मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाजाको युद्धमा इजरायलमाथि प्रतिबन्ध लगाउने विषयमा ईयू विभाजित

कूटनीतिक पहल कमजोर हुने सङ्केत
शनिबार, १४ भदौ २०८२, १६ : २५
शनिबार, १४ भदौ २०८२

सारांश

  • ईयू विदेश नीति प्रमुखले इजरायलमाथि प्रतिबन्ध लगाउने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति नभएको बताएकी छन्।
  • बैठकमा इजरायली स्टार्टअपलाई आर्थिक सहयोग रोक्ने प्रस्तावमा समर्थन जुट्न सकेन।
  • डेनमार्कका विदेशमन्त्रीले इजरायलसँगको व्यापारिक सहकार्य रोक्न जोड दिए।

कोपनहेगन । युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख काया कालासले गाजामा जारी द्वन्द्वको सन्दर्भमा इजरायलविरुद्ध प्रतिबन्ध लगाउने विषयमा सदस्य राष्ट्रहरूबीच एकमत नहुँदा तत्काल कुनै ठोस निर्णय लिन सकिने अवस्था नरहेको स्पष्ट पारेकी छन् ।

डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार सुरु भएको ईयू विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुँदै कालासले पत्रकारहरूसँग भनिन्- ‘म यस विषयमा अत्यधिक आशावादी छैन। आजको बैठकबाट कुनै निर्णय आउने देखिँदैन’ उनले थप भने, ‘यसले देखाउँछ कि हामी सदस्य राष्ट्रहरूबीच एकमत कायम गर्न सकेका छैनौं ।’

बैठकमा इजरायली प्रविधि स्टार्टअपहरूलाई दिइँदै आएको युरोपेली संघको आर्थिक सहयोग स्थगन गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा उठाइएको छ । तर उक्त प्रस्तावमा आवश्यक समर्थन हालसम्म जुट्न नसकेको जनाइएको छ ।

गाजामा उत्पन्न गम्भीर मानवीय संकटका विषयमा युरोपेली संघले साझा रूपमा प्रभावकारी कदम चाल्न आवश्यक भएको आवाज केही सदस्य राष्ट्रहरूबाट उठ्दै आएको छ । यद्यपि, साझा निर्णयमा पुग्न कठिनाइ भएको देखिएको छ ।

डेनमार्कका विदेश मन्त्री लार्स लोके रस्मुसेनले युरोपेली संघले अब शब्दबाट बाहिर निस्केर व्यवहारिक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । उनले इजरायलसँगको व्यापारिक सहकार्य स्थगन गर्ने, अतिवादी नेताहरूलाई प्रतिबन्ध लगाउने र अवैध यहुदी बस्तीबाट हुने वस्तु आयातमा रोक लगाउने जस्ता उपायहरूको समर्थन गरेका छन् ।

इजरायल र गाजाबिचको द्वन्द्वले लाखौं नागरिक प्रभावित भएका छन्। संयुक्त राष्ट्रसंघले गाजामा अकालको अवस्था घोषणा गरिसकेको छ । यो युद्ध सन् २०२३ को अक्टोबरमा हमासद्वारा इजरायलमा गरिएका आक्रमणबाट सुरु भएको थियो, जसमा एक हजार २१९ जना (अधिकांश सर्वसाधारण) को ज्यान गएको इजरायली तथ्यांकमा उल्लेख छ । त्यसपछि इजरायलले गाजामाथि व्यापक सैन्य कारबाही सुरु गरेको थियो ।

गाजाको हमास–शासित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा अहिलेसम्म ६३ हजार २५ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन् । संयुक्त राष्ट्रसंघले ती तथ्यांकहरूलाई विश्वसनीय मानेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप