पत्थरजस्तो जड भइसकेको छ अर्कोतिर मेरो शरीर सबतिर विदीर्ण भएर पारदर्शक हुन पुगेको छ । यस हालतमा म आफैँ विप्लवको सङ्ग्राममा परेकाले तिमी यस्ती सुकुमारीलाई कसरी, कुन तरहले सहायता गर्न सक्छु र ?’

अचम्म र सहानुभूति मिसिएको स्वरले मैले केही निराश प्रश्न गरेँ— ‘कसरी तपाईंको शरीर कालो पत्थर भयो ? कसरी तपाईंको शरीर विदीर्ण भयो ?’

केही छिन आवाज रोकिइरह्यो । त्यतिबेला म सोच्न लागेँ— म तरल सिङ्गमरमर भएकी भए आफ्नो शरीरको अङ्ग पगाल्दै उसको सम्पूर्ण स्वरूपलाई सफा सेतो र गतिशील पार्न सक्थे हुँला ! म हिमालको फेदबाट बग्ने शिलाजित भएकी भए उसका विदीर्ण अङ्गहरूमा भिजिदिएर उसलाई पूर्ण स्वरूपमा उभ्याउन सक्थे हुँला तर म एक सुकुमारी मनुष्यचोला !

मेरा मनका सबै कुरा उसले बुझेजस्तै एकनास धिमा स्वरमा ऊ बोल्दै गयो, ‘हो, ती मनुष्य नै थिए मेरो छहारीमा बस्न पाउनेहरू, किनकि मैले मनुष्यबाहेक अरू कसैलाई पनि छहारीको बास नदिने अठोट गरेको थिएँ । एक दिन एक हुल मानिसहरू मेरो छहारी ताप्ने निहुँमा आएर बन्दुकबाट गोलीका वर्षा गर्न लागे । मैले आफ्नो हाँगाका पातहरूले छोपेर थुप्रै बचेराहरू पालेर राखेको थिएँ । ती सबै तिनीहरूले आफ्नो गोलीको सिकार बनाएर भुस्कुट पारे । मेरो सपना मात्र मारेनन् तिनीहरूले, यत्रतत्र मेरो शरीरभरका अङ्गप्रत्यङ्ग बारुदको वर्षाले विदीर्ण पारे, बारुदको धागोले म पोलिएँ । सबै मरिसकेर पनि आशाको तन्तुले यो विशाल शरीरलाई थामिरहेछ । कुन्नि किन हो थामिरहेछ ।’

‘गोलीले विदीर्ण पारे ?’

‘हो, छहारीका प्रेमीले ।’

‘यो बाटो यात्रा गर्ने मानिसहरू कुन चौतारोमा बस्ने गर्छन् त ? म त यहाँ आसपासमा अरू कुनै छहारी नै देख्दिनँ ।’

‘मैले त निश्चय गरेको थिएँ— म आफ्नो अँध्यारो रुखको छायाँ कहीँ पनि नफिँजाउ, यसमा कसैलाई पनि आश्रय नदिउँ, कोही पनि यस छहारीबाट महाकाल औलज्वरको सिकार नबनून् । तर यहाँ आउने मानिसलाई सम्झाउन धेरैबेर र मेहनत लाग्छ ।’ हृदयभरि दुःख भरिएको स्वरमा आवाज करुण बन्दै गयो— ‘मनुष्यहरू सपना देख्छन् देख्दैनन्, कल्पनामा डुब्छन् डुब्दैनन्, भावनामा बहन्छन् बहँदैनन् त्यो मलाई थाहा छैन । तर मैले धेरै सपना देखेँ, धेरै कल्पनामा डुबेँ र धेरै भावनामा बहेँ । मलाई लाग्थ्यो— मैले मनुष्यलाई शीतल छहारी दिएर ठुलो काम गरेँ, छहारीप्रेमीले मलाई चोट पु¥याउनेछैनन् । किनकि मेरो छहारी निकै पवित्र, शीतल र उच्चकोटिको छ, छहारीप्रेमीले मलाई कहिले आफ्नो साथ छाड्ने पनि छैनन् । सबै मनुष्यलाई मैले एउटै रूपमा लिएको थिएँ । हामी दुवै एक–अर्काका अनुयायी बनेर डुङ्गामा सफर गरौँला र आकाशमा उडेर सबै तारा बटुलेर यस धरतीमा ल्याउँला । अरू अरू थुप्रै.... ।’

‘अनि के त ?’

‘अनि हामीमा भएका प्रभाव हामी हाम्रा सन्तानबाट आशा गरौँला । लाली र हरियाली दुई गङ्गा–जमुना जन्मनेछन् । लालीले संसारको अँध्यारो हटाएर रात कहिले पर्न दिनेछैन । हरियालीले सम्पूर्ण धरती हराभरा पार्नेछिन् । त्यतिबेला धरतीमा टेक्ने मात्रको पनि जीवन कति उज्यालो र हराभरा बन्नेछ ।’

मानिस नजिक पुगेपछि त्यसले आफ्नो हाँगापात फिँजाएर नृत्यको अनेक रूप प्रदर्शन गर्नेछ र अनायास त्यस मानिसमाथि झ्याम्मिएर जाइलाग्दै उसको रगतको लाली र जिन्दगीको हरियाली सखाप पार्नेछ ।

‘तर त्यस्तो किन भएन ? तर त्यस्तो किन भएन ?’ प्रश्न मेरो हृदयको अन्तरालबाट निस्कन खोज्थ्यो, फेरि बिचमा गलाको बाँधमा आएर ठक्कर खान पुग्थ्यो । यस्तो हुँदाहुँदा प्रश्न त्यसै टुक्रिएर मेरो हृदयमै उकुसमुकुसिएर अल्पियो । मेरो मुखबाट अर्को सरल प्रश्न खस्यो, ‘अनि के भयो त ?’

‘यो धरतीमा फिँजिने लाली जुन तिमी हामीले देख्छौँ, मेरो एक जानुपर्ने तर होइन, किनकि यहाँको लालीमा सौन्दर्य र उज्यालो छैन र पनि अर्को विचित्रको कुरा त यो छ कि यस लालीलाई भेटाउन खोज्ने मानिस अन्धकारको दलदलमा फस्दै जान्छन् । उनीहरू जान्दैनन् यहाँको लालीले उनीहरूको अनुहारमा उज्यालो थप्नुको सट्टा पहेँलो शिथिलताको विकार नसाभर भरिदिइरहेछ र यहाँका बोटबिरुवा, सागपात र हरियालीमा रङ मात्र हरियो छ, त्यसैले यहाँ स्वच्छ–स्वच्छ सासको अभिलाषाले आउनेहरू मरुभूमिको उजाडपनले प्याकप्याकी पर्न थाल्छन्, शीतल हरियालीको दृश्य चहार्न आउनेहरू पिरो धुवाँले जस्तै टट्टाएका आँखाबाट आँसु चुहाउँदै भाग्न खोज्छन् ।’

‘यो त तपाईंले भन्नुभएको कुरा ठिक हो ।’

‘तर हरियालीप्रेमीले मेरा सबै सपनाहरू मारे र लिएर गए । नस यसले उनीहरूलाई कुनै फाइदा हुन पुग्यो न त मलाई । आफू र अर्को दुवैलाई सर्वनाश पारे ।’

‘उनीहरूको कसरी सर्वनाश ?’ 

‘किनकि मेरा बचेराहरू सबै सजिलै मरिहाल्दैनन् । कोही त मूति अवस्थामा रहे पनि फेरि बिउँझन सक्थे र त्यतिबेला जीवित रहेर बिउँझेका केही बचेराले मात्र उनीहरूलाई आफ्नो सामुन्ने देखे मात्र पनि ठुँगेर घाइते पार्थे । बारुदको गोलीमा परेका ती बचेराहरू पोलिएर काला रङका भएका थिए । उनीहरूले एकचोटिको ठुँगाइमा मनुष्यको स्वरूपलाई स्पष्ट सम्पूर्ण कालो बनाइदिए । यहाँ जन्मेका र जन्मने सबै मानिसहरूमा अनुहारको लाली धमिलिएको छ, आँखाको चमक मरेको छ, दाँतको हिस्सी सेलाएको छ ।’

सुन्दासुन्दै मलाई यो सबै सपनाजस्तो लागेर आयो । होसमा आउन जीउ जुर्मुराउन लाग्यो । तर यो सपना थिएन किनकि मेरो निद्रा खुलेन यसैले कि यो निद्रा थिएन । शीतल छहारीमा आराम गर्न मेरो शरीरका रोमरोम रोमाञ्चले लालायित थिए । मेरो पाइला एक कदम पर अगाडि बढ्थ्यो भने दुई कदम फेरि पछाडि फर्कन्थ्यो । काँपिरहेको शरीरलाई टेवा दिनजस्तै आफ्नो हातको हत्केलाले पसिना पुछ्न मैले जोडले निधार रगेडेँ, दले तृष्णाको हरियाली मभित्र झ्याम्मिएर विशाल बन्दैथ्यो र पनि उजाड आँखाहरू लिएर म उभिइरहेँ, न अघि जान सकेँ न त पछि हट्न सकेँ, न त्यस रुखलाई हेरिरहन नै सकेँ न त आफूलाई आज देख्न न सकेँ । मेरा दुवै ओठ र जिब्रो सुक्खा हुन लागे । आफ्नो पुरानो झोलामा पाकेर लालले चढेको एउटा सुन्तला र जिरीको एक मुठा हरियो साग थियो । त्यो सुन्तला र साग मैले झोलाबाट जब झिक्न लागेकी थिएँ, मेरा दुवै हात थर्थराइरहेका थिए, काँप्न लागिरहेका थिए— सबै लालीहरू शिथिलताका विकार हुन् ! सबै देखिने हरियो केवल रङ हुन् ! मेरा हात अरू थर्थराएर झोला नै भुइँमा खस्यो । भुइँमा खसेको त्यस झोलालाई उठाउने हौसला, साहस र जाँगर पनि ममा भएन । भैगो खसोस् ।

त्यत्तिकैमा त्यहाँ एकहुल मानिसहरू विभिन्न रङ्गढङ्ग र पहिरनमा नजिक हुँदै देखापरे । नभन्दै तिनीहरूको अनुहारमा सौन्दर्य र उज्यालोको चमक थिएन । उनीहरूको सुस्त गतिबाट पनि जान्न सकिन्थ्यो— उनीहरूले आफूलाई अँध्यारोको दलदलमा परेर सकुशल पाएका थिएनन् । उनीहरूको अनुहारमा उज्यालोको सट्टा पहेँलो शिथिलताको विकार नसाभर फैलिएको जस्तो देखिन्थ्यो । उनीहरू यताउता छटपटाइरहेका जस्ता देखिन्थे, उनीहरूका राता आँखाहरू पिरो पानीले भरिएका देख्न सकिन्थ्यो । तर ती मानिसहरू चौतारोमा बस्न आएका थिएनन् । त्यत्तिकैमा एउटा नवयुवक जोश, उमङ्ग र अहङ्कारले पूर्ण चेहरा र हिँडाइमा नजिक आइपुग्यो । मैले त्यस युवकलाई इसारा गर्दै नजिक बोलाएँ र सोधेँ— ‘तपाईंलाई यो रुखको बारेमा केही थाहा छ भने भनिदिनुहुन्छ कि ? यही ठाउँको जस्तो देखिनुहुन्छ, यहीँ कतै बस्नुहुन्छ जस्तो लागेर प्रश्न गरेकी । म पनि रुखको शीतल छहारी खोजेर हिँडेकी एक बटुवा तर.. ।’

‘ए, यो रुखको धेरै नाम छ । कोही यसलाई अजिङ्गर रुख भन्छन् । कोही यसलाई अँध्यारो रुख भन्छन् । कोही कालदेव रुख पनि भन्छन् ।’

‘यो भनेको के हो ?’

मेरो त्यस रुखतिर अघि बढ्ने बाटो बिचमा रोकिदिँदै त्यस युवकले घबडाउँदै भन्न लाग्यो— ‘यस रुखको नजीक नजानुहोस् नत्र... ।

‘नत्र के ?’

‘नत्र तपाईं त्यसको आहार बन्न पुग्नुहुनेछ । मानिस नजिक पुगेपछि त्यसले आफ्नो हाँगापात फिँजाएर नृत्यको अनेक रूप प्रदर्शन गर्नेछ र अनायास त्यस मानिसमाथि झ्याम्मिएर जाइलाग्दै उसको रगतको लाली र जिन्दगीको हरियाली सखाप पार्नेछ ।’ 

‘किन त यस्तो ?’

‘किन त ? भनेर यस्तो प्रश्न नगर्नोस् । यस रुखको बानी भने पनि, स्वभाव भने पनि, शक्ति भने पनि यही हो । यसदेखि सतर्क हुनुहोस् ।’

मैले आफ्नो सरल अनुभव र स्वरमा भनेँ— ‘मैले त यस्तो रुख र यस्तो रूप कहीँ देखेकी पनि छैन, सुनेकी पनि छैन ।’ उत्सुकतापूर्ण नयन उठाएर मैले अर्को प्रश्न गरेँ— ‘उसोभए यहाँका मानिसहरू यस रुखलाई सर्वशक्तिमान् मानेर पूजा गर्दा हुन् ?’

‘अहँ  पूजा गर्दैनन्, यहाँका मानिसहरू पूजा केहीको पनि गर्दैनन् ।’

‘तब ?’

‘तब तिनीहरू पूजा पनि गर्दैनन् । यसको हत्या पनि गर्दैनन् ।’ 

‘उसो भए त यस्ता रुखहरू यहाँ प्रशस्त मौलाउन पाएका होलान् ?’

यत्तिकैमा एक हुल जङ्गली जनावर समूह आवाजमा विभिन्न मुद्रामा चौतारीको नजिक आउन लागेका देखियो । धेरै किसिमका जनावर भएकाले उनीहरूका आवाज पनि विभिन्न थरीका थिए । त्यही रुखतिर नै सिधा ताकेर तिनीहरू आइरहेका देखेर म चाहिँ त्यस रुखदेखि केही पर हच्किँदै रुखलाई उत्सुकतापूर्ण आफ्नो प्रश्न पेस गर्न लागेँ, मैले अलि ठुलो आवाजमा रुखले प्रस्ट सुन्न सकोस् र उसको जवाफले आफ्नो उत्सुकता मेटोस् भन्ने ध्येयले कराएर सोधेँ— ‘ती जनावरहरू त्यहीँतिर आइरहेछन्, तपाईं नजिक आउँदै छन्, के... ।’ 

मेरो वाक्य पूरा नहुँदै– ‘तब के त ?’

मनुष्यबाहेक अरू कसैलाई पनि आश्रय नदिने तपाईं को मनसुवा थियो, तर... ।’

‘तर... ? तब के भयो त ?’

‘ती त मनुष्य होइनन्, के तपाईं तिनीहरूको स्वागत गर्नुहुन्छ या इन्कार ? तर तपाईंको आवाज र रूपाकृतिले त यही बताउँछन् कि तपाईं तिनीहरूलाई आफ्नो काखमा खुसीका साथ आश्रय दिन चाहिरहनुभएको छ ।’

‘यसमा के आश्चर्य ?! जब मानिसहरू त पाएर खान पाउँदैनन् काम गरेर खान्छन्, जब काम गरेर खान पाउँदैनन् मागेर खान्छन्, जब मागेर खान पाउँदैनन् चोरेर खान्छन्, जब चोरेर पनि पाउँदैनन् लुटेर खान्छन् । मानिसहरूको यस काममा के आश्चर्य छैन ? सबैका लागि इच्छाले बाटो आफैँ खोज्छ, अप्ठेरा बाटाहरू हट्दै जान्छन्, सजिला चाहिँ सधैँ सामुन्ने हुन्छन् । तिमी मबाट हल्चे जस्तो देखिन्छ्यौ, म तिमीलाई केही... ।’

मैले अलि घबडाएको आफ्नो स्वरलाई स्वाभाविक बनाउन खोज्दै भनेँ— ‘होइन, होइन... के छहारी दिने पनि आफैँ प्यासी हुन्छ र ? छहारी दिनु भनेको प्यास मेट्नु हो र ? के अब तपाईं जनावरलाई पनि छहारी दिन लाग्नुभएको छ ?’

केही गम्भीर र मधुर मुस्कान मिश्रित मधुर दृढताको स्वरमा रुखले आफ्नो धोत्रो आवाज निकाल्यो, ‘मानिस जटिल भएपछि जनावर नै वेश छन् !’

मैले पनि आफ्नो निस्फिक्री थकाइ मिसिएको दृढताको आवाजमा भनेँ— ‘उसो भए म यहाँबाट गएँ, फर्कें; फेरि बाटो बिराएकोमा पनि मैले माफी पाएँ । यसमा आफैँलाई धन्यवाद दिने कुरा छ ।’

फर्किएको बाटो म फेरि उच्चाटलाग्दो गरेर हिँड्न लागेँ । त्यो फर्किएको बाटोमा न तालु सुक्ने गर्मी नै थियो न त मुटु कठ्याङग्रिने चिसो नै । त्यो बाटोमा कुनै स्वाद थिएन, आवाज थिएन, रङ्ग थिएन, गति र स्पर्श थिएन । सिर्फ मैले आँखाभरि बोकेको बाटो थियो, बाटोले काँधभरि बोकेको म थिएँ; मभरि बाटो थियो, बाटोभरि म थिएँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मन्जु काँचुली तिवारी
मन्जु काँचुली तिवारी
लेखकबाट थप