शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कवाडी आन्दोलन

कवाड व्यवसाय रोक्ने बालेनको नीति कि ज्यादती ?

सोमबार, ०९ भदौ २०८२, १९ : ००
सोमबार, ०९ भदौ २०८२

काठमाडौं । कवाडी व्यवसायीहरुले सोमबार काठमाडौँ महानगरपालिकाको कार्यालय काठमाडौँ प्लाजा घेरे । मेयर बालेन शाहको ‘दादागिरी’ भन्दै उनीविरुद्ध नाराबाजी गरे । कवाडी व्यवसायीहरुको आरोप छ- ‘महानगरपालिकाले आफ्नो व्यवसायमाथि निरन्तर दमन गर्‍यो ।‘ 

महानगर प्रहरीले व्यवसायी तथा संकलक मजदुरहरूमाथि कुटपिट गर्ने, सामान जफत गर्ने, संरचना भत्काउने र शारीरिक तथा मानसिक चोट पुर्‍याउने कार्य गरेको आन्दोलनको नेतृत्व गरिरहेको कवाडी व्यवसायी समाजको आरोप छ । 

‘महानगर प्रहरीको कुटपिटले कवाडी संकलक र मजदुरको टाउको फुट्ने, अङ्गभङ्ग हुने र मानसिक त्रास सिर्जना हुने घटना बारम्बार दोहोरिँदै आएको छ’, समाजका अध्यक्ष रामकेवल गुप्ता भन्छन् । मेयर बालेनले गरिब, श्रमिक र साना व्यवसायीलाई नियोजित रूपमै काठमाडौँबाट हटाउन खोजेको उनले आरोप लगाएका छन् । 

कवाडी मजदुर र व्यवसायीहरुमाथि भइरहेका कुटपिट, अपहरण र उनीहरुका संरचना भत्काउने जस्ता कार्य तत्काल रोक्न समाजले माग गरेको छ । यस्तो कार्यमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने र व्यवसायी तथा मजदुरको जिउधनको सुरक्षाका लागि सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने माग छ । 

पुरानै लडाइँ 

काठमाडौं महानगरपालिका विरुद्ध कवाडी व्यवसायी आन्दोलनमा उत्रिएको पहिलोपटक होइन । २०८०  फागुन २० गते काठमाडौँ महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएपछि विरोधमा कवाड संकलक र व्यवसायीले प्रदर्शन गरेका थिए । सुन्धाराबाट र्‍याली निकालेका उनीहरुले महानगरपालिकाको तत्कालीन कार्यालय राष्ट्रियसभा गृहबाहिर प्रदर्शन र नाराबाजी गरेका थिए । त्यसअघि  महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै कवाड संकलन केन्द्रहरुमा डोजर चलाउन सुरु गरेको थियो ।

महानगरको उक्त कदमको विरोधमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र स्वतन्त्र सांसद अमेरशकुमार सिंहले संसद्मा आवाज उठाउँदै आएका थिए ।  कवाडी व्यवसायीहरुको संकलन केन्द्रमा महानगर प्रहरीले डोजर चलाउन थालेपछि यो विषय सर्वोच्च अदालत समेत पुग्यो । 

तर सर्वोच्चले कवाडी व्यवसायीको रिट खारेज गर्‍यो । २०८०  चैत २ गते काठमाडौँ महानगरपालिका वडा  नम्बर १० र २६ ले आफ्नो क्षेत्रमा कवाडी संकलन केन्द्र, भण्डार तथा प्रशोधन राख्न नपाउने भन्दै निकालेको सूचनाविरुद्ध कवाडी व्यवसायीले हालेको रिट खारेज भएको छ । महानगरपालिका–१० नम्बर वडाले ३५ दिनभित्र र वडा नम्बर २६ ले १५ दिनभित्र वडाभित्र रहेका कवाडी व्यवसाय हट्नुपर्ने, संकलन तथा प्रशोधन गर्ने स्थान राख्न नपाउने सूचना जारी गरेको थियो । उक्त सूचनाविरुद्ध ओम शिवाय कवाडी इन्टरनेसनल प्रालिका सञ्चालक जोगेन्द्र साह, जयशंकर बाबा ट्रेडर्सका प्रोप्राइटर रविशंकर प्रसादले उच्च अदालत पाटनमा हालेको रिट खारेज भएको थियो । 

दुईवटा वडाविरुद्धको रिट खारेज भएपछि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले वडाले निकालेको सूचनाको आधारमा आक्रामक रुपमा कवाडी संकलन केन्द्र हटाउन थाल्यो । २०८१  माघ  २७ गते काठमाडौंको टेकुमा कवाडी व्यवसायी र नगर प्रहरीबीच झडपको स्थिति सिर्जना भएको  थियो । झडपको क्रममा दुवै पक्ष गरी ५ जना घाइते भएका थिए, घाइते हुनेमा तीनजना कवाड व्यवसायी थिए । दुईजना नगर प्रहरी रहेका थिए । 

कवाडी गोदाम हटाउन पुगेको काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको थियो ।  त्यो बेलामा पनि सडकदेखि संसद्सम्म काठमाडौँ महानगरपालिका र कवाडी व्यवसायीहरुको झगडा आमनेसामने देखियो । तर पनि काठमाडौ महानगरपालिका कवाडी व्यवसायीको संकलन केन्द्रमा डोजर लगाउन छोडेन भने कवाडी व्यवसायीहरुले संकलन गर्न छोडेनन् ।    

के हो महानगरको नीति  ? 

काठमाडौँ महानगरपालिकाले आवासीय क्षेत्र बाहेक स्थानमा मात्रै कवाडी संकलन केन्द्रको रुपमा व्याख्या गरिरहेको छ । महानगरले २०८१ कात्तिक ३० गते जारी गरेको सूचनामा भनिएको छ- ‘काठमाडौँ महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता/नवीकरण गर्ने सम्बन्धमा महानगरको आर्थिक ऐन, २०५१ मा कवाडी संकलन केन्द्र (आवासीय क्षेत्रबाहेक) भन्ने व्यवस्था भएको हुँदा चालु आव २०८१/८२ देखि महानगर क्षेत्रभित्रका आवासीय केन्द्रमा दर्ता/नवीकरण नहुने र आवासीय क्षेत्र बाहेक मात्र दर्ता/नवीकरण हुने हुँदा सोही अनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्न महानगरभित्रका सम्पूर्ण कवाडी व्यवसायीलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

Kathmandu Notice1

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्, ‘हामीले वडाबाट आएको गुनासोको आधारमा डोजर चलाइरहेका हौं । वडाका जनप्रतिनिधिहरुले असुरक्षा बढेको, चोरी, आगलागी भएको घटना भएको भन्दै ऐन विपरीत हट्न भनिरहेका छौं । हामीले सोही अनुसार काम गरिरहेको हो,’ उनले भने । कवाडी व्यवसायीहरुलाई पटक-पटक हट्न आग्रह गर्दा अटेर गरेको भन्दै कहिलेकाहीँ आत्मसुरक्षा गर्दा झडपको स्थिति आएको भन्दै कवाडी व्यवसायीलाई दमन गरेको कुरा अस्वीकार गरे ।    

दमनको प्रतिकार हुन्छ

कवाडी व्यवसायीका अगुवा सञ्जय साह कलवार अहिले काठमाडौं महानगरको गतिविधिले आफूहरुमाथि अन्याय भइरहेको बताउँछन् । काठमाडौं महानगरभित्र मात्रै कवाडी संकलक, ढुवानीकर्ता गरी एक लाखले रोजगार पाएको भन्दै उनी मेयर शाहले कुरै नसुनेको आरोप लगाउँछन् । मेयर शाह छलफलका लागि तयार हुनुपर्ने उनी बताउँछन् । 

कवाडी व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ता काठमाडौंमा घरघरमा गएर सफाइको काम गर्ने कवाडी मजदुरहरुलाई दमन गरिएको आरोप लगाउँछन् । 

समाजका अनुसार काठमाडौं महानगरभित्र ८०० बढी संकलन केन्द्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप