हाम्रा पुरोधा अर्थात् डा. गौरीशङ्करलाल दास
सारांश
- डा. गौरीशङ्करलाल दासलाई नइ भावि पुरस्कार प्रदान गरियो, स्वास्थ्य अवस्था कमजोर भए पनि उहाँ समारोहमा उपस्थित हुनुभयो।
- पुरस्कार समारोहमा डा. दासको उपस्थिति र वचनको महत्वबारे चर्चा गरियो, जसले कार्यक्रमलाई विशेष बनायो।
- डा. दासको योगदान र नेपाल सरकारको सरोकारको कमीबारे चर्चा गर्दै, उहाँलाई राष्ट्रकै लागि उदाहरण मानियो।
हामी नइ (नरेन्द्र र इन्दिरा)लाई डा. गौरीशङ्करलाल दासका बारे सधैँ बयान गरिरहने व्यक्तिको नाउँ हो— नाट्यभूषण मदनदास श्रेष्ठ । नेपाली समाजमा डा. दासको विविध योगदानबारे हामीलाई थाहै थियो । हामी उहाँका अघि भने त्यति देखिएका थिएनौँ । यति हुँदाहुँदै पनि उहाँप्रतिको श्रद्धा हाम्रा मनमा सुरक्षितै थियो । मदनदास श्रेष्ठ भने डा. दासको बखान गरेर थाक्नुहुन्नथ्यो । नेपालको आधुनिक चिकित्सकीय इतिहासको आदिपुरुषको अग्रपङ्क्तिमा उभिनुभएका व्यक्तित्व भनेर नै हामी नइ उहाँलाई आदर गरिरहन्थ्यौँ । वास्तवमा उहाँ आजको नेपालमा जिउँदो विभूतिका रूपमा विराजमान हुनुभएको छ । आजको निरसिलो नेपालमा यस्ता सन्त पुरुष पनि हुनुहुन्छ भनेर उहाँबारे हामीले थप गौरव मानेका पनि छौँ ।
डा. गौरीशङ्करलाल दासका प्रसङ्गमा भन्नुपर्दा उहाँ एक देवतुल्य समाजसेवी हुनुहुन्छ । उहाँले १०२ वर्षको उमेरसम्म समाजसेवामा आफूलाई सक्रिय रूपमा समाहित गरिरहनुभएको छ । कुनै लोभ, मोह र आशक्तिदेखि धेरै, धेरै र धेरै नै परसम्म सरेर उहाँले जनकल्याणका लागि आफ्नो पसिना बगाइरहनुभएको छ ।
डा. गौरीशङ्करलाल दास अहिलेको हाम्रो नेपाली परिवेशमा एक देशभक्त नागरिकका रूपमा सुपरिचित हुनुहुन्छ । देशले जनताको सुख–समृद्धितिर सधैँ आफ्नो गच्छे रोप्नुपर्छ भन्ने धारणामा उहाँ केन्द्रित हुनुहुन्छ । उहाँको जिन्दगानीका सम्पूर्ण रूपरेखा जोड्ने हो भने विविध क्षेत्रमै उहाँको जोडाका एक दर्जन जीवित नेता, प्रशासक या समाजसेवी नेपालमा पाउन पनि सायद हम्मेहम्मे नै देखिन्छ ।
नेपाली परिवेशमा डा. गौरीशङ्करलाल दासहरू हुनुहुन्छ र हामीले पनि प्रेरक शक्ति प्राप्त गरिरहेका छौँ । डा. दासजस्ता सेवाका प्रतिमूर्तिको नाउँ र कामलाई हेरेर हामीलाई पनि देशका लागि केही गर्न जाँगर चलेको हुनुपर्छ । नेपालमा राम्रो काम गर्नेका लागि कति साह्रो छ र कति गाह्रो छ ? उहाँहरूजस्ता भुक्तभोगीलाई हामीले जति पढेका छौँ, त्यो पूरा अध्याय पढ्नका लागि उहाँको झैँ एउटा सिङ्गो जुनी खेप्नुपर्छ । १०२ वर्षसम्म उहाँलाई कति बादलले छोप्यो होला, कति घामले पोल्यो होला र कति पानीले भिजायो होला ? तर पनि उहाँ हामी माझ केटौली भई हाँस्तै उभिरहनुभएको छ । त्यस्ता विभूतिलाई देख्ता हामी ईश्वरसँग थप कृतज्ञ छौँ । देउतासित हामी प्रार्थना पनि गरिरहन्छौँ— ‘हे ईश्वर ! यस नेपाली पूण्य भूमिमा गौरीशङ्करलाल दासहरू जन्माउन फेरि नबिर्सिदेऊ ।’
डा. गौरीशङ्करलाल दास वचनका पक्का नेपाली हुनुहुन्छ । वास्तवमा सिद्ध पुरुषहरूले बोलिसकेपछि त्यस वचनमा कुनै प्रकारका दैवी घटना घटे तापनि त्यो वचन खेर जाँदो रहेनछ । यस विषयको एउटा सानो प्रसङ्ग हामीलाई उल्लेख गर्न सन्दर्भ जुटेको छ । कुरा के हो भने— हाम्रा जेठा दाजु र जेठी भाउजू विष्णुभक्त प्रसाई र भागीरथा प्रसाईका नाउँमा पनि नइ एकेडेमीले ‘नइ भावि पुरस्कार’को स्थापना गरेको थियो । खास गरेर हाम्री जेठी भाउजूको स्वर्गारोहणपछि उहाँको नाउँको सुरुको अक्षर अगाडि राखेर र त्यसपछि दाजुको नाउँको सुरुको अक्षर राखेर यो पुरस्कारको स्थापना गरिएको थियो । चिकित्साका क्षेत्रमा ताम्रपत्रसहित समर्पण गरिने नइ भावि पुरस्कार प्रत्येक वर्ष जनही एक लाख रुपैयाँ राशि समर्पण गरिन्छ । पहिलो चोटि यो पुरस्कार नेपालका जेठो चिकित्सक अर्थात् जीवितमध्येका ज्येष्ठ व्यक्तित्वलाई समर्पण गरिनुपर्छ भन्ने नइले निर्णय गरेको थियो । तसर्थ हाम्रो सर्वेक्षणमा डा. गौरीशङ्करलाल दासको नाउँ नै अङ्कित भएको थियो । नइ एकेडेमीको बैठकमा निर्णय गर्नुपूर्व हामीले उहाँसँग मञ्जुरी लिन टेलिफोनमा कुरा गरेका थियौँ । हाम्रो प्रस्तावलाई उहाँले सहर्ष स्विकार्नुभएको थियो ।
जनराष्ट्रकवि ईश्वरवल्लभका शब्दका आडमा भन्ने हो भने डा. गौरीशङ्करलाल दास हाम्रो ‘पुरोधा’ हुनुहुन्छ । त्यस्ता वीर पुरुष अथवा भनौँ अग्रणीलाई नइ भावि पुरस्कारबाट सम्मान गर्न पाउँदा नइ एकेडेमी नै गौरवान्वित भएको छ । डा. दासजस्ता ‘पुरोधा’को हामी नइले नै पनि आशीर्वाद पाएका छौँ ।
नइ एकेडेमीबाट डा. गौरीशङ्करलाल दासलाई नइ भावि पुरस्कार समर्पण गर्नेबारे घोषणा भयो । पुरस्कार समर्पण समारोहको स्थान र मिति तोकिएपछि हामीले अरू पुरस्कार प्राप्त गर्ने महानुभावहरूलाई झैँ उहाँलाई पनि टेलिफोनमा सूचित गरेका थियौँ । हाम्रो निर्णयको जानकारी पाएपछि उहाँले खुसी प्रकट गर्दै ‘म ठिक समयमा आउनेछु’ भन्नुभएको थियो ।
२०७८ साल असोज ७ गते डा. गौरीशङ्करलाल दासका कान्छो छोरा सुरेन्द्रमोहनलाल दासले फोन गरेर हामीलाई भन्नुभयो— ‘मेरो बुबाको शरीरमा रगत कम रहेछ, उहाँलाई हर्निया पनि भएकाले र निमोनियाले पनि छुन थालेकाले मेरा बुबा अहिले शिक्षण अस्पतालमा रहनुभएको छ । उहाँलाई ठिक भयो भने आउनुहुन्छ र उहाँले आउने मन गर्नुभएको छ । तर आउने सम्भावना मैले न्यून नै देखेको छु । उहाँ भोलि नै कसरी डिस्चार्ज हुनुहोला र ! उहाँ आउन गाह्रै छ । उहाँ आउन सक्नुभएन भने म भए पनि आउँछु ।’ अनि हामीले उहाँलाई फोनैबाट जवाफ दिएका थियौँ— ‘नइले उत्तराधिकारीलाई मञ्चमा बसाउने गरेको छैन । तर समारोहमा उहाँकै उपस्थिति रहनेछ भन्ने कुरामा हामीलाई दृढ विश्वास छ । यदि आउन सक्नु नै भएन भने उहाँ घर गएपछि उहाँका घरमा नै गएर हामी उहाँकै हातमा पुरस्कार समर्पण गर्नेछौँ । तर ईश्वरको अनुकम्पाले बुबालाई जाती हुन्छ । समारोहमा हामी उहाँको नै प्रतीक्षामा रहनेछौँ ।’
डा. गौरीशङ्करलाल दासका छोरा सुरेन्द्रको फोनले त्यति बेला हाम्रो मनलाई अशान्त पारिदिएको थियो । तर पनि हामी नइले डाक्टरसाहेबलाई चाँडै जाती भइहालोस् भनेर ईश्वरसित प्रार्थना गर्न भने छाडेका थिएनौँ । नइ भावि पुरस्कार नइ एकेडेमीबाट स्थापित सबैभन्दा पछिल्लो पटक स्थापना भएको पुरस्कार थियो र त्यो पुरस्कार प्राप्त गर्ने व्यक्तित्व पनि चिकित्सा क्षेत्रका सबैभन्दा पुरानो प्रतिभा उहाँ नै हुनुहुन्थ्यो । अनि त्यो पुरस्कार नै पहिलो पटक उहाँलाई नै प्रदान हुँदै थियो । त्यसैले पनि उहाँ समारोहमा उपस्थित भइदिए कति राम्रो हुन्थ्यो भन्ने हामीलाई लागेको थियो ।
२०७८ साल असोज ९ गतेको कुरा हो । सोही दिन नइ पुरस्कार समर्पण समारोहको कार्यक्रम थियो । अनि त्यस समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो १०२ वर्षीय वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी । हामी नइ र नइ एकेडेमीका सबै सदस्यहरू समारोहको कामको बाँडफाँटमा व्यस्तै थियौँ । त्यही बेला बिहान आठ बजे डा. गौरीशङ्करलाल दासका छोरा सुरेन्द्रले फोनमा बोल्नुभयो— ‘बुबाको अवस्था ठिक रहेन । अवस्था चिन्ताजनकबाट त्यति मुक्त हुन सकेको छैन । त्यसैले बुबा आज आउन सक्नुहुन्न ।’
हाम्रो समारोह शनिबार ठिक दुई बजेदेखि आरम्भ भयो । माइकमा उभिएर हामीले समारोहका निम्तारुहरूलाई जानकारी गरायौँ— ‘आज पुरस्कृत हुनेमध्ये ९८ वर्षीय श्रद्धेय डा. गौरीशङ्करलाल दास शिक्षण अस्पताल महाराजगञ्जमा हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभका लागि ईश्वरसित हामी प्रार्थना गरौँ ।’ यी संवाद सकिँदानसकिँदैमा मूल दैलोबाट डा. गौरीशङ्करलाल दास सभास्थलमा प्रवेश हुनुभयो । अनि उहाँलाई देखेर हामी छक्कै पर्यौँ । उहाँ सभाहलभित्र प्रवेश भएको सूचना त्यति बेलै फेरि उद्घोषण भयो । त्यस बेला सम्पूर्ण अतिथिहरूबाट करतलध्वनिका साथ हात पड्किरहेको थियो ।
डा. गौरीशङ्करलाल दासको उपस्थितिले एकातिर हामी माझ हर्ष उल्लास भइरह्यो । तर हामी आयोजकलाई भने त्यस घडी फेरि अर्को टन्टा परेको थियो । त्यतिखेर माइकको माइकैबाट हामीमध्ये ‘न’ बोलिरहेका थियौँ— ‘डाक्टरसाहेब त आउनुभयो । उहाँको बोलीमा सिद्धि बसेको रहेछ । उहाँले ‘म जसरी भए पनि आउँछु’ भन्नुभएको थियो, आउनु नै भयो । आज हामीलाई यसै सभाकक्षमा पशुपतिनाथै आएजस्तै भएको छ । हामी जति खुसी भयौँ त्यति दुःखित पनि बनेका छौँ । किनभने बिहान उहाँको कान्छो छोराले ‘बुबा आउनुहुन्न’ भनेपछि हामीले उहाँको नाउँको ताम्रपत्र र पैसाको चेक यहाँ ल्याएका छैनौँ ।’
एकछिनमा नइका स्वयंसेवकले नइगृह पुगेर डा. गौरीशङ्करलाल दासका नाउँको ताम्रपत्र र चेक समारोहस्थलमा ल्याइपुर्याएछन् । त्यस बेहोराको सूचना पनि समारोहमा प्रेषित भयो । अनि हामी सबै जना चकित पर्यौँ । हामीभन्दा धेरै खुसी त प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी हुनुहुन्थ्यो । समारोहमा डा. दासले एक लाख रुपियाँ राशिसहितको ताम्रपत्र थाप्ता एउटा गौरवमय रौनक स्थापित भएको महसुस हुन्थ्यो । सबैले फेरि करतलध्वनिले सभाकक्ष गुञ्जयमान पारिदिएका थिए । डा. सत्यमोहन जोशीसहितको हस्ताक्षरमा समर्पित ताम्रपत्रको बेहोरा यस्तो थियो—
‘स्वास्थ्यविज्ञानमा मन, वचन र कर्मले निस्स्वार्थ रूपमा समर्पित रहँदै जनस्वास्थ्यका लागि समेत अनुकरणीय योगदानका निम्ति सुप्रसिद्ध चिकित्सक डा. गौरीशङ्करलाल दासलाई २०७६ सालको ‘नइ भावि पुरस्कार’ समर्पण गरिएको छ ।’
डा. गौरीशङ्करलाल दास नइ पुरस्कार समर्पण समारोहमा आउनु हामीले हाम्रो गौरव ठानेका थियौँ । त्यस दिन आफ्ना चिकित्सकलाई नसोधी डा. दास अस्पतालबाट अम्रपाली ब्याङ्क्वेटमा आउनुभएको थियो । पुरस्कारको कार्यक्रमको समापनपछि समारोहस्थलबाट डा. दास फेरि सरासर अस्पतालमा नै गएर सुत्नुभयो । भोलिपल्ट हामीले उहाँका कान्छा छोरालाई फोन गरेर सोध्यौँ— ‘गौरी दाइलाई कस्तो छ ?’ अनि गौरी दाइले नै हामीलाई जवाफ दिनुभएको थियो— ‘नइको पुरस्कार थापेपछि मलाई जाती भयो । नइको जय होस् । अब म केही दिनमा नै घर जान्छु ।’
हाम्रो राष्ट्र राजनीतिक रूपले अहिले अधोपतनको अवस्थामा पुगेको छ । यति हुँदाहुँदै पनि हाम्रै समाजमा क्रियाशील रहेका परोपकारी डा. गौरीशङ्करलाल दासजस्ता व्यक्तित्वहरू भइदिनाले हामीले निस्सासिने राजनीतिक प्रदूषणबाट बाँच्न सकिने आधार फेला पारेका छौँ । डा. दासजस्ता चिकित्साजगत्का मनीषी हाम्रो राष्ट्रकै उदाहरणीय उपमा हुनुहुन्छ । उहाँजस्तो व्यक्तित्वले शताब्दी वयलाई नाघ्नु भनेको हामी सम्पूर्ण नेपाली र हाम्रो राष्ट्रकै प्राप्ति हो । तर त्यस प्राप्तिमा नेपाल सरकारको सरोकार नदेखिएकाले हामीलाई धेरै दुःख लागेको छ ।
जनराष्ट्रकवि ईश्वरवल्लभका शब्दका आडमा भन्ने हो भने डा. गौरीशङ्करलाल दास हाम्रो ‘पुरोधा’ हुनुहुन्छ । त्यस्ता वीर पुरुष अथवा भनौँ अग्रणीलाई नइ भावि पुरस्कारबाट सम्मान गर्न पाउँदा नइ एकेडेमी नै गौरवान्वित भएको छ । डा. दासजस्ता ‘पुरोधा’को हामी नइले नै पनि आशीर्वाद पाएका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण