बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१४ हजार डलरमा प्रेमीलाई बेच्ने १७ वर्षीया प्रेमिका, म्यानमारमा ४ महिना यातना

शुक्रबार, १३ भदौ २०८२, ०७ : १५
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • १९ वर्षीय युवकलाई १७ वर्षीया प्रेमिकाले म्यानमारको ठगी गिरोहलाई बेचेपछि उनले चार महिनासम्म दास जीवन बिताए।
  • युवकलाई अपहरण गरी मोबाइल र कागजात खोसेर दैनिक १६-२० घण्टा कम्प्युटरमा काम गर्न बाध्य पारियो, कोटा पूरा नभए कुटपिट गरिन्थ्यो।
  • फिरौती दिएपछि युवक मुक्त भए, तर उनी डर, चिन्ता र त्रासबाट गुज्रिरहेका छन्, भने प्रेमिकालाई पक्राउ गरिएको छ।
00:00 / NaN:NaN
Audio By AI

बेइजिङ । चीनको ग्वाङडोङ प्रान्तको झानजियाङका १९ वर्षीय युवक आफ्नी १७ वर्षीया प्रेमिकाद्वारा म्यानमारस्थित ठगी गिरोहलाई बेचिएपछि चार महिनासम्म दास जीवन व्यतीत गर्न बाध्य भएका छन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार पीडित युवक र किशोरीबिच स्थानीय पुल हलमा भेट भएको थियो। आकर्षक लुगा र नक्कली महँगो ब्याग बोकेर आउने किशोरीले आफू धनी परिवारकी भएको भ्रम सिर्जना गरेकी थिइन्। 

उनले पटक–पटक प्रेमीलाई दक्षिण एसियामा आम्दानी हुने कामको प्रलोभन दिइन्। परिवारले अस्वीकार गरे पनि युवक प्रेमिकाको कुरा मान्दै अन्ततः सहमत भए।

यस वर्ष फेब्रुअरीमा उनीहरू थाइल्यान्ड गएका थिए। फर्कँदासम्म थाइल्यान्ड–म्यानमार सिमानामा किशोरीले कसैलाई लिन जानुछ भन्दै प्रेमीलाई बिच बाटोमै छाडिन्। त्यसपछि सशस्त्र समूहले युवकलाई अपहरण गरी मोबाइल र कागजात खोसेर गोप्य कम्पाउन्डमा लगे।

त्यहाँ उनलाई टाउको खौराएर दिनमा १६–२० घण्टा कम्प्युटरमा बस्दै आफ्नै देशबासीलाई ठग्ने काम गर्न बाध्य पारियो। कोटा पूरा नभएमा लट्ठी र फलामका डण्डाले निर्घात पिटाइ हुन्थ्यो। लगातारको यातनाका कारण युवकले १० किलो तौल गुमाए र सुन्ने क्षमता स्थायी रूपमा क्षतिग्रस्त भयो।

चार महिनापछि अपहरणकारीहरूले परिवारसँग फिरौती मागे। पीडित परिवारले ३.५ लाख युआन (करिब ४९ हजार डलर) जुटाएपछि गत जुनमा उनलाई मुक्त गरिएको हो। तर अहिले उनी निरन्तर डर, चिन्ता र त्रासमा बस्छन्। राति सुत्दा समेत दुःस्वप्न देख्ने गरेको परिवारले बताएको छ।

यसबिच, प्रेमिकालाई भने थाइल्यान्ड ‘भ्रमण’ सकेर चीन फर्किएलगत्तै पक्राउ गरिएको छ। उनलाई म्यानमारको ठगी गिरोहसँग मिलेर अपहरणमा संलग्न भएको आरोपमा कानुनी कारबाही सुरु भएको छ।

‘उनी त केवल १७ वर्षकी छिन्। कसले सोच्थ्यो यति कम उमेरमा यति ठुलो अपराध गर्न सक्छिन् भनेर ?,’ पीडित युवककी दिदीले सञ्चारकर्मीलाई बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप