गाजालाई चरणबद्ध रूपमा विलय गर्ने इजरायली मन्त्री स्मोट्रिचको प्रस्ताव
सारांश
- इजरायली अर्थमन्त्री स्मोट्रिचले हमासले हतियार नत्यागे गाजालाई इजरायलमा गाभ्नुपर्ने प्रस्ताव राखेका छन्।
- उनले गाजालाई चार हप्ताभित्र कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ सार्ने योजना बनाएका छन्।
- हमासले यस प्रस्तावको कडा विरोध गर्दै यसलाई नरसंहारको योजनाको रूपमा चित्रण गरेको छ।
तेल अभिव । इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले हमासले निरस्त्रीकरण गर्न अस्वीकार गरेमा गाजा पट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राखेको अल जजिराले बताएको छ । बिहीबार पत्रकार सम्मेलनमा स्मोट्रिचले भनेका छन्, ‘यदि हमास आत्मसमर्पण गर्न, हतियार त्याग्न र इजरायली बन्दीहरूलाई रिहा गर्न तयार भएन भने, इजरायलले हरेक हप्ता गाजाको एक भाग कब्जा गर्दै चार हप्ताभित्र सम्पूर्ण नियन्त्रण लिनुपर्छ ।’
उनका अनुसार प्रारम्भमा प्यालेस्टिनीहरूलाई गाजाको दक्षिण भागतर्फ सर्न भनिनेछ, त्यसपछि इजरायलले उत्तर र केन्द्र क्षेत्रलाई घेराबन्दी गरी अन्ततः विलय गर्नेछ । स्मोट्रिचले यस प्रक्रिया तीनदेखि चार महिनाभित्र पूरा गर्न सकिने दाबी गर्दै भने, ‘यी कदमहरू वर्षको अन्त्यसम्म गाजामा ‘विजय’ हासिल गर्ने योजनाको हिस्सा हुन् ।’
इजरायली सेनाले गाजा सहरतर्फ गहिरो अग्रसर गर्दै करिब १० लाख प्यालेस्टिनीलाई विस्थापित गर्ने उद्देश्यले क्षेत्र कब्जा गर्ने प्रयासलाई तीव्र पारेको बेला उनको यो टिप्पणी आएको हो । यसबिच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत हप्ता इजरायलको आक्रमणले ‘ठूलो मृत्यु र विनाश’ निम्त्याउने चेतावनी दिएका थिए ।
उनले सैन्य आक्रमणलाई व्यापक रूपमा निन्दा गर्दै भने, ‘अनिकाल आउन लागेको होइन, यो अहिले भइरहेको विनाश हो । मानिसहरू भोकमरीका कारण मर्दैछन्, परिवारहरू विस्थापन र निराशाबाट टुक्रिँदैछन्, गर्भवतीहरूले अकल्पनीय जोखिम भोगिरहेका छन् र खाना, पानी तथा स्वास्थ्य सेवा जस्ता जीवनधारणका आधारभूत प्रणालीहरू व्यवस्थित रूपमा ध्वस्त पारिएका छन् ।’
गाजामा इजरायली नाकाबन्दीका कारण खाद्यान्न, पानी र अन्य मानवीय आपूर्तिको चरम अभाव भइरहेको छ । यसैबिच, हमासले स्मोट्रिचको टिप्पणीलाई कडा रूपमा अस्वीकार गर्दै भनेको छ, ‘उक्त अभिव्यक्ति हाम्रा जनतालाई उन्मूलन गर्ने आधिकारिक आह्वान हो र यसले भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्ने तथा निर्दोष नागरिकविरुद्ध घेराबन्दीलाई औपचारिक स्वीकार गरेको पुष्टि गर्दछ ।’
अल जजिराले उद्धृत गरेको विज्ञप्तिमा हमासले भनेको छ, ‘स्मोट्रिचको भनाइ कुनै एक व्यक्तिको चरमपन्थी विचार मात्र होइन, बरु लगभग २३ महिनादेखि लागु भइरहेको सरकारी नीतिको निरन्तरता हो । यसले विश्वसमक्ष कब्जाको वास्तविकता उजागर गरेको छ र गाजामा भइरहेको घटना सैन्य युद्ध होइन, बरु नरसंहार र सामूहिक विस्थापनको परियोजना हो भन्ने पुष्टि गरेको छ ।’
स्मोट्रिचले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो विलय योजना ‘तुरुन्तै पूर्ण रूपमा’ अपनाउन आग्रह गरेका छन् । नेतान्याहुले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । तर यसअघि उहाँले इजरायलले ‘सम्पूर्ण गाजाको नियन्त्रण लिन’ र यस क्षेत्रलाई पुनः कब्जा गर्न सक्ने सङ्केत दिनुभएको अल जजिराले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण