कोदोको बिस्कुट उत्पादन गर्न उद्योग स्थापना
सारांश
- म्याग्दीको टोड्केमा रैथाने बाली प्रशोधन गरी बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ।
- उद्योगले कोदो, फापर, जौ र उवाको पिठोबाट बिस्कुट बनाउने तयारी गरेको छ, जसमा गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोग रहेको छ।
- यस परियोजनाले स्थानीय किसानको उत्पादन खपत र टोड्केको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।
गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक समूहले टोड्के हिल रिसोर्ट तथा होमस्टेमा कोदोलगायत रैथाने बालीको प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेका हुन् । परम्परागत जौँ, उवा, कोदो र फापरको पिठोबाट बिस्कुट बनाउने उद्योगको परिक्षण सफल भएको रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए ।
“गाउँपालिकाले उपलब्ध गराएको उपकरण जडान गरेर परीक्षणका लागि कोदोको बिस्कुट उत्पादन भएको छ,” उनले भने, “अर्को चरणमा फापर, जौ र उवाको पनि बिस्कुट बनाउने तयारी छ ।” कोदो, फापर, जौ र उवा पिस्ने मिल, प्रशोधन र पिठो पकाएर बिस्कुट बनाउने उपकरण ल्याएर जडान गरिएको छ ।
समुन्द्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा रहेको टोड्केबाट सूर्योदय, पहाडी भूगोल, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । टोड्के हिल रिसोर्ट तथा होमस्टेका सञ्चालक भिम शेरचनले उद्योगले स्थानीय किसानले उत्पादन गरेको रैथाने बालीको खपतका साथै टोड्केको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुग्ने बताए ।
लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारको रु ७५ लाख र रघुगङ्गा गाउँपालिकाको रु २५ लाख बजेटबाट झिँमा जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सञ्चालन भएको थियो । परियोजनामार्फत ३०० रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती विस्तार भएको छ ।
पच्हत्तर प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन, थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, १६६ थान त्रिपाल, १०० वटा ३०० किलोग्राम तौल क्षमताको मेटल बिन, २० एम एमको चार हजार ३६४ मिटर, २५ एम एमको एक हजार ५००, ३२ एम एमको चार हजार २०० र ४० एमएमको २०० मिटर पाइप वितरण भएको छ ।
किसानलाई सूचीकरण गरी परम्परागत जौँ, कोदो, फापर र उवा बालीको महत्वबारे जानकारी गराई खेती प्रविधिसम्बन्धी तालिमसमेत दिइएको थियो । झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण