बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सन्दर्भ : बुवाको मुख हेर्ने दिन

बुवाको अस्तु आएको त्यो दिन

शनिबार, ०७ भदौ २०८२, १८ : ३०
शनिबार, ०७ भदौ २०८२

सारांश

  • लेखकले भारतमा बुवाको आत्महत्याबारे फोनबाट थाहा पाएको कुरा उल्लेख गरेकी छिन्।
  • लेखकका बुवाको मृत्युपश्चात, उनको पार्थिव शरीर हेर्न नपाएको पीडा व्यक्त गरेकी छिन्।
  • लेखकले परदेशमा काम गर्न गएका बाबुहरूको कथा लेख्ने र राज्यको ध्यानाकर्षण गराउने कुरा गरेकी छिन्।

२०७३ फागुन १ गते, एक्कासि मेरो फोनको घण्टी बज्यो । स्क्रिनमा एउटा भारतीय अपरिचित नम्बर देखियो । अनौठो आशंकाले मन भारी हुँदै थियो, तैपनि फोन उठाएँ । मैले सोचेँ, बाबाले कलेजको फी पठाउन फोन गर्नुभयो कि ! 

उताबाट आएको एक वाक्य मेरो कानमा होइन, सिधै मुटुमा गएर बज्रियो— तिम्रो बुवाले पासो लगाउनुभयो । यस एउटै वाक्यले मेरो सिङ्गो अस्तित्वलाई हल्लाइदियो, हातबाट फोन भुइँमा खस्यो । मेरो वरिपरिको संसार फनफनी घुम्न थाल्यो । कानमा हावा सुसाएजस्तो अनौठो आवाज गुन्जियो । म त्यहीँ बेहोस भएँछु ।

जब होस खुल्यो, म आफूलाई अस्पतालको बेडमा पाएँ । मेरा साथीहरूले मलाई चारैतिरबाट घेरिरहेका थिए, तर मलाई त्यो सबै कुनै भयानक सपनाजस्तो लागिरहेको थियो । होइन, यो सत्य हुन सक्दैन । मेरो बुवालाई केही हुन सक्दैन— मेरो मनले आफैँलाई सम्झाउन खोजिरहेको थियो । वास्तविकता सपनाभन्दा कैयौँ गुणा कठोर र निर्मम थियो । परदेशमा ‘बहादुर’ भनेर चिनिने मेरो बुवाले घाँटीमा पासो लगाएर यो संसारबाट सधैँका लागि बिदा लिनुभएछ !

यो खबरले मेरो मनमा एकैपटक अनेकौँ प्रश्नका भूकम्प ल्याइदिए । बिरानो मुलुकमा आफ्नो बहादुरी र इमानदारीले परिचित मेरो बुवाले यस्तो कायरतापूर्ण कदम कसरी उठाउन सक्नुभयो ? उहाँलाई त्यस्तो के विवशता आइलाग्यो होला ! कि कतै कसैले उहाँको हत्या गरेर त्यसलाई आत्महत्याको रूप दियो ? आज नौ वर्ष बितिसक्दा पनि यी प्रश्नले मलाई बल्झाउँछन् । आफ्नै देशमा त न्याय पाउन मुस्किल छ । हामीजस्ता निमुखा र गरिबको आवाज त्यो परदेशमा कसले सुनिदिने ? अर्काको देशमा भएको त्यो रहस्यमयी मृत्युको छानबिन हुने कुनै आशा थिएन र भएन पनि । 

सबैभन्दा ठुलो पीडा त मैले उहाँको पार्थिव शरीर समेत हेर्न पाइनँ, घरदेखि हजारौँ किलोमिटर टाढा भारतको बैंगलुरुमै उहाँको अन्येष्टि गरियो । घर आइपुग्यो त एउटा तामाको भाँडोमा बन्द अस्तु । आज बुवाको मुख हेर्ने दिन, यस दिनले मलाई त्यो कालो दिन सम्झाउँछ, जुन दिन बुवाको अस्तु आँगनमा आइपुगेको थियो ।

जसको न्यानो काखमा खेलेर हुर्कियौँ, जसका बलिया औँला समातेर पाइला चाल्न सिक्यौँ, उहाँकै पार्थिव शरीर हेर्न नपाएको पीडा आज म शब्दमा व्यक्त गर्न सक्दिनँ । 

उताबाट आएको एक वाक्य मेरो कानमा होइन, सिधै मुटुमा गएर बज्रियो— तिम्रो बुवाले पासो लगाउनुभयो । यस एउटै वाक्यले मेरो सिङ्गो अस्तित्वलाई हल्लाइदियो, हातबाट फोन भुइँमा खस्यो । मेरो वरिपरिको संसार फनफनी घुम्न थाल्यो । कानमा हावा सुसाएजस्तो अनौठो आवाज गुन्जियो । म त्यहीँ बेहोस भएँछु ।

मेरी आमाले सुनाउनुभएको कथा सम्झन्छु । मेरो बुवा, नयनबहादुर, नौ वर्षको उमेरमा परिवारले उहाँको विवाह गरिदियो । त्यो जमानामा बालबालिकाको विवाह गरे पुण्य कमाइन्छ भन्ने अन्धविश्वास समाजमा गहिरोसँग गढेको थियो । एउटा बालकलाई नयाँ कपडा लगाइदिएर घोडामा चढाएर जन्ती लगियो । मेरी आमा, घन्चु, त्यतिबेला १० वर्षकी हुनुहुन्थ्यो । दुई अबोध बालबालिकालाई पति–पत्नीको नाम दिएर समाजले आफ्नो पुण्य त कमायो, तर उनीहरूको निर्दोष बालपन सदाका लागि खोसिदियो । 

विवाहपछि पनि उनीहरूको जीवनमा खासै परिवर्तन आएन । बुवा स्कुल जानुहुन्थ्यो, आमा घरको काममा जोतिनुहुन्थ्यो । समय बित्दै गयो, उनीहरू किशोर भए । तब मात्र उनीहरूले एकअर्कालाई श्रीमान्–श्रीमतीका रूपमा बुझ्न र माया गर्न थाले । बुवाले आमालाई हरेक काममा सघाउनुहुन्थ्यो । घाँस–दाउरा होस् वा मेलापात— उहाँहरू सधैँ सँगै हुनुहुन्थ्यो । एकातिर उहाँहरूको प्रेम बिस्तारै मौलाउँदै थियो, अर्कोतिर जिम्मेवारीले थिच्दै लग्यो । 

केही वर्षपछि मेरी दिदीको जन्म भयो तर घरमा छोरी जन्मेकामा परिवारका सदस्य त्यति खुसी भएनन् । त्यसैबिच बुवाको एसएलसीको नतिजा आयो । उहाँ एक विषयमा अनुत्तीर्ण हुनुभयो । परीक्षामा असफल हुनुको चोट र घरको आर्थिक अवस्थाको बोझले थिचिनुभएका मेरा बुवाले सुटुक्क भारतको बाटो तताउनुभयो, घरमा कसैलाई केही नभनी गाउँका साथीहरूको लहलहैमा लागेर । 

श्रीमान् अचानक बेपत्ता भएपछि सुत्केरी अवस्थामा रहेकी मेरी आमामाथि कत्रो वज्रपात पर्‍यो होला ! रातभरि श्रीमान्को बाटो हेरेर बस्नुभयो । भोलिपल्ट मात्र गाउँभरि खबर फैलियो— नयन त फेल भएर परदेश भागेछ ।’ 

एकातिर श्रीमान्को विछोडको पीडा, अर्कोतिर सासुका नमिठा वचन । सात दिनकी सुत्केरी आमा अँध्यारो कोठामा छोरीलाई एक्लै छोडेर घाँस काट्न जान बाध्य हुनुभयो । सुत्केरी अवस्थामा चाहिने पोषिलो खानेकुरा र स्याहार मेरी आमाका लागि विलासिताका वस्तु थिए । जति दुःख पाए पनि मेरी आमाले कहिल्यै हार मान्नुभएन । 

केही समयपछि बुवा भारतको नैनीतालबाट घर फर्किनुभयो । परदेशबाट फर्केका श्रीमान्लाई साथमा पाउँदा आमाको खुसीको सीमा रहेन । बुवाले आफ्नै देशमा केही गर्ने अठोटका साथ काठमाडौँ जाने निधो गर्नुभयो । काठमाडौँमा एउटा कपडा बनाउने कम्पनीमा तीन वर्ष काम गर्नुभयो । त्यतिबेलै माइली दिदीको जन्म भयो । त्यो बेला मेरो बाबा एकदमै शान्त र सरल स्वभावको हुनुहुन्थ्यो— मदिरापानबाट टाढा, आफ्नो काम र परिवारप्रति समर्पित । देशको राजधानीमा बस्न–खान पुग्ने काम पाएकामा आमा पनि दंग हुनुहुन्थ्यो । दुई छोरी भए भनेर कुरा काट्ने समाजबाट टाढा, उहाँहरू आफ्नै सानो संसारमा रमाउँदै हुनुहुन्थ्यो तर त्यो खुसी धेरै टिक्न पाएन । परिवारको दबाबमा उहाँहरू फेरि घर फर्कन बाध्य हुनुभयो । घरमा जिम्मेवारी बढ्दै गएका बेला मेरो जन्म भयो । 

हामी हजुरबा–हजुरआमाबाट अलग भएका थियौँ । खानलाई यतिसम्म अभाव थियो कि बारीका कलिला मकैका घोँगाले समेत पेट भर्नुपरेको थियो । म गर्भमा हुँदा मेरी माइली दिदी भाइको आशामा थिइन् रे । म जन्मेपछि ‘यो फेरि किन जन्मिई, हामीलाई दुःख दिन !’ भन्दै डाँको छोडेर रोइन् रे । परिवारको बढ्दो आवश्यकता र ऋणको बोझले थिचिएर बुवा फेरि भारत जान बाध्य हुनुभयो । 

आज म धनगढीमा बसेर सुदूरपश्चिमका कथा लेख्छु । विशेष गरी मेरो बुवाजस्तै सीमा काटेर बिदेसिन बाध्य हजारौँ बाबाको कथा लेख्छु । हरेकपटक जब म कुनै ‘परदेशी’को कथा लेख्न बस्छु, मेरो हात काँप्छ, छाती पोल्छ र हरेक कथामा म आफ्नै बुवाको अनुहार देख्छु ।

यसपछि उहाँको जीवनको लामो अध्याय परदेशमै बित्यो । परिवारको पेट पाल्न र हाम्रो भविष्य सुन्दर बनाउन उहाँले के मात्र गर्नुभएन ! केदारनाथको हिउँजस्तो चिसोमा भारी बोक्दा होस् वा बैंगलुरुको आगो ओकल्ने गर्मीमा सेक्युरिटी गार्डको ड्युटी गर्दा होस्— उहाँले मनमा सधैँ हामीलाई राख्नुभयो । हाम्रा रहर र सपना पूरा गर्न उहाँले चुकाएको मूल्य निकै महँगो थियो । 

परदेशको एक्लोपन, परिवारको याद र दिनभरिको थकान भुलाउन उहाँले रक्सीलाई साथी बनाउनुभएछ । सायद रक्सीको नशामा उहाँ आफ्नो पीडा बिर्सन खोज्नुहुन्थ्यो तर त्यो नशाले उहाँको स्वास्थ्य र कमाइ दुवै खाइदियो । 

हामीले कहिल्यै उहाँको न्यानो काखको पूर्ण अनुभव गर्न पाएनौँ । चाडपर्वमा सबैका बुवा घर आउँदा हाम्रो आँगन सधैँ सुनसान हुन्थ्यो । आमाले एक्लै खेतबारी सम्हाल्नुभयो, हामीलाई हुर्काउनुभयो, पढाउनुभयो । उहाँले बुवा र आमा दुवैको भूमिका एक्लै निभाउनुभयो ।

बुवा बितेपछि आमाको आकाशमाथि लागेको बादललाई मैले महसुस गर्न सक्थेँ । यद्यपि उहाँले कहिल्यै आफ्नो दुःख हामीलाई देखाउनुहुन्न, कहिलेकाहीँ रातमा निदाउन नसकेर कोल्टे फेरिरहेको देख्छु र उहाँको मनभित्रको आँधीलाई म अन्दाज लगाउँछु ।

अभाव र ऋणले गर्दा बुवा बिदेसिन बाध्य हुनुभएको थियो । केही समयपछि बाबाले आमा र भाइलाई आफूसँगै भारत लानुभयो । सबै ऋण तिरेर सुखी जीवन बिताउने हाम्रो सपना थियो तर बाबाको रक्सीको लत छुटाउने आमाका अनेकौँ प्रयास असफल भए । आफ्नो उदार हृदयका कारण उहाँले कमाएको धेरैजसो पैसा साथीभाइलाई रक्सी खुवाउँदैमा सकिन्थ्यो । 

खै कुन चोटले हो वा कुन षडयन्त्रले हो, ४८ वर्षकै उमेरमा बाको घाँटीमा पासो पर्न पुग्यो । त्यो खबर आएको क्षण र अस्तु आएको दिन सम्झँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । 

बिस्तारै मैले आफूलाई सम्हालेँ र पत्रकारितालाई आफ्नो कर्मक्षेत्र बनाएँ । आज म धनगढीमा बसेर सुदूरपश्चिमका कथा लेख्छु । विशेष गरी मेरो बुवाजस्तै सीमा काटेर बिदेसिन बाध्य हजारौँ बाबाको कथा लेख्छु । हरेकपटक जब म कुनै ‘परदेशी’को कथा लेख्न बस्छु, मेरो हात काँप्छ, छाती पोल्छ र हरेक कथामा म आफ्नै बुवाको अनुहार देख्छु । हरेक पात्रको पीडामा म आफ्नै परिवारको व्यथा महसुस गर्छु । 

मेरो बुवाले जस्तो नियति अरू कसैको बुवाले भोग्नु नपरोस् भन्ने मेरो एक मात्र चाहना हो । म चाहन्छु, सरकारले देशमै यस्तो वातावरण बनाओस् कि कोही पेटकै लागि अवसर खोज्दै बिदेसिन नपरोस् । 

बुवा ! तपाईं हामीबाट भौतिक रूपमा टाढा हुनुहुन्छ, तर तपाईंको याद र तपाईंले सिकाएको इमानदारीको बाटो सधैँ हामीसँग छ । तपाईंले भन्नुहुन्थ्यो, ‘छोरी ! जति दुःख आए पनि कहिल्यै इमान नबेच्नु । म त्यही बाटोमा हिँड्ने प्रयास गरिरहेकी छु तर तपाईंको अभाव हरेक पाइलामा खट्किन्छ । कहिलेकाहीँ जीवनको दौडमा थाकेर लड्दा तपाईंको आश्वासनको आड लिएर उठ्न मन लाग्छ, तर यो त मेरो एक अतृप्त इच्छा मात्र हो । 

आज बुवाको मुख हेर्ने दिन, म तपाईंलाई सम्झेर यी शब्दहरू कोरिरहेकी छु । यो देशको अवस्थाले गर्दा परिवारबाट बिछोडिएर परदेशमा बिलाउन बाध्य लाखौँ नेपालीको कथामा राज्यको नजर कहिले पर्ने ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप