बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
नेपाली चलचित्र

फिल्मको नामलाई लिएर फेरि लफडा : बदमास बोर्ड कि निर्माता ?

बिहीबार, १२ भदौ २०८२, ११ : ००
बिहीबार, १२ भदौ २०८२

सारांश

  • चलचित्र 'लाखे आजु' र 'जय लाखय' बीच नामको विषयमा विवाद बढेको छ, जसले चलचित्र क्षेत्रमा अर्को विवाद थपेको छ।
  • 'लाखे आजु'का निर्माताले 'जय लाखय'को प्रदर्शन रोक्न माग गर्दै निवेदन दिएका छन्, जसले व्यावसायिक असर पर्ने दाबी गरेका छन्।
  • चलचित्र विकास बोर्डका अध्यक्षले दुवै फिल्मलाई छलफलबाट समाधान खोज्न सुझाव दिएका छन्, किनभने दुवै फिल्म नियम अनुसार दर्ता भएका हुन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । फिल्मको नामलाई लिएर नेपाली चलचित्र क्षेत्रमा फेरि एउटा विवाद थपिएको छ । केही अगाडि फिल्मको नाम जुधाएको भन्दै चलचित्र ‘एक्टर’ र ‘एक्टरः टेक १’ बिच ठुलै विवाद भएर अदालतसम्म पुगेको थियो । पछिल्लो पटक फिल्म ‘लाखे आजु’ र ‘जय लाखय’ बिच नामकै विषयमा विवाद चर्किएको हो ।

‘लाखे आजु’का निर्माण संस्था बीके फिल्म्स् भक्तपुरले फिल्म ‘जय लाखय’को प्रदर्शन रोक्न गर्न माग गर्दै नेपाल चलचित्र संघ, विशालनगरमा निवेदन दिएपछि विवाद सतहमा आएको हो । बीके फिल्म्सका तर्फबाट निर्माता गोपाल काजी कायस्थाले सङ्घमा निवेदन दिएका हुन् ।

कायस्थाले चलचित्र सङ्घमा फिल्म दर्ता नगरी प्रदर्शन गर्न लागेको र आफ्नो फिल्मको नामसँग मिल्दो नाम राखेर आफूलाई व्यावसायिक धक्का पुर्‍याउने उद्देश्य राखिएको आरोप ‘जय लाखय’को निर्माण पक्षमाथि लगाएका छन् ।

चलचित्र विकास बोर्डमा नियमानुसार दुवै फिल्म दर्ता भई सेन्सर पास भइसकेका छन् । ‘लाखे आजु’ धेरै पहिले दर्ता भई गत वैशाखमा सेन्सर पास भएको हो भने ‘जय लाखय’ साउनमा दर्ता भई साउनमै सेन्सर पास भएको हो ।

‘लाखे आजु’ दसैँको छेकोमा रिलिज हुने तयारीमा छ । गोपाल कायस्था निर्माता रहेको फिल्ममा सोहित मानन्धर, अशिष्मा नकर्मी, मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, सविन शाक्य, नागिना जोशी लगायतको अभिनय छ ।

भगवान् र राक्षसको लडाइँको कथामा बनेको फिल्म आर्यम नकर्मीले निर्देशन गरेका हुन् । तीन वर्षदेखि काम भइरहेको यो फिल्मलाई नेपाली र नेवारी भाषामा एकसाथ प्रदर्शन गर्ने तयारी छ । अङ्ग्रेजी भाषामा यो फिल्म विदेशमा समेत रिलिज गरिने भएको छ । फिल्मको निर्मातामा प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ समेत छन् ।

त्यस्तै ‘जय लाखय’ एनिमेटेड फिल्म हो । नेपाली भाषामा निर्माण भएको फिल्म्का निर्माता नियुक्त श्रेष्ठ हुन् । फिल्मको निर्देशन संयुक्त श्रेष्ठले गरेका छन् । फिल्मलाई यन्त्रकला स्टुडियोज प्रालिले निर्माण गरेको हो ।

‘जय लाखय’ फिल्मविरुद्ध सङ्घमा निवेदन परेको नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले बताए । ‘फिल्मको प्रदर्शन रोक्न परेको निवेदनको विषयमा हामीले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई पनि जानकारी गराएका छौँ’, अध्यक्ष महर्जनले भने, ‘छलफलबाट निकास निकाल्न पहल भइरहेको छ ।’

  • किन भयो विवाद ?

फिल्म ‘जय लाखय’ आगामी शनिरबार चाबहिलस्थित केएल सिनेमा सिटीमा २ शो च्यारटी हुन लागेको छ । उक्त शोलाई लिएर ‘लाखे आजु’का निर्माता गोपाल काजी कायस्थाले विवाद झिकेका हुन् ।

‘मैले राम्रा कलाकार राखेर करोडौँ लगाएर फिल्म बनाएको हो’, कायस्थाले भने, ‘हाम्रो फिल्म अगाडि त्यस्तै नाम र विषयको एनिमेटेड फिल्म प्रदर्शनमा आयो भने हामीलाई व्यावसायिक असर पर्छ ।’

यसअगाडि फिल्म ‘एक्टर’का कारण ‘एक्टर टेक १’को व्यवसायमा करोडौँ फरक परेको भन्दै कायस्थाले आफ्नो फिल्म अगाडि ‘जय लाखय’ प्रदर्शन गर्न नहुने धारणा राखे ।

‘यसमा फिल्म जय लाखय युनिटको भन्दा पनि चलचित्र विकास बोर्डको बदमासी छ’, कायस्थाले थपे, ‘एउटै नामको अगाडि–पछाडि केही थपेर नाम राख्न दिनु नै गलत हो ।’

त्यसरी नामको अगाडि–पछाडि केही थपेर नाम राख्ने हो भने सिरिजमै चलेका फिल्म ‘कबड्डी’ र ‘छक्का पन्जा’को अगाडि–पछाडि नाम झुन्ड्याए भइगो नि,’ कायस्थाले थपे ।

फिल्म ‘जय लाखय’का निर्माता नियुक्त श्रेष्ठ आफूूले कुनै पनि फिल्मलाई असर पर्ने काम नगरेको दाबी गर्छन् । चलचित्र विकास बोर्डसँग नियमपूर्वक फिल्म दर्ता गरेर निर्माण गर्दै प्रदर्शनको अधिकार लिएको उनको भनाइ छ ।

‘म त लाखे नामबाट फिल्मको नाम राख्न भनेर बोर्डमा गएको थिएँ । त्यहाँ यो नामबाट फिल्म दर्ता भइसकेकाले जय लाखय राख्नु भन्नुभयो’, श्रेष्ठले भने, ‘जय पनि सानो नराखेर ठुलो राख्ने सल्लाह दिएका थिए ।’

गोपाल कायस्थाले पनि लाखेको पछाडि आजु थपेर नाम दर्ता गरेको जिकिर गर्दै उनले आफूूहरूले पनि त्यही गरेको प्रस्ट पारे ।

‘फिल्म नियमपूर्वक दर्ता गरी निर्माण गरेर प्रदर्शन अनुमति लिएपछि त्यसमा कसैको आपत्ति गर्नु नपर्ने हो’, श्रेष्ठले भने, ‘फेरि हामीले दुई शो च्यारिटी गरेर आफ्नो मान्छेलाई मात्र देखाउन लागेका हौँ ।’ नेपालमा दुई शो प्रदर्शनपछि विदेशमा च्यारिटी गर्ने योजनामा रहेको उनको भनाइ छ ।

‘हामीले निर्धारण गरिसकेको दुई शो च्यारिटी गर्न पाउनुपर्छ । त्यसपछि के हुन्छ, सल्लाह गरौँ’, श्रेष्ठले भने, ‘८ वर्ष लगाएर एनिमेटेड फिल्म बनाएका छौँ । हाम्रो पनि फिल्ममा पैसा र मेहनत परेको छ । त्यो देखाउन नपाउने भन्ने हुँदैन ।’

कायस्था भने च्यारिटी, प्रदर्शन जे गरे पनि नाम उस्तै भएकाले आफ्नो फिल्मलाई असर पर्ने दोहोर्‍याउँछन् ।

  • के भन्छन् बोर्ड अध्यक्ष डिसी ?

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ‘लाखे आजु’ र ‘जय लाखय’ बिचको विवादबारे आफूलाई जानकारी गराइएको र छलफलबाट मिलाउन सुझाइएको बताउँछन् ।

‘पहिलेदेखि नै नामको अगाडि–पछाडि केही जोडेर अर्काे नाम राख्दा अनुमति दिने परम्परा रहेछ । त्यही अनुसार यी दुवै फिल्मले नाम राखेका हुन्’, डिसीले भने, ‘पछिल्लो समय एक्टर र एक्टर टेक १ बिचको विवादपछि यसरी नाम राख्न पनि रोकेका छौँ ।’

बोर्डको चलन अनुसार नाम दिइएकोले यस विषयमा बोर्डलाई दोष दिन नहुने डिसीको धारणा छ । यस अगाडि पनि ‘डान’पछि ‘मिस्टर डान’, ‘मेरो हजुर’पछि ‘ए मेरो हजुर’, ‘भगवान्’पछि ‘भगवान् सबैको’ लगायत गरेर ३४ फिल्म उस्तै–उस्तै नाममा दर्ता भएको डिसीले जिकिर गरे ।

‘गोपालजीले पनि लाखे आजु नाम लिँदा लाखेको पछाडि पुच्छर जोडेर लिनु भएको हो,’ उनले भने, ‘आफूले लिँदा पाउने, अरूले लिँदा नपाउने भन्ने हुँदैन ।’

‘जय लाखय’ले नियमपूर्वक फिल्म दर्तादेखि सेन्सरसम्म पास गरेको डिसीले बताए । उनले भने, ‘उहाँले फिल्मको च्यारिटी गर्दा केही बिग्रन्छ जस्तो मलाई लाग्दैन ।’ यसबारे आफूले दुवै पक्षसँग छलफलको पहल गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप