ओली बोलेको भिडियो हेर्दै विद्याले भनिन्– म टुलुटुलु हेरेर बस्दिनँ
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारीले चुनाव हारेको खण्डमा भीम रावलको जस्तो अवस्था आउने बताएपछि भण्डारीले आश्चर्य प्रकट गरिन्।
- भण्डारीले एमालेभित्र अन्तरसंघर्ष गर्न तयार रहेको र समग्र बाम आन्दोलनको टुटफुटप्रति चिन्ता व्यक्त गर्दै चुप नलाग्ने दृढता व्यक्त गरिन्।
- भेटमा सहभागी नेताहरूले दुई पार्टीबीचको तिक्तता कम गरी समान मुद्दामा सहकार्य गर्न जोड दिए, जसमा भण्डारीले सक्दो भूमिका निर्वाह गर्ने बताइन्।
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारी एमालेमा आएर चुनाव लड्दा भीम रावलको तरिकाले चुनाव हार्ने भनेर दिएको अभिव्यक्तिप्रति भण्डारीले आश्चर्य प्रकट गरेकी छन् ।
ओलीले बुधबार साँझ विधान महाधिवेशनका केही प्रतिनिधिहरूसँगको भेटवार्तामा विद्या भण्डारीको राजनीतिक सक्रियताबारे र पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
ओलीको ब्रिफिङपछि एमाले काठमाडाैँ अध्यक्ष दीपक निरौलाले केही बुँदा सार्वजनिक गरेका थिए । जसमा ओलीको सचिवालयले निरौलाले सार्वजनिक गरेका बुँदाहरूप्रति आंशिक स्वीकार गर्दै त्यसक्रममा ओलीको एउटा सानो भिडिओ क्लिपसमेत सार्वजनिक गरेको छ ।
उक्त क्लिपमा ओलीले विद्या भण्डारी राजनीतिमा आउनुहुँदैन भनेर प्रस्ट भनेका छन् । ‘उहाँ भीम रावलको तरिकाले चुनाव हार्ने, असन्तुष्ट हुने, अनि खाँबो चिथोर्ने बस्ने अलिक समय । पार्टीले स्पष्टीकरण सोध्नुपर्ने हुन्छ’, ओलीले भनेका छन् ।
ओलीको यस्तो अभिव्यक्तिपछि बिहीबार साँझ केही एमाले नेता र एकीकृत समाजवादीका नेताहरू भण्डारी निवास पुगेका थिए । उनीहरूसँगै बसेर विद्या भण्डारीले ओलीको पछिल्लो उक्त भिडियो क्लिप हेरेकी थिइन् ।
उक्त भिडियो हेरेपछि भण्डारीले ओलीको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेको भेटमा सहभागीहरूले बताएका छन् ।
‘हामीले भेट्दै गर्दा केपी ओलीले बोलेको भिडियोको कुरा आयो । त्यो भिडियो हेर्दै उहाँले आश्चर्य व्यक्त गर्नुभयो । के बोल्नुभएको होला भन्नुभयो’,भण्डारीको भनाई उद्धृत गर्दै ती नेताले रातोपाटीलाई बताए ।
त्यसक्रममा भण्डारीले आफू एमालेभित्र अन्तरसंघर्ष गर्न तयार रहेको समेत बताएकी छन् ।भण्डारीसँग आफूले बिहीबार भेटवार्ता गरेको एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले स्वीकार गरे ।
अर्याल केही समय अघिसम्म मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य भएर काम गरेका थिए । उनी अहिले पनि भण्डारी निकटस्थ समेत भनेर चिनिन्छन् ।
‘म एमालेभित्र अन्तरसंघर्ष गर्न तयार छु, समग्र बाम आन्दोलनको टुटफुट र विभाजनप्रति टुलुटुलु हेरेर बस्न सक्दिनँ, लडिरहन्छु’, भण्डारीले चिन्ता प्रकट गर्दै चुप लागेर नबस्ने दृढता व्यक्त गरेको अर्यालले दाबी गरे ।
त्यसक्रममा भण्डारीले केन्द्रीय कमिटीमा फरक मत जाने अवस्था आएपछि उक्त बैठक नै नराखिएको हुनसक्ने आफूले बुझेको बताएकी थिइन् । भदौ १३ एमाले केन्द्रीय कमिटी बैठक बोलाइएकोमा अन्तिम समयमा स्थगित भएको थियो ।
‘फरक मत आउँछ भनेर नै बैठक स्थगित गरेको बुझिन्छ’, भण्डारीले भेटमा सहभागीहरूसँग भनेकी छन् । त्यस्तै उनले समग्र बाम आन्दोलनको एकता नै अहिलेको आवश्यकता भएको भन्दै चार वर्षअघि एमाले विभाजनले कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको निष्कर्ष सुनाएकी थिइन् । त्यसक्रममा उनले आफू विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनमा जुध्न तयार रहेको बताएकी थिइन् ।
‘बरु मलाई त एमालेले बिस्तारै जबज पनि परित्याग गर्छ कि भन्ने चिन्ता छ । अर्कोतर्फ पार्टीहरूका शीर्षस्थ नेताहरू अलोकतान्त्रिक हुँदै गएकोमा धेरै गुनासो आउन थालेको छ यो राम्रो होइन’, भण्डारीसँगको भेटमा सहभागी अर्का एक नेताले उनको भनाई उद्धृत गर्दै भने ।
‘बाम पार्टीहरूभित्र आन्तरिक लोकतन्त्र समाप्त भयो भने वामपन्थी शक्तिप्रति आम जनता थप असन्तुष्ट हुँदै जान्छन् । त्यस्तो हुन दिनुहुँदैन’, ती नेताले भण्डारीको भनाई उद्धृत गर्दै रातोपाटीसँग भने ।
भेटमा सहभागी एमाले र एकीकृत समाजवादीका नेताहरूले दुई पार्टीकाबिच रहेको तिक्तता कम गरेर समान मुद्दामा सहकार्य गर्ने वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । उनीहरूको सुझावमा भण्डारीले आफू सक्दो भूमिका निर्वाह गर्न तयार रहेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण