अदालतले ‘यथास्थितिमा राख्नू’ भनेपछि गंगा सागरको डिल धराप हुँदासमेत मर्मतमा आनाकानी
सारांश
- जनकपुरधामको गंगा सागरको डिल भत्किने खतरा बढेको छ, राम नारायण स्मृति भवन बनाउन खाल्डो खन्दा समस्या भएको हो।
- उच्च अदालतले निर्माण कार्य रोक्न आदेश दिएको छ, तर खाल्डोमा पानी जम्दा डिल भत्किने र बाटो अवरुद्ध भएको छ।
- स्थानीय बासिन्दा र सरोकारवालाहरूले खाल्डो पुरेर बाटो सुचारु गर्न माग गरेका छन्, मेयरले बजेटको व्यवस्था गर्ने बताएका छन्।
जनकपुरधाम । ५२ पोखरी ७२ कुण्डका लागि परिचित पौराणिक सहर जनकपुरधामको प्रख्यात गंगा सागरको डिल भत्किने खतरा बढेको छ ।
राम नारायण स्मृति भवन निर्माणका लागि गंगा सागरको पूर्वी डिल छेउ ठुलो खाल्डो खनिएको छ । चौतर्फी विरोधका बाबजुद भवन निर्माण अघि बढाएपछि निर्माण कार्य रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर भएको थियो । सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले निर्माण कार्य रोकेर ‘यथास्थितिमा राख्न’ आदेश दिएको थियो ।
भवनको जग खन्नका लागि खनिएको विशाल खाल्डो वर्षाको पानी पोखरीजस्तै भएको छ । खाल्डोमा पानी जम्दा गंगा सागरको डिलसमेत भत्किँदै गएको छ । परिणामस्वरुप उक्त डिलसहितको सार्वजनिक बाटोसमेत अवरुद्ध भएको छ ।
चाडपर्वको मौसम सुरु भइसकेको र गंगा सागर क्षेत्रमा भिडभाड भइरहने हुनाले स्थानीय बासिन्दाले तत्काल खाल्डो पुरेर बाटो सञ्चालनमा ल्याउन माग गरिरहेका छन् ।
नेकपा एमाले जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले ऐतिहासिक गंगा सागरको डिल मिचेर स्मृति भवन बनाउनै नहुने बताए । उनले यसविरुद्ध पटक–पटक विरोध गरेको स्मरण गर्दै भने, ‘गंगासागरको डिल मिच्नुभन्दा जनकपुरधाममा गुठीका प्रशस्त जग्गा छन् । कुनै उपयुक्त स्थान रोजेर गुठीसँग सम्झौता गरी भवन बनाउन हामीले सुझाव दिएका थियौँ । त्यसमा हामीले पूर्ण साथ र सहयोग गर्ने बचन पनि दिएका थियौँ, तर उहाँहरूले मान्नुभएन । अदालतले यथास्थितिमा राख्न आदेश दिएपछि मात्र निर्माण कार्य रोकियो ।’

भण्डारीले उक्त जग्गामा सार्वजनिक बाटोसमेत रहेको भन्दै चाडपर्वलाई ध्यानमा राखी तत्काल खाल्डो पुरेर बाटो सञ्चालन गर्नुपर्ने बताए । सर्वपक्षीय बैठक बसेर अदालतसँग अनुमति लिएपछि बाटो सुचारु गर्न सकिने भए पनि केही कांग्रेस नेताले यसमा बलमिच्याइँ गरेको उनको आरोप छ ।
यता त्यही स्थानमा रहेको बजरंग युवा क्लबका अध्यक्ष संजित साहले अवरुद्ध बाटो खुलाउन अत्यावश्यक रहेको बताए । उनका अनुसार पुस्तौँदेखि त्यहाँ छठघाट रहँदै आएको छ तर खाल्डोका कारण यस वर्ष छठपर्व प्रभावित हुने खतरा छ ।
साहले भने, ‘हामी हरेक वर्ष लाखौँ खर्च गरेर घाट सजाउँछौँ, तर अगाडिको बाटोमै खाल्डो हुँदा सजावट कसरी गर्न सकिन्छ ? यसले नेपालकै उत्कृष्ट मानिने जनकपुरधामको छठपर्वमाथि आघात पुर्याउँछ ।’ साहले बाटो खुलाउन र गंगा सागरको डिल जोगाउन सर्वदलीय बैठक बस्नुपर्ने बताए ।
स्थानीय मनोज कुमार कर्ण यही अवस्था रहे गंगा सागरको डिल नै भत्किने बताउँछन् । ‘गंगा सागर भनेको ऐतिहासिक र पौराणिक सम्पदा हो,’ उनले भने, ‘यसलाई कुनै पनि हालतमा संरक्षण गर्नुपर्छ ।’
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले आफू गंगा सागरको पूर्वी डिलको अवस्थाप्रति संवेदनशील रहेको बताए । उनका अनुसार उपमहानगर यो खाल्डो व्यवस्थापन गर्न बजेट उपलब्ध गराउन तयार छ । तर त्यसका लागि अदालतले आदेश दिनुपर्ने उनले बताए । मेयर साहले भने, ‘अदालतले आदेश दिएमा उपमहानगरपालिकाले आफैँ बजेट विनियोजन गरेर खाल्डो पुर्ने काम सुरु गर्छ ।’
नेपाल बार एशोसिएसन, धनुषाका सचिव अधिवक्ता अब्दुल अजिज आलमले अदालतको आदेश विपरीत खाल्डो पुर्दा अवहेलना नहुने स्पष्ट पारे । ‘अदालतले भवन निर्माणमा रोक लगाउँदै यथास्थितिमा राख्न आदेश दिएको हो,’ उनले भने, ‘सार्वजनिक बाटो र सम्भावित मानवीय दुर्घटनालाई ध्यानमा राख्दा खाल्डो पुर्नु अवहेलनामा नपनुपर्ने हो ।’

खाल्डो पुर्नु अदालतको आदेशविपरीत नहुने तर खाल्डो पुर्दा भवन निर्माण पक्षले हस्तक्षेप गरेको खण्डमा मात्र समस्या आउन सक्ने उनले बताए । यस विषयमा सर्वपक्षीय बैठक बसेर समाधान खोज्न सकिने उनको भनाइ छ ।
के हो विवाद ?
रामनारायण मिश्र नेपाली कांग्रेसका पुराना नेता थिए । उनको जन्म महोत्तरीको पिपरा गाउँमा १९७९ जेठ २३ गते भएको थियो । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा महोत्तरीबाट विजयी भएका मिश्र विपी कोइरालाको जननिर्वाचित मन्त्रिमण्डलमा उद्योग मन्त्री थिए । २०२४ पुस ६ गते उनको निधन भएको थियो । स्व. मिश्रको समाधिस्थलमै उनको नाममा स्मृति भवन निर्माण गर्न लागिएको हो । गत वैशाखमा भवनको शिलान्यास गरेसँगै नेकपा एमाले र नेपाली कांग्रेसबिच विवाद सुरु भएको थियो ।

स्मृति भवन निर्माणका लागि भौतिक पूर्वाधार विकास कार्यालय, मधेस प्रदेशले ठेक्का लगाएको हो । सो निर्माणको ठेक्का पाएको एम/एस कर्मा बाबा जेभी जलेश्वर २, महोत्तरीले निर्माण अगाडि बढाइ रहेको अवस्थामा उच्च अदालतको अन्तरिम आदेशपछि निर्माण कार्य ठप्प छ भने भवन निर्माणका लागि खनिएको खाल्डोमा वर्षाको भेल जम्मा हुने गर्दा वरपरको जमिन र गंगा सागरको डिल कटान हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण