‘तिजमा दरको नाममा विकृति भित्रियो, व्रत सधैँ बस्छु’
काठमाडौँ । राधिका हमाल लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायिका हुन् । हरेक तिजमा उनी नयाँ गीत ल्याउँछिन् ।
तिजका अवसरमा हुने सांगीतिक कार्यक्रमका लागि उनी देशदेखि विदेशसम्म पुग्छिन् ।
सनातन धर्ममा आस्थावान गायिका हमालसँग तिज व्रत र सांगीतिक विषयमा रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानीको सम्पादित अंश :
तिज कस्तो भइरहेको छ ?
एकदमै रमाइलोसँग मनाइरहेकी छु, केही तिजका कार्यक्रममा सहभागी भएँ । गत साउन १ गतेदेखि पशुपति क्षेत्रमा आयोजित विराट ज्ञान महायज्ञमा पनि व्यस्त छु । म त्यस महायज्ञको कलाकार संयोजक भएकाले साउनदेखि नै मेरो व्यस्तता बढेको हो । यो महायज्ञ भदौ २१ गतेसम्म चल्नेछ ।
यसपालि माइत जान पाउनुभएन ?
म तिजमा प्रायः माइत जाँदिनँ, यसपटक पनि गइनँ । विगत वर्षहरूमा मेरो तिज विदेशमा हुने सांगीतिक कार्यक्रममै बित्थ्यो । यस वर्ष पनि जापान, जर्मनी लगायत देशबाट कार्यक्रमको प्रस्ताव आएको थियो, तर मैले स्वीकार गरिनँ । किनकि अहिले म पशुपतिमा चलिरहेको ठुलो धर्म महायज्ञमा संलग्न छु र मेरो लागि धर्मभन्दा ठुलो अरू केही लागेन । एउटा महत्त्वपूर्ण जिम्मेवारी लिइसकेपछि त्यसलाई पूर्ण रूपमा निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
आज व्रतको दिन के–के गर्दै हुनुहुन्छ ?
आज व्रतको दिन म दिनभर नै पशुपति क्षेत्रमा हुनेछु । बिहानैदेखि महायज्ञमा कलाकारहरू आइरहनुभएको छ, यो क्रम साँझसम्मै जारी रहनेछ । मेरो दिन त्यहाँ कलाकारहरूको व्यवस्थापन गर्नेदेखि लिएर उपस्थित भक्तजनलाई गीत-सङ्गीतमा नचाउने र नाच्ने काममा बित्नेछ । आजको दिन पशुपतिमा धर्मकर्ममा बिताउन पाउनु नै मेरा लागि ठुलो कुरा हो ।
व्रत बस्नुभएको छ कि छैन ?
तिजको व्रत म पहिलेदेखि नै बस्दै आएकी छु र आज पनि बसेकी छु । यसपटकको व्रत मेरा लागि झनै विशेष छ, किनभने पशुपतिमा जारी महायज्ञका कारण मैले साउन महिनादेखि नै चामल खान छाडेकी छु । व्रत बस्नु स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ भन्ने मलाई लाग्छ ।
कसरी व्रत बस्नुहुन्छ ?
तिजको व्रतमा कतिपय महिला दिदीबहिनी तथा आमाहरू पानी समेत नपिई बस्ने गर्नुहुन्छ, तर म त्यसो गर्दिनँ । म सबैलाई अनुरोध पनि गर्छु, तपाईंहरू पानी पनि नखाई कडा व्रत बस्नुहुन्छ भने कृपया त्यसो नगर्नुहोला । आफ्नो शरीरलाई सहज र सजिलो हुने गरी व्रत बस्नुहोला ।
तपाईंले तिजको व्रत कहिलेदेखि बस्न थाल्नुभयो ?
अलिअलि बुझ्ने भएदेखि नै आमाहरूले व्रत बसेको देखेर रहरले बस्न थालेकी थिएँ । त्यो क्रम आजसम्म पनि निरन्तर छ ।
किन बस्नुहुन्छ तिजको व्रत ?
पहिले त राम्रो र असल श्रीमान् (पति) पाइयोस् भन्ने कामनाले व्रत बसिन्थ्यो, हामीभन्दा अग्रजले सिकाउनुभएको पनि त्यही हो । अहिले कारण र चलन जे भए पनि व्रत बस्नु स्वास्थ्यका लागि निकै राम्रो रहेछ, तर पानी नै नपिई बस्नु चाहिँ स्वास्थ्यका लागि हानिकारक हो । व्रतमा पानी पिउनु राम्रो हुन्छ । म त हप्ताको एक दिन व्रत बस्दा शरीरलाई फाइदा हुन्छ भन्छु ।
अर्को कुरा तिजमा व्रत बस्नु र नाचगान गर्नु हाम्रो मौलिक कला–संस्कृति हो । यसलाई जोगाइराख्न पनि निरन्तरता दिनुपर्छ ।
पछिल्लो समय तिज र दर खाने चलन फेसन जस्तो भयो भन्ने छ नि ?
यो साँचो कुरा हो, तर यो हाम्रो संस्कृति होइन । तिजको संस्कृतिभित्र गहिरो मर्म लुकेको छ । हाम्रा अग्रजहरूले यसलाई त्यसै निरन्तरता दिनुभएको होइन । तर पछिल्लो पुस्ताले महिना दिनअघिबाट दर खाने नाममा यसमा विकृति र विसङ्गति भित्र्याइरहेको देखिन्छ । मेरो विचारमा तिजको दर खाने भनेको व्रतको अघिल्लो दिन, एक दिन मात्रै हो । तर अहिलेको व्यस्ततामा त्यतिले नभ्याउने अवस्था पनि छ ।
दर खाने अहिलेको ट्रेन्डलाई के भन्नुहुन्छ ?
यस विषयमा मेरो दुईवटा धारणा छ । पहिलो, एक दिन मात्र दर खाँदा सबै आफन्त, साथीभाइलाई भेट्न भ्याइँदैन । चेलीबेटी, दिदीबहिनी, दाजुभाइ, माइती–मावली, साथी–सङ्गी सबैलाई समेट्नुपर्ने हुन्छ । देश–विदेशमा रहेकाहरूसँग भेटघाटको वातावरण मिलाउँदा एक दिन अपुग हुने भएकाले केही समय अगाडिदेखि मनाउनु स्वाभाविक लाग्न सक्छ ।
तर महिनौँ अगाडिदेखि मनाउँदा यसको महत्त्व घट्छ । मानिसहरूले बाह्रै महिना मनाउलान् भन्ने डर हुन थालिसक्यो । तिजको नाममा एक महिनाअघि भन्दा पनि एक साताअघिदेखि दर खानुलाई स्वाभाविक मान्न सकिएला ।
दरको बहानामा मदिरा सेवन गर्ने, होहल्ला गर्ने प्रवृत्ति पनि बढ्यो नि ?
यस्तो कार्य गर्नु हुँदैन । यद्यपि, यस्तो गर्न चाहनेहरूले तिजको नाम नभए पनि गरिरहेकै हुन्छन् । म तिजलाई संस्कृतिको रूपमा मनाएर उत्सवका साथ सेलिब्रेसन गर्नुपर्छ भन्छु । किनभने यो संस्कृतिलाई आगामी पुस्तासम्म पुर्याउने कर्तव्य हाम्रो हो । त्यसैले अघिल्लो पुस्ताले जसरी मनाउँथ्यो, हामीले पनि त्यसरी नै हस्तान्तरण गर्नुपर्छ ।
गीत-सङ्गीतका कारण पनि तिज महत्त्वपूर्ण मानिन्छ । तपाईं हरेक वर्ष तिजका गीत ल्याउनुहुन्छ, यो पटक कतिवटा ल्याउनुभयो ?
मैले आफ्नै लगानीमा ‘पाँच जोडा’ बोलको एउटा तिज गीत ल्याएँ । अरूको गीत गाएको कुरा गर्दा एक दर्जनभन्दा बढी गीतमा स्वर दिएकी छु ।
अचेल तिजका गीत किन यति धेरै आउँछन् ?
पहिला कलाकार र रेकर्डिङ स्टुडियो कम थिए, गीत गाउन र रेकर्ड गर्न गाह्रो थियो । अहिले प्रविधिको विकासले कलाकार पनि बढाएको छ । सबै कलाकारले एक–एकवटा गीत ल्याउँदा पनि धेरै देखिन्छ । कोही पहिलो पटक ल्याउँछन्, कोही निरन्तरताका लागि निकाल्छन्, कोही व्यवसायका लागि गर्छन् । सबैले गीत बनाउन थालेपछि सङ्ख्या त बढ्ने नै भयो । अर्को कुरा तिज गीतका कारण छोटो समयमै बजारमा ‘क्लिक’ हुन पाइन्छ भन्ने सोच पनि छ ।
अनि यसरी निकालिएका सबै गीतले लगानी उठाउलान् त ?
मेरो विचारमा तिजमा मात्र होइन, अन्य समयमा पनि बजारमा आउने गीतमध्ये मुस्किलले १० प्रतिशतले मात्रै लगानी उठाउँछन् । बाँकी ९० प्रतिशतको लगानी डुब्ने नै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण