प्रेम कथानक फिल्म ‘कुमारी’ निर्माण घोषणा
सारांश
- दिनेश राउतले नयाँ चलचित्र 'कुमारी' निर्माणको घोषणा गरेका छन्, जसमा अविशेक खड्का र आकृति राजभन्डारी मुख्य कलाकारको रूपमा रहनेछन्।
- चलचित्रमा केहरसिंह लिम्बुले पार्श्व गायनमा डेब्यु गर्दै 'कहाँ छौ' गीत प्रस्तुत गरेका छन्, र यसै हप्तादेखि काठमाडौँमा छायाङ्कन सुरु हुँदैछ।
- 'कुमारी' को डिजिटल वितरण मोशन पिक्चर्सले गर्नेछ भने डीसीएन र कुवेर सिने डिस्ट्रीब्युशनले क्रमशः काठमाडौँ र उपत्यका बाहिरको वितरणको जिम्मा लिनेछन्।
काठमाडौँ । दिनेश राउतले नयाँ चलचित्र ‘कुमारी’ निर्माण घोषणा गरेका छन्। शुक्रबार साँझ काठमाडौँको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्र घोषणा गरिएको हो ।
कार्यक्रममा मुख्य कलाकारको रूपमा अविशेष खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो। गायक केहरसिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ को प्रस्तुतिले थप रौनक थपेको थियो।
लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे। ‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन्।
यद्यपि, उनले हालसालै ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित चलचित्र पनि निर्देशन गरेका छन्। दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताए।
‘कुमारी’ को निर्माण बिनिश इन्टरटेन्मेन्टले गरिरहेको छ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ। यसका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन्।
चलचित्रमा अविशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ।
चलचित्रको सङ्गीत केहरसिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन् । केहरले सबै गीतमा स्वर दिनेछन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।
चलचित्रको छायाङ्कन यसै हप्तादेखि काठमाडौँमा सुरु हुँदैछ र यसैवर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ। ‘कुमारी’ को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछन्।
सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेशबहादुर रावत रहेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण