बालुवाटारमा ओलीको ब्रिफिङ : विद्या, ईश्वर, रवि र राजेन्द्रको उछितो
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनाप्रति असन्तुष्टि जनाए।
- ओलीले भण्डारी पार्टी अध्यक्ष बन्न नसक्ने र चुनाव हारेको समेत दाबी गर्दै पार्टीभित्रको कचिङ्गबारे ब्रिफिङ गरे।
- ओलीले रवि लामिछाने र राजेन्द्र लिङ्देनको समेत आलोचना गर्दै आगामी विधान महाधिवेशनबारे चेतावनी दिए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको कचिङ्गले सताएको छ । आफ्नो चाहना विपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने चुनौती दिएपछि ओली दैनिकजसो प्रस्टीकरण दिइरहेका छन् ।
आगामी विधान महाधिवेशनको सँघारमा पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षधरका गतिविधि नरोकिएपछि बुधबार एमाले अध्यक्ष ओलीले काठमाडौँका महाधिवेशन प्रतिनिधिहरूलाई बालुवाटार बोलाएर साढे २ घण्टा ब्रिफिङ गरे । त्यसक्रममा उनले एमालेमा आफूलाई चुनौती दिनसक्ने विद्या भण्डारीबाहेक कोही नभएको भन्दै भण्डारीमा पार्टी हाँक्ने अनुभव नभएको सुनाए ।
अध्यक्ष ओलीले विद्या भण्डारी पार्टी अध्यक्ष बन्न नसक्ने तथा चुनाव भए हार्नेसमेत दाबी गरे ।
बालुवाटारमा ओलीले गरेका ब्रिफिङका बुँदालाई एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । निरौलाका अनुसार २०५४ सालमा वामदेव गौतमले पार्टी फुटाएको घटनाबाट कुराकानी सुरु गरेका ओलीले ‘गौतमले बाटो नबिराएको भए त्यसैवेला एमालेको दुई तिहाइ मत आउने’ दाबी गरे । ओलीले आफ्नो ब्रिफिङको अधिकांश समय पूर्व राष्ट्रपति भण्डारीका नाममा खर्चेका थिए ।
‘हाल केहीले पूर्वराष्ट्रपतिको फोटो राखेर धन्दा गरिराछन्’, ओलीले भनेका छन्, ‘च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन । पार्टीमा निवेदन दिनुभएको छैन ।’
भण्डारीले सदस्यता लिने प्रक्रिया नै नमिलेको ओलीले तर्क गरेका छन् । त्यसक्रमा आफूले भण्डारीलाई केही समय पहिला बालुबाटारमा बोलाए पनि नआएपछि पार्टी कार्यालयमै गएर भेटेको ओलीले बताए ।
‘उहाँको सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ । पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुन्न’, ओलीले आफू र भण्डारीबिच भएको सम्वादसमेत उद्धृत गरेका छन् ।
‘मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो’, विद्याको भनाइ उद्धृत गर्दै ओलीले बालुवाटारमा भनेका थिए, ‘मैले भ्रममा नरहन भनेँ । तपाईंको अनुभव छैन भनेँ ।’
भण्डारीले आफू चुनाव लड्न तयार रहेको बताएपछि आफूले यो पार्टीमा चुनाव लड्नु पर्दैन भनेको पनि ओलीले ब्रिफिङ गरे । ‘पूर्वराष्ट्रपति भएको व्यक्तिले अशोभनीय गतिविधि गर्नुभएन, पार्टीका पक्षमा नबोलेकाहरूलाई भेला गरेर हिँड्नु भएको छ । चक्रपथमा मलाई जथाभाबी लेखाउने काम भयो’, भण्डारीप्रति ओलीले कटाक्ष गरे ।
अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेशन पनि आफूले खोलेको भन्दै राष्ट्रपति बनाएर ‘राजमाता’ बनाउन आफूले विद्यालाई अघि सारेको बताएका छन् ।
ओलीले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) परिवारको सम्पत्ति नभएको भन्दै फाउन्डेशनले जबज बचाउन नसक्ने समेत बताए ।
अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका गतिविधिप्रति पनि आलोचना गरे । ‘ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ र ! बाटो बिराएर हिँड्नु भएन ।’
ओलीको भनाइ उद्धृत गर्दै नेता निरौलाले लेखेका छन्, ‘अभागीलाई खाने बेलामा रिस उठ्छ ।’
त्यस्तै उनले मोरङका नेता विनोद ढकालको कित्ता परिवर्तनको पनि चर्चा गरेका छन् । ‘विनोद ढकाल नवौँ महाधिवेशनमा मलाई सहयोग गर्ने प्रमुख पात्र हुन्’, ओलीले भनेका छन्, ‘विधानबारे कर्ण थापाले गलत कुरा गरेका हुन् ।’
अध्यक्ष ओलीले दोस्रो विधान महाधिवेशन एकताको महाधिवेशन हुने भन्दै कसैले अन्यथा गरे सोही महाधिवेशनमा हिसाब किताब गरिने चेतावनी दिए ।
प्रधानमन्त्री समेत रहेका ओलीले रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको पनि आलोचना गरेका छन् । ‘रवि लामिछानेलाई मैले मन्त्री बनाएको हो’, ओलीले भनेका छन्, ‘राजेन्द्र लिङदेनले अब झापामा चुनाव जितेको हेरौँ न ! हिजो पो हामीले सहयोग गरेका थियौँ र जितेका थिए’, ओलीको भनाइ छ ।
स्मरण रहोस्, ओलीले बुधबार काठमाडौँका सबै केन्द्रीय सदस्यलाई बालुवाटार बोलाए पनि थोरैमात्र पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण