बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

मनाङ प्रदेश सभा–२ मा अघिल्लो पटक कुन दलको कस्तो थियो स्थिति ?

शुक्रबार, १३ भदौ २०८२, ०६ : ३०
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • निर्वाचन आयोगले मनाङ प्रदेश सभा-२ मा आगामी कात्तिक १७ गते निर्वाचन गर्ने घोषणा गरेको छ।
  • सर्वोच्च अदालतले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि दीपक मनाङे पदमुक्त भएका थिए।
  • २०७९ को निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ र नेकपा एमालेले प्रदेश सभातर्फ बढी मत प्राप्त गरेको थियो।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । निर्वाचन आयोगले रिक्त रहेको मनाङ प्रदेश सभा–२ मा आगामी कात्तिक १७ गते नै निर्वाचन हुने घोषणा गरेपछि चासो बढेको छ । २०७९ सालमा उक्त क्षेत्रबाट निर्विरोध निर्वाचित गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे सर्वोच्च अदालतबाट फौजदारी अभियोगमा दोषी ठहर भएपछि पदमुक्त भएका थिए ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडालको संवैधानिक इजलासले गत असार ४ गते उनी पदमुक्त हुने भनी गरेको फैसलाको सोमबार पूर्णपाठ सार्वजनिक भएको थियो । अदालतको आदेश बमोजिम आयोगले गुरुङ पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । यसअघि आयोगले रुपन्देही–३ मा मात्र निर्वाचन गर्ने घोषणा गरेको थियो ।

अदालतको आदेश अनुसार गुरुङ २०८१ कात्तिक २७ गते नै जेल चलान भइसकेका छन् । प्रदेश सभामा अंकगणीतको फाइदा उठाउँदै ७ वर्षमा ६ पटक मन्त्री बनेका उनी आगामी २०८४ मा उम्मेदवार बन्न अयोग्य भएका छन् ।

  • अघिल्लो निर्वाचनमा कसले कति मत पाए ?

२०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ समानुपातिकअन्तर्गत सबैभन्दा बढी मत नेपाली कांग्रेसले पाएको थियो । त्यतिवेला कांग्रेसले २४३० मत पाउँदा दोस्रोमा नेकपा एमालेले २१९१ मत पायो । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १४६ मत प्राप्त गर्‍यो । यसैगरी माओवादीले १३३ मत पाएर चौथो स्थानमा रहेको थियो । पाँचौँ स्थानमा रहेको राप्रपाले ७६, छैटौँ स्थानमा नाउपाले ५७ र सातौँ स्थानमा नेकपा(एकीकृत समाजवादी)ले  १७ मत पायो । अन्य दलले जम्मा ४० मत पायो ।

यसैगरी प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २५७५ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पाल्देन छोपाङ गुरुङले २२४७ मत पाए । रास्वपाका उम्मेदवार मुख्या गुरुङले जम्मा ५ मत पाएका थिए ।

  • प्रदेशसभातर्फ दलहरूले प्राप्त गरेको मत

अघिल्लो निर्वाचनमा प्रदेशसभातर्फ निर्विरोध निर्वाचित भएको हुनाले प्रत्यक्षतर्फ उम्मेदवारको लोकप्रिय मत गणना हुन सकेन । यद्यपि समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतअनुसार पहिलो दल एमाले भएको छ । एमालेले २०८८ प्राप्त गर्दा दोस्रोमा रहेको कांग्रेसले १६५० मत प्राप्त गरेको छ । समानुपातिकमा माओवादीले ९०४ मत पाएर तेस्रो भएको थियो । यस क्षेत्रमा उम्मेदवारले भन्दा पार्टीले लोकप्रिय मत प्राप्त गरेको छ । यसैगरी चौथोमा रहेको राप्रपाले ६३, पाँचौँ स्थानमा रहेको नाउपाले १३ मत प्राप्त गर्‍यो । एकीकृत समाजवादीले १२ मत प्राप्त गरेर छैटौँ स्थानमा रहँदा अन्य दलले ४१ मत प्राप्त गर्‍यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप