बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेलमा रहेका रनिल विक्रमासिङ्घेलाई श्रीलङ्काका पूर्व राष्ट्रपतिहरूको समर्थन

सोमबार, ०९ भदौ २०८२, ०१ : ३४
सोमबार, ०९ भदौ २०८२

सारांश

  • श्रीलङ्काका पूर्वराष्ट्रपतिहरूले जेलमा रहेका पूर्व नेता रनिल विक्रमासिङ्घेसँग एकता प्रकट गर्दै उनको कारावासलाई लोकतन्त्रविरुद्धको आक्रमण भनेका छन्।
  • विक्रमासिङ्घेलाई ५५ हजार डलर खर्च गरेको आरोपमा हिरासतमा लिइएको थियो र उनी गम्भीर स्वास्थ्य समस्याबाट पीडित छन्।
  • पूर्वराष्ट्रपति मैत्रिपाला सिरिसेनाले विक्रमासिङ्घेलाई दिइएको जेल सजायलाई 'डाइन सिकार' को रूपमा चित्रण गरे।

कोलम्बो । श्रीलङ्काकाका तीन पूर्वराष्ट्रपतिले आइतबार जेलमा रहेका पूर्व नेता रनिल विक्रमासिङ्घेसँग एकता प्रकट गरेका छन् । उनीहरूले विक्रमासिङ्घेको कारावासलाई लोकतन्त्रविरुद्धको ‘सुनियोजित आक्रमण’ भन्दै निन्दा गरेका हुन् ।

सन् २०२२ जुलाईदेखि सन् २०२४ सेप्टेम्बरसम्म राष्ट्रपति रहेका विक्रमासिङ्घेविरुद्धका आरोपहरू निरर्थक भएको पूर्व राजनीतिक प्रतिद्वन्द्वीहरूले बताए ।

सन् २०२३ सेप्टेम्बरमा हवाना भएको जी–७७ शिखर सम्मेलन र न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घीय महासभापछि घर फर्कने क्रममा बेलायतमा रोकिएको बेला ५५ हजार डलर खर्च गरेको आरोप उनीमाथि लगाइएको छ ।

छयहत्तर वर्षीय विक्रमासिङ्घेलाई हिरासतमा लिएको भोलिपल्ट शनिबार कोलम्बोको मुख्य सरकारी अस्पतालको सघन उपचार कक्षमा सारिएको थियो ।

चिकित्सकहरूका अनुसार उनी गम्भीर डिहाइड्रेसनका साथै तीव्र मधुमेह र उच्च रक्तचापबाट पीडित छन् ।

“हामीले देखिरहेको अवस्था हाम्रो लोकतान्त्रिक मूल्यप्रति गरिएको योजनाबद्ध आक्रमण हो”, पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुङ्गाले एक विज्ञप्तिमा भनिन् ।

असी वर्षीया कुमारातुङ्गाले विक्रमसिङ्घेलाई जेलमा हाल्नु केवल एक व्यक्तिको भाग्यसँग सीमित नभई सम्पूर्ण नागरिक अधिकारमाथि प्रहार भएको बताइन्।

“यस किसिमका प्रयासहरूको प्रतिरोध गर्नु सबै राजनीतिक नेताको कर्तव्य हो र म यस कार्यको विरोधमा पूर्ण हृदयले जोड दिन्छु”, उनले भनिन् ।

कुमारातुङ्गाका उत्तराधिकारी ७९ वर्षीय महिन्दा राजापाक्षले पनि विक्रमसिङ्घेसँग ऐक्यबद्धता जनाए । उनले कुमारातुङ्गालाई सघन उपचार कक्षमा सारिनुअघि शनिबार जेलमै भेट गरेका थिए ।  विक्रमसिङ्घेलाई सन् २०१८ अक्टोबरमा प्रधानमन्त्री पदबाट बर्खास्त गरेका ७३ वर्षीय मैत्रिपाला सिरिसेनाले पनि उनलाई दिइएको जेल सजायलाई ‘डाइन सिकार’ का रूपमा चित्रण गरे ।

“हामीले देखिरहेको कुरा भनेको नयाँ सरकारका विरोधीहरूलाई चुप गराउने व्यवस्थित अभियान हो”, सिरिसेनाले भने, “उनीहरूले लोकतन्त्रलाई गाड्ने कफिनलाई पालिस लगाइरहेका छन् ।”

विक्रमासिङ्घेको आफ्नै युनाइटेड नेसनल पार्टी (युएनपी) ले पनि शनिबार विज्ञप्ति जारी गर्दै उनको पुनरागमन हुनसक्ने डरले मुद्दा लगाइएको विश्वास व्यक्त गरेको छ ।

गत सेप्टेम्बरमा उनले अनुरा कुमार दिसानायकेसँग राष्ट्रपति चुनाव हारेका थिए । कुनै निर्वाचित पद नभए पनि उनी अझै राजनीतिक रूपमा सक्रिय छन् ।

सन् २०२२ मा देशले सामना गरेको सबैभन्दा खराब आर्थिक मन्दीबाट निस्केपछि भएको भ्रष्टाचारविरुद्धको अभियानकै क्रममा दिसानायकेले उनलाई पक्राउ गराएको बताइन्छ । 

विक्रमासिङ्घेले भने आफ्नी पत्नीको बेलायत भ्रमण खर्च व्यक्तिगत रूपमा व्यहोरेको र राज्य कोष प्रयोग नगरेको दाबी गरेका छन् ।

सन् २०२२ जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले आर्थिक सङ्कटका कारण महिनौँ लामो सडक प्रदर्शनपछि पदत्याग गरेपछि विक्रमासिङ्घे राष्ट्रपति बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप