शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : नेपालमा आर्थिक अपराध

आर्थिक अपराध : बदलिँदो आपराधिक प्रवृत्ति

बिहीबार, १२ भदौ २०८२, १० : ०४
बिहीबार, १२ भदौ २०८२

सारांश

  • उच्च पदस्थहरूसँग पहुँच भएका कविराज कटुवाल मिटरब्याजी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परे।
  • राजु गोर्खाली आर्थिक अपराध मुद्दामा पक्राउ परे, र पछिल्लो समय आर्थिक अपराधका घटनाहरू बढेका छन्।
  • चेक बाउन्सका मुद्दा र डिजिटल ठगीका घटनाहरू बढ्दै गएका छन्, जसले आर्थिक अपराधको वृद्धिमा योगदान पुर्‍याएको छ।

काठमाडौँ । अत्याधुनिक जीवनशैलीमा रमाइरहेका उच्च पदस्थहरूसँग पहुँच भएका कविराज कटुवाल एकाएक पक्राउ परे । सिन्धुपाल्चोकको इन्द्रावतीका ३४ वर्षीय उनी समातिएपछि थाहा भयो – मिटरब्याजी रहेछन् । 

कपडा र जुत्ताको व्यापार गर्दै आएका एक युवकलाई १ करोड ४० लाख ऋण दिएर कटुवालले करोडौँ असुलेका थिए । २०८० वैशाखमा १ करोड ४० लाख रुपैयाँ दिएर ती युवकबाट पटक पटक गरी ४ करोड ८६ लाख ९३ हजार असुल्न भ्याएका थिए । 

उच्च पदस्थहरूसँगको पहुँच र बाहुबली प्रदर्शन गरेर कटुवालले ती युवकले चढ्ने बा२०च ५२० नम्बरको क्रेटा गाडी कब्जा गरे । धम्की दिएर ५ लाख ५० हजारको चेक पनि लिए । पीडित ती युवकले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘मलाई हस्ताक्षर गराएर थप चेकहरू पनि लगेका छन् ।’ भदौ ३ मा पक्राउ परेका कटुवालविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले अनुचित लेनदेन गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । 

मिटरब्याज उठाउन कटुवालले आफूबाहेक अरू आठ जना व्यक्तिहरूको पनि खाता प्रयोग गरेको भेटिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । कटुवालकै कारण पीडित ‘आत्महत्या’ गर्ने अवस्थामा पुगेपछि उनका निकटस्थहरूले उनलाई प्रहरीको सम्पर्कमा लगेका थिए । कटुवालले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘मेरो खातामा र मैले भनेका मान्छेहरूलाई रकम फिर्ता गरेको मलाई थाहा भएन ।’

०००

तीन दशकअघि गुण्डा नाइके भनेर चिनिएका काठमाडौँमा हप्ता ‘असुल्ने’ राजु गोर्खाली भदौ १ मा आर्थिक अपराधसम्बन्धी मुद्दामा पक्राउ परे । टीकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएपछि बैंकिङ कसुर मुद्दामा गोर्खाली पक्राउ परेका हुन् । 

चाबहिल र सुन्धारा क्षेत्रमा गुण्डागर्दी गर्ने गोर्खाली २०४९ साल पुसमा पहिलोपटक सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका थिए । त्यसपछि पनि उनको पक्राउ शृङ्खला रोकिएन । गुण्डागर्दीको पुरानो शैली परिवर्तन गरेर गोर्खालीले अहिले ‘आर्थिक अपराध’ गर्न थालेका अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

०००

कटुवाल र गोर्खाली आर्थिक अपराधसँग जोडिएका प्रतिनिधि पात्र हुन् । पछिल्लो एक वर्षमा (आर्थिक वर्ष २०८१/०८२) मा समातिएका ४० हजार ३९४ जनामा अधिकांश आरोपी आर्थिक अपराधसँग जोडिएका प्रहरीका सहप्रवक्ता (एसएसपी) रमेश थापा बताउँछन् । 

२०८१ साउनयता २४ हजार ३८२ जना अदालतबाट मुद्दा फैसला भएर फरार रहेकाहरू पक्राउ परेका छन् । अदालतले २४ हजार प्रतिवादीहरूबाट १ अर्ब ५२ करोड ८० लाख रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला गरेको थियो ।

प्रहरीमा दैनिक १६० वटा जाहेरी दर्ता हुन्छ । पछिल्लो आर्थिक वर्षमा ५८ हजार ४७२ जाहेरी दर्ता भए । दर्ता भएकामध्ये सबैभन्दा धेरै जाहेरी बैंकिङ कसुरसँग सम्बन्धित छन् । आर्थिक वर्ष ०८१/८२ मा बैंकिङ कसुरका मात्रै १३ हजार ८३७ थान जाहेरी दर्ता भएका प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले रातोपाटीलाई जानकारी दिए । ‘बैंकिङ कसुर ४ दशमलव ३ प्रतिशतले बढेको छ,’ उनले भने । 

आर्थिक अपराधको अर्को स्वरूप ठगी पनि बढ्दै गएको छ । गत वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा यस्तो धन्दा १८ प्रतिशतले बढेको प्रहरी प्रधान कार्यालयको विश्लेषण छ । 

  • आव २०८१/०८२ मा धेरै संख्यामा दर्ता भएका मुख्य १० अपराध तथ्यांक :

1

स्रोत : प्रहरी प्रधान कार्यालय  

२०८० असार ५ को मन्त्रिपरिषद्ले बैंकिङ कसुरसम्बन्धी सबै मुद्दा जिल्ला अदालतबाट चल्ने निर्णय गरेको थियो । त्यसअघि यस्ता मुद्दाहरूको सुरु कारबाही उच्च अदालतबाट मात्रै गरिन्थ्यो । उच्च अदालतमा म्याद थप गर्न र अनुसन्धान प्रतिवेदन पेस गर्न भौतिक दूरीका हिसाबले टाढा हुने भएपछि काठमाडौँ उपत्यका बाहिरका जिल्लामा बैंकिङ कसुरका मुद्दा दर्ता नै हुँदैनथे । मन्त्रिपरिषद्को निर्णयसँगै जिल्ला प्रहरी कार्यालयहरूमा चेक बाउन्सका मुद्दाको चाप बढ्दै गएको छ । 

सबैभन्दा बढी बैंकिङ कसुरका घटना काठमाडौँ उपत्यकामा भेटिएका छन् । देशभर दर्ता भएकामध्ये ५८ दशमलव ३९ प्रतिशत चेक बाउन्सका मुद्दा काठमाडौँ उपत्यकामा दर्ता भएको छ । ०८१/०८२ मा कर्णालीमा सबैभन्दा कम २ दशमलव १४ प्रतिशत चेकको मुद्दा दर्ता भएको छ । 

  • किन बढ्न थाल्यो आर्थिक अपराध ?

आर्थिक मन्दीका कारण ठुला व्यवसाय पनि धराशायी हुँदै गएका छन् । मन्दीका कारण व्यापार बिग्रिएको छ, रोजगारी छैन, कारोबार गर्दा ऋण लिने र चेक दिने प्रवृत्ति बढेको छ । आर्थिक मन्दीको असर सामान्य कारोबार गर्नेहरूसम्म पुगेको छ । 

अहिले धेरैजसो ठगीका घटना अनलाइन माध्यमबाट हुन थालेको छ । अर्थात् ‘डिजिटल ठगीधन्दा’ । मोबाइल प्रयोगकर्ताहरू ‘साइबर ठगी’बारे जानकार नहुँदा यस्ता घटना झनै बढ्ने गरेको पूर्वडीआइजी हेमन्त मल्ल बताउँछन् । ‘प्रयोगकर्ताहरू प्रविधिसँग सु–सूचित नहुँदा ठुलो समस्या देखिएको छ ।’ आर्थिक अपराध बढ्दै जानुमा मानिसहरूको ‘नियत’ नै खराब देख्छन् मल्ल ।  

नेपालमा विदेश पठाउने र जग्गा मिलाउने नाममा पनि व्यापक ठगी हुने गरेको छ । सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोखा दिनेजस्ता घटनामा चेक जारी गरेर आर्थिक अपराध हुने गरेका भेटिएका छन् । 

ठगीमा संलग्न व्यक्ति र समूहले ठगी गर्ने उद्देश्यले पैसा लिएर चेक दिने गर्छन् । आजभोलि चेक ‘ठगीको माध्यम’ बनेको छ । मिटरब्याजको कारण पनि चेक बाउन्सका मुद्दा बढेका छन् । मिटर ब्याजमा लगाउनेहरूले थोरै पैसा दिएर धेरै रकमको चेक लिने गर्छन् । सो कारोबार ‘बैकिङ कसुर’मा परिणत हुने गरेको छ । 

वैदेशिक रोजगारको नाममा ठगी गर्ने र मिलापत्र गर्ने नाममा जानाजान खातामा पैसा नभएको चेक दिने प्रचलन छ । सुन, चाँदीजस्ता महँगा सामान लिएर पनि चेक दिने प्रवृत्ति बढेको देखिन्छ । आपराधिक प्रवृत्तिका मान्छेले चेकको दुरुपयोग गर्छन् । आर्थिक कारोबार गर्नेहरूले तमसुकको अतिरिक्त चेक लिन थालेको बताउँछन् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल । मिटरब्याजीहरूको पनि रणनीति चेक नै हुने उनको भनाइ छ । 

‘चेक बाउन्स’ फौजदारी कसुर हुने भएकाले सहकारी संस्थाहरूले पनि दोहोरो सुरक्षाका लागि चेक लिने गरेका छन् । वरिष्ठ अधिवक्ता खरेल भन्छन्, ‘फौजदारी कसुरमा कारबाही चलाउन सकिने हुनाले बैंकहरूले पनि चेक लिने रणनीति अँगाल्न थालेका हुन् ।’

चेक बाउन्सको मुद्दा न्यूनीकरण गर्न कारोबार नभई चेक लिनेलाई पनि दण्डित गर्ने कानुन बनाउन जरुरी भएको वरिष्ठ अधिवक्ता खरेलले बताए । भने, ‘कारोबार नभई चेक लिनेलाई दण्ड दिने कानुन बनाउन जरुरी भइसकेको छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप