शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गौरापर्व

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

बिहीबार, १२ भदौ २०८२, २३ : ४२
बिहीबार, १२ भदौ २०८२

सारांश

  • गौरा पर्व सुदूरपश्चिममा बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ, जसमा महिलाहरूले विरुडा राखेर पर्वको सुरुवात गर्छन्।
  • यो पर्व भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु भई सप्तमी र अष्टमीमा विशेष पूजाआजा गरिन्छ, जसमा गौरादेवीको पूजा गरिन्छ।
  • गौरा पर्वमा शिवपार्वतीको पूजा गरिन्छ र यस पर्वलाई उज्याली र अँधेरी गौरा गरी दुई प्रकारमा मनाइन्छ।

कञ्चनपुर । सुदूरपश्चिममा बिहीबारदेखि गौरापर्व विधिवत् रूपमा सुरु भएको छ । 

भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको बिहीबार पहिलो दिन घरघरमा विरुडा राखेर विधिवत् रूपमा सुरु भएको छ । पहिलो दिनलाई विरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । बिहीबार व्रतालु महिलाले घरमा ‘विरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौरा पर्वको सुरुआत गरेका छन् । 

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर विरुडा बनाउने चलन छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको विरुडा पञ्चमीदेखि गौरापर्व विधिवत् रूपमा सुरु हुने यहाँका जानकार जानकी अवस्थी बत्ताउँछिन् । 

“एक महिना अगाडिदेखि नै शुद्ध शाहाकार र बह्मचर्यको पालना गरिन्छ, त्यसपछि विरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउँछन्”, उनले भनिन्, “विरुडा भिजाइँदा माँगकी सगुन फाँग गाउँछौँ ।” गौरादेवीको पूजाआजामा पनि विरुडाको प्रयोग गरिने अवस्थी बत्ताउँछिन् ।     

“मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्दी गरेपछि गौराको आग्रहबमोजिम नगरमा कलौँ विरुडी खोज्न गएको प्रसङ्ग यस फागमा आउँछ” उनले भनिन्, “यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व भएकाले महिलाका लागि विशेष पर्व हो ।” यसरी भिजाएका विरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन छ । 

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रूपमा लिइन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस) बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’मा भित्र्याइने व्रतालु निर्मला जोशीले बताइन् । 

“गौरा हाम्रो ठुलो पर्व हो, पुरुष जस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुवधागो लगाउने गर्छौं”, उनले भनिन्, “गौराको पूजाअर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धिको लागि व्रत बस्छौँ ।”

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन छ । 

पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीका रूपमा पूजाअर्चना गरिँदै आइरहेको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरापर्व हो । यो पर्व अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भनिन्छ भने कृष्णपक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ । यी दुवै गौरालाई अतिपवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिएको यहाँका जानकार कविराज भट्टले बताए । 

“भाद्र शुक्ल वा कृष्णपक्षको पञ्चमी तिथिबाट गौरा पर्व सुरु हुन्छ”, उनले भने, “भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई ‘अँधेरी गौरा’ भन्ने चलन छ नयाँ व्रतालुका लागि उज्याली गौरा उत्तम हुन्छ ।” 

गौरामा शिवपार्वतीको पूजाआजा गरिन्छ । पौराणिककालमा भगवान् शिव ९महेश्वर० प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप