शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इजरायली सेना प्रमुखले भने- हमाससँग सम्झौता गर्नुपर्छ

सोमबार, ०९ भदौ २०८२, २० : ३५
सोमबार, ०९ भदौ २०८२

सारांश

  • इजरायलका सेना प्रमुखले गाजामा रहेका बन्धकहरूको रिहाइका लागि सम्झौताका सर्तहरू तयार भएको बताएका छन्।
  • प्रधानमन्त्री नेतान्याहू सबै बन्धकहरूलाई एकैसाथ रिहा गर्ने सम्झौता मात्र स्वीकार्ने अडानमा छन्।
  • गाजामा युद्धका कारण १० लाख मानिस विस्थापित भएका छन्, तर नेतान्याहूले समयसीमा दिएका छैनन्।
00:00 / NaN:NaN
Audio By AI

तेल अभिभ । इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइका लागि सम्झौताका सर्तहरू तयार भएको बताएका छन्। इजरायली मिडिया च्यानल १३ का अनुसार अब अन्तिम निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको हातमा छ।

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले मंगलबार कतार र इजिप्टले प्रस्तुत गरेको प्रस्तावमा छलफल गर्ने कार्यक्रम तय गरेको छ। यो प्रस्ताव एक साताअघि नै हमासले स्वीकृत गरिसकेको थियो।

यसअघि तेल अविभमा भएको विशाल विरोध प्रदर्शनमा लाखौँ मानिसले युद्ध तुरुन्त रोक्न र बाँकी बन्धकहरूको रिहाइका लागि सरकारसँग सम्झौता गर्न माग गरेका थिए। बन्धक तथा बेपत्ता व्यक्तिहरूको संयुक्त मञ्चले सेना प्रमुखको भनाइलाई स्वागत गर्दै भनेको छ, ‘विवेकले बहुसंख्यक इजरायलीहरूको मागलाई समर्थन गर्छ: जीवित (लगभग २०) बन्धकहरूको रिहाइ र युद्धको अन्त्य।’ मञ्चले मंगलबार सरकारविरुद्ध फेरि ठूलो प्रदर्शन गर्ने तयारी पनि गरेको छ।

इजिप्ट र कतारी मध्यस्थकर्ताहरूको पछिल्लो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुन महिनामा प्रस्तुत गरेको प्रारूपमा आधारित रहेको बताइएको छ। यसअनुसार, हमासले प्रारम्भिक ६० दिने युद्धविराम अवधिमा दुई चरणमा आधा बन्धकहरूलाई रिहा गर्नेछ, साथै स्थायी युद्धविरामबारे पनि वार्ता अघि बढाइनेछ।

तर प्रधानमन्त्री नेतान्याहू भने सबै बन्धकहरूलाई एकैसाथ रिहा गर्ने सम्झौता मात्र स्वीकार गर्ने अडानमा छन्। उनले बारम्बार ‘हमासलाई पराजित गर्ने’ वाचा गर्दै आएका छन्।

इजरायली सेना प्रमुख जामिरले भने नेतान्याहूको यो रणनीतिप्रति असहमति जनाएका छन्। उनका अनुसार, गाजा शहर कब्जा गर्ने योजना बन्धकहरूको जीवनलाई खतरामा पार्नेछ र थकित इजरायली सेना गाजामा फसाउनेछ।

युद्धका कारण गाजा शहरबाट करिब १० लाख मानिस विस्थापित भई दक्षिणतर्फका शिविरहरूमा धकेलिएका छन्। तर नेतान्याहूले इजरायली सेना कहिले गाजा शहरमा प्रवेश गर्ने भन्नेबारे कुनै समयसीमा भने दिएका छैनन्।

इजरायली मिडियाका अनुसार, नेतान्याहू अक्टोबर ७ को दिन गाजा कब्जा गर्ने सोचमा छन्—त्यही दिन, जसमा दुई वर्षअघि हमासले इजरायलमा आक्रमण गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप