बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कर्मचारी प्रशासन

‘बोल्ड भगवती’ : एकैदिन २१९ हाकिम सरुवा, १० सहसचिव पुगेन

शुक्रबार, १३ भदौ २०८२, १४ : ३९
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने निर्णय गर्‍यो।
  • मन्त्री भगवती न्यौपानेको निर्णय अनुसार देशभरका नगरपालिका र गाउँपालिकामा उपसचिव र शाखा अधिकृतको सरुवा गरियो।
  • १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरी १०५ नगरपालिका र ८६ गाउँपालिकामा निमित्त हटाएर पदपूर्ति गरियो।

काठमाडौँ । हिजो बिहानैदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन महाशाखामा ‘प्रेसर’ थियो । उसो त मन्त्रालयमा मन्त्री भगवती न्यौपानेको ‘इन्ट्री’ भएदेखि नै यो महाशाखामा कामको चाप छ । कारण हो स्थानीय सरकारमा देखिएको निमित्त अभ्यास । उनले कार्यभार सम्हाल्दा २ सय स्थानीय तह निमित्तको भरमा चलिरहेको थियो ।  न्यौपानेले मन्त्रालयका महाशाखा प्रमुखहरूसँग निमित्त नराख्ने गरी ‘होमवर्क’ गर्न दिएकी थिइन् ।   

एक सातामा मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन महाशाखाले करिब ३ सय कर्मचारीको सूची तयार पार्‍यो । ‘हामीले लगातार यसका लागि काम गरिरहेका थियौँ । ३ सय सूचीमा कर्मचारीहरूको प्राथमिकता हेरेर सरुवा गर्न सक्ने सर्टलिष्ट बनायौँ । सोही अनुसार अन्तिम सूची तयार गरेका हौँ,’ एक कर्मचारी भन्छन् । 

अन्ततः बिहीबार उपसचिव र शाखा अधिकृतको सरुवा गरी देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउन मन्त्री भगवती न्यौपानेले बोल्ड निर्णय गरिन् ।  नगरपालिकामा प्रशासन क्षेत्रका उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी हुने गरेको छ ।  

मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई दिएको जानकारी अनुसार बिहीबार मात्रै १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा भएको हो । ‘सङ्ख्याको हिसाबले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा भएको छ,’ ती अधिकारीले भने, ‘यी सरुवामध्ये १०५ वटा नगरपालिकामा उपसचिव र ८६ वटा गाउँपालिकामा शाखा अधिकृत खटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको अवस्था हटाइएको छ ।’  

उनले थपे, ‘उपसचिव र शाखा अधिकृत दरबन्दी रहेका ठाउँहरूमा अब निमित्त छैनन् ।’ 

१० सहसचिव पद अझै रिक्त

अब नेपालको ६ वटा महानगरपालिकामध्ये ५ वटामा मात्र सहसचिव कार्यरत छन् । एक महानगरका सहसचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन ।

यस्तै ११ वटा उपमहानगरपालिकामध्ये दुई वटामा मात्र सहसचिव कार्यरत छन् भने बाँकी ९ वटा उपमहानगरपालिकामा सहसचिव पद खाली छ । अब  एउटा महानगरपालिका र ९ वटा उपमहानगरपालिका गरी कुल १० वटा स्थानीय तहमा सहसचिव पद अझै रिक्त रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप