लडाकु विमानको इन्जिन भारतमै बन्ने
सारांश
- भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै बनाउन फ्रान्सेली कम्पनीसँग सहकार्य गर्ने भएको छ।
- रक्षा मन्त्री राजनाथ सिंहले भारतको आत्मनिर्भर रक्षा क्षमताको महत्त्वपूर्ण उपलब्धि भएको बताए।
- भारतले सन् २०३३ सम्म स्वदेशी रक्षा सामग्री खरिदका लागि १०० अर्ब अमेरिकी डलरको सम्झौता गर्नेछ।
नयाँ दिल्ली । भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा निर्माण गर्न फ्रान्सेली कम्पनीसँग सहकार्य गर्दै आएको रक्षा मन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् ।
सिंहले यसअघि गत मे महिनामा भारतले विकास गर्न लागेको पाँचौँ पुस्ताको ‘एडभान्स्ड मिडियम कम्ब्याट एयरक्राफ्ट’ (एएमसीए) को प्रोटोटाइप स्वीकृत गरेका थिए । उनले त्यसलाई ‘भारतको आत्मनिर्भर रक्षा क्षमतातर्फको महत्त्वपूर्ण उपलब्धि’ भनेर उल्लेख गरेका थिए ।
शुक्रबार नयाँ दिल्लीमा आयोजित एक सम्मेलनमा बोल्दै मन्त्री सिंहले लडाकु विमान इन्जिनको स्वदेशी निर्माणसम्बन्धी थप विवरण प्रस्तुत गरे । उनले भने, ‘हामी भारतमै लडाकु विमानका इन्जिन उत्पादन गर्न अगाडि बढिरहेका छौँ । यसका लागि फ्रान्सेली कम्पनीसँग सहकार्य भइरहेको छ ।’
यद्यपि मन्त्री सिंहले कम्पनीको नाम खुलाउनु भएन, तर भारतीय सञ्चारमाध्यमहरूले यो कम्पनी सफ्रान भएको उल्लेख गरेका छन् । सफ्रान फ्रान्सको एक प्रमुख एयरोस्पेस र रक्षा कम्पनी हो, जसले विगत धेरै वर्षदेखि भारतमा विभिन्न परियोजनामा काम गर्दै आएको छ ।
तर अहिलेसम्म यो सहकार्यको औपचारिक पुष्टि भएको छैन ।
भारत, जुन विश्वकै ठुलो हतियार आयातकर्ताहरू मध्ये एक हो, आफ्ना सुरक्षा फौजको आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यसै सन्दर्भमा स्वदेशमै हतियार तथा रक्षा उपकरण उत्पादनमा जोड दिँदै आएको छ ।
पछिल्लो समय भारतले पश्चिमी मुलुकहरूसँग सैन्य सहकार्य बलियो बनाउँदै आएको छ, जसमा अमेरिका, जापान र अस्ट्रेलियासँगको क्वाड गठबन्धन पनि पर्छ ।
यसै वर्षको अप्रिलमा भारतले फ्रान्सको दसोल्ट एभिएसनसँग २६ वटा रफाल लडाकु विमान खरिद गर्न बहु–अर्ब डलरको सम्झौता गरेको थियो । यसले भारतले पहिले नै खरिद गरेका ३६ वटा रफाल विमानमा थपिनेछ र रुसी मिग–२९के विमानहरूको स्थान लिनेछ ।
रक्षा मन्त्री सिंहले सन् २०३३ सम्म भित्र्याइने स्वदेशी रक्षा सामग्री खरिदका लागि कम्तीमा १०० अर्ब अमेरिकी डलर बराबरको नयाँ सम्झौता गरिने वाचा पनि गरेका छन् ।
हालैका वर्षहरूमा भारतले ठुलो हेलिकप्टर कारखाना सञ्चालनमा ल्याउनुका साथै, पहिलो स्वदेशी विमानवाहक जहाज, युद्धपोत र पनडुब्बी निर्माण सम्पन्न गरेको छ। साथै, लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरेको छ ।
भारतको सुरक्षा दृष्टिकोणमा पाकिस्तान प्रमुख चुनौतीको रूपमा रहेको बताइन्छ । पछिल्लो मे महिनामा भारत र पाकिस्तानबिच सन् १९९९ यता कै सबैभन्दा तनावपूर्ण चार दिने सैन्य झडप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण